फरिया भिजायो मेरो दर्के पानीले
मनको पहिरो बुझेन, लाहुर जानेले।
गीतमा भनिए जस्तो कोही लाहुर गएर मनको पहिरो नै नबुझेको संयोग गायिका प्रीति आलेको जिन्दगीमा छैन।
‘यस्तो अवस्था मेरो लाइफमा छैन,' प्रीतिले सेतोपाटीसँग भनिन् 'यो विशुद्ध गीत हो।’
नेपाली महिलाले मनाउने पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज सम्बन्धी गीतहरु अनेक भावभङ्गीमा रेकर्ड भइरहेका छन्। गाउँदेखि शहरसम्म तीजका नयाँ–पुराना भाकाहरू घन्किदै, बजारमा छाइरहेका छन्।
कोरोना लकडाउनका बाबजुद सर्जकहरूले यसवर्ष पनि तीजका नयाँ–नयाँ गीतहरू बजारमा ल्याए। कतिपय विवादित भए त कतिपयले स्रोता, दर्शकको माया पाएका छन्।
गायिका प्रीतिले गाएकी ‘लरिलै बरिलै...।’ बोलको तीज गीत युट्युब मार्फत सार्वजनिक गरेको एक महिनामा ३७ लाख बढीले हेरिसकेका छन् भने टिकटक र अन्य सामाजिक संजालमा पनि चर्चा चुलिएको छ।
गीतको शब्द, संगीत र स्वर मात्रै होइन, यसको भिडिओ पनि उत्तिकै आकर्षक र आधुनिक लाग्छ।
प्रीति भन्छिन्, ‘मैले तीज गीतलाई पनि मोर्डनाइज गरेकी हुँ।’
गीतको शब्द/संगीत एकनारायण भण्डारीले सिर्जना गरेका हुन् भने म्युजिक भिडिओको निर्देशन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन्। म्युजिक भिडियोमा देखिएको उनको ‘लुक्स’ उनी आफैले बनाएकी हुन्।
‘म्युजिक भिडियोको ड्रेसअप मैले नै छानेको हुँ उनले भनिन्, गितार राखेर भिडिओ बनाउने ट्रेन्ड चलेछ त्यही गरौं भनेर भिडिओ तयार गरेका हौं,’ तीजको गीत भनेर बनाइएको यस म्युजिक भिडिओले तीज गीतको परम्परालाई समेट्दैन।
महिलाहरूले हेपिएर, चेपिएर बस्नुपरेको पीडा तीजमा माइत गएर गीत मार्फत सुनाउनु नै तीज गीतको परम्परा थियो। गायिका प्रीतिले पनि हिन्दु नारीले मनाउने पर्व भनेर सानैदेखि तीज गीत सुनेको बताउँछिन्।
‘तीजमा दिनभर ब्रत बसेर शिवजीको भजन कीर्तन गर्ने र समय कटाउन दिदीबहिनी मिलेर दु:खसुख साटासाट गरेर मनाउँथे,' प्रीतिले भनिन्,'त्यही दु:खसुखका कुरा गीतमा आउँथे।’
उनले त्यतिबेला त्यसरी नै तीज मनाएको आफ्नो घर तनहुँको आलेगाउँमा देखेको बताइन्। अहिले भने अवस्था धेरै हदसम्म फेरिएको छ।
‘अहिले माइत जान नदिने, खान लाउन नदिने, बुहारीलाई थिचोमिचो गर्ने चलन छैन,' उनले भनिन्, 'अहिले धेरै मानिस शिक्षित भएका छन्।’
समयसँगै सबै कुराको परिवर्तन हुने उनको बुझाइ छ।
‘सबैकुराको विकास भएको छ, मान्छे, समाज परिवर्तन हुन्छ भने गीत संगीत पनि अवस्य नै परिवर्तन हुन्छ।’
गीत संगीतलाई समाजको ऐना ठान्ने प्रीति समाजमा जे चल्छ त्यही गीत संगीतमा आउने बताउँछिन्।
‘हरिदेवी कोइराला दिज्युको पालामा जे हुन्थ्यो गीतमा त्यही गाउनु हुन्थ्यो,' उनले भनिन्, 'प्रीति आलेको पालामा जे हुन्छ प्रीति आलेले त्यही गित बनाएर गाउँछ।’
यसपालिको तीजमा चर्चामा रहेका मध्ये 'लरिलै बरिलै' बोलको गीत आफ्नै लागि तयार भएको उनको भनाइ छ। यो गीत ३ वटा शैली गाएकी थिइन्। तर अन्तिममा टिमले यही स्वर छनौट गरेको उनले बताइन्।
‘एकनारायण दाइले तपाईले गाउनुपर्ने जस्तो गीत छ है भन्नुभयो, मैले ओके भने,' प्रीतिले भनिन्, 'मैले एउटै गीतलाई तीन वटा शैली रेकर्ड गराएँ।’
यही गीत एउटा सुरिलो आवाजमा, अर्को ठिक्क र अर्को अहिले बजारमा चलेको यही आवाजमा रेकर्ड गराएकी थिइन्। अन्तिममा यही ‘रक स्टाइल’ छनौट भयो।
उनका अनुसार गीत बनाउँदा एकजनाले मात्र चाहेर हुँदैन पुरै टिम मिल्नुपर्छ।
‘प्रीति आलेले मात्र बनाउछु भनेर हुँदैन,' उनले भनिन्, 'यसमा त सबै कुराहरु टिममा मिलेर उनिदै– उनिदै गएर सिनेमाला बन्ने हो।’
गायिका प्रीतिले ब्याटल १, ब्याटल २ हुँदै लरिलै बरिलैमा पनि उस्तै बोल्ड बोल्ड प्रस्तुति दिएकी छिन्। यो सब गीतले मागेर नै गरेको उनको भनाइ छ।
हातमा ट्याटु खोपेकी प्रीतिको कपालको स्टाइल पनि अर्कै छ। नाकमा बुलाकी लगाएकी छन्। यो सब आफ्नो रहर भएको उनले बताइन्।
‘गीतहरूले जुन पर्सनालिटी माग्यो मैले त्यही गरें,' उनले भनिन्, धेरैले यही लुक्समा मलाई चिन्न चाहेँ।’
अहिले नाक छेडेको देखि कपाल काटेकोसम्म प्रीति आलेको जस्तो भन्ने सुनेर खुशी लागेको उनले बताइन्।
गीत र म्युजिक भिडिओमा प्रीति आले जति बोल्ड रूपमा प्रस्तुत हुन्छिन्, महिलाहरू त्यस्तै बोल्ड होस् भन्ने आफ्नो चाहना रहेको उनले बताइन्।
‘दिदीबहिनी पनि म जस्तै बोल्ड हुनुपर्छ, जिद्धी र चतुर हुनुपर्छ,' उनले भनिन्, 'त्यो खालको इनर्जी दिदीबहिनीमा पुगोस् कि आफूलाई चित्त नबुझेको कुरा प्रतिकार गर्न सकोस् ।’
प्रीति आलेका कतिपय लोकगीतहरू ‘ठेट’ नभएको भन्दै आलोचित नभएका होइनन्। उनले यसपटकको तीजमा मात्र दर्जन जति गीत गाएकी छिन्। जसमा धेरै ठेट नै रहेको उनले बताइन्।
विगतमा ‘फुल्यो बाबरी....।’ बोलको ठेट गीत पनि हिट भएको भन्दै उनले प्रीति आलेले गाएपछि ठेट हुँदैन भनेर नबुझ्न आग्रह गरिन्।
आधुनिक बाजागाजासहित बजारमा ल्याएको लोकगीत भने 'मोर्डनाइज' गरेको उनको भनाइ छ।
यस्तो गीत ल्याउँदा हिन्दी र अँग्रेजी गीतमा रमाउनेहरू समेत लोकगीतमा आकर्षित भएको उनले दाबी गरिन्।
‘कुनैपनि कुरा सबैलाई मनपर्छ भन्ने छैन, उनले भनिन्, जुन जेनेरेसनलाई टार्गेट गरेर ल्याएको हो उहाँहरूले मन पराइदिनुभएको छ, खुशी छु।’