मनीषा कोइरालामा सौन्दर्य र अभिनयको बेजोड तालमेल भेटिन्छ। यही मेल उनका लागि भारतीय सिनेमा उद्योगमा स्थापित हुने आधार बन्यो।
सुभाष घई निर्देशित 'सौदागर' (११९१) बाट बलिउड प्रवेश गरेकी मनीषा कोइराला नब्बे दशक मध्यतिर भारतकै चर्चित अभिनेत्री हुन्। 'सौदागर' देखि 'कम्पनी' (२००२) सम्म उनले अभिनेत्रीका रूपमा कयौं सफल फिल्म दिइन्। आज पनि सिनेमा क्षेत्रमा उनी सक्रिय रहेर धेरैको मन जित्न सफल छन्।
'मप्पिलाई' (तमिल), नेटफ्लिक्स फिल्म 'लस्ट स्टोरिज' र 'डियर माया' उनको अभिनयको तारिफ भएका पछिल्ला फिल्म हुन् जसमा उनी चरित्र अभिनेत्रीका रूपमा देखिएकी थिइन्।
मुख्यतः बलिउडका धेरै राम्रा निर्देशक र कलाकारसँग काम गरेकी उनले नब्बे दशकमा थुप्रै सफल फिल्महरू दिइन्। भारतका हिन्दी, तमिल, मलायलम, बांगला गरी करिब ८० फिल्ममा अभिनय गरेकी उनका फिल्म व्यवसायिक रूपमा असफल हुँदा पनि अभिनयबाट प्रशंसा बटुल्न सफल रहिन्।
सन् २०१२ को नोभेम्बरमा पाठेघर क्यान्सर भएपछि भने उनको अभिनय यात्रामा लामै बिराम आएको थियो। तर उनले क्यान्सरलाई जितेर पुनः अभिनयमा फर्किइन्।
यो सूचीमा परेका फिल्महरू उनका करिअरकै महत्वपूर्ण हुन्। पात्रअनुसार चरित्रमा रुपान्तरण ल्याउन सफल मनिषाले यी फिल्मबाट दर्शकसँगै समीक्षकहरुको पनि मन जितेकी थिइन्।
१९४२ अ लभ स्टोरी (१९९४) निर्देशक: विधु विनाेद चोपडा
भनिन्छ, राम्रो निर्देशकले सामान्य कलाकारलाई पनि राम्रो अभिनय गराउन सक्छन्। विधु विनोद चोपडाको '१९४२ अ लभ स्टोरी' मनीषा कोइरालाको त्यो फिल्म हो, जुन उनीभित्रको अभिनय क्षमता प्रदर्शन गर्ने पहिलो महत्वपूर्ण फिल्म थियो।
यस फिल्ममा उनी एउटी प्रेमिका र भारतीय स्वतन्त्रता आन्दोलनमा ज्यान अर्पण गर्न पछि नहट्ने क्रान्तिकारी बुवाकी छोरीको चरित्रमा देखिएकी छन्। यो फिल्म भारत बेलायती उपनिवेशबाट स्वतन्त्र हुनुभन्दा पाँच वर्षअघिको समय, सन् १९४२ को सेरोफेरोको घटनामा केन्द्रित छ। मनीषाले यसमा रज्जो (राजेश्वरी) को भूमिका निर्वाह गरेकी छन्।
उनी अंग्रेजप्रति बफादार दिवानसिंहका छोरा नरेन सिंह (अनिल कपुर) सँग प्रेममा पर्छिन्। तर उनका बुवा र दाजुहरू क्रान्तिकारी हुन्छन्। दुई विपरीत ध्रुवमा बाँचेको परिवारका सदस्यहरू प्रेममा परेको समय राजनीतिक हिसाबले निकै अस्थिर हुन्छ। रज्जोको जीवनमा एउटा यस्तो मोड आउँछ, जहाँ उनले निजी प्रेम र देश प्रेममध्ये एक रोज्नुपर्ने हुन्छ।
रज्जोले गर्ने निर्णय के होला? त्यसको परिणामले उनको वरिपरिका पात्रहरूको जीवनमा कस्तो असर पार्ला? यही नै फिल्मको मुख्य कथा हो।
फिल्मले प्रेमकथासँगै भारतीय स्वतन्त्रता संग्रामका घटनाक्रम पनि विस्तारमा देखाउँछ।
मनीषा र अनिल कपुरबाहेक ज्याकी श्रफ, अनुपम खेर, प्राण, डेनी डोङजोङ्पा लगायत कलाकार मुख्य भूमिकामा छन्। मनीषाले गरेको अभिनय निकै प्रशंसित भएको थियो। उत्कृष्ट अभिनयका लागि मनीषा फिल्म फेयर अवार्डमा मनोनित भएकी थिइन्।
'एक लड्कीको देखा तो', 'कुछ ना कहो', 'रिमझिम रिमझिम' जस्ता गीत रहेको '१९४२ अ लभ स्टोरी', संगीतकार आरडी बर्मनको अन्तिम संगीत भएको फिल्मका रूपमा पनि चर्चित छ। फिल्म बर्मनको निधन भएको केही समयपछि सार्वजनिक भएकाले पनि फिल्मको संगीत विशेष बन्न पुग्यो।
संगीततर्फ यो फिल्मबाट संगीतकार, गायकहरू र गीतकारले समेत धेरै अवार्ड जितेका थिए। गीतहरू जावेद अख्तरले लेखेका हुन्। विनोद प्रधानको सिनेमाटोग्राफी, नितिन देशाईको कला निर्देशन र रेनु सलुजाको सम्पादन पनि पुरस्कृत भएको थियो।
अकेले हम अकेले तुम (१९९५) निर्देशक: मन्सुर खान
मनीषा यो फिल्ममा शास्त्रीय संगीतमा आफ्नो भविष्य खोजिरहेकी युवती किरणको भूमिकामा छिन्। रेस्टुरेन्टमा गीत गाउने रोहित कुमार (आमिर खान)सँग एउटा कार्यक्रममा भेट भएपछि विस्तारै उनीहरू प्रेममा पर्छन्।
रोहितले किरणलाई दुवैको सपना संगीत क्षेत्रमा स्थापित हुने भएकाले सँगै जीवन बिताउने प्रस्ताव गर्छन्। प्रेम विवाह गरेका उनीहरूको सपना उस्तै भए पनि त्यसलाई प्राप्त गर्ने सोच र तरिका मिल्दैन।
रोहित किरणलाई बिर्सेर आफ्नो सांगीतिक यात्रामा केन्द्रित हुँदा किरण भने घरको काम र छोरा सुनीलको स्याहार-सुसारमा बाँधिन्छिन्। रोहितले उनको आकांक्षा र त्याग नबुझेको महशुस गरेपछि उनी घर छोड्ने निर्णय गर्छिन्।
किरणको यो निर्णयपछि उनको गायक बन्ने सपना पूरा गर्न सक्छिन् कि सक्दिनन्? किरणको निर्णयपछि रोहितको जीवनमा कस्तो उथलपुथल आउला? कुनै दिन सँगसँगै संगीतमा स्थापित हुने उनीहरूको सपना पूरा होला, वा अपूरै रहला? 'अकेले हम अकेले तुम'को कथा यही हो।
फिल्ममा मनीषाले प्रेमिका, श्रीमती, आमा र गायकको भूमिकामा आफ्नो अभिनयको छाप छाडेकी छन्। उनले निर्वाह गरेको चरित्रका लागि फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीका रूपमा मनोनित भएकी थिइन्।
अनु मल्लिकको संगीत, मजरुह सुल्तानपुरीका शब्द रहेका गीतहरू चर्चित छन्। फिल्ममा मनीषा र आमिरबाहेक आदिल रिज्वी, देवेन वर्मा आदिको मुख्य भूमिका छ।
बम्बे (१९९५) निर्देशक: मणि रत्नम
तमिल भाषाको यो फिल्म हिन्दीमा डब भएको हो। मनीषाको करिअरकै उत्कृष्ट अभिनय मानिने 'बम्बे' व्यवसायिक रूपमा पनि सफल फिल्म हो।
उनी यस फिल्ममा शायलाबानो नामकी कलेज पढ्ने मुस्लिम युवतीको चरित्रमा छिन्। तमिलनाडुको उनकै गाउँका युवक शेखर (अरविन्द स्वामी) सँग कलेज आउने-जाने क्रममा आँखा जुध्छ।
शेखर हिन्दु समुदायका हुन्छन्। मुम्बई बस्ने उनी पत्रकारिता अध्ययन र काम दुवै गरिरहेका हुन्छन्। गाउँ आएका बेला शायलाबानो देखेर मनपरेपछि पछ्याउन थाल्छन्। शायलाबानो पनि विस्तारै उनलाई मन पराउन थाल्छिन्। दुवैका बुवाहरू धार्मिक रूपमा कट्टर भएकाले उनीहरू भागेर बिहे गर्न बाध्य हुन्छन्।
शायलाबानो र शेखर मुम्बई जान्छन्। जीवनमा जुम्ल्याहा सन्तान थपिएपछि खुसी दोब्बर हुन्छ। तर यही बेला सहरमा हिन्दु-मुस्लिमको दंगा सुरू हुन्छ। यसले साम्प्रदायिकताको रूप लिएपछि उनीहरूको परिवारमा पनि नकारात्मक असर पर्न थाल्छ।
फिल्मले बाबरी मस्जिद भत्काइएको अयोध्या काण्डको समय, सन् १९९२ आसपास मुम्बई सहरमा भड्किएको सामुदायिक हिंसा समेटेको छ।
दुई मुख्य पात्रको परिवारको धार्मिक मतभेद र राष्ट्रिय स्तरको साम्प्रदायिक कट्टरताको कथा एकसाथ अघि बढ्छ। हिन्दु र मुस्लिम भएर प्रेम विवाह गरेका यी जोडीको प्रेम कथामार्फत फिल्मले भारतीय समाजमा रहेको धार्मिक कट्टरता मार्मिक रुपमा चित्रण गर्छ।
छोरा र छोरीको प्रेम नस्वीकार्ने तर नातिहरू जन्मेपछि उनीहरूलाई हिन्दु र मुस्लिम बनाउन खोज्ने शायलाबानो र शेखरका बुबाहरूको व्यवहारमार्फत फिल्मले धार्मिक स्वार्थ सशक्त रूपमा चित्रण गरेको छ। दुई सम्धीबीचको झगडा र उनीहरूको सशक्त अभिनयले फिल्मलाई रोचक बनाइराख्छ।
निर्देशक मणि रत्नमले 'रोजा', 'बम्बे', 'दिल से'जस्ता फिल्म मार्फत स्वतन्त्र भारत बनेपछिका टड्कारो समस्याहरू, साम्प्रदायिकता, आतंकवादजस्ता विषय उठाएका छन्। जसमध्ये मनीषाले 'बम्बे' र 'दिल से' मा अभिनय गरेकी छन्। 'दिल से' पनि मनीषाले राम्रो अभिनय मार्फत प्रशंसा कमाएको फिल्म हो।
'बम्बे' मा निर्दोष ग्रामीण युवतीदेखि दंगामा दुई छोरा हराएकी आमाका रूपमा मनीषाको अभिनय आजसम्म यादगार मानिन्छ। एआर रहमानको संगीत रहेको फिल्मले कयौं महत्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेको छ।
खामोशीः द म्युजिकल (१९९६) निर्देशक: सञ्जय लीला भन्साली
त्यो जिन्दगी नै के जसमा असम्भव सपनाहरू नहून्? 'खामोशी' यस्तै असम्भव सपना देख्ने युवती एनीको कथा हो। एनीको भूमिकामा मनीषाको अभिनय छ भने नाना पाटेकर र सीमा विश्वास उनका बुवा र आमा बनेका छन्।
एनीका आमाबुवा दुवै न बोल्न सक्छन् न कान सुन्छन्। यही कारण एनी नै उनीहरूको आवाज बन्नुपर्ने हुन्छ। बाल्यकालदेखि नै आमाबुवाकी सहारा बनेकी एनीको झुकाव संगीतमा हुन्छ, तर उनको जीवनमा सन्नाटा हुन्छ।
हजुरआमा मारियाबाट संगीतमा लाग्ने प्रेरणा पाए पनि उनी आफ्नो सपना अधुरै हुने डरमा हुन्छिन्। यसैबीच संगीतकार प्रेम (सलमान खान) सँग उनको भेट हुन्छ। अभिभावकको असहमतिका बाबजुद उनी प्रेमसँग नजिक हुन्छिन्। प्रेमकै संगतमा उनी गायक बन्ने सपना पछ्याउन थाल्छिन्।
तर अभिभावकको चित्त नदुखाई उनले यो सपना पूरा गर्न नसक्ने अप्ठ्यारो परिबन्धमा पर्छिन् उनी। आमाबुवाको प्रेम र संगीत प्रेमलाई सँगै डोर्याउन एनीले कस्तो संघर्ष गर्छिन्? फिल्मले यही कथा विस्तारमा देखाउँछ।
'खामोशीः द म्युजिकल' पात्रको जीवनका रमाइला घटना, दुर्घटना र उतारचढावले भरिएको फिल्म हो। मनीषा, नाना पाटेकर र सीमा विश्वासको अभिनयले दर्शकलाई हसाउन, रुवाउन बाध्य पार्छ। फिल्मले बोल्न र सुन्न नसक्ने व्यक्ति र तिनका परिवारको मनोदशा सुन्दर ढंगले चित्रण गरेको छ।
सञ्जय लीला भन्सालीको पहिलो निर्देशनको यो फिल्ममा उनकै संगीत छ। 'आज मै उपर', 'ये दिल सुन रहा है' जस्ता सुमधुर गीतबाहेक फिल्मको कला निर्देशन र साउन्ड डिजाइन पनि सराहनीय छ।
यो फिल्मबाट मनीषाले फिल्म फेयर अवार्डमा समीक्षकको नजरमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी थिइन्। साथै समीक्षकहरूले यसलाई वर्षकै उत्कृष्ट फिल्मसमेत मानेका थिए।
मन (१९९९) निर्देशक: इन्द्र कुमार
'मन' पनि मनीषाको अभिनय मन पराइएको चर्चित फिल्म हो। यो फिल्म प्रिया (मनीषा) र देव करण सिंह (आमिर खान) को प्रेम कथा हो।
प्रिया केटाकेटीलाई संगीत सिकाउने शिक्षक र देव चित्रकारको भूमिकामा छन्। जहाजमा सिंगापुरबाट भारत जाने क्रममा भेटिएका यी दुई प्रेममा पर्छन् र सँगै जीवन बिताउने सपना देख्छन्। अचानक यात्रामा भेटिएका यी दुई छ महिनापछि भेट्ने भनेर छुट्टिन्छन्।
तर उनीहरू भेटिनुअघि नै उनीहरूको अर्कै-अर्कैसँग बिहे छिनिएको हुन्छ। देवले प्रियासँग जीवन बिताउन आफ्नो इंगेजमेन्ट तोड्छन्।उता प्रियाका मंगेतरले पनि प्रियाले देवलाई चाहने थाहा पाउँछन्।
अनि एक दिन देवलाई भेट्न उत्साहित भएर जाने क्रममा प्रिया कार दुर्घटनामा पर्छिन्। यसपछि प्रिया र देवको प्रेमले कुन मोड लेला?उनीहरूको मायामा आउने उतारचढाव थाहा पाउन पूरा फिल्म हेर्नुहोला।
सुरूमा अरू फिल्मजस्तै प्रेमकथा भन्ने 'मन' यसपछि गम्भीर बन्दै जान्छ। यसका 'मेरा मन', 'नशा ये प्यारका नशा है', 'खुशियाँ और गम' जस्ता गीत चर्चित छन्।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)