सौगात मल्ल आफूले निर्वाह गर्ने चरित्रमा पात्रको हाउभाउ, लवज र मनोविज्ञान उतार्न सक्ने अभिनेता हुन्। सकारात्मक र नकारात्मक दुवै खालका भूमिका सशक्त रूपमा निर्वाह गरेका उनले लुटमा खुंखार 'हाकु काले' र 'कथा' मा भक्भकाएर बोल्ने निर्दोष प्रेमीका रूपमा दर्शक तथा समीक्षकको मन जितेका छन्।
कहिले माओवादी छापामार, कहिले प्रहरी त कहिले सेनाको भूमिकामा पनि उनी जमेकै छन्।
तर समीक्षक र शुभेच्छुकले भन्ने गरेजस्तै फिल्म छनौटमा उनी चुकेको कुरा सही लाग्छ। तै पनि 'कागबेनी' देखि 'लालपूर्जा' सम्म आउँदा उनले आफ्नो अभिनय क्षमता निरन्तर प्रमाणित गर्दै आएका छन्। उनले खेलेका फिल्म राम्रा-नराम्रा जे भए पनि उनको अभिनय क्षमताको चर्चा एकनास चल्ने गर्छ।
यो सूचीमा परेका पाँच फिल्ममा पात्रको मनोविज्ञान बुझेर चरित्र निर्वाह गर्ने उनको क्षमता सहजै महशुस हुन्छ। यी फिल्ममा चरित्रअनुसार फरक हुलिया, बोल्ने तौरतरिकामा विविधता ल्याउन उनले गरेको प्रयास पनि देख्न सकिन्छ। बुलन्द आवाज त उनको पहिचान भइहाल्यो।
युट्युबमा उपलब्ध उनका पाँच फिल्म हेर्नुहोला।
कागबेनी (सन् २००८), निर्देशक: भूषण दहाल
नेपालकै पहिलो डिजिटल फिल्मका रूपमा चर्चा कमाएको 'कागबेनी' आफ्नो समयको चर्चित फिल्म हो। करिब १२ वर्षपछि हेर्दा पनि यो फिल्मको असर कम लाग्दैन।
मलेसियाबाट केही समयका लागि नेपाल आएको कृष्ण (निमा रुम्बा) कागबेनी पुग्छन्। आफ्नो बाल्यकालीन साथी रमेश (सौगात मल्ल) लाई भेटेर (नोस्टाल्जिक) बन्छन्। रमेश स्थानीय स्याउबाट रक्सी बनाएर बेच्छन्। कृष्ण आफ्नी आन्टी भेट्न मार्फा गाउँ पुग्नु पर्ने हुन्छ। रमेश पनि आफ्नो नियमित कामका लागि मार्फा गइराख्ने भएकोले दुवै सँगै निस्कन्छन्।
यात्राका क्रममा रात बिताउने बेला एक जना साधु भेटिन्छन्। ती साधुले कृष्णलाई हजारौं वर्ष पुरानो बाँदरको हात (पञ्जा) दिन्छन्। साधुका अनुसार त्यो पञ्जामा मान्छेको कामना पूरा गर्ने शक्ति हुन्छ। तर पञ्जाको दुरुपयोग भएको खण्डमा ठूलो अनिष्ट आउने चेतावनी पनि दिएका हुन्छन्।
यही यात्रामा कृष्णले रमेशलाई आफ्नो अभिभावकले तारा (दीया मास्के) सँग बिहेको कुरा अघि बढाएको जानकारी दिन्छन्। तारासँग बिहे गर्ने सपना पालेर बसेका रमेश यो कुरा सुनेर दुःखी बन्छन्। उनले तारालाई आफ्नो बनाउन त्यही अदृश्य शक्ति लुकेको पञ्जासँग कामना गर्छन्।
त्यसपछि यी दुईको मित्रता र जीवनमै उलटपुलट ल्याइदिने घटना हुन्छन्। रहस्यमयी घटनाले फिल्म रोचक बन्दै जान्छ। 'कागबेनी' डब्लु.डब्लु जेकब्सको हरर कथा 'द मन्किज पअ' बाट प्रभावित बनाइएको हो।
मुस्ताङको मनमोहक सौन्दर्य सिनेमाको पर्दामा हेर्न पाइनु अचेल सामान्य बनिसकेको छ। तर कागबेनी बन्ने बेला यो नयाँ कुरा थियो। शरद गुरुङको पार्श्व संगीतमा सलल बग्ने कागबेनीमा अच्युत कोइराला र सामीप्य तिमल्सिनाको पटकथा अनि प्रशान्त रसाइलीको स्क्रिनप्ले छ।
त्यसअघि रंगमञ्चमा जमिसकेका सौगातको यो पहिलो फिल्म हो। फिल्ममा उनी लगायत दीया मास्के र निमा रुम्बाको अभिनय चरित्र अनुसार सुहाउँदो लाग्छ।
कथा (सन् २०११), निर्देशक: प्रशान्त रसाइली
'कथा' एक जना बोल्न नसक्ने युवती कुमारी (उषा रजक) र अर्का भक्भकाएर बोल्ने युवक कान्छा (सौगात मल्ल) को कथा हो। कुमारी र कान्छा गहिरो प्रेममा परेका छन्।
यी दुई प्रेमी एक अर्काबाट छुट्टिन चाहँदैनन्। तर बिहे गर्ने पैसा जुटाउन कान्छा चौंरी लिएर हिमालतिर जानुपर्ने परिस्थिति आउँछ। कुमारीलाई फर्केर बिहे गर्ने बाचासहित कान्छा साथी सोनामसँगै हिमालतिर उक्लिन्छन्।
कान्छालाई कुरिरहेकी कुमारीको बिहे अगावै पेटमा बच्चा हुर्कन थाल्छ। यो घटनाले कुमारी उनकी आमा र समाजको नजरबाट तिरस्कृत हुन्छिन्। यो सबै कुराबाट बेखबर कान्छा धेरै टाढा हुन्छन्।
अब यी दुई प्रेमीको भेट कहिले र कस्तो अवस्थामा होला? या, यी दुईको भेटै नहुने अवस्था आउला? यसपछिका घटनाले दर्शकका यस्तै जिज्ञासा मेटाउने छन्।
फिल्ममा सौगात र उषासँगै सोनाम राइले कान्छाका साथीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मन छुने कथा, सुन्दर अभिनय र मन हर्ने सिक्किमको हिमाली गाउँको दृश्यले 'कथा' फिल्म लोभलाग्दो बनेको छ। खास गरी कथा न्यारेट गर्ने शैली मीठो छ।
कान्छा र कुमारीको प्रेमजस्तै फिल्ममा कान्छा र सोनामको मित्रताले पनि मन जित्छ। 'कथा' लामो समयसम्म मनमा बास बस्ने खालको फिल्म हो।
फिटकिरी (सन् २०१४), निर्देशक: अनुप बराल
'फिटकिरी' एउटा अपहरणकारीसम्म पुग्न दत्तचित्त प्रहरीको संघर्ष कथा हो। यसमा सौगात मल्ल प्रहरी अधिकृत जीवनको भूमिकामा छन्। फिटकिरी नाम दिइएको ठूलो मिसनमा होमिएका जीवनको घर बाटो बिस्तार हुने क्रममा सरकारले भत्काउन लागेको हुन्छ। तर घर, श्रीमती र छोराभन्दा पनि उनी फिटकिरी मिसनलाई प्राथमिकता दिन्छन्।
यही मिसनका क्रममा उनको भेट रूपा (दीया मास्के) सँग हुन्छ, जो रहस्यमयी पात्र हुन्छिन्। जीवन जति जति अपराधीसम्म पुग्न प्रयास गर्छन्, केस उति नै जटिल बन्दै जान्छ।
सन्पेन्स थ्रिलर शैलीको 'फिटकिरी'मा जटिल मुद्दामा अपराधी पत्ता लगाउन प्रहरीले गर्ने अनुसन्धान र काम गर्ने शैली बिस्तारमा देखाइएको छ।
फिल्ममा सौगात र दीयाबाहेक अनुप बराल, निश्चल बस्नेत, शान्ति गिरीको मुख्य भूमिका छ। सबैले राम्रो अभिनय गरे पनि सौगात र दीयाको अभिनय प्रशंसनीय छ।
कथा केही घुमाउरो बनाउँदा अलमल भएजस्तो देखिए पनि फिल्मको कलात्मक पक्ष सुन्दर छ। रंगमञ्च निर्देशनमा चर्चा कमाएका अनुप बरालको निर्देशनमा ध्वनि, प्रकाश र दृश्यबीच संयोजन भेटिन्छ। फिल्मको पटकथा समीक्षक यज्ञशले लेखेका हुन्।
लुट (सन् २०१२), निर्देशकः निश्चल बस्नेत
सौगात मल्लले निर्वाह गरेको हाकु कालेको भूमिका नेपाली फिल्मको सर्वकालीन यादगार पात्र हो भन्दा फरक नपर्ला! हाकु कालेको भूमिकामा 'लुट' बाट सौगात मल्लले यति चर्चा बटुले कि उनी स्वयंले जति राम्रो अभिनय गरे पनि यो फिल्मको छवि प्रतिस्थापन गर्न सकेका छैनन्।
यसमा उनले बैंक लुट्ने मास्टरप्लान बनाउने पात्रको भूमिका निर्वाह गरेका छन्। निर्देशक निश्चल बस्नेतको यो फिल्म बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा हो।
तत्कालीन समयमा नयाँ प्रस्तुतिका कारण रुचाइएको 'लुट' पटकथा, संवाद र अभिनयका कारण प्रशंसा कमाएको फिल्म हो। यसमा काठमाडौंका गल्लीदेखि भट्टीसम्मका दृश्य सुन्दर ढंगले खिचिएको छ।
सौगातबाहेक दयाहाङ राई, कर्मा, ऋचा शर्मालगायत कलाकारको अभिनय रहेको 'लुट' ले नेपाली फिल्ममा सुकेको बजार उकासेको थियो। नेपाली फिल्मको 'ट्रेन्डसेटर' बनेको 'लुट'अघि केही राम्रा फिल्म खेलिसकेका भए पनि सौगातको चर्चा चुलिएको यही फिल्मबाट हो।
बधशाला (सन् २०१३), निर्देशकः मनोज पण्डित
माओवादी सशस्त्र द्वन्द्वकालमा भैरवनाथ गण मानव बधशालाका रूपमा चिनिएको थियो। युद्धबन्दीहरूलाई दिइने चरम यातनाका अनेक घटनाबारे जितमान बस्नेतको 'अँध्यारा २५८ दिनहरू', कृष्ण केसीको मानव 'बधशाला' जस्ता पुस्तकमा पढ्न पाइन्छ।
निर्देशक मनोज पण्डितले यिनै पुस्तकलाई आधार बनाई भैरवनाथ गण नरसंहारबारे 'बधशाला' बनाए। कृष्ण ढकाल नामक एक शिक्षकलाई कर्नेलको हत्या अभियोगमा ब्यारेकमा थुनिएको हुन्छन्। उनीसँगै थुनिएका अन्य माओवादी छापामार पनि चरम यातना दिइन्छ। तीमध्ये सौगातले एक प्रतिबद्ध माओवादी नेताको भूमिका निर्वाह गरेका छन्।
फिल्ममा ब्यारेकभित्रको यातना, केरकार र संवाद केन्द्रमा छ। युद्धको अँध्यारो पक्ष देखाउने यो डार्क फिल्म हो जसमा अँध्यारा दृश्य नै बढी छन्।
सैनिक र छापामार दुवै पक्षका मानिसको मनोविज्ञान चियाउने प्रयास गर्दै द्वन्द्वकालीन समय हेर्ने प्रयत्न गरिएको यो फिल्मका केही दृश्यमा सैनिक र कैदीहरुबीच मानवीय हिसाबले संवाद गरेका दृश्य आउँछन्। केही मन छुने त्यस्ता दृश्यले फिल्म मार्फत सैनिक वा माओवादीको पक्षबाट भन्दा मानवीय पक्षले हेर्ने प्रयास गरिएको महशुस गराउँछ।
सेन्सरसिपका कारण प्रदर्शनपूर्व केही कठिनाइ समेत भोगेको यो फिल्ममा मुख छोपेर राखिएको 'अपराधी' र सुरक्षाकर्मीबीचको संवादका आधारमा युद्धको त्रासदी चित्रण गरिएको छ। फिल्ममा अनुप बराल, दयाहाङ राई, अर्पण थापा, लगायत कलाकार पनि मुख्य भूमिकामा छन्।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)