फुर्सदमा फिल्म
सन् १८७७ मा सुरू भएको 'द वासिङ्टन पोस्ट' संसारकै बढी पढिने पत्रिकामध्ये एक हो। अमेरिकाको पत्रकारिता इतिहासमा द वासिङ्टन पोस्टको सम्माननीय गरिमा छ। झन्डै डेढ सय वर्ष पुरानो द वासिङ्टन पोस्टले यो विश्वास आर्जन गर्न प्रेस स्वतन्त्रता र जनताका पक्षमा विभिन्न कालखण्डमा महत्वपूर्ण संघर्ष गर्दै आएको छ।
सन् १९७१ को समयमा भने यो स्थानीय स्तरको पत्रिका थियो। आफ्ना पति फिलिप ग्राहमले आत्महत्या गरेपछि उनकी पत्नी क्याथरिन ग्राहमले पत्रिकाको जिम्मेवारी सम्हालेको बेला थियो। स्थायित्वका लागि पत्रिकालाई सेयर बजारमा लैजाने चाहना राख्ने क्याथरिन पत्रिकाको दायित्वप्रति पनि सचेत थिइन्।
क्याथरिन ग्राहम अमेरिकाकै ठूलो पत्रिकाकी प्रथम प्रकाशक हुन्। पहिलो महिला प्रकाशकका रूपमा चर्चित उनको समयमा अमेरिका भियतनाम युद्धमा संलग्न थियो। लामो समय चलेको उक्त युद्धमा हजारौं अमेरिकी सैनिक मारिरहँदा पनि सरकार र सैनिकले युद्ध जारी राख्नु प्रतिष्ठाको विषय बनेको थियो।
यही प्रतिष्ठाका कारण भियतनाम युद्धको वास्तविकताबारे अमेरिकी जनतालाई राज्यले गलत सूचना दिँदै आएको थियो। भियतनाम युद्धमा अमेरिकी संलग्नताको वास्तविकता भने सरकारी स्तरबाट तयार गोप्य प्रतिवेदनमा हुन्छ। यो प्रतिवेदन 'पेन्टागन पेपर' का नामले चर्चित छ।
सन् २०१७ रिलिज निर्देशक स्टिभन स्पिलबर्गको 'द पोस्ट' फिल्म यही पेन्टागन पेपरको सेरोफेरोमा घुमेको छ।
फिल्ममा मेरिल स्ट्रिप द वासिङ्टन पोस्टकी प्रकाशक क्याथरिन ग्राहम र टम ह्यांक्स पत्रिकाका सम्पादक बेन ब्राड्लीको भूमिकामा छन्।
तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनको प्रशासनले लुकाएको गोप्य प्रतिवेदनमा उनीभन्दा अगाडिका राष्ट्रपतिका झुटहरू पनि लिपिबद्ध हुन्छन्। पेन्टागनबारे सैन्य विश्लेषक डेनियल इल्सबर्गमार्फत न्यूयोर्क टाइम्समा प्रकाशित भएपछि पत्रिकामाथि उक्त खबर छाप्न कानुनी रोक लगाइन्छ। यो घटनालाई क्याथरिन र बेनले प्रेस स्वतन्त्रता हननका रुपमा लिई प्रकाशन गर्ने निर्णय गर्छन्।
तर निक्सन प्रशासनले राष्ट्रिय सुरक्षाका हिसाबले संवेदनशील भन्दै गोप्य राख्न चाहेको प्रतिवेदन वासिङ्टन पोस्टका पत्रकारले हात पार्न सफल होलान्? करिब सात हजार पृष्ठ लामो प्रतिवेदन प्राप्त गर्न क्याथरिन र बेनको समूहले कस्ता प्रयास गर्लान्?
क्याथरिन र बेनले तथाकथित कानुनविपरीत कदम चाल्छन् कि आफ्नै निर्णयमा अडिग बस्छन्? फिल्ममा यही प्रश्नले द्वन्द्वको काम गरेको छ।
स्पिलबर्गको 'द पोस्ट' वास्तविकतामा आधारित ऐतिहासिक-राजनीतिक फिल्म हो। ह्वाइट हाउसको भियतनाम युद्धसँग जोडिएको स्वार्थ बुझ्न र पत्रिकाका समाचारमा नियन्त्रण गर्ने अमेरिकी राज्यको व्यवहार थाहा पाउन चाहनेका लागि यो फिल्म उपयोगी छ।
वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकालीन समयमा समेत 'द पोस्ट'ले ह्वाइट हाउसका स्वार्थ र सञ्चार माध्यममाथिको नियन्त्रण गर्ने प्रयास आलोचनात्मक रुपमा हेर्ने दृष्टि दिन्छ।
फिल्मको विषयवस्तुको ऐतिहासिक महत्वबाहेक फिल्मका दुई मुख्य पात्र मेरिल स्ट्रिप र टम ह्यांक्सजस्ता होनहार कलाकार एकै ठाउँमा देखिनु पनि 'द पोस्ट' को विशेषता हो।
धेरै अवार्ड पाउने र धेरै पटक नोमिनेसनमा पर्ने मेरिलले कयौं रेकर्ड राखेकी छन्। एक्काइस पटक ओस्कारमा मनोनित उनी तीन पटक ओस्कार बिजेता हुन्। आठ पटक गोल्डेन ग्लोब जितेकी उनले ३० पटक मनोयनमा पर्ने अभिनेत्रीको रेकर्ड पनि बनाएकी छन्।
अर्कोतिर, छ पटक ओस्कारमा मनोनित टमले दुई पटक ओस्कार जितेका छन्। यी दुवै कलाकार जस्तोसुकै भूमिकामा आफूलाई खरो उतार्न सिपालु छन्।
'द पोस्ट' मा पनि यी दुईले सधैं झैं जीवन्त अभिनय गरेका छन्। संकटमय अवस्थामा प्रकाशक बनेकी महिलाको भूमिकामा गरेको स्वभाविक अभिनयका उत्कृष्ट अभिनय तर्फको प्रतिस्पर्धामा मेरिल ओस्कार अवार्डको मनोनयनमा परेकी थिइन्। उनको चरित्र मार्फत तत्कालीन समयमा पत्रकारिता जगतमा महिला नेतृत्व स्वीकार्न नचाहने मानसिकता पनि फिल्ममा प्रष्टसँग मुखर भएको छ।
'सिन्डलर्स लिस्ट', 'लिंकन', 'सेभिङ प्राइभेट र्यान' जस्ता इतिहासमा आधारित फिल्म बनाएका स्पिलबर्ग कथालाई ठूलो क्यानभासमा उतार्ने निर्देशक हुन्। उनको यो विशेषता 'द पोस्ट'मा पनि कायम छ।
उनले फिल्ममा पेन्टागन पेपर प्राप्त गर्न चल्ने प्रतिस्पर्धा, तनाव र उत्साहलाई पत्रिकाको कार्यालयभित्रका गतिविधि, संवाद अनि राजनीतिज्ञ र मिडिया हाउसबीचको द्वन्द्व मार्फत रोचक रुपमा प्रस्तुत गरेका छन्।
हेर्नुस्, द पोस्टः
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)