धर्ती पनि थिएन रे
संसार पनि थिएन रे
तल हेरे शून्य
माथि हेरे सुनसान थियो रे
सृष्टि उत्पत्तिभन्दा अघिको समयबारे मुन्धुममा यसरी वर्णन गरिएको छ। श्रुति परम्परामा बाँचेको मुन्धुममा लिम्बू समुदायको जीवन पद्दतिदेखि संगीत परम्परासम्म अटाएको छ।
झुमा लिम्बूले करिब छ वर्षअघि यही मुन्धुमभित्रको मेलोडी र रिदममा आधारित 'खास्साम' एल्बम सार्वजनिक गरेकी थिइन्।
लिम्बू समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म संगीत अभिन्न रूपमा जोडिएको छ। खास्साममा झुमाले संस्कृति र संगीतको विकासक्रमलाई मौलिक रूपमै उतार्ने प्रयास गरेकी थिइन्।
नेपालको जातीय तथा परम्परागत संगीतमा खास्साम उदाहरणीय काम मानियो। यसले अन्तर्राष्ट्रिय स्रोता र समीक्षक समेतको ध्यान खिच्यो। खास्साम झुमाको संगीत यात्राकै पनि टर्निङ प्वाइन्ट बन्यो।
उनी भन्छिन्, 'खास्सामअघि संगीत भनेकै गीत गाउनु र रेकर्ड गर्ने काम मान्थेँ। खास्सामले संगीत बुझ्ने दायरा फराकिलो बनायो।'
पहिला उनका लागि संगीत मनोरञ्जनको माध्यम थियो। अचेल उनी गीत-संगीतलाई संस्कृतिको महत्वपूर्ण पार्टपूर्जा मान्छिन्।
खास्सामअघि झुमा लोक–आधुनिक शैलीमा आधारित गीत गाउँथिन्। अम्बर गुरुङका शब्द संगीतमा एल्बम निकालेकी उनी अम्बरकी खास शिष्यका रूपमा चिनिन्थिन्। खास्सामपछि भने उनी बन्द कोठामा रचिने गीत-संगीतमा सीमित नभई देशका कुना-कन्दरा डुल्न मन पराउन थालिन्।
मधेसदेखि हिमालसम्मको संगीत संस्कृतिका रङ नियाल्न झुमा पूर्व ताप्लेजुङ–धरानदेखि पश्चिम हुम्ला–जुम्लासम्म पुगिन्। थरीथरीका भाका र बाजाबारे जानकारी बटुलिन्। समुदाय विशेष खास किसिमका संगीत र बाजा बजाउने परम्परा बुझ्ने रूचि बढ्दै गयो।
'संगीतका कक्षा कोठाबाट बाहिर मान्छे, समाज र संस्कृतिमा रहेको संगीत पढ्न थालेँ,' उनी भन्छिन्।
झुमाको रैथाने संस्कृति झुकाव दिनप्रतिदिन बढिरेको छ। यस्तै अध्ययन, अवलोकन र अनुभवले उनलाई गायिकाबाहेक अध्येता–अभियन्ता बनाइदियो। नेपालको रैथाने संगीत संस्कृति उनको सिकाइ र कामको केन्द्रमा आयो।
उनले लोक तथा परम्परागत संगीतबारे काम गर्ने 'रैथाने संगीत समूह' सुरू गरिन्। रैथाने समूहबाहेक उनी 'परम्परा' ब्यान्डमा पनि आबद्ध छिन्। यो ब्यान्डमा झुमाबाहेक शम्भु बानियाँ, बुद्ध लामा, धर्म गन्धर्व र पारसमणि सुवेदी छन्।
हाल रैथाने र परम्पराका साथीहरूसँग मिलेर झुमा नयाँ बाजा बनाउने काम गर्दैछिन्। आफ्नो समूहसँग मिलेर उनले बनाइरहेको बाजाको नाम हो, ढेला।
यो नयाँ बाजा बनाउन सोलुखुम्बु र ओखलढुंगाका थुलुङ, सुदूरपश्चिमका खस र पूर्वका लिम्बू समुदायले बजाउने केही बाजालाई सन्दर्भ बनाइएको झुमा बताउँछिन्। बाजा बनाउने काम इलामको चुलाचुलीमा भइरहेको छ।
आफ्नै पहलमा बाजा बनाउने सोचको बिउ दुई वर्षअघि युरोप भ्रमणका बेला रोपिएको रहेछ।
झुमा परम्परा ब्यान्डका साथमा संगीत महोत्सवहरू सहभागी हुन युरोप गएकी थिइन्। त्यहीँको एउटा महोत्सवमा विभिन्न देशका संगीत समूहले बाँस र काठका मौलिक बाजा लिएर प्रस्तुति दिएका थिए। आफ्नै देशको बाजासहित मौलिक प्रस्तुति दिनुपर्ने त्यो महोत्सवमा परम्पराले पनि नेवार, लिम्बू, लामा आदि समुदायले बजाउने बाजा लिएर स्टेजमा उक्लेको थियो।
झुमा भन्छिन्, 'प्रस्तुति राम्रै भए पनि त्यहाँ हामीलाई दुइटा कुरा खट्कियो। पहिलो, हामीसँग आफ्नै राम्रो बेस इन्स्ट्रुमेन्ट नै रहेनछ। दोस्रो, हामीले आफ्नै ठानेर बजाउँदै आएका धेरै बाजामा भारतले पहिल्यै दाबी गरिसकेको रहेछ।'
युरोपबाट फर्केपछि उनीहरूले आफ्नै बाजा बनाउनु पर्ने खाँचो महशुस गरे। त्यसपछि सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका जानकारसँग सल्लाह गरेर नयाँ बाजाको काम सुरू गरेको झुमा बताउँछिन्।
झुमाका अनुसार, ढेला काठ र छालाले बनेको बाजा हो। यसको नापनक्सा, आकारप्रकार र धुनका लागि नेपालकै परम्परागत बाजालाई आधार बनाइएको छ। आधुनिक स्टेजमा प्रस्तुत गर्न सकिने हिसाबले बनाइँदै गरेको यो बाजाको काम आधाभन्दा बढी सकिइसकेको छ।
रिदम बाजा भएकाले यसको नाम पनि रिदमिक होस् भनेर सल्लाह गरेर ढेला राखिएको रहेछ। बाजा बनाउन स्थानीय बाजाविद् र काठमाडौंका बाजा बनाउने मानिसको समेत सहयोग लिइएको छ। नेपालको लोकबाजाको ढाँचा र विशेषता कायम राख्दै आधुनिक हिसाबले बाजा तयार भइरहेको उनी बताउँछिन्।
'पश्चिमा संगीतमा बेस वा डबल बेसको साउन्ड भन्ने हुन्छ। तर डबल बेसको साउन्ड निकाल्ने नेपाली बाजा छैनन्,' उनी भन्छिन्, 'हामीकहाँ तीन सप्तकमध्ये तार सप्तक र मध्य सप्तकमा बज्ने केही मौलिक बाजा छन्। तर मन्द्र सप्तकबाट बज्ने बाजा छैन। ढेलाले यस्तो अभाव पूर्ति गर्नेछ,' उनको दाबी छ।
कुनै पनि संगीतको आरम्भ ध्वनिबाट हुन्छ। ध्वनि प्राविधिक नभएर सांस्कृतिक कुरा हो। यसमा विज्ञानदेखि धर्म जोडिएर आउँछ।
'कुनै पनि स्थानीय बाजामा त्यहीँको हावा, पानी, माटोको स्वाद मिसिएको हुन्छ। त्यसमा खास ठाउँको इतिहास, मिथ र आस्था पनि जोडिने भएकाले त्यो बाजा हेर्दा र सुन्दा बेग्लै लाग्छ,' झुमा भन्छिन्।
बाजा समुदायको पहिचान हो भने बाजा बजाउने सिप ज्ञान हो।
उनी भन्छिन्, 'ढेला हाम्रै माटो, यहीँको हावापानी र संस्कृतिमा हुर्केको बाजा हुनेछ, जसलाई अन्तर्राष्ट्रिय स्तरमै नेपालको मौलिक बाजा भनेर दाबी गर्न सकिनेछ।'
संगीतको कुनै भूगोल र सीमा हुँदैन भन्ने कुरामा विश्वास राख्ने र आजको भूमण्डलीकृत विश्व सन्दर्भमा झुमाका कुरा संकीर्ण पनि लाग्न सक्छ।
यसबारे झुमा भन्छिन्, 'म आफैं पनि पूर्वीय शास्त्रीय, पाश्चात्य, आधुनिक, ज्याज धेरै खालको संगीत सिकेकी मान्छे। नेपालभित्र जेजे गरम्ला तर देशको प्रतिनिधित्व गरेर बाहिर जाँदा यो मेरो बाजा, मेरो देशको धुन, ध्वनि भन्न सकिएन भने लाजले शिर निहुराउनुपर्ने अवस्था आउने रहेछ।'
आवाजले जसरी हाम्रो परिचय बोक्छ, बाजाको ध्वनिले पनि निश्चित समुदाय वा भूगोलको प्रतिनिधित्व गरिरहेको हुन्छ। हाल भइरहेको ढेला बनाउने काम बाजामा नेपाली पहिचान खोज्ने काम हो।
'तर यो काम सजिलो छैन। हाम्रो पहिलो प्रयास हो। यसलाई संगीतविद् र स्रोता दुवैबाट पास गराउनु पर्ने चुनौती छ,' उनी भन्छिन्।
नेपाली संगीतमा एउटा बाजा मात्रै थप्न सकियो भने पनि त्यसले नयाँ ऊर्जा दिने झुमाको विश्वास छ। नेपाली प्राचीन बाजा लोप भएका खबर सिलसिलाबद्ध रुपमा सुन्नुपर्ने समयमा ढेलाको तयारी सुखद खबर हो।
झुमाको नजरमा अचेल लोकप्रति आकर्षण बढेको समय हो। कुनै समय सबैमा आधुनिक, त्यसपछि पप गीत-संगीतको लहर चलेझैं अहिले धेरैले लोकको कुरा गर्ने उनको बुझाइ छ।
गायक लोचन रिजालले आफ्नो गीत पौरखीमा लोपोन्मुख अवस्थामा पुगिसकेको आरबाजो बजाएर युवा पुस्तालाई पुरानो बाजाको स्वाद चखाएका थिए। मौलिक बाजा र धुनलाई युवा पुस्तामाझ पुर्याउने काम गर्दै 'नाइट' ब्यान्डले पनि आफ्नो पछिल्लो एल्बम निकाल्ने क्रममा नयाँ बाजा बनाएको थियो।
झुमा भन्छिन्, 'नयाँ पुस्ताको रूचि, फिल्ममा पनि लोकभाका र बाजाको प्रयोग बढिरहे पनि हाम्रा धेरै बाजा हराइसके। धेरै बाजा अझै पनि धार्मिक गतिविधि, सांस्कृतिक जात्रा, मर्दापर्दा वा धामी उतार्ने काममा खुम्चिएको छ। तिनलाई स्टुडियो र स्टेजमा ल्याउन नसके ती पनि मर्दै जानेछन्।'
हाल त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालयमा संकलित बाजाको संख्याले देखाउँछ- हामीकहाँ दुई सयौं बाजा छन्। तर संग्रहालयमा भएका बाजा देख्दा एकछिन त गर्व लाग्ला, तर तीमध्ये धेरै बाजाको अवस्था दयनीय छ।
न तिनको अध्ययन भएको छ, न त ती बाजा बज्ने अवस्थामै छन्।
बाजा प्रयोगमा नआए लोप हुँदै जान्छन्। बाजा लोप हुँदा बनाउने, बजाउने र त्यसबारे ज्ञान राख्ने मानिस पनि भेटिन छाड्छन्। परम्परागत रूपमै बाजा बजाएर जीविका चलाउने पेसागत जाति भएको हाम्रो देशमा बाजा मासिँदा धेरैको जीविकोपार्जन गर्ने बाटो पनि बन्द भइरहेको छ। यसरी धेरै पक्षबाट भइरहेको क्षयलाई झुमा संस्कृति र पहिचानको ह्रास मान्छिन्।
उनको चिन्ता छ, 'हेर्दा जाबो एउटा बाजा त मासियो भन्ने लाग्ला। तर बाजासँगै हाम्रो पहिचान मासिँदैछ।'
'जात्रापर्वमा मात्रै बज्ने बाजामा कहिलेसम्म गर्व गर्ने?' झुमा भन्छिन्, 'हाम्रो बाजा स्टुडियो र स्टेजसम्म पुग्यो भने धेरैको पेट पालिन्छ।'
नेपालका मौलिक बाजाबारे अध्ययन गर्ने काम बेलाबखत भए पनि ती काममा राज्यको रूचि कम छ। निजीस्तरमा संगीतविद् रामशरण दर्नालले बिस्तारमा काम गरेर 'बाजा' नामकै किताब निकालेका थिए। नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाले निकाल्ने बागीना पत्रिकाले पनि बाजा विशेषांक निकालेर बाजाको महत्वलाई स्थापित गर्ने प्रयास गरेका थिए।
दर्नालको किताबमा नेपालका थरीथरीका बाजाको विशेषतासँगै बाजा मासिँदै गएको गहिरो चिन्ता भेटिन्छ। बागीनामा संगीतकार गोपाल योन्जनले नेपालमा सुर बाजाको तुलनामा ताल वाद्यमा धनी रहेको र तिनले संगीतका कुनै पनि विकसित रूपलाई चाहिने बोल, लय नादरंग दिन सक्षम भएको तर्क गरेका छन्।
मादल, खीं, धिमे, धाः, दमाहा, खैजडी, नगरा, कोंचाखी, ढ्यांग्रो, डम्फु, ट्याम्की, पच्छिमा, मुजुरा आदि हाम्रा केही प्रमुख तालबाजा हुन्।
नेपाली समाज बाजामा सम्पन्न भए पनि झुमा यत्तिमै गर्व गरेर बस्न नमिल्ने तर्क गर्छिन्। उनी एकातिर बाजाको संरक्षण र परिमार्जन गर्नुपर्ने, अर्कोतिर बाजाबारे विभिन्न कोणबाट अध्ययन–अनुसन्धानको खाँचो औल्याउँछिन्।
नेपालमा मौलिक तथा परम्परागत बाजाको संरक्षण र समयअनुसार परिमार्जन नहुँदा मुश्किलले २० प्रतिशत बाजामात्रै प्रयोगमा आएको झुमा बताउँछिन्।
उनी फेरि भन्छिन्, 'प्रयोगमा ल्याउन नसके बाजा मर्छ, बाजा मरे पहिचान संस्कृति र पहिचान मासिन्छ।'
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)