गुड फ्राइडे सिनेमा
इरानी फिल्म हेर्ने दर्शकका लागि अब्बास किरुस्तामी परिचित नाम हो। 'द विन्ड विल क्यारी अस', 'टेस्ट अफ चेरी', 'क्लोज अप', 'लाइक समवान इन लभ', 'टेन' उनका केही महत्वपूर्ण फिल्म हुन्।
तर नचिन्नेका लागि उनको फिल्मभित्र पस्न केही समय लाग्न सक्छ। उनी आफ्ना फिल्म हेर्ने दर्शक कछुवा गतिमा हिँडून् र फिल्मको पात्र, परिवेश र कथामा चुर्लुम्मै डुब्दैडुब्दै जाऊन् भन्ने चाहन्छन्।
बग्दैबग्दै टाढाको सागरसम्म पुग्ने खोलीको गतिजस्तै उनका फिल्मको पनि आफ्नै गति र यात्रा छ। यहाँ चर्चा गर्न लागिएको उनको 'द विन्ड विल क्यारी अस' ले हामीलाई त्यस्तै यात्रामा हिँडाउँछ।
किरुस्तामी आफ्नो काव्यिक र बौद्धिक प्रस्तुतिका कारण चर्चित छन्। लङ सट र लामै दृश्य, थोरै पात्र र थोरै घटना उनका फिल्मका सामान्य विशेषता हुन्।
क्यामरा चलाउने शैली होस् वा पात्रहरूबीच संवाद गराउने काम किरुस्तामीको शैली मौलिक छ। यही शैलीमा उनी जीवन कसरी सार्थक बनाउने भन्ने प्रश्न जन्माउँछन्। कुनै उपदेश बिना सम्भावित जवाफ पनि छोडेर जान्छन्।
जीवन, मृत्यु र प्रकृतिमा निहीत रहस्यका पत्रपत्र केलाउने जिज्ञासालाई धेरै तहहरुमा भन्न रुचाउँछन्। उनले प्रयोग गर्ने विम्बहरुले तिनै तहगत अर्थ निर्माणको काम गरिरहेको हुन्छ। यो फिल्ममा पनि यी सबै विशेषता भेटिन्छन्।
'द विन्ड विल क्यारी अस' बीसौं शताब्दीकी लोकप्रिय इरानी कवि फारोग फारोकजादको चर्चित कविताबाट लिइएको नाम हो। फिल्मको कथा बिस्तारै खुलाइएको यो फिल्म बेहजाद पात्र गाउँतिर जाँदै गरेको यात्राबाट हुन्छ। ऊ किन त्यो गाउँ पुग्छ भन्नेबारे धेरै कुरा फिल्ममा पछिमात्रै खुल्ने भएकोले यो यहाँ पनि नखुलाउनु नै ठिक।
यति चाहिँ भन्छौं, तेहरानबाट करिब सात सय किलोमिटर परको गाउँ आएपछि बेहजादले गाउँसँगै आफूलाई पनि चिन्न थाल्छ। सुरुमा मृत्यु संस्कार र त्यसबारे फिल्म खिच्ने कथा हो कि झैं लाग्छ। तर त्यस्तो हैन।
यो कथाको केन्द्र बेहजाद पात्रको खोज हो। उसको जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा आउने रुपान्तरणको यात्रा हो। फिल्ममा बेहजादसँगै उनको गाइड बनेका स्कुल पढ्ने बालक फरजाद मुख्य भूमिकामा छन्। श्रीमती मलेक, फरजादका बुबा, डिच डिगर, युसुफकी श्रीमती जेन्याब र निर्माता मिसेज गोदजारी यी केही यस्ता पात्रहरु यस्ता छन् जो हामी आवाजले मात्रै चिन्न पाउँछौं।
अर्को पात्रको अनुहार नदेखाई संवाद गराउने शैलीलाई अधिकतम प्रयोग गरिएको छ। पात्रलाई टाढाबाट चिनाए पनि फिल्ममा इरानी ग्रामीण जीवनका गतिविधिको यति जीवन्त चित्रण छ कि वृत्तचित्र हेरेजस्तै लाग्छ।
फिल्ममा कथा किरुस्तामीकै छ भने सिनेमेटोग्राफी चर्चित सिनेमेटोग्राफर अहमद कलारीको छ। फिल्ममा देखिने पात्रहरू धेरै गैरव्यवसायिक कलाकार भएकाले पनि यो फिल्ममा बनावटी लाग्ने कुरा कम छन्।
किरोस्तामीको 'मास्टर-पिस'मध्ये एक मानिने यो फिल्मको नाम संसारका धेरै उत्कृष्ट फिल्मको सूचीमा पर्दै आएको छ। भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरिएको यो फिल्म धेरै अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भएको फिल्म हो।
किरुस्तामीको 'टेस्ट अफ चेरी' ले कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। उनका 'क्लोज अप', 'द रिपोर्ट' लगायत केही छोटा फिल्म पनि युट्युबमा भेटिन्छन्।
अरू थप इरानी फिल्म हेर्ने मन भए यो लिंकमा गएर हेर्न सक्नुहुनेछः अंग्रेजी सब-टाइटलसहित युट्युबमा हेर्न पाइने ५ इरानी फिल्म