दसैंमा सिनेमा
लिटल फरेस्ट (२०१८) - निर्देशक यिम सुन राय
जंगलमा चराचुरूंगीको चिरबिर आवाज सुन्दै जाने बाटोबाट पुगिन्छ, मि सुङ ली गाउँ। यो स्याउ र चामल प्रशस्त उब्जने गाउँका रूपमा चिनिन्छ। यहाँका मान्छे केही किन्न परे सहर पुग्नुपर्छ। यसका लागि एक घन्टाको बाटो आउजाउ गर्नुपर्छ।
यो सोङ हे वोन हुर्किएको गाउँ हो। उच्चशिक्षाका सिओल पुगेकी उनी त्यहाँ सन्तुष्ट हुन सक्दिनन्। पढाइ, काम र सम्बन्धका कारण उनी आफ्नै गाउँ फर्किन्छिन्। सहरको भागदौडभन्दा परको यो ठाउँ शान्त र सुन्दर छ। तर उनको घर रित्तो छ। उनकी आमाको पत्तो छैन। उनीसँग आमाले लेखेका चिठी र बाल्यकालीन याद भने प्रशस्तै छन्।
एकल आमासँग हुर्किएकी सोङको गाउँमा उनका दुई बाल्यकालीन साथी छन्। जे हा बैंकमा काम गर्छिन् र गाउँबाट कहिल्यै बाहिर उम्कौं भन्ने सोचेर बसेकी छिन्। तर अर्को साथी युन सुक भने केही समय सहरमा बसेर फर्केका पात्र हुन्। उनी कृषकका रूपमा गाउँमै बस्न चाहन्छन्। सहर र गाउँप्रतिको आकर्षण यी दुई पात्रमा महशुस गर्न सकिन्छ।
सोङ हे वोन आफैं भने दुविधामा छन्। उनी गाउँमा टिक्छिन् टिक्दिनन् यसका लागि फिल्म हेर्नैपर्ला। के सोङ र उनकी आमाको भेट होला?
यी सबै अहिल्यै थाहा नपाए पनि यत्ति चाहिँ भनौं, यो फिल्ममा आमा छोरीको प्रेम र मित्रतासँगै खानेकुरा पनि केन्द्रमा छ। सोङ खाना भनेपछि हुरुक्कै हुन्छिन्। उनकी आमालाई जस्तै उनलाई पनि मीठा परिकार पकाउने सोख छ। फिल्ममा खानेकुराका परिकार देखेरै मुख रसाउँछ।
रेड सरगम (१९८८)
निर्देशकका रुपमा झांग यिमोको यो पहिलो फिल्म हो। यसअघि उनी सिनेमाटोग्राफरका रूपमा सक्रिय थिए। येल्लो अर्थका सिनेमाटोग्राफरका रूपमा उनको निकै प्रशंसा भएको थियो।
'रेड सरगम'ले जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट फिल्म बन्दै गोल्डेन बियर अवार्ड जितेपछि उनको ख्याति झनै चुलियो।
कथा १९२० दशकबाट सुरू हुन्छ। दर्शकलाई यो कथा अदृश्य वाचकका रुपमा नातिले सुनाउँछन्। उनकी हजुरआमा र हजुरबुबाको कथा।
उनकी हजुरआमाको उनीभन्दा उमेरले निकै जेठा तर धनी पुरुषसँग बिहे हुन लागेको छ। आफ्नै भाइनयार्ड (वाइन उत्पादन गर्ने कारखाना) भएका ती पुरुष कुष्ठरोगी हुन्छन्।
विवाहलगत्तै श्रीमान मारिन्छन्। श्रीमती वाइन उत्पादन गर्ने कारखानाकी मालिक बन्छिन्। उनलाई श्रीमानसँग ल्याउने बेलामा बोक्ने व्यक्तिमध्येका एक जनाले उनलाई मन पराएका हुन्छन्। श्रीमान मरेपछि ती युवाले उनलाई पाउन अनेक जुक्ति लगाउँछन्। यस क्रममा उनले गर्ने क्रियाकलापलाई फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ।
फिल्मको एक घन्टा यिनै पात्रको सम्बन्ध र कारखाना सञ्चालनको गतिविधि वरिपरि घुमेको छ। उट्पट्यांग र रमाइला घटनाक्रमले यतिन्जेलसम्म रमाइलो बनाइरहेको फिल्म एकाएक गाउँमा जापानी सैनिकको प्रवेशसँगै गम्भीर घटनातिर मोडिन्छ।
कथा दोस्रो विश्वयुद्धको समयनेर पुग्छ जहाँ सैनिक दमन र विद्रोहका कुरा जोडिन थाल्छ। यसले वाइन कारखाना सञ्चालन गरेकी युवती, उनको परिवार र कारखानाका सहयोगी कामदारको रमाइलो जीवनमा कस्तो असर पार्ला? यो थाहा पाउन फिल्म हेर्नुहोला।
'रेड सरगम' यही नाममा मो यानद्वारा लिखित चर्चित उपन्यासमा आधारित फिल्म हो। फिल्मको कथा 'रेड सरगम' दृश्य–लोककथाजस्तै लाग्छ। निर्देशक झांगले फिल्ममा कारखाना सञ्चालन र श्रमिकहरुले नाच्दै गाउँदै वाइन बनाएका दृश्यहरुलाई सुन्दर र जीवन्त रुपमा उतारेका छन्। सरगमका लहलहाउँदा बाला झुलेका दृश्यले आँखा लोभ्याउँछ।
'सङ अफ द स्प्यारोज'
माजिद माजिदी यस्तै प्रख्यात फिल्म बनाउने निर्देशक हुन्। अझ उनी इरानका मात्रै नभई संसारकै उत्कृष्ट निर्देशकमा गनिन्छन्।
'चिल्ड्रेन्स अफ हेभन', 'कलर अफ प्याराडाइज', 'बारान' आदि उनका अत्यधिक रूचाइएका फिल्म हुन्। उनले बालमनोविज्ञान र इरानी समाजको अभाव र गरिबीका विषय जीवन्त रूपमा पर्दामा उतारेका छन्।
माजिदीका फिल्महरूमा मुख्य पात्रको जीवनमा आउने समस्या संघर्ष, अड्चन र तिनै अनुभवबाट बदलिने जीवन दृष्टि महशुस गर्न पाइन्छ। आम मान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु राम्रा इरानी फिल्मका विशेषता हुन्। निर्देशक माजिद माजिदीका फिल्ममा पनि यस्ता विशेषता भेटिन्छन्।
सन् २००८ मा रिलिज उनको 'सङ अफ द स्प्यारोज' फिल्मका पात्र करिम पनि त्यस्तै छन् जसको जीवनका उतारचढावले उनलाई आफ्नो परिवार र परिवेशबारे नयाँ ज्ञान दिन्छ।
तीन सन्तानका बुबा करिम र छोराछोरी र परिवारको खुसीमा समर्पित व्यक्ति हुन्। उनी अस्ट्रिच फार्ममा काम गर्छन्। फिल्मको पहिलो चरणमै दुई घटना हुन्छन्।
एक, उनकी जेठी छोरी हानिया कान नसुन्ने हुन्छिन्। उनको हियरिङ एड हराउँछ। हराएको हियरिङ एड निकै दुःख गरेर फेला पारे पनि त्यसले काम गर्दैन। गाउँमा त्यो हेयरिङ एड निःशुल्क मर्मत गर्न महिनौं कुर्नुपर्ने हुन्छ। नभए तेहरान सहर गएर नयाँ किनेर ल्याउनुपर्ने।
यसले करिमलाई कान सुन्न नसके आफ्नी छोरीले कसरी परीक्षा देलिन् भन्ने पीरमा पार्छ।
अर्को, यही बेला उनी काम गर्ने फार्मबाट एउटा अस्ट्रिच भाग्छ। अस्ट्रिच समातेर फिर्ता ल्याउन नसकेका कारण उनको काम खोसिन्छ।
यसपछि करिम छोरीको हेयरिङ एड किन्न तेहरान सहर जान्छन्। त्यहीँको व्यस्त बाटोमा उनको थोत्रो मोटरसाइकललाई कसैले 'मोटरसाइकल ट्याक्सी' भन्ठान्छन्। उनले यही मौका सदुपयोग गर्दै तेहरान सहरमा मान्छे र सामान ओसार्ने काम गर्छन्।
छोरीका लागि हेयरिङ एड किन्न पैसा जम्मा गर्नेबाहेक उनमा छोराको माछा पालेर लखपति बन्ने बालसपना पनि पूरा गर्ने दबाब छ। यही दबाबमा तेहरान सहरको भागदौड सँगै दौडिन उनी बाध्य बन्छन्। सहरको रफ्तार र उनको जिन्दगीको रफ्तारको गति मिल्न पुग्छ। उनी यति व्यस्त हुन्छन्, गाउँभन्दा सहरकै काममा भुलिन्छन्।
तर एकदिन काम गर्दागर्दै उनको दुर्घटना हुन्छ। दुर्घटनामा उनले के गुमाउँछन्, यसका लागि फिल्म नै हेर्नुहोला।
तर पूरा परिवारका लागि कमाउने उनी ओछ्यानमा थलिएपछि उनकी श्रीमती र छोरीछोराले काम गर्न थाल्छन्।
यही दुर्घटनाले करिमलाई सहअस्तित्वको महत्व बुझाउँछ। उनले जीवनका नयाँ अर्थ फेला पार्छन्। कसरी? यसका लागि पनि फिल्म नै हेर्नुहोला।
सपना, संघर्ष, सहअस्तित्व र परिवर्तनका कथा भन्ने यो फिल्ममा धेरै मन छुने दृश्य र घटना छन्। करिमको अस्ट्रिच समात्ने प्रयास, करिमका छोरा र उनका साथीले गमला ओसार्ने दृश्य र त्यही क्रममा माछा घोप्टिने दृश्य केही उत्कृष्ट उदाहरण हुन्। यी र यस्ता अनेक दृश्यलाई माजिदीले मनै लोभ्याउने गरी देखाएका छन्।
यस्तै विशेषता भएकाले यो फिल्मबाट माजिदी र यसका मुख्य अभिनेता रेजा नाजीले महत्वपूर्ण अवार्डहरू पनि जितेका छन्।
रेजाले फिल्म रिलिजकै वर्ष, सन् २००८ मा एसिया प्यासिफिक स्क्रिन अवार्ड्स र डामास्कस इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको र बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा 'सिल्भर बियर फर बेस्ट एक्टर' अवार्ड जितेका थिए।
त्यस्तै यो 'सङ अफ द स्प्यारोज' नेसनल बोर्ड अफ रिभ्युमा उत्कृष्ट विदेशी भाषाको फिल्मका रूपमा छनोट भएको थियो।
नुमाफुङ
नेपाली सिनेमाको कथ्यशैली बलिउडभन्दा फरक हुनुपर्ने र यसको कथा नेपाली समाज र संस्कृतिबाटै आउनुपर्ने मत राख्नेमध्येका अग्रपंक्तिमा आउने नाम हो, नवीन सुब्बा।
उनै नवीनले नुमाफुङ निर्देशन गरेर नेपाली मौलिक कथा टिपेर सिनेमा बनाएको जस पनि बटुल्न सफल भए। नुमाफुङलाई धेरैले नेपाली सिनेमाको धार बदल्नेमध्येको प्रमुख सिनेमा मानेका छन्। नुमाफङ अर्थात् सुन्दर फूल। लिम्बू संस्कृति र मुन्धुममा फूलको महिमा अपार छ। नवीनले आफ्नो सिनेमामा त्यही नाम टिपे।
लिम्बू समुदायमा प्रचलित छोरी दिँदा कुटुम्बसँग नगद, सुन आदि लिने चलन सुनौली–रूपौली प्रथा र त्यसले निम्त्याउने अप्ठ्यारोलाई कथा बनाए। फिल्मको कथा जुन समाजबाट लिइन्छ, कथा भन्ने शैली पनि त्यही समाजको हुनुपर्छ भन्ने मान्यता राख्ने नवीनको यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएर प्रशंसा र पुरस्कार जितेको छ।
अनुपमा सुब्बा, निवाहाङमा लिम्बू, प्रेम सुब्बा, अलोक नेम्बाङ आदि यसका मुख्य कलाकार हुन्।
कागबेनी (सन् २००८), निर्देशक: भूषण दहाल
नेपालकै पहिलो डिजिटल फिल्मका रूपमा चर्चा कमाएको 'कागबेनी' आफ्नो समयको चर्चित फिल्म हो। करिब १२ वर्षपछि हेर्दा पनि यो फिल्मको असर कम लाग्दैन।
मलेसियाबाट केही समयका लागि नेपाल आएको कृष्ण (निमा रुम्बा) कागबेनी पुग्छन्। आफ्नो बाल्यकालीन साथी रमेश (सौगात मल्ल) लाई भेटेर (नोस्टाल्जिक) बन्छन्। रमेश स्थानीय स्याउबाट रक्सी बनाएर बेच्छन्। कृष्ण आफ्नी आन्टी भेट्न मार्फा गाउँ पुग्नु पर्ने हुन्छ। रमेश पनि आफ्नो नियमित कामका लागि मार्फा गइराख्ने भएकोले दुवै सँगै निस्कन्छन्।
यात्राका क्रममा रात बिताउने बेला एक जना साधु भेटिन्छन्। ती साधुले कृष्णलाई हजारौं वर्ष पुरानो बाँदरको हात (पञ्जा) दिन्छन्। साधुका अनुसार त्यो पञ्जामा मान्छेको कामना पूरा गर्ने शक्ति हुन्छ। तर पञ्जाको दुरुपयोग भएको खण्डमा ठूलो अनिष्ट आउने चेतावनी पनि दिएका हुन्छन्।
यही यात्रामा कृष्णले रमेशलाई आफ्नो अभिभावकले तारा (दीया मास्के) सँग बिहेको कुरा अघि बढाएको जानकारी दिन्छन्। तारासँग बिहे गर्ने सपना पालेर बसेका रमेश यो कुरा सुनेर दुःखी बन्छन्। उनले तारालाई आफ्नो बनाउन त्यही अदृश्य शक्ति लुकेको पञ्जासँग कामना गर्छन्।
त्यसपछि यी दुईको मित्रता र जीवनमै उलटपुलट ल्याइदिने घटना हुन्छन्। रहस्यमयी घटनाले फिल्म रोचक बन्दै जान्छ। 'कागबेनी' डब्लु.डब्लु जेकब्सको हरर कथा 'द मन्किज पअ' बाट प्रभावित बनाइएको हो।
मुस्ताङको मनमोहक सौन्दर्य सिनेमाको पर्दामा हेर्न पाइनु अचेल सामान्य बनिसकेको छ। तर कागबेनी बन्ने बेला यो नयाँ कुरा थियो। शरद गुरुङको पार्श्व संगीतमा सलल बग्ने कागबेनीमा अच्युत कोइराला र सामीप्य तिमल्सिनाको पटकथा अनि प्रशान्त रसाइलीको स्क्रिनप्ले छ।
त्यसअघि रंगमञ्चमा जमिसकेका सौगातको यो पहिलो फिल्म हो। फिल्ममा उनी लगायत दीया मास्के र निमा रुम्बाको अभिनय चरित्र अनुसार सुहाउँदो लाग्छ।
केक (२०१८), निर्देशक: असिम अब्बासी
राम्रो पाकिस्तानी फिल्म कस्तो हुन्छ? यो जिज्ञासाको सहज उत्तर हुनसक्छ, 'केक'।
'केक' पारिवारिक हाँसखेल, मनमुटाव, सम्बन्ध व्यवस्थापन र चुनौतीको एउटा स्वादिलो कथा हो। यस्तो कथा जसले पात्रसँगै हसाउँछ, रुवाउँछ।
जरीन (अमीना शेख) वृद्ध आमाबुवाको हेरचाह र घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने पात्र हुन्। बुबालाई आइसियुमा भर्ना गरेको खबर पाएपछि लन्डनमा भएकी बहिनी कराँची आउँछिन्। बहिनी जारा (सनम सईद) घर फर्केलगत्तै दिदीबहिनीको सम्बन्धमा प्रेम र घृणाको दोहोरो अन्तरविरोध देखिन थाल्छ। यो अन्तरविरोध हुनुमा विगतको एउटा महत्वपूर्ण घटना कारक हुन्छ। त्यो कारणलाई फिल्ममा पत्रपत्रमा खुलाइएको छ। यसले फिल्मलाई रोचक बनाएको छ।
उनीहरूका वृद्ध आमाबुबाको सम्बन्ध पनि कम्ता रोचक छैन। उनीहरू एकअर्कालाई बिछट्टै माया गर्छन्। तर त्यो प्रेममा कोमलताभन्दा नोकझोक बढी छ। परिवारका सदस्यहरूको सम्बन्धसँगै फिल्मका मुख्य महिला पात्रको प्रेम जीवन, निजी सपना र सम्झौताका कथा पनि सँगै अघि बढ्छ।
गाउँ, सहर र प्रवासी पाकिस्तानीका जीवनका अनेक पक्ष समेत छुने यो फिल्मको कथासँगै संवाद र सिनेमाटोग्राफी पनि गज्जब छ। ब्लकिङ र विम्बहरूसँग मजाले खेलिएको यो फिल्मको निर्देशनसँगै पात्रहरूको अभिनय राम्रो छ। फिल्मको संगीतले पनि पात्रका भावनाहरूको आवेग महशुस गराइराख्छ।
फिल्मका महिला पात्रहरू बलिया छन् भने मुख्य पुरुष पात्र इमानदार छन्। यो फिल्मका हरेक मुख्य पात्रसँग दर्शकको प्रेम बस्यो भने अचम्म हुँदैन।
गोलमाल, निर्देशक ऋषिकेश मुखर्जी (१९७९)
हिन्दी फिल्मका पारखीलाई सबभन्दा मन परेको फिल्मको सूचीमा पहिलो क्रममा 'गोलमाल'को नाम आए अचम्म हुँदैन। 'गोलमाल'मा त्यस्तो के छ?
'गोलमाल'भित्र धेरै कुरा गोलमटोल छ। फिल्मको प्रारम्भमै आउने गीतले भनेझैं सबै गोलमाल छ।
भवानीशंकर (उत्पल दत्त) परम्परागत मूल्य मान्यता राख्ने एकदमै कडा मिजासको मान्छे हुन्। आधुनिक पहिरन मन नपराउने भवानी जुँगा नभएका मान्छेलाई चरित्र नभएको मान्छे ठान्छन्। यस्तो सोचाइ राख्ने भवानीकहाँ जुँगावाला र शालीन कुर्ता पाइजामा लगाउने रामप्रसाद (अमोल पालेकर) जागिर माग्न आउँछन्। रामप्रसादको सरल आवरण र शुद्ध हिन्दीबाट भवानी प्रभावित हुन्छन्।
रामप्रसाद आफ्नो कामबाट पनि भवानीलाई प्रभावित पार्न सफल छन्। तर एक दिन आमा बिरामी भएको बहाना पारेर रामप्रसाद हक्की म्याच हेर्न गएको थाहा पाएपछि संकटमा पर्छन्। जागिर जोगाउन रामप्रसादले आफूलाई नभएर आफ्नो जुँगाविहीन भाइ लक्ष्मणलाई देखेको होला भनेर भवानीप्रसादको विश्वास कायम राख्न सफल हुन्छ।
तर यही भनाइले उसले डबल भूमिकाको नाटक गर्नुपर्ने स्थिति आउँछ। रामप्रसाद बनेर जागिर खाने उनी भवानीकी छोरी उर्मिला (विन्दिया गोस्वामी) लाई संगीत सिकाउन थाल्छन्। परम्परागत हुलियाको जुँगावाल रामप्रसादलाई वास्ता नगर्ने उर्मिला जुँगा नभएको लक्कीप्रति आकर्षित हुन्छिन्।
जुँगावाला र जुँगाविहीन दोहोरो भूमिकाको खेलमा रामप्रसादले भवानीप्रसादलाई कति दिन झुक्याउलान्? परम्परागत र आधुनिक सोच शैली र मूल्य मान्यताको टकरावको यो रोमाञ्चक खेल कहाँ गएर कसरी टुंगिएला? यही नै 'गोलमाल'को कथा हो।
'गोलमाल' अमोल पालेकर र उत्पल दत्तको बेजोड चरित्र र अभिनयका कारण यादगार फिल्म बन्न पुग्यो।
निर्देशक ऋषिकेश मुखर्जीका अन्य धेरै फिल्मजस्तै यो पनि घरभित्रको सानो सन्दर्भको कथा हो। यसमा पनि मध्यम वर्गीय परिवारको मूल्य मान्यता र साना तर अर्थपूर्ण नोकझोंक हेर्न पाइन्छ। मसिना तर आममान्छेसँग जोडिएका घरघरभित्रको कथा भन्ने ऋषिकेष मुखर्जीको यो फिल्मको 'आनेवाला पल जानेवाला है' गीत पनि उत्तिकै दमदार छ।