'घर' फिल्मकी अभिनेत्री सुरक्षा पन्त महिनौंपछि आफ्नै घर बुटवल पुगेकी छन्। धेरैलाई झैं उनलाई पनि दसैंले घर बोलाएको हो।
तर यो अरू बेला जस्तो सामान्य दसैं होइन। कोरोना महामारी र महिनौंको लकडाउनले धेरै जना यस पटक घर जान-आउन सकिरहेका छैनन्।
चार दिदीबहिनीमध्ये माहिली सुरक्षाका दिदीबहिनी कोही पोखरा त कोही भारतको बैंगलोरमै अड्किएका छन्। वर्षभरि कोही कता, कोही कता भए पनि दसैंको बहानाले उनीहरूको भेट हुन्थ्यो। हरेक पटकको नयाँ भेटमा उनीहरू पुराना कुरा सम्झेर रमाउँथे। अनि, फेरि अर्को पटक सम्झिनलायक किस्साहरू जन्माउँथे।
'यस पटकको दसैंमा दिदीबहिनीको जमघट मिस हुने भयो,' पञ्चमीकै दिन बुटवल पुगेकी सुरक्षाले फोन संवादमा भनिन्।
हरेक वर्ष दसैंमा चार दिदीबहिनी डुल्दै सपिङ गर्ने उनीहरूमा भयंकर सपिङ क्रेज भएको सुरक्षा बताउँछिन्। त्यसैले एक दिनले नपुगेर अर्को दिन पनि बजार जान्थे। भनिन्, 'दसैंको दुई दिन त बजार घुमेर किनमेल गर्दै बित्थ्यो।'
सपरिवार हलमा गएर सिनेमा हेर्नु पनि दसैंको अनिवार्य हिस्सा थियो। सिनेमा हल बन्द रहेको यो समयमा सुरक्षाले यो पारिवारिक क्षण पनि मिस गरिन्।
कोरोना संक्रमण जोखिमले न जमघट, न किनमेल, न सिनेमा हेर्न पाइने वातावरण। यो दसैंमा धेरैले धेरै कुरा मिस गरिरहेकाले आफूले मिस गरेका कुरा सुरक्षा स्वभाविक मान्छिन्। त्यसैले उनी यो दसैंमा परिवारसँगै बसेर मीठो मसिनो खानु र तास खेलेर रमाइलो गरेरै चित्त बुझाउने सोचमा छिन्।
तास खेल्न रमाए पनि उनलाई एउटाभन्दा बढी खेल आउँदैन रहेछ।
'जुटपत्ति मात्रै आउँछ, त्यही पनि सधैं हार्छु,' उनले भनिन्।
दसैंलाई परिवार भेट्ने अवसरका रूपमा बताउने सुरक्षा हरेक वर्ष टीका लगाएर मामाघर चितवन जान्थिन्। यो वर्ष मामाघरका हजुरआमा र हजुरबुबाको हातको टीका र आशीर्वाद थाप्न जाने-नजाने अझै टुंगो छैन उनको।
यस पटक चितवन जान पाइनन् भने उनले मामाघरको टीका पनि मिस गर्नेछिन्।
धेरै कुरा मिस गरे पनि दसैंको बहानामा घर पुगेकी उनी यही बेला मास्टर्स थेसिसको काम गर्ने सोचमा छिन्। इन्जिनियरिङमा स्नातकोत्तर गरेकी उनी अनुसन्धानका लागि लुम्बिनी क्षेत्रको स्थलगत अध्ययन गर्ने छिन्।
'लकडाउन र निषेधाज्ञाका कारण थेसिसको स्थलगत काम रोकिएको थियो,' उनले भनिन्, 'दसैंमा घर आएको मौकाको सदुपयोग गर्दै थेसिसको काम सकाउने सोचिरहेकी छु।'
उनी हाल पानी व्यवस्थापनसम्बन्धी विषयमा थेसिस गरिरहेकी छिन्। त्यसैले दसैंपछिका केही समय उनी घरतिरै हुनेछिन्।
सुरक्षा थोरै तर राम्रा फिल्म छानेर काम गर्ने अभिनेत्री हुन्। पछिल्लो फिल्म 'आमा'मा गरेको सशक्त अभिनयका कारण सर्वत्र प्रशंसा कमाएकी थिइन्। सामान्य अवस्था हुन्थ्यो भने एउटा फिल्म छायांकनका लागि विदेश पुगेकी हुन्थिन्।
लकडाउन र निषेधाज्ञाका बेला सुरक्षाले धेरै समय आफैंलाई दिइन्। सुरूआती चरणमा धेरै समय फिल्म वा टेलिभिजन हेरेर बिताइन्। केही पटकथा पढिन् भने केही कविता पनि लेखिन्। फिल्मको काम अघि बढ्न अझै केही समय लाग्ने भएकाले थेसिसलाई नै प्राथमिकता दिने मौका पाइन्।
यसबीच 'आमा' फिल्म सकिने बित्तिकै मिथिला शर्मा र उनले अभिनय गरेको 'आमा' बोलकै म्युजिक भिडिओ सार्वजनिक भएको छ। यसबाहेक लकडाउन खुकुलो भएपछि एक दुई म्युजिक भिडिओ र सर्ट फिल्ममा काम गरेको उनले बताइन्।
इन्जिनियरिङ पढाइ औपचारिक रूपमै सकाउन लागेकी सुरक्षा व्यक्तिगत रूपमा आफू फिल्ममा मात्रै आश्रित नरहेको बताउँछिन्। आफू जोडिएको फिल्म क्षेत्रको संकट नजिकबाट महशुस गरेकी छन्।
फिल्म उद्योग महामारीले मारमा पारेको एउटा मुख्य क्षेत्र हो। यहाँ धेरैको आर्थिक स्थिति नाजुक छ।
अहिले रमाइलोसँग भन्दा पनि सुरक्षित भई दसैं मनाऔं भन्नुपर्ने स्थिति छ। उनले भनिन्, 'कामना गरौं दसैंभन्दा तिहार अलि खुलेर मनाउन पाइनेछ।'
सबै तस्बिर सौजन्यः सुरक्षा पन्तको फेसबुक