गुड फ्राइडे सिनेमा
बिहारमा लो प्रोफाइलको एउटा गाउँ छ, मैक्लुस्कीगन्ज। यहीँको एउटा पुरानो घरमा मिस्टर बख्शी (ओम पुरी) र मिसेज बख्शी तनुजा (नतुजा) बस्छन्।
सहरबाट क्रिसमस छुट्टीमा रमाइलो गर्न भनेर बक्शी दम्पतीका छोराछोरी र नातेदार यहाँ आइपुगेका छन्।
जंगल बीचमा रहेको घरमा हुने भेलामा बक्शीका छोरा नन्दू (गुलशन देवैया), उनकी पत्नी बोनी (तिलोत्तमा शोम), छोरी तानी (आर्या शर्मा) र नजिकका भाइ सुटु (विक्रान्त मस्सी) छन्। यही जमघटमा बोनीकी साथी मिमी (कल्की कोचलिन) र नंदूका साथी विक्रम (रणवीर शौरी) र ब्रायन (जिम सर्भ) पनि सहभागी छन्।
फिल्म जसै अघि बढ्छ, दर्शकले एउटै ठूलो परिवारभित्रका यी सदस्यबीच भावनात्मक दुरी महसुस गर्न थालिहाल्छन्। यसको सुरुआत भूत वा आत्मा बोलाउने खेलसँगै सुरू हुन्छ।
मस्ती गर्न भेला भए पनि सबै कलाकार आफ्नै जीवनका कुनै न कुनै तनावले लखेटिएका छन्। यही तनावले उनीहरूले अर्को पात्रसँग गर्ने व्यवहारमा असर पर्छ। ख्यालठट्टामै पनि उनीहरुको मनको तुष बाहिर निस्किदिन्छ।
धेरै कलाकार भएको यो फिल्ममा सबैलाई मुख्य अनि सबैलाई सहायक कलाकार भन्न मिल्छ। यो भूतको वा एक्सन थ्रिलर फिल्म होइन। तर फिल्मले सुरूदेखि अन्तसम्म खुलदुली र डर जगाइराख्छ।
फिल्ममा शुटु पात्रलाई अरुभन्दा बढी रहस्यमयी देखाइएको छ। उनी अरुले बुझ्न नसकेका पात्र हुन्। आन्तरिक द्वन्द्वमा अल्झेका यही पात्रसँग जब अर्का पात्र विक्रमको द्वन्द्व फिल्म रोचक बन्छ।
बिदा मनाउन मैक्लुस्कीगन्ज आएका पात्रहरूको फर्किने बेलासम्म पहिलाजस्तै रहँदैनन्। न त उनीहरूको सम्बन्ध नै पहिलाकै जस्तो हुन्छ। यो परिवर्तन के, किन र कसरी हुन्छ बुझ्न फिल्म बिस्तारमा हेर्नुहोला।
फिल्म खिचिएको ठाउँ र यसले चित्रण गरेको समय फिल्मको मुख्य विशेषता हुन्। सन् १९७९ को समय उतारिएको यो फिल्मको प्लटभन्दा डिटेलिङ शानदार छ। पहिरन, भाषा, परिवेशसँगै बांग्ला-बंगाली परिवारको जीवनशैली चित्रण गर्न ससाना कुरामा विशेष ध्यान दिइएको छ। फिल्मको सिनेमाटोग्राफी, साउन्ड र कलर पृथक लाग्छ।
'मिस्टर एन्ड मिसेज अय्यर', 'ओमकारा', पेज थ्री, 'लिपस्टिक अन्डर माइ बुर्का' जस्ता फिल्मकी अभिनेत्री कोनकोनाको निर्देशनमा बनेको यो पहिलो हिन्दी फिल्म हो। यसअघि उनले बांग्ला भाषामा छोटो फिल्म निर्देशन गरेकी थिइन्।
जीवन्त अभिनयबाट मन जितेकी कोनकोनालाई 'अ डेथ इन द गन्ज' ले निर्देशकका रूपमा पनि उत्तिकै प्रशंसा दिलायो। समीक्षकहरूले राम्रो प्रतिक्रिया दिएको यो भारतबाहिरका महोत्सवमा समेत चर्चा र पुरस्कार पाएको फिल्म हो। टोरन्टो फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्मको एसियन प्रिमियर बुसान फेस्टिभलमा भएको थियो।
फिल्मबाट कोनकोनाले फिल्म फेयर डेब्यु निर्देशकको अवार्ड जितेकी थिइन्। सन् २०१६ को मुम्बई फिल्म फेस्टिभलमा ओपनिङ फिल्मका रूपमा प्रदर्शन भएको यो फिल्मबाट कोनकोनालाई 'मास्टरकार्ड बेस्ट इन्डिया फिमेल फिल्म-मेकर' अवार्डबाट सम्मान गरिएको थियो।
'डेथ इन द गन्ज यस फिल्म निर्देशक कोनकोना सेनका बुबा मुकुल शर्माले लेखेको कथामा आधारित छ। यो कथा वास्तविकतामा आधारित कथा भनिएको छ। उनी निर्देशक अपर्णा सेनकी छोरी हुन्। अपर्णा पनि कोनकोनाजस्तै अभिनयबाट निर्देशनमा प्रवेश गरेकी थिइन्। कोनकोना आफ्नी आमाकै पाइला पछ्याउँदै 'अ डेथ इन द गन्ज' सम्म आइपुगेकी हुन्।