लकडाउन नभएको भए नीरू (निर्मला) खड्का यो तिहारमा अस्ट्रेलिया, सिड्नीमा हुने थिइन्। कोरोना महामारीकै बहानामा सही, दिदी देशमै भएकाले उनका भाइ खुसी छन्।
भाइको खुसीमा नीरू झनै धेरै खुसी छिन्। प्रायः दसैं-तिहारमा उनी कामको सिलसिलामा काठमाडौं बाहिर वा विदेशतिरै हुन्थिन्।
निर्मलालाई धेरैले 'मेरी बास्सै' टेलिशृंखलाकी निर्मली वा 'ठ्यास कुमारी' भनेर चिन्छन्। स्ट्यान्डअप कमेडी, नृत्य र प्रहसनमा उनको विशेष माग छ। दसैं-तिहारजस्ता चाडमा माग झनै बढ्छ। विज्ञापन र रेडियोमा आवाज दिने मीठो स्वरकी धनी नीरू बालसडक नाटकहरू पनि निर्देशन गर्छिन्।
चाडपर्वका बेला घरका सदस्यसँग बस्न नपाई विदेश गइराख्ने नीरूले यसरी फुर्सदले दसैं-तिहार मनाउन पाएको धेरैपछि हो। नीरूका दाइ र भाइ छन्। दाइ साउदी अरब गएको धेरै वर्ष भइसक्यो। दाइसँग टीका लगाउन नपाउनु उनका लागि सामान्य भइसक्यो। तर काठमाडौंमै भएका भाइसँग पनि टीका लगाउन पाएकी थिइनन्।
'धेरैजसो बाहिर जानुपर्दा ला भाइलाई कसरी बुझाउनू, ऊ रिसाउने हो कि भन्ने डर लाग्थ्यो। तर यसपालि मन ढुक्क छ। दुवै खुसी छौं,' उनी भन्छिन्।
नत्र प्रायः उनले भाइलाई फकाउने पाराले भन्नुपर्थ्यो– यो वर्ष यस्तै भयो है चन्द्र।
दिदीको कुरा भुइँमा नखस्दै भाइले भन्थे, 'कति दिनका लागि नि?'
नीरू दसैं-तिहारमा एक महिनाभन्दा बढी समयका लागि विदेश गएकी छिन्। एकपटक होइन, पटक-पटक। यसरी अरूलाई मनोरञ्जन दिँदै हिँड्ने उनको मन धेरै पटक खल्लो भएको छ।
उनका आमाबुबा बितेको धेरै वर्ष बितिसक्यो। त्यही भएर चाडवाडमा भाइसँग हुन नपाउँदा उनलाई न्यास्रो लाग्ने नै भयो। भनिन्, 'बिहेअघि भन्दा बिहेपछि यस्ता चाडवाडको महत्व बढेको महसुस हुन्छ। तर कामका लागि हिँडेको हो, सधैंका लागि हैन भनेर आफैं मनलाई सम्झाउँछु।'
उनी यो क्षेत्रमा सक्रिय भएको डेढ दशक पुग्न लाग्यो। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम 'थोरै भए पुगी सरी' टेलिफिल्मबाट करिअर सुरू गरेकी थिइन्। करिब २२ वर्षको उमेरमा ३६ वर्षकी महिला अरुन्धतीको भूमिकामा उनलाई धेरै दर्शकले रुचाए।
'त्यो पात्र चर्चित भएपछि मलाई सार्वजनिक यातायातमा हिँड्नसमेत गाह्रो परेको थियो। अनुहार नचिनून् भनेर सलले मुख छोपेर हिँड्थेँ।'
त्यसपछि उनी अर्को चर्चित टेलिशृंखला 'तीतोसत्य'मा देखिइन्। त्यसपछि 'मेरी बास्सै'को पालो आयो। दाह्री बाको छोरी र गैंडाकी श्रीमती निर्मलीको भूमिकामा थिइन् उनी। निर्मली पात्रको नाम आफ्नै नामबाट आफैंले राखेको उनी बताउँछिन्।
आज पनि देश-विदेशमा रहेका दर्शकले उनलाई निर्मलीकै रुपमा चिन्छन्।
'निर्मली भएर चर्चा पाएपछि ओहो मलाई पनि चिन्ने भए भनेर पहिला खुबै खुसी लाग्यो। तर पछिपछि ट्याक्सी चढ्ने पैसा नहुँदा टेम्पो चढेर हिँड्न बाध्य भइन्थ्यो। धत्तेरिका अलि धेरै काम र पैसा भएपछि चिनिएको भए पनि हुने नि भनेजस्तो लाग्न थाल्यो,' उनले भनिन्।
अभिनय गर्दा मात्रै कमाइ पर्याप्त नहुने भएकाले देश-विदेशका स्टेज कामले आर्थिक रूपमा धेरै सघाएको उनी बताउँछिन्। उनी सन् २००८ यता विभिन्न स्टेज कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा व्यस्त छिन्। भन्छिन्, 'आर्थिक रुपमा भरथेग हुने भएकाले नै हो, के दसैं के तिहार, जहाँ पनि जहिले पनि जान तयार हुनु पर्छ।'
यस्ता स्टेज कार्यक्रम उनका लागि आम्दानीको स्रोत मात्रै होइन। यसैबाट उनले धेरै साना गाउँदेखि ठूला सहरका मानिससँग प्रत्यक्ष अन्तक्रिया गर्न र प्रतिक्रिया लिन पाएकी छिन्। यस्ता कार्यक्रममा पाउने माया नै आफ्नो काम निखार्ने ऊर्जाको स्रोत मान्छिन् उनी।
स्टेजमा उनको माग बढेको 'मेरी बास्सै'मा हिट भएपछि नै हो। उनी गौरी मल्ल, रामकृष्ण ढकाल, जितु नेपाल, शिवहरि पौडेल, बद्री पंगेनीलगायत धेरै कलाकारसँग स्टेज कार्यक्रमकै लागि देश-विदेश घुमेकी छिन्।
घरका सदस्यको नजिक नभए पनि विदेशमा दसैं-तिहार मनाएका मीठा अनुभव छन् उनीसँग। तीन वर्षअघि मलेसिया जाँदा मिलन अमात्य, अशिष्मा नकर्मी र पूजनाका साथमा त्यहाँको रेस्टुरेन्टमा लक्ष्मी पूजामा भैलो खेलेको उनको अविष्मरणीय क्षण हो। दसैं-तिहारबाहेक पनि उनी उत्तिकै व्यस्त हुन्छिन्।
लकडाउन सुरू हुनु एक साताअघि नेदरल्यान्ड जाने भिसा पाएकी थिइन्।
नीरू आफ्नो करिअरमा 'मेरी बास्सै'को काम नै महत्वपूर्ण ठान्छिन्। आज पनि 'मेरी बास्सै'को पहिलो दिनको छायांकन स्थल झलझली सम्झिन्छिन्। त्यो छायांकन बुढानिलकण्ठमा थियो। अहिले महामारीको डरबीच पनि उनी 'मेरी बास्सै'को छायांकनमा व्यस्त छिन्।
हाल ६ सयभन्दा बढी भाग प्रसारण भइसकेको यो टेलिशृंखलामा उनी सुरूदेखि आबद्ध भए पनि बीचमा धेरै पटक 'अन एन्ड अफ' हुनु परेको छ। डेढ वर्षजति रुसमा काम गर्न गएका बेला र दुई सन्तान जन्मिने बेला उनले केही भागमा माया मार्नु परेको थियो।
अभिनय, प्रस्तुति र घरव्यवहार सन्तुलित पाराले धानिरहेकी उनले भनिन्, 'छोरी मान्छेले घरबाहिरको काम मात्रै भनेर हुँदैन। तर सबैको मायाले आफूले रोजेको क्षेत्रमा निरन्तरता दिन पाउनु ठूलो कुरा हो।'
अभिनय र मनोरञ्जन क्षेत्रमा आउनुअघि उनी कोरस डान्सर थिइन्। नाच्न हुरुक्कै हुने उनी देउसी-भैलोमा नाच्नेहरूको हुलमा सबभन्दा अगाडि हुन्थिन्। खासगरी भैलो खेल्दाकै अनुभवले नचिनेका मान्छेसामु नाच्दा लाग्ने संकोच मरेको उनी बताउँछिन्।
तर यसरी तिहारमा उनले नाच्न छोडेको धेरै वर्ष भइसक्यो।
'कोरीबाटी चटक्क परी भैलो खेल्दै नाच्ने बहिनीहरू देख्दा, ओहो कहाँ गयो त्यो बालापन भनेर उदेक लाग्छ, उनले भनिन्, 'बुढापाकाले जे गर्नु छ, उमेरमै गर्नू भनेको त्यसै हैन रहेछ।'
अचेल घरीघरी उनलाई लाग्न थालेको छ– बाग्मतीको सफा पानीसँगै बगेर गयो उमेर। सोझै आफ्नो उमेर नखुलाई पैंतीस नाघिसकेको संकेत दिइन्।
नाच्न सिपालु उनलाई पहिला धेरैजसो नृत्यकै कामको प्रस्ताव आउँथ्यो। अचेल उमेरकै कारण पहिला जसरी नाच्न नसक्ने उनी बताउँछिन्।
'नृत्य एउटा समय र उमेरका लागि रहेछ। आफूले आफूलाई जति जवान सोचे पनि उमेरसँगै नाच्न नसकिने रहेछ। मनले जवान भनेर नपुग्ने रहेछ,' उनले भनिन्।
त्यसैले अचेल उनी नाचभन्दा स्ट्यान्डअप कमेडीमा केन्द्रित छिन्। कमेडी धेरै गर्नुको उनीसँग अर्को तर्क पनि छ, 'नृत्यमा प्रायः नाचिसकेपछि मात्रै ताली पाइन्छ। कमेडीमा मिहेनत गर्ने हो भने हरेक पन्चमा दर्शकको ताली पाउन सकिन्छ। हरेक तालीले अझ राम्रो गर्ने प्रेरणा दिन्छ। आफ्नो विचार दिन सकिन्छ। यसले सर्वसाधारणदेखि बौद्धिकसम्मलाई छुन्छ। समसामयिक विषयमा भिज्दै अभ्यास गर्दा कमेडीमा राम्रो गर्न सकिन्छ।'
सस्तो कमेडी नहोस् भनेर मिहेनत गर्ने उनी काठमाडौंका पुस्तकालय धाएरै अध्ययन गरिरहेकी हुन्छिन्। साहित्यिक र प्रेरणादायी किताब पढ्न रूचाउने उनी समसामयिक विषयमा अपडेट लिन नियमित पत्रपत्रिका पढ्छिन्।
हाँस्यकलाकारप्रति समाज खास उदार छैन। तर नीरू आफूलाई स्ट्यान्ड अप कमेडिन भनेर चिनाउँदा हिनताबोध नहुने बताउँछिन्। भनिन्, 'कति कार्यक्रममा पारिश्रमिक पाएको छुइनँ। तर धेरैको माया र सद्भाव पाएकी छु। यो माया सधैं पाइराखूँ भन्ने लाग्छ।'
अरुलाई हँसाउने बहानामा आफ्ना निजी दुःख पनि बिर्सन पाएको बताउँछिन्।
काम काम भन्दाभन्दै बितिरहेको समयले उनलाई अनगिन्ती सम्झना दिएका छन्। ती सम्झनामा तिहारको याद पनि मनमा गढेर बसेको छ। काठमाडौं, जोरपाटी बेसीगाउँमा हुर्केकी उनी दसैं-तिहारका बेला साथीसंगीसँग मिलेर फलफूल चोरेको सम्झिन्छिन्, 'खासगरी यो मौसममा हलुवावेद चोर्न हिँडेको खुब याद आउँछ।'
उनका भाइसँग जोडिएको एउटा प्रसंग रोचक छ।
'तिहारपछि स्कुल जाने बेला भाइले तपाईंलाई मैले टीका लगाएर पचास रुपैयाँ दिएको हैन, खै दिनुस् भन्थ्यो,' नीरूले हाँस्दै सुनाइन्, 'मलाई खुब हाँस उठ्थ्यो। म पनि मैले दिएको सेल-मिठाई पहिला ले, अनि दिन्छु भन्थेँ।'
भाइटीका सम्झँदा उनलाई आमाको झझल्कोले पनि पछ्याइरहन्छ।
आमा बित्दा उनी जम्मा १४ वर्षकी थिइन्। उनकी आमा र मामाहरू टीका लगाउन लहरै बसेका हुन्थे।
'ममीले दाजुभाइलाई टीका लाइदिने बेला म पनि भान्जी भएर टीका लगाउने ठाउँमा बस्थेँ। मैले टीका नलगाए पनि सबै मामाहरूका तर्फबाट दक्षिणा र मसला, कोसेली पाउँथेँ। त्यो मेरा लागि रमाइलो क्षण हुन्थ्यो।'