कथा–कहानीमा मान्छेले निजी सम्बन्ध खोज्छ र भेट्छ। मान्छेले आफ्नो समाज र परिवेशसँग साइनो गाँस्ने साथी पनि हो कथा।
संगीता श्रेष्ठले पनि सानै उमेरदेखि कथालाई साथी बनाइन्। अरूका कथा पढेर, सुनेर कल्पना र भावनाको उडान भर्दाभर्दै उनी आफैं कथा भन्न थालिन्। अचेल उनको मुख्य काम नै कथा भन्नु हो।
भन्ने त कथा नै हो, तर उनले भन्न अपनाउने माध्यम एउटै छैनन्। उनी रेडियो, टेलिभिजन, म्युजिक भिडिओ र फिल्मका माध्यमबाट कथा भनिरहेकी छिन्।
लेखनमा पनि उत्तिकै सक्रिय उनलाई निर्देशकका रूपमा बढी चिनिन थालिएको छ। पछिल्लो समय उनले निर्देशन गरेको छोटो फिल्म 'आइसक्रिम' अचेल चर्चामा छ। यो चर्चा क्षेत्रीय सीमा नाघेर अफ्रिकादेखि युरोपसम्म फैलिएको छ।
हालै नाइजेरियामा सम्पन्न 'अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल' मा आइसक्रिम पाँच विधामा मनोनित भई दुई मुख्य पुरस्कार जित्न सफल भयो। फिल्म गत नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रूपमा भएको फेस्टिभलको पहिलो दिन प्रदर्शन भएको थियो।
आइसक्रिम उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता (महिला), उत्कृष्ट स्क्रिन प्ले र उत्कृष्ट सम्पादन विधामा मनोनित भएको थियो।
'यो सोचेभन्दा ठूलो र रमाइलो उपलब्धि हो,' निर्देशक संगीताले खुसी साटिन्।
बाल यौनशोषणको विषयमा बनाइएको यो फिल्ममा सडकमा माग्दै हिँड्ने बालिकाको कथा छ। योगिशा खत्रीको मुख्य भूमिका रहेको फिल्म ९ मिनेट लामो छ।
अइसक्रिम अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', बेलायतको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको 'इन्टिमलेन्ट फिल्म फेस्टिभल' र नेपालको 'मानव अधिकार फिल्म फेस्टिभल २०२०' मा समेत छनोट भइसकेको छ।
यसरी संसारका थुप्रै महोत्सवबाट सकारात्मक प्रतिक्रिया पाउँदा संगीताको खुसीले आकाश छोएको छ। उनले भनिन्, 'यति धेरै ठाउँमा प्रदर्शन गर्ने अवसर पाइएला र अवार्डसमेत जितिएला भन्ने सोचेकै थिइनँ।'
संगीताका अनुसार यौन दुर्व्यवहारजस्तो संवेदशील विषयको यो फिल्म सम्पादनमा नयाँ प्रयोग गरेकी छिन्। विषयको महत्व र फिल्ममा गरिएको प्रयोग नै अन्तर्राष्ट्रिय महोत्सवहरूमा छनौट र पुरस्कृत हुने मुख्य कारण हो।
'फिल्ममा संवाद एकदमै कम छ, छैन बराबर। अनुहारको हाउभाउ नै संवादको माध्यम बनाइएको छ,' उनले भनिन्, 'कथासँगै कथा भन्ने तरिकामा गरिएको प्रयोग पनि मन पराइएको छ।'
उनका अनुसार यो फिल्म दुई वर्षअघि नै बनाउने सोचेकी हुन्। फिल्म जम्मा ९ मिनेटको भए पनि यो बनाउने प्रक्रिया अलि लामै रहेछ। यौन दुर्व्यवहार भोगेकी बालिकाबारे भएकाले यो भूमिकामा सुहाउने पात्र खोज्न संगीतालाई धौधौ परेको थियो।
'पहिला धेरै जना आफैं मेरो बच्चालाई फिल्म खेलाउनु पर्यो भन्दै आउनु हुन्थ्यो। तर आइसक्रिमका लागि सुहाउँदो पात्र खोज्नेबेला धेरै जना हच्किनु भयो।'
कतिसम्म भने बल्लबल्ल एक जना तयार भएकी बालिका पनि अभिभावकका कारण वर्कसपकै चरणबाट बाहिरिइन्।
निर्देशकका हिसाबले संगीताका लागि पात्र खोजी महत्वपूर्ण थियो। यसक्रममा उनले झेलेका चुनौतीलाई सिकाइको रूपमा ग्रहण गरेकी छन् उनले। भनिन्, 'मान्छेहरू पर्दामा समेत आफ्ना सन्तानले यौन दुर्व्यहार भोगेको हेर्न सक्दैनन् भने वास्तविक जीवनमा उनीहरूलाई कति पीडा हुँदो हो?'
यो चरणमै उनी आफ्नो फिल्मले उठाउन खोजेको विषयको महत्व कति धेरै छ भन्ने स्पष्ट भइसकेकी थिइन्। अर्कोतिर, अभिभावकका प्रतिक्रियाले यो विषयमा समाजमा लुकाइने कारणबारे पनि प्रष्ट बनायो।
झन्डै एक वर्ष पात्र छनौटमै खर्चेपछि बल्ल उनले अहिलेकी कलाकार योगिशा खत्री भेटेकी हुन्। संयोगवश, योगिशाकी आमा अरू अभिभावकभन्दा अलग थिइन्। उनले आफ्नी छोरीलाई फिल्म खेल्ने अनुमति मात्रै दिइनन्, छोरीको प्रेरणा नै बनिन्।
संगीताका अनुसार योगिशाकी आमाले छोरीलाई यो फिल्म खेलेर तिमी समाजको 'रोल-मोडल' बन्छौं भनेकी थिइन् रे!
मुख्य पात्र छानिसकेपछि भृकुटीमण्डप र गोदावरीमा छायांकन सुरू भयो। जम्मा चार दिन छायांकन भए पनि यो चरणमा धेरै कुरा बुझ्न र सिक्न पाएको संगीता बताउँछिन्।
फिल्ममा योगिशाकी आमाको भूमिका निर्वाह गर्नेलाई भृकुटीमण्डप परिसर होटलमा खाजा खाने बेला साँच्चिकै माग्ने भनेर पसलमा छिर्न रोकिएको रहेछ। यस्ता घटनाले पनि आफूले कथा भन्न लागेको पात्रको संवेदनासँग आफूलाई जोड्न मद्दत गरेको संगीता बताउँछिन्।
छायांकनकै बेला उनको मन छुने अर्को घटना पनि छ।
योगिशा फिल्मको पात्रका रूपमा सडकमा पैसा मागेर बसेकी थिइन्। कयौं मान्छेले वास्तविकता ठानेर पैसा दिएछन्। कलाकारलाई नाटकीयभन्दा यथार्थपरक रूपमा पर्दामा देखाउन चाहने संगीताका लागि यो अनुभव पनि उपलब्धिसरह भयो।
उनले भनिन्, 'यी सबै घटना हाम्रो काम सही ढंगले अघि बढिरहेको संकेत थियो।'
आफ्नो फिल्म संसारका थुप्रै देशका दर्शकलाई देखाउने अवसरसँगै विभिन्न महोत्सवमा अरूका फिल्म हेर्ने मौका पनि बनेको छ। यो फिल्म निर्देशकका लागि अवसरै हो। भन्छिन्, 'आइसक्रिमकै कारण धेरै कुरा सिक्न पाइरहेकी छु।'
यसक्रममा मानवअधिकार, महिला हिंसा, यौन हिंसाजस्ता विषयमा नेपाल र विदेशका निर्देशक र लेखकको सोचमा समानता समेत भेटेकी छन् उनले। समसामयिक र लैंगिक मुद्दामा फिल्म बनाएकी संगीताले यसअघि फिचर फिल्म 'कथा काठमान्डु' निर्देशन गरेकी थिइन्। सहरमा संघर्षरत तीन फरक पात्रको कथा भन्ने यो फिल्म व्यवसायिक रूपमा नचले पनि यसले उठाएको विषयलाई सराहना मिलेको थियो।
संगीताका अनुसार आफ्ना कथाका पात्रजस्तै भोगाइ भएकाहरूले 'रिलेट' गरेको प्रतिक्रिया दिएका छन्। कथा काठमान्डुमा उनले यौन हिंसा भोगेकी मध्यमवर्गीय युवतीको कथा भनेकी थिइन्। आइसक्रिममा सडक बालिकाको कथा रोजिन्।
संगीताले कान्तिपुर टेलिभिजनमा १३ शृंखलाको छोटा फिल्म पनि बनाएकी थिइन्। 'कथा प्रेमका' नामको यो शृंखलामा प्रसारित हरेक फिल्म पूर्ण हुन्थे र अर्को अंकमा नयाँ कथा देखाइन्थ्यो।
फिचर र छोटा फिल्म बनाइसकेकी उनी हामीकहाँ छोटो फिल्मलाई खासै महत्व नदिने बताउँछिन्।
'अन्तर्राष्ट्रिय महोत्सवमा दर्ता गर्ने क्रममा १ मिनेटको फिल्मलाई पनि महत्व दिएको पाएँ। समयका आधारमा नभई विषय र प्रस्तुतिका आधारमा मूल्यांकन गरिने रहेछ,' उनले भनिन्, 'तर हामीकहाँ अझै सर्ट फिल्म बनाउनेलाई निर्देशक नै हैन जस्तो संकीर्ण व्यवहार गरिन्छ।'
संगीताका लागि फिचरभन्दा छोटो फिल्म 'फापेको' छ। तर उनका अनुसार छोटा फिल्म बनाउन बढी जोखिम छ। भन्छिन्, 'आर्थिक हिसाबले छोटा फिल्मबाट नाफा आउने ठाउँ छैन। यसको बजार भनेकै फिल्म फेस्टिभलहरू हुन्।'
छोटो फिल्म निर्देशनलाई उनी आफ्नो 'प्यासन' मान्छिन्। मनले खाएर गरेको काम सफल हुन्छ भनेझैं आइसक्रिम अनुभव उनका लागि स्वादिलो खुराक बनेको छ।
दृश्य विधासँगै अक्षर यात्रामा पनि संगीता उत्तिकै सक्रिय छिन्। उनी 'कथामा अल्झिएका प्रेम' संग्रहकी लेखक हुन्। कथा र संगीताको सम्बन्ध कति छ, यो उनले राख्ने किताब र फिल्मका नामबाट प्रस्ट हुन्छ। 'कथा काठमान्डु', 'कथा प्रेमका', 'कथामा अल्झिएका प्रेम' नाम संगीताको कथामोह नभए अरू के?
कथाप्रेमी र कथावाचक संगीताका लागि कथाको अर्थ के होला?
कथा मनको कुरा भन्ने र सुन्ने माध्यम हो। आफ्नो मात्रै नभई आफूजस्तै अरूका कुरा पनि भन्न पाइने भएकाले उनी कथामा चुर्लुम्मै डुबेकी हुन्।
भनिन्, 'कथामा निजी अनुभूति र सामाजिक सरोकारका कुरा देखाउन पाइन्छ। आइसक्रिमको कथामा मेरो सामाजिक सरोकार झल्किन्छ।'