गुड फ्राइडे सिनेमा
फिल्म 'कर्मा' हिमालको फेदैमा भएको गुम्बाबाट सुरू हुन्छ। मुस्ताङको यो गुम्बा प्रमुखको मृत्युपछि पनि विधि पूरा गरी प्रार्थना गरेमा उनले पुनर्जन्म लिने गुम्बाका सदस्यहरूमा विश्वास हुन्छ। तर यो धार्मिक विधिसहितको प्रार्थनाका लागि ठूलै रकम आवश्यक पर्छ।
उनीहरू गुम्बाबाट ऋण लिएर बेखबर भएको व्यक्ति टासीबाट रकम फिर्ता ल्याए आर्थिक संकट टर्ने निधोमा पुग्छन्। जोमसोम पुगेर टासीसँग पैसा फिर्ता ल्याउने कामको जिम्मा दुई भिक्षुणी, कर्मा र सोनामले पाउँछन्।
तर टासी जोमसोममा भेटिँदैनन्। जोमसोमबाट टासीलाई पछ्याउँदै कर्मा र सोनाम पोखरा पुग्छन्। पोखरा पुग्दा टासी काठमाडौं हिँडिसकेका हुन्छन्।
पोखरामा सोनामको खुट्टामा समस्या आउँछ। सोनामलाई छाडेर कर्मा एक्लै काठमाडौं जान्छिन्, टासीको खोजीमा।
टासी शंकास्पद गतिविधिमा संलग्न व्यक्ति हुन्। कर्मा र सोनामलाई धेरैले टासी हिमाली भेगका युवती भारतमा लगेर बेच्ने काममा संलग्न रहेको बताएका हुन्छन्।
टासी को हुन्? उनले गुम्बाबाट ऋण लिनुको कारण के होला? कर्माले टासीलाई भेट्लिन्? भेटाइहालिन् भने पनि उनी टासीबाट पैसा पाउन सफल होलिन्?
यिनै प्रश्नसँगै फिल्मले दर्शकलाई मुस्ताङबाट जोमसोम, पोखरा, काठमाडौं हुँदै भैरहवासम्म पुर्याउँछ।
फिल्म सकिँदासम्म टासीलाई भेट्ने यात्रा, गुम्बाभित्र बाँचेका भिक्षुणीले बाहिरी संसारलाई हेर्ने-बुझ्ने यात्रा बनिदिन्छ।
फिल्मका दुई मुख्य पात्र दुई विपरीत स्वभावका छन्। गुम्बा बाहिरका संसर्गमा आउँदा दुई भिक्षुणीले जनाउने प्रतिक्रिया र देखाउने व्यवहार पनि फरक छ।
सोनाम बाटोमा भेट्ने पात्रलाई वास्ता नगरी हिँड्छिन् भने कर्मा भारी बोक्ने आमैलाई पनि सघाउने खालकी छन्। कर्माले बूढी आमैको भारी बोकिदिएर फर्किनेबेला आमैले उनलाई स्याउ दिएको दृश्य यो फिल्मकै सबभन्दा मनछुने दृश्य हो।
टासीलाई जोमसोममा नभेटेपछि पोखरासम्म पछ्याउने वा मुस्ताङ फर्किने कुरादेखि कोक र चिया खाने कुरासम्म उनीहरूको मत मिल्दैन।
फिल्मको केन्द्रमा आत्मिक विकास र सामाजिक सेवामध्ये कुन ज्यादा महत्वपूर्ण भन्ने प्रश्न छ। यही प्रश्नको जवाफ स्वरुप पात्रहरूले धार्मिक र आत्मिक घेरा नाघेर निर्णय लिन्छन्।
फिल्मले बोकेको दार्शनिक र व्यवहारिक पक्ष जति सुन्दर छ, फिल्ममा देखाइने दृश्य उत्तिकै मनमोहक छन्। खासगरी सोनाम र कर्मा मुस्ताङबाट जोमसोम हुँदै पोखरातिर हिँड्ने बेला खिचिएका दृश्य लोभलाग्दा छन्।
प्राकृतिक सौन्दर्य मात्रै नभई गुम्बाको दैनिकीबाट सुरू हुने फिल्ममा हिमाली-पहाडी भेगका सामाजिक विषय पनि मजाले अटाएका छन्। चाहे त्यो पानी खाने बेला छूत-अछूतका कुरा होस् वा केटी बेचबिखनका कुरा।
बुद्ध मार्गमा हिँडेकी भिक्षुणीको आन्तरिक र बाह्य यात्राको कथा भन्ने कर्माका निर्देशक छिरिङ रितार शेर्पा 'मुकुण्डो', 'उमा' लगायत फिल्मबाट चिनिन्छन्। 'द स्पिरिट डजन्ट कम एनिमोर' उनले निर्देशन गरेको चर्चित वृत्तचित्र हो।
निर्देशनबाहेक उनी संलग्न मिला प्रोडक्सनबाट 'कालो पोथी' र 'सेतो सूर्य' जस्ता चर्चित फिल्म निर्माण भएका छन्।
नेपालभित्र र संसारका धेरै महोत्सवमा प्रशंसा र पुरस्कार जितेका छिरिङको डकुमेन्ट्री शैलीमा सुस्तरी कथा अगाडि बढाउन मन पराउँछन्। र, पात्रको आन्तरिक द्वन्द्वसँग खेल्न बढी मन पराउँछन्। सामान्य घटनाबाट नेपाली समाजको सन्दर्भमा मिल्ने गरी जीवन र दर्शनका कुरा घुसाउँछन्।
उनको यो शैली 'कर्मा'मा पनि कायम छ।
फिल्ममा छिरिङ डोल्कार, जाम्पा कल्साङसँगै मिथिला शर्माको अभिनय देख्न पाइन्छ। छिरिङसँगै सहायक निर्देशक भएर काम गरेका दीपक रौनियार पनि यो फिल्मको एउटा दृश्यमा देखा पर्छन्। दीपक यो फिल्मका मुख्य सहायक निर्देशक हुन्।
फिल्मको कथा लेखनमा छिरिङलाई केसाङ छेतेनले साथ दिएका छन्।