आफूभन्दा दोब्बर भारी बोकेर पहिलो पटक सगरमाथा आधार शिविर (इबिसी) टेक्दा शुक्र तामाङ १८ वर्षका थिए।
सोलुखुम्बुका गाउँले दाजुहरूकै देखासिकीमा भारी बोकेका उनले यसैलाई पेसा बनाए। हाल ३० वर्षका भइसक्दा पनि उनी भारी बोकिरहेकै छन्। यो पेसा छाडेर भाग्य अजमाउन उनले केही वर्ष साउदी अरबमा पसिना बगाएका थिए। फर्केपछि नयाँ काम गर्नुभन्दा पुरानैमा सहज ठाने।
शुक्रको मुख्य कार्यक्षेत्र इबिसी सेरोफेरो हो। योबाहेक पूर्वदेखि पश्चिम नेपालका धेरै पदमार्गमा भारी बोक्दै हिँडेको अनुभव उनीसँग छ।
यसक्रममा उनले हिमाल हेर्न चाहने धेरै पर्यटकका सपना पूरा गरिदिएका छन्।
अरूका सपना पूरा गरिदिने वास्तविक जीवनका हिरो शुक्र'हरू सधैं पर्दापछाडि खुम्चिएका छन्। तर एकाएक शुक्रको जीवनमा भने नयाँ मोड आयो। उनले कहिल्यै कल्पना नगरेको कुरा भयो जब उनी फिल्मकै पर्दामा 'हिरो'का रूपमा देखिए।
शुक्रको कल्पनाभन्दा परको यो अनुभव अमेरिकी नथानिअल मेनिन्गरसँगको भेटले गराएको हो।
२६ वर्षीय मेनिन्गर फरक तरिकाले सगरमाथा आधार शिविर यात्रा गर्न चाहन्थे। जोखिम यात्रा गर्ने नेपाली भरियाका दुःख हेरेर होइन, भोगेर बुझ्न खोजे। अर्काको भारी बोकेर भरियाका रूपमा गरेको इबिसी यात्रालाई उनी डकुमेन्ट्रीको रूप दिन चाहन्थे।
यो यात्रा मेनिन्गर एक्लैलाई पूरा गर्न गाह्रो थियो। उनलाई अनुभवी नेपाली भरियाको खाँचो पर्यो। अनि उनको भेट भयो शुक्रसँग।
'अनुभवी भरिया खोज्दै गर्दा ठमेलको आटफिटर ट्रेकिङ कम्पनी मार्फत मेनिन्गरसँग हाम्रो भेट भयो,' शुक्रले भने।
मेनिन्गरसँग शुक्र र नातेदार जीवन तामाङले गरेको यात्रा 'द पोर्टर: द अनटोल्ड स्टोरी एट एभरेस्ट'मा हेर्न सकिन्छ। दुई नेपाली र एक विदेशीले भारी बोकेर गरेको इबिसी यात्रा समेट्ने यो डकुमेन्ट्री सिनेमाटोग्राफर बबिन दुलालले खिचेका हुन्।
यो पनि पढ्नुस्ः पर्यटक होइन, भरिया भएर सगरमाथा आधार शिविर पुगेका अमेरिकी
'सुरूमा पर्दामा आफैंलाई देख्दा अलिअलि लाज लागेजस्तो भयो,' द पोर्टर हेर्दाको अनुभव बताउँदै शुक्रले भने, 'यो कथा कहानीवाला फिल्म हैन। तै पनि एकछिनसम्म स्क्रिनमा फिल्मको हिरो हेरेजस्तो लाग्ने रहेछ।'
आफूलाई पर्दामा देखेर शुक्र जति रमाए, भरियाका संघर्षलाई महत्व दिएर डकुमेन्ट्री बनेकामा उत्तिकै खुसी भए। नहुन् पनि कसरी? पहिलो पटक कसैले आफ्नो पेसालाई इज्जत दिएको महसुस भयो उनलाई।
'विदेशी पर्यटक आरामले थकाइ मार्दा, कयौं भरिया होटलमा बास नपाएर चिसो बरन्डा वा भर्याङमुनि रात काट्न बाध्य हुन्छन्। मैले पनि यस्तो दुःख कति भोगेँ भोगेँ,' उनले भने, 'हामी नियमित यात्रा गर्ने रुटमै खाँदा वा सुत्दा दोस्रो दर्जाको व्यवहार भोग्नु पर्छ। न पैसा छ, न सम्मान।'
शुक्रले भनेको शारीरिक कष्टसँगै भरियामाथि हुने आर्थिक र मानवीय शोषण डकुमेन्ट्रीको केन्द्रमा छ। तर ११ दिनको कष्ट ५५ मिनेटमा खुम्चिएकाले उनको नजरमा यो भरियाका संघर्षको झलक मात्रै हो।
'एघार दिने यात्राकै सबै दुःख अटाएका छैनन्, हाम्रो जिन्दगीका मर्का एक घन्टामै के अटाउँथ्यो?,' उनले भने।
२०६५ सालदेखि भारी बोकिरहेका शुक्रले काम थाल्दा दैनिक ज्याला तीन-चार सय रुपैयाँ थियो। अहिले कम्पनीअनुसार १३ सयदेखि २ हजारसम्म पाइन्छ।
हिमाली पदमार्गमा जति माथि उक्लियो, हरेक कुरा महँगिदै जान्छ। त्यसैले शुक्र भन्छन्, 'त्यो पैसा त यात्राबाट फर्किंदासम्म निख्रिसक्छ। गतिलो टिप्स आए कमाइ भयो, नत्र गोलखाडी।'
भरियाका समस्या पैसासँग मात्रै जोडिएका छैनन्। उनका अनुसार यात्रामा नुहाउने, लुगा फेर्ने उपयुक्त वातावरण नहुँदा एउटै लुगामा हप्तौं हिँड्न बाध्य हुनुपर्छ। पहिलेपहिले खुम्बु क्षेत्रमा भरियाले एक गिलास पानी पाउन पनि धौधौ हुन्थ्यो। अचेल पहिलाको तुलनामा व्यवहार अलि नरम हुन थालेको उनले बताए।
'बाटोमा खान, बस्न, सुत्न समस्या परे सुनाउने ठाउँ पनि छैन। बिरामी हुँदा पनि दिनरात खट्नु पर्छ। हरेक पाइलामा जोखिम छ। धेरैको स्वास्थ्य बीमा पनि हुँदैन,' उनले भने, 'भरियाको मर्का सुनिदिने ठाउँ नभएका बेला द पोर्टरले हाम्रा समस्या राख्ने ठाउँ दियो।'
भरियाको अर्को मुख्य चुनौती, यो मौसमी काम हो।
चैत–जेठ र भदौ–कात्तिक पर्यटक भित्रिने सिजन हो। अरू बेला भरिया र गाइडलाई वैकल्पिक काम खोज्ने चिन्ता हुन्छ। यसपालि कोरोना फैलिएपछि दुवै सिजन खेर गएको छ। वैकल्पिक काम पनि भेटिँदैन।
श्रीमती र छोराका साथमा स्यूचाटार बस्ने शुक्रको वैकल्पिक काम तरकारी खेती र कुखुरापालन हो। यो वर्ष पूरै यसमै बिताए। दुःखसुख गुजारा चल्दैछ।
गाइड लाइसेन्स पनि लिएका उनी भन्छन्, 'अलिकति सजिलो होला भनेर लाइसेन्स लिएँ, तर पैसाका लागि भारी नबोकी हुन्न।'
विदेशी नागरिकले महत्व दिएर डकुमेन्ट्री बनाएजस्तै नेपालभित्रैबाट पनि चासो देखाए भरियाका समस्याबारे धेरैलाई थाहा हुने अपेक्षा राख्छन् उनी।
शुक्रले भनेजस्तै 'द पोर्टर' अमेरिकाका कयौं विश्वविद्यालय र महोत्सवमा प्रदर्शन भइसकेको छ। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पूर्वतयारीका रूपमा पनि अनलाइन प्रदर्शन भएको थियो।
मेनिन्गरको पहलमा बनेको 'द पोर्टर'बाट भरियाका कुरा संसारभर फैलिएकोमा अरू भरिया पनि खुसी भएको शुक्र बताउँछन्।
उनले भने, 'मेनिन्गर हामीसँग भारी बोकेर हिँड्दै गर्दा उनी अरू विदेशीजस्तै आरामले यात्रा किन नगरेका होलान् भन्ने लागेको थियो। अहिले यसको महत्व बुझिरहेको छु।'
शुक्रलाई बेलाबेला यस्तो कठिन काम किन गरेको हुँला भन्ने पनि लाग्छ। अरू सजिलो काम गर्न सक्दिनँ र भनेर आफैंलाई सोध्छन्। अनि आफैं जवाफ खोज्छन्, 'घरमा खुट्टा नअडिने नशा लागिसकेको रहेछ। नयाँ नयाँ मान्छे, नौलो ठाउँ घुम्ने बानी बसिसकेको रहेछ।'
तर यो आदतमा महिनौंदेखि कोरोना तगारो बनेर तेर्सिएको छ। उनी व्यग्र भएर नयाँ समय कुरिरहेका छन्।
भन्छन्, 'ढिलो-चाँडो सामान्य होला। अनि फेरि जाने त उही इबिसी हो।'
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)