आज बिहीबारबाट काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण सुरू हुँदैछ। १५ देशका फिल्म र वृत्तचित्र समेटिने यो महोत्सव २९ गते (डिसेम्बर १० देखि १४) सम्म चल्नेछ।
हरेक वर्षजस्तै महोत्सवमा संसारका धेरै ठाउँका फिल्म र वृत्तचित्र हेर्न पाइनेछ। अमेरिका, इरान, भारत, फ्रान्स, बेलायत, स्वीडेन लगायत १५ देशका १८ विदेशी र १२ नेपाली फिल्म छन्।
औसतमा ५० भन्दा बढी फिल्म समेटिने किम्फमा यस पटक भने जम्मा ३० फिल्म समावेश छन्। कोरोना महामारीका कारण फिल्म संख्या घटाउनु परेको महोत्सव निर्देशक रम्यता लिम्बूले बताइन्।
'महोत्सव गर्ने कि नगर्ने भन्ने दुविधा पनि भएको थियो। गर्दै नगर्नुभन्दा फिल्म संख्या घटाएर निरन्तरता दिएका छौं,' उनले भनिन्।
कोरोनाकै कारण महोत्सव भर्चुअल हुनेछ।
फिल्महरू बिहीबार साँझ ६ बजेबाट प्रदर्शन हुनेछन्। (फिल्म हेर्न यहाँ क्लिक गर्नुस्।)
त्यस्तै महोत्सव भर्चुअल भए पनि उद्घाटन, समापन र केही महत्वपूर्ण छलफल भने चलचित्र विकास बोर्डको हलमा सीमित सहभागीको उपस्थितमा हुनेछ। यो फेसबुक लाइभबाट प्रत्यक्ष प्रसारण गरिने छ।
यो संस्करणसँगै किम्फ २० वर्ष पुरानो भएको छ।
२० वर्षदेखि किम्फले संसारका फरक भूगोल र संस्कृतिका फिल्म तथा वृत्तचित्रको स्वाद बसाएको छ। दृश्य माध्यमबाट मान्छेका पर्वतीय समाज र जनजीवनका कथा देखाएको छ। बलिउड सूत्रभन्दा फरक फिल्म हेर्ने बुझ्ने नेपाली दर्शकको जमात जन्माउन पनि किम्फको भूमिका सराहनीय छ।
सन् २००७ यता नेपाली फिल्म र वृत्तचित्र प्रदर्शन र प्रवर्द्धनका लागि किम्फ महत्वपूर्ण थलो बन्दै आएको छ। यही वर्ष किम्फमा नेपाल पानोरमा खण्ड अन्तर्गत नेपाली निर्देशकका फिल्मलाई विशेष महत्वका साथ स्थान दिइन थालियो।
रम्यताले भनिन्, 'नेपाल पानोरमा किम्फको महोत्सवको मुख्य आकर्षण हो। नयाँ पुस्ताका फिल्ममेकर जन्माउन महत्वपूर्ण भूमिका खेलेको छ।
विगतका वर्षमा प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी फिल्मका रूपमा धेरै नेपाली निर्देशक किम्फबाटै चर्चित र पुरस्कृत बनेका छन्। यस पटक भने फिल्म संख्या कम गर्न गैरप्रतिस्पर्धी फिल्म राखिएको छैन।
'३० वटै प्रतिस्पर्धी फिल्म हुन्,' रम्यताले भनिन्।
फिल्म प्रदर्शनसँगै आर्थिक प्रोत्साहन पनि किम्फको अर्को विशेषता हो। किम्फको अन्तर्राष्ट्रिय खण्डमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः नगद २ लाख, १ लाख ५० हजार र १ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट नेपाली कथानक र वृत्तचित्रले नगद १ लाख र ७५ हजार पाउनेछन्।
हरेक वर्ष नयाँ पुराना नेपाली निर्देशक र कलाकारले आफ्नो काम र क्षमता देखाउने नेपाल पानोरमामा यस पटकको सहभागिता पनि रोचक छ।
केही बिल्कुल नयाँ त केही अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेका कथानक र डकुमेन्ट्री छन्। नेपाल पानोरमामा ९ देखि २६ मिनेटका कथानक र डकुमेन्ट्री छन्।
यिनमा राजन कठेत निर्देशित 'बेअर ट्र्ज इन द मिस्ट', सजल लोप्चनको 'अ सर्ट फिल्म गाइड फर नेपाली फेस्टिभल', डायमन्ड उप्रेतीको 'अ पेपर प्लेन', सिकुमा राईको 'अरक चाना बानाओ, सीम्मा' (कम ओभर फर अ ड्रिंक कान्छी), सोनम शर्माको 'मिसन एभरेष्ट द लिजेन्ड अफ शेर्पा जाङ्बु', सोनाम छोएकी लामाको 'द स्नो लियोपार्ड कलिङ' लगायत फिल्म तथा डकुमेन्ट्री हेर्न पाइनेछ।
महोत्सवमा प्रदर्शन हुने 'बेअर ट्रिज इन द मिस्ट' टोरन्टो इन्टरनेसनल फेस्टिभल, क्यानडा, सर्ट सर्ट्स फिल्म फेस्टिभल एन्ड एसिया, जापानलगायत अमेरिका, बेलायत, भारतका प्रतिष्ठित महोत्सवमा प्रदर्शन भइसकेको फिल्म हो।
फिल्मका निर्देशक राजनले भने, 'विदेशका महोत्सवमा रुचाइएको भए पनि नेपाली दर्शकको प्रतिक्रिया कस्तो आउला भन्ने प्रतीक्षा छ। किम्फले नेपाली दर्शकसम्म पुग्ने अवसर दिएको छ, उत्साहित छु।'
रम्यता यस पटक कोरोना महामारी विषयमा बनेकादेखि महिलाका कथाहरू भनिएका फिल्मले पनि नेपाल पानोरमा विशेष रहेको बताउँछिन्।
'केही फिल्मले पुराना स्थापित न्यारेटिभलाई चुनौती दिएका छन्,' उनले भनिन्।
'अरक चाना बानाओ, सीम्मा' त्यस्तै फिल्म हो जसमा निर्देशक रक्सी सेवनलाई राई समुदाय पछि पर्ने आमबुझाइको खण्डन गरेकी छिन्।
यसबाहेक पर्यावरण, हिमाल, लैंगिक मुद्दामा बनेका फिल्मले नेपाली समाजका विविधता र मुद्दाहरु समेटेका छन्।
हरेक वर्ष किम्फको एउटा थिमेटिक नारा हुन्छ। यस पटकको नारा छ 'तमसोमा ज्योतिर्गमय' (अगेन्स्ट डिसापियर, टुवार्ड्स होप)।
कोरोना संकटसँग जुध्दै आशा र विश्वासका साथ अघि बढ्न यो नारा प्रयोग गरिएको रम्यताले बताइन्। दिवंगत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित 'नेपाली म्युजिकमेकर्स' नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवको अवसरमा गरिनेछ ।
कोरोना र लकडाउनबारे बनाइएका विशेष डकुमेन्ट्रीहरूको प्रदर्शन र फिल्मका वास्तविक पात्र तथा कोरोना विशेषज्ञसँग गरिने छलफल पनि महोत्सवको विशेषता हो। यसमा लकडाउन विशेष 'डिजिटल डायरिज' र गणेश पाण्डेको 'सिभिल सोल्जर्स' जस्ता डकुमेन्ट्री छन्।
चर्चित डकुमेन्ट्री 'भाग्यले बाँचेकाहरु' का निर्देशक पाण्डेको 'सिभिल सोल्जर्स' किम्फबाटै सार्वजनिक हुँदैछ। यसमा नेपालमा कोरोना भाइरसविरूद्धको लडाइँमा अनुकरणीय काम गर्ने हिरोहरूका कथा देखाइएको छ।
दिवंगत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित 'नेपाली म्युजिक मेकर्स' पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवकै अवसरमा गरिने जनाइएको छ।
किम्फ २०२० को उद्घाटन भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म 'लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्टयाच' को प्रदर्शनबाट हुनेछ। महोत्सवमा देखाइने यो एक मात्र गैरप्रतिस्पर्धी फिल्म हो।
रिम्पोचेको यो फिल्मको छायांकन नेपालमै भएको थियो। महोत्सवकै अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनेछन्।
यस पटकको निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे छन्।
तीन सदस्यीय निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा फिल्म तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री छनौट गर्नेछ।