गुड फ्राइडे सिनेमा
किशोरवय रोमाञ्च र सन्देहले भरिएको उमेर हो। उत्साह र उत्तेजनाले भरिपूर्ण यो उमेरले घर वा समाजको नियन्त्रण स्वीकार्न चाहँदैन।
यो मित्रता र प्रेमको बेला हो। प्रकृतिको रङमा रंगिदै हिँड्ने यो समयमा आफ्नै इच्छाले हिँड्न पाए न घामले पोल्छ, न पानीले रुझाउँछ।
'बुलबुल क्यान सिङ' का मुख्य पात्रको जीवनमा पनि यस्तै उमंग र द्वन्द्व छ। फिल्ममा भारत, असामको चायगाँवका बुलबुल र उसका दुई आत्मीय साथी सुमु र बोनीको कथा छ। तीनै जना वयस्क उमेरको संघारमा पुगेका पात्र हुन्।
सँगै स्कुल जाने उनीहरू बिहान-बेलुका पनि एकअर्काको साथ हुन्छन्। ग्रामीण परिवेशमा हुर्केका उनीहरू सँगै पौडी खेल्छन्। रुख चढ्दा वा पिङमा मच्चिँदा पनि उनीहरूलाई एकअर्काकै साथ चाहिन्छ।
उमेरजन्य जिज्ञासा, अन्यौल र पहिचानको खोजमा रहेका यी तीनमध्ये फिल्म बुलबुल पात्रमा बढी केन्द्रित छ। बुलबुलका बुबा छोरीलाई आफूजस्तै राम्ररी गाएको देख्न चाहन्छन्। तर बुलबुल स्वर राम्रो हुँदाहुँदै पनि अरूका अगाडि खुलेर गाउन धकाउँछिन् र बुबालाई निराश पार्छिन्। भय र संकोचकै कारण गायक बन्ने उनको रहर अपूरै हुन्छ।
तर बुलबुल कमजोर पात्र होइन। उनी आफ्ना लागि कविता लेख्ने केटालाई लुकीलुकी भेट्न र ऊसँग समय बिताउने जोखिम भने मोल्न सक्छिन्। बुलबुलजस्तै बोनीको पनि प्रेमी छ।
यी दुई किशोरी विपरीत लिंगी साथीसँग समय बिताएर रमाए पनि उनीहरूको त्यो मिल्ने साथी सुमु भने यो अनुभव लिनबाट बञ्चित छ। सुमु लैंगिक पहिचानको संकटसँग जुधिरहेको पात्र हो। आफ्नो यौनिकताकै कारण उसलाई स्कुलमा सबैले केटी भनेर जिस्काउँछन्।
अरुले हेला गरे पनि सुमुले बुलबुल र बोनीको माया पाएको छ। त्यसैले ऊ आफ्ना साथीहरूले प्रेमीसँग समय बिताउन्जेल कुरेर बस्छ। अझ, अरू कसैले नदेखून् भनेर साथीहरूका लागि चौकिदारी पनि गर्छ।
किशोर अवस्थाका केटाकेटी चरा झैं स्वतन्त्र भएर कल्पनाको उडान त भर्छन्। तर उनीहरू परिवार र समाजको पिँजडामा आएर थुनिनु परिरहेको हुन्छ। यस फिल्मका तीन पात्र पनि यस्तै छन्। यिनीहरूलाई परिवार, स्कुल र समाजको मर्यादा धान्नेसम्म मात्र मस्ती गर्ने छुट छ।
एक दिन बुलबुल र बोनीलाई उनीहरूको प्रेमीसँग निजी समय बिताइरहेका बेला नदी छेउको जंगलमा स्थानीयले समात्छन्। उनीहरू चारै जना विद्यालयको पोसाकमा हुन्छन्।
यो घटनाले उनीहरूको सामान्य चलिरहेको दैनिकीमा ठूलो हलचल ल्याइदिन्छ। उनीहरू स्कुल, घर र समाजको तिरस्कारको शिकार हुन्छन्। एकअर्का बिना नबित्ने उनीहरूको मित्रता र प्रेममा समाजको नैतिक नियन्त्रण तगारो बन्न थाल्छ।
मित्रता र प्रेमले भावनात्मक रुपमा जोडिएका यी पात्रहरूको जीवनमा यसको असर के पर्ला? फिल्ममा यसपछिको कथा यही हो।
दक्षिण एसियामा किशोर उमेरका युवायुवतीका मनोभावना समेट्ने साहित्य वा सिनेमा धेरै छैनन्। यो फिल्मले भने उनीहरूको मनोदशालाई जीवन्त रूपमा उतारेको छ। 'बुलबुल क्यान सिङ' हेर्नुपर्ने पहिलो कारण यही हो।
दोस्रो कारण हो, फिल्मकी निर्देशक रीमा दास।
उनको पछिल्लो फिल्म ‘भिलेज रकस्टार’ अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिल्म हो। नेसनल अवार्ड जितेको यो फिल्म भारतको तर्फबाट ओस्कार अवार्डका लागि प्रस्ताव गरिएको थियो।
करिब ८० ओटा महोत्सवमा प्रदर्शन भएको यो फिल्मले ४० भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो। ‘भिलेज रकस्टार’ जस्तै रीमाको बुलबुल क्यान सिङ पनि संसारका महत्वपूर्ण फिल्म महोत्सवहरूमा प्रदर्शन भई दर्जनौं प्रतिष्ठित अवार्ड जितेको फिल्म हो।
रीमा फिल्महरूमा आफ्नै जन्मथलो असाम, चायगाँवको परिवेश र समाज उतार्छिन्। आफ्नै मन र समाजसँगको अन्तर्विरोधमा चल्ने युवायुवतीको कथा भन्ने क्रममा रीमाले यो फिल्ममा किशोरकालका आफ्नै अनुभव पनि मिसाएकी छिन्।
निर्देशनसँगै फिल्मको कथा, पटकथा, सिनेमेटोग्राफी, सम्पादनलगायत धेरै काम आफैं गर्ने उनी असाममात्रै नभई भारतकै रोलमोडल महिला निर्देशक पनि हुन्।
नन एक्टर्सबाटै जीवन्त अभिनय गराउनु रीमाको अर्को विशेषता हो। यही विशेषताले उनको फिल्म ‘रअ’ लाग्छ। फिल्ममा वास्तविक लोकेसनकै साउन्ड प्रयोग भएकाले पनि फिल्म हेर्दा दर्शकलाई तिनै पात्र भएको ठाउँ पुगेको महसुस हुन्छ।
फिल्मका दृश्य र घटना दैनिक जीवनका गतिविधि जस्तै लाग्छन्। तर सरल हुँदाहुँदै पनि पात्रहरूको मनोविज्ञान चित्रण र विम्बहरुमा खेल्ने कुरामा निर्देशकको खुबी देखिन्छ।
‘बुलबुल क्यान सिङ’ मा बुलबुलले गीत गाउन सक्छिन् कि सक्दिनन् भन्ने कुरा गौण छ। फिल्मको नामको शाब्दिकभन्दा विम्बात्मक अर्थ छ।
फिल्मले भन्छ– मीठो होस् वा नमीठो, जिन्दगीको गीत सुरिलो बनाई गाउनै पर्छ। अरु विकल्प छैन।