गुड फ्राइडे सिनेमा
टिस्का चोपडा अजय देवगणसँग 'प्लेटफर्म' फिल्ममा १७ वर्षअघि देखिएकी थिइन्। त्यसयता निरन्तर फिल्म क्षेत्रमै सक्रिय उनलाई हिट नायिकाको सूचीमा नभेटिन सक्छ। तर उनी हिन्दीबाहेक तेलुगु, मलयालम, मराठी, पंजाबी भाषाका राम्रा फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सशक्त अभिनेत्री हुन्।
उनी 'तारे जमिन पर' मा रोहनकी आमाको भूमिका निर्वाह गरेकी थिइन्। उनले इरफान खानसँग अभिनय गरेको 'किस्सा', नन्दिता दास निर्देशित 'फिराक' र 'टेन एमएल लभ' उनका केही महत्वपूर्ण फिल्म हुन्।
आमिर खानको निर्देशन र निर्माणमा बनेको 'तारे जमिन पे' ले उनको करिअरलाई नयाँ उचाइ दियो। पछिल्लो समय उनी छोटो फिल्मबाट पनि चर्चा कमाइरहेकी छिन्।
उनका तीन छोटा फिल्म 'चटनी', 'छुरी' र 'रुबरु' निकै रुचाइएको छ। ज्योति कपूर दासको निर्देशनमा बनेको 'चटनी' दर्शकलाई यति स्वादिलो लाग्यो, यो युट्युबमा सबभन्दा धेरै हेरिने भारतीय छोटा फिल्ममध्ये एक बन्यो।
टिस्का अभिनयसँगै फिल्म प्रोडक्सन, लेखनमा पनि सक्रिय छिन्। 'चटनी' को कथा उनले अविनाश मिश्रसँग मिलेर लेखेकी हुन्।
यी तीनवटै फिल्म महिला प्रधान छन् र सबैमा टिस्का मुख्य भूमिकामा छिन्।
चटनी
चटनी एउटा पार्टीको दृश्यबाट सुरू हुन्छ। सोझी टिस्काको हुलियाबारे केही महिला मजाक उडाइरहेका हुन्छन्। त्यहीबेला टिस्काले आफ्ना श्रीमानसँग एक युवती नजिकिँदै गफ गरेको देख्छिन्।
अर्कोदिन टिस्काले ती युवतीलाई घरमै चिया खान बोलाउँछिन्। ती युवतीलाई टिस्काले आफ्नो घर, श्रीमान, घरमा काम गर्ने मान्छे र कुकुरसँग जोडिएका किस्सा सुनाउँछिन्।
ती युवतीलाई चटनी खुवाउँदै सुनाउने यी किस्सा रमाइला नभएर डरलाग्दा हुन्छन्। उनले यी डरलाग्दा किस्सा यसरी सुनाउँछिन् कि ती युवतीसँगै दर्शकको पनि होश उड्छ।
यो फिल्मका पात्रहरू बाहिर जस्ता देखिन्छन्, भित्र त्यस्ता छैनन्। कसको मनमा के चलिरहेको छ थाहा हुन्न। फिल्म सकिएपछि दर्शकलाई टिस्काले सुनाएका किस्सा साँचो हुन् कि झुटो भन्ने प्रश्न पनि उठ्छ। चटनी फिल्मको विशेषता नै यही हो।
चटनीजस्तै चटपटा संवाद, टिस्काको सशक्त अभिनयसँगै रसिका दुगल, अदिल हुसैनको कामले पनि दर्शकको मन जित्छ।
छुरी
'छुरी' मा पनि टिस्का आफ्नो पतिलाई एक्स्ट्रा म्यारिटल अफेयरबाट परस्त्रीसँग सम्बन्ध छुटाउन लागिपरेकी पत्नीको भूमिकामा छिन्। चटनीमा जस्तै यसमा पनि उनी चलाख र आत्मविश्वासी महिलाकै रूपमा देखिन्छिन्।
छुरीमा अनुराग कश्यप टिस्काको श्रीमान बनेका छन् जो अर्की युवती सुरबिन चावलासँग सम्बन्धमा छन्। शान्त र कुटिल शैलीमा श्रीमानलाई पराई महिलाबाट छुटकारा दिलाउने टिस्काले निर्वाह गर्ने चरित्रको शैली पनि रोचक छ।
रुबरु
एक समय तीव्र माग भएका अभिनेत्रीहरू उमेर ढल्किँदै गएपछि कला क्षेत्रमा असान्दर्भिक ठानिन्छन्। उनीहरूको प्रतिभा र सान्दर्भिकता माथि प्रश्न उठाइन्छन्। संसारभरका कला क्षेत्रमा धेरथोर यस्तै हुँदै आएको छ। 'रुबरु' फिल्मभित्रको कथा पनि यस्तै छ।
यस फिल्ममा टिस्काले निर्वाह गर्ने चरित्र राधा मलहोत्रा चर्चित कलाकार हुन्। ढल्किँदो उमेरसँगै उनको करिअर संकटमा परेको छ। अरुले गर्ने नकारात्मक टिप्पणी र व्यवहारले उनको मनमा आफ्नै क्षमतामाथि पनि शंका उब्जेको छ।
'रुबरु'ले यस्तै पात्रको संघर्ष, दुविधा र संकट चित्रण गर्छ। पात्रको मनोदशा उतार्ने यो फिल्ममा टिस्का 'चटनी' वा 'छुरी' मा जस्तो परम्परागत गृहिणी नभई आधुनिक भेषमा देखिन्छिन्।
अभिनय, लेखन, फिल्म निर्माण हुँदै टिस्काले 'रुबरु' बाट फिल्मको निर्देशकका रूपमा समेत आफूलाई अब्बल साबित गरेकी छिन्।
यो फिल्म तीन हप्ताअघि नोभेम्बर २८ मा युट्युब मार्फत सार्वजनिक भएको हो।