पृष्ठभूमिमा माछापुच्छ्रे हिमाललाई राखेर सराङकोटमा मञ्च बन्नेछ।
मञ्चको दर्शकदीर्घामा भने यसपालि खुला रूपमा दर्शक उपस्थित हुन पाउँदैनन्। आयोजक संस्था बुकवर्म फाउण्डेसनका सदस्य र अतिथीहरू मात्र सहभागी भएर यसपालि ‘नेपाल साहित्य महोत्सव–२०२० सुरू हुँदैछ।
कोरोना भाइरसको महामारीले नेपाल साहित्य महोत्सवको स्वरूप बदलेर ‘भर्चुअल’ रूपमा आयोजना गर्न लागेको महोत्सवका निर्देशक अजित बरालले बताए।
‘महोत्सवको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भनेर हामी अन्यौलमा थियौं’, बरालले भने, ‘भर्चुअल रूपमै भए पनि महोत्सवलाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि महोत्सव आयोजन गर्न हामी जुटेका छौं।’
फेवातालको आँगनमा हुँदै आएको महोत्सव यसपालि भर्चुअल रूपमा सम्पन्न गर्न सराङकोट उक्लेको छ। जहाँबाट उत्तरतर्फ फर्कंदा अन्न्पूर्ण हिमश्रृङ्खला र दक्षिणतर्फ फर्कंदा फेवाताल र पोखरा सहर देखिन्छ।
‘माछापुच्छ्रेलाई साक्षी राखेर हाम्रा सत्रहरू विश्वभर पुर्याउने प्रयास गरेका छौं’, महोत्सवका कार्यकारी निर्देशक निरज भारीले शनिबार पोखराका पत्रकारहरूसँग भने, ‘भौतिक रूपमै महोत्सव आयोजना गर्ने धोको थियो, कोरोना महामारीले दिएन।’
महोत्सवको सत्रहरू र समय पनि यसपालि छोट्टिएको छ। विगतका वर्षहरूमा ३ दिनसम्म हुने महोत्सवमको झण्डै एक सय जनासम्म अतिथि वक्ताहरू रहने थिए।
यसपालि पुस १४ र १५ गते दुई दिनमात्र महोत्सव सञ्चालन हुनेछ। यसपालिको महोत्सवमा ४० जना अतिथी वक्ताहरू रहने कार्यकारी निर्देशक भारीले बताए।
उनका अनुसार महोत्सवका सत्रहरू युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछन्।
सन् २०११ मा काठमाडौंको झम्सिखेलस्थित ज्ञान मण्डलाको प्राङ्गणबाट सुरू भएको महोत्सव पोखरा आएर बृहत् विस्तार भएको थियो।
नवौं संस्करणसम्म आइपुग्दा महोत्सवले उचाइ लिएको भन्दै निर्देशक बरालले महोत्सवले कला साहित्यको मात्र प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिएको बताए।
‘यस प्रकारका सामाजिक बहस र विमर्शले सर्जक र पदासिन व्यक्तित्वलाई जवाफदेही बनाउन विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्छ’, उनले भने, ‘लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यसले मद्धत पुर्याउँछ।’
महोत्सवको पूर्वसन्ध्यामा पुस १३ गते शुभारम्भ साँझ हुने आयोजकले बताएका छन्।
उक्त साँझमा पत्रकार अमृत सुवेदीले गजलकार प्रदीप रोदनसँग महफिल कार्यक्रम हुने आयोजकले बताएका छन्।
महोत्सवको विद्धत प्रवचन अर्थशास्त्री विश्व पौडेलले ‘साहित्यको अर्थ’ शीर्षकमा प्रवचन दिनेछन्।
यस्तै ‘कोरोनाकालीन उद्योग वाणिज्य’ शीर्षकमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालसँग कुवेर चालिसेले संवाद गर्नेछन्।
यस्तै, ‘युवाको नजरमा नेपाल’ शीर्षकमा प्रकृति भट्टराई बस्नेत, डा. भावना तामाङ, सौगात वाग्लेसँग जगन्नाथ लामिछानेले संवाद गर्नेछन्।
महोत्सवमा ‘पढ्ने हुटहुटी’ शीर्षकमा हरि खनाल, मनुश्री महत र बिकेश कविनसँग स्वेच्छा राउतले छलफल गर्नेछिन् भने ‘कोरोनाले गलाएको जनस्वास्थ्य’ विषयमा डा. अनुप सुवेदी र डा. रोलिना धितालसँग सोबिता गौतमले सहजीकरण गर्ने तालिका छ।
महोत्सबको सातौं सत्रमा ‘के सम्पदा के बसोबास’ विषयमा रवीन्द्र पुरी र मिलन बगालेसँग आलोक तुलाधरले छलफल चलाउनेछन्।
यस्तै, ‘कर्मठ केटी’ शीर्षकमा बोनिता शर्मा, आयुषी केसी र सोनिका मानन्धरसँग आभास्ना पाण्डेले संवाद गर्नेछिन्।
महोत्सवको नवौं सत्रमा ‘क्वेयर हुनुको अर्थ’ शीर्षकमा निरञ्जन कुँवर र भिक्कु कश्यपले संवाद गर्नेछन् भने ‘अद्भुत व्यक्तित्व, असाधारण लेखन’ विषयमा मनुजबाबु मिश्रमाथि रोशन मिश्रले र मदनमणि दीक्षितमाथि इल्या भट्टराईले बोल्नेछिन् ।
महोत्सवमा तीन आख्यानकार केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग ‘तीन आख्यान’ शीर्षकमा शिवानीसिंह थारुले संवाद गर्नेछिन्।
यस्तै, ‘कोरोनापछिको सिनेमा’ शीर्षकमा निश्चल बस्नेत, भाष्कर ढुङ्गाना र प्रियङ्का कार्कीसँग पत्रकार यज्ञशले संवाद गर्नेछन् ।
महोत्सवको १३ औं सत्रमा ‘संघीयताका अवसरहरू’ शीर्षकमा पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र सीता सुन्दाससँग पत्रकार दीपक परियारले संवाद गर्नेछन्।
यस्तै, ‘महारानीको राजनीति’ विषयमा यस पटकको मदन पुरस्कार विजेता आख्यानकार चन्द्रप्रकाश बानियाँसँग राजकुमार बानियाँले संवाद गर्ने कार्यक्रम रहेको छ ।
महात्सवको १५ औं संस्करणमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ विषयमा सिलसिला आचार्य र डा. अरनिको पाण्डेसँग पत्रकार रमेश भुषालले छलफल चलाउनेछन्।
महोत्सवको अन्तिम सत्रमा ‘प्रदेशबाट देखिने देश’ विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार बसन्त बस्नेतले संवाद गर्नेछन्।
यसपालिको महोत्सव विगतका भन्दा नितान्त फरक रहेको महोत्सवका निर्देशक बरालले बताए।
‘यसपालि वक्ताहरू र विषय नयाँ छन्’, बरालले भने, ‘कतिपय वक्ता त सार्वजनिक रूपमा नचिनिएका पनि छन् ।’
‘जहाँ शब्दहरू जीवन्त हुनेछन्’ नारासहित सुरू भएको महोत्सव सञ्चालनमा गण्डकी प्रदेश र पोखरा महानगरले सहयोग गरेको आयोजकले जनाएको छ।