'प्रेमगीत-३' गत वर्षको प्रतीक्षित फिल्म थियो। नयाँ वर्ष २०७७ छेको पारेर गत चैत २८ मा रिलिज हुने तय भएको यो फिल्म लकडाउनका कारण सार्वजनिक हुनै पाएन।
सबै क्षेत्र खुल्दै जाँदा फिल्म क्षेत्र खुलिनसकेकोले 'प्रेमगीत-३' कहिले सार्वजनिक हुन्छ, अझै अनिश्चित छ। यो अनिश्चितताले यस फिल्ममा गीत पात्रको भूमिका निर्वाह गरेकी बाल-कलाकार योगिशा खत्रीको मनमा छटपटी चलाएको छ। उनी आफूलाई ठूलो पर्दामा हेर्न एकदमै आतुर छिन्।
गत वर्ष पुसमा सन्तोष सेन निर्देशित 'प्रेमगीत-३' कै छायांकनका लागि योगिशा मनाङ पुगेकी थिइन्। योगिशासँग मनाङको अनुभवबाटै कुरा सुरू भयो।
एक महिना मनाङमा बिताएकी उनी त्यहाँको चिसो सम्झेर अझै कठ्यांग्रिन्छिन्।
'चिसोले हात ठिहिर्याएर सुटिङ गर्न गाह्रो भएको थियो,' १२ वर्षीया योगिशाले भनिन्। मनाङका आफूजस्तै केटाकेटीका राता-राता गाला पनि याद आउने उनले बताइन्।
योगिशा काठमाडौं फर्केको छोटो समयमै फिल्मको टिजर सार्वजनिक भयो, 'अब चाँडै फिल्म हेर्न पाइने भयो भनेर खुसी थिएँ, लकडाउन भयो।'
'प्रेमगीत-३' योगिशाको पहिलो फिल्म भने होइन। यसअघि नै छायांकन सकाएको 'गीत गजल' फिल्मको पनि उनलाई व्यग्र प्रतीक्षा छ। उनले मुख्य भूमिका निर्वाह गरेको छोटो फिल्म 'आइसक्रिम' भने केही महिनाअघि सार्वजनिक भइसकेको छ।
योगिशाको पहिलो सार्वजनिक फिल्म 'आइसक्रिम' नै हो। संगीता श्रेष्ठले निर्देशन गरको आइसक्रिम 'अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल' मा पुरस्कृत फिल्म हो। यो महोत्सवमा योगिशाले उत्कृष्ट बाल-कलाकारको अवार्ड जितेकी थिइन्।
योगिशाको अभिनय यात्रा म्युजिक भिडिओबाट सुरू भएको हो। बीसभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेकी उनलाई अभिनयमा जोडेको चाहिँ उनको नाच्ने रूचि र सीपले हो।
भर्खर किशोर उमेर प्रवेश गर्न लागेकी उनी भन्छिन्, 'सानैदेखि नाच्न थालेकी हुँ। चार वर्षको बेलादेखि युट्युबमा डान्स हेरर रमाउँथे। हेर्दाहेर्दै नाच्न सिकेँ।'
उनको नाच्ने रूचिमा स्कुलका गतिविधिले मलजल गर्यो। उनी प्याब्सन अन्तर्गतका ६० स्कुलका विद्यार्थीलाई जितेर पहिलो बनिन्। त्यसपछि 'डान्स नेपाल डान्स, सिजन २' की बिजेता पनि बनिन्। नाचेर पाएको सफलताकै कारण उनी पढ्ने लगनखेलस्थित माइलस्टोन स्कुलले उनलाई छात्रवृत्ति समेत दिएको छ।
बोल्दा वा फोटो खिच्दा पनि हात, मुख र शरीरको भावभंगी मिलाउन सिपालु योगिशा नाच्ने बेला अभिनय पनि गरिरहेकी हुन्छिन्। उनले भनिन्, 'डान्ससँगै अनुहारको एक्सप्रेसन पनि हेरेर मलाई म्युजिक भिडिओ र फिल्ममा काम दिनुभएको हो।'
उमेर सानैजस्तो लागे पनि उनका आनीबानी पनि ठूलो उमेरका कलाकारभन्दा कम छैनन्। उनी टिकटक र फेसबुकमा निकै सक्रिय छिन्। सात कक्षा पढ्ने उनले आफ्नै नाममा युट्युब च्यानल खोलेकी छिन्। भारतको 'बुगीवुगी' कार्यक्रममा पुगेर नाच्ने सोचसमेत बनाइसकेकी उनी १३ वर्षभन्दा कम उमेर भएकाले जान नपाएको बताउँछिन्।
सामाजिक सञ्जालमा आफू नाचेका भिडिओहरू बाँड्न उनलाई विशेष रमाइलो लाग्छ। फिल्म आइसक्रिमबाट पुरस्कार पाएपछि उनले आफ्नो फेसबुकमा खुसी साट्दै निर्देशकलगायत फिल्मका सदस्यहरूलाई धन्यवाद भनेकी थिइन्। 'प्रेमगीत-३' सँग सम्बन्धित समाचार र अन्तर्वार्ताहरू पनि पोस्ट गर्न छुटाउँदिनन्।
उनलाई मिडियामा अन्तर्वार्ता दिन पनि रमाइलो लाग्ने रहेछ।
'युट्युबमा कलाकारहरूको अन्तर्वार्ता हेर्न मन पर्छ। आफ्नै अन्तर्वार्ता हेर्न झन् रमाइलो हुन्छ। तर मलाई मेरा पुराना अन्तर्वार्ता हेरेर हाँस उठ्छ। एक्लै हाँसेर बस्छु,' उनले भनिन्।
तेरिया मगरको नृत्यबाट प्रभावित बताउने उनलाई हिपहप शैली मन पर्छ। मोबाइल चलाउँदै आफैं नाच्न सिकेकी उनी हाल कोटेश्वरस्थित फ्लेक्सिबल डान्स सेन्टरमा हिपहप सिकिरहेकी छिन्।
सयभन्दा बढी स्टेज कार्यक्रम सहभागी भइसकेकी उनलाई अभिनय गर्न खासै गाह्रो नलाग्ने बताउँछिन्।
'स्टेज कार्यक्रम र म्युजिक भिडिओमा बानी परिसकेको छ नि त,' उनले भनिन्।
सानै उमेरमा व्यवसायिक कलाकारका रूपमा व्यस्तता बढाइरहेकी योगिशाले विभिन्न टेलिशृंखला र विज्ञापनमा समेत काम गरेकी छिन्। उनले भनिन्, 'काम गरेका फिल्म रिलिज भएको छैन। अझै धेरै नयाँ कामको प्रस्ताव आइरहेको छ।'
मुख्य ध्यान अभिनय र नृत्यमा भए पनि योगिशा पढाइमा पनि 'टप-टेन' भित्र पर्ने बताउँछिन्। पढाइभन्दा अभिनयमा रमाउने योगिशा स्कुलभन्दा फिल्ममा रमाउँछिन्। भन्छिन्, 'स्कुलमा नयाँ कुरा र साथीहरूसँग खेल्न रमाइलो हुन्छ। तर फिल्म खेल्दा नयाँ नयाँ ठाउँ घुम्न पाइन्छ।'
फिल्म वा म्युजिक भिडिओ खेल्ने काममा सधैं मजा भने हुँदैन। उनले सुनाइन्, 'आइसक्रिमको सुटिङ गर्ने बेला गोदाबरीमा कतिधेरै जुका टाँस्सिएको थियो। जुका सम्झेर अझै सिरिङ्ग हुन्छ।'
बिहानदेखि राति अबेरसम्म छायांकनमा हुँदा खाने, सुत्ने र आराम गर्ने कुराको तालमेल बिग्रिनु पनि उनले भोग्ने सकस हुन्। त्यसमाथि छायांकन सकेर स्कुलको होमवर्क र पढाइ पनि भ्याउनै पर्ने बाध्यता छ उनलाई। 'प्रेमगीत-३' छायांकन बेला उनले तेस्रो परीक्षा नै छुटाएकी थिइन्। भनिन्, 'कक्षामा सबभन्दा धेरै अनुपस्थित हुने मै हुँ।'
'तर सबै काममा मलाई ममीले सहयोग गर्नुहुन्छ,' उनले थपिन्।
छोरीको अन्तर्वार्तामा सँगै सेतोपाटी आएकी उनकी आमा हीरा भण्डारी सकेसम्म हरेक पल छोरीसँगै हुन्छिन्।
'प्रेमगीत-३' छायांकनका क्रममा मनाङ गएकी उनी फिल्ममा गीतकी आमाको सानो भूमिकामा पनि देखिने छिन्।
अफ्रिकालगायत अमेरिका, युरोप र नेपालका महोत्सवमा छानिएको आइसक्रिम खेल्न हीराले नै योगिशालाई सुझाएकी थिइन्।
'बलात्कार र यौनहिंसाका विषयमा बनेको भएकाले यो फिल्म खेल्दा अरू बालबालिकालाई पनि फाइदा हुन्छ भनेर योगिशालाई सम्झाएकी थिएँ,' हीराले भनिन्।
हीरा छोरीकै लागि भनेर पोर्चुगलको काम छोडेर नेपाल आएको बताउँछिन्। छोरीको काम जता, उनी उतै पुग्छिन्।
यति हुँदाहुँदै पनि योगिशा भन्छिन्, 'मामु मलाई डाक्टर बन भन्नुहुन्छ। म चाहिँ ठूलो भएर पनि एक्टर नै बन्न चाहन्छु।'
छोरीको कुरा स्वीकार्दै हीराले भनिन्, 'चाहेको त डाक्टर बनोस् भन्ने नै हो। तर उसको नृत्य र अभिनयमा सीप छ। त्यसैले उसको रूचिलाई महत्व दिनै पर्यो।'
योगिशा हीराकी एक मात्र सन्तान हुन्। योगिशाले आमाजस्तै बुबाको पनि साथ पाएको हीरा बताउँछिन्। आमाबुबाले छोरीको रूचि बुझेर समय र साथ दिँदा परिणाम पनि सकारात्मक आएकाले उनी बालबालिकाको इच्छा बुझेर सहयोग गर्नुपर्ने धारणा राख्छिन्।
सानैदेखि आफ्नै रूचिले कला क्षेत्रमा आकर्षित योगिशा यही क्षेत्रमा आफ्नो भविष्य देख्न थालिसकेकी छन्। प्रियंका कार्की र आयुष्मान देशराजसँग म्युजिक भिडिओ खेलेकी उनी कलाकारहरूका बीचमा रमाउँछिन्।
'प्रेमगीत-३' मा प्रदीप खड्का, शिव श्रेष्ठ र चर्चित बाल-कलाकार अनुभव रेग्मीहरूसँग काम गरिसकेकी उनी धेरै चर्चित कलाकारसँग काम गर्न चाहेको बताउँछिन्।
उनले भनिन्, 'अनमोल केसी दादासँग काम गर्न मन छ।'
भेटका क्रमा फोटो खिच्दा उनलाई अनमोलले भनेका रहेछन्, 'तिमी कति राम्री। के हो तिम्रो नाम?'
उनलाई असाध्यै भेट्न मन लागेको सूचीमा राजेश हमाल पहिलो नम्बरमा पर्छन्।
चर्चित अभिनेता-अभिनेत्रीजस्तै बन्न चाहने योगिशा स्कुल र साथी समूहमा सेलेब्रेटीभन्दा कम छैनन्। स्कुलमा उनका शिक्षकहरूले नै अर्को कक्षाका विद्यार्थीलाई योगिशाले अभिनय गरेको म्युजिक भिडिओ देखाउँछन्।
योगिशाले राम्रो नृत्य गर्ने कलाकारका रूपमा परिचय बनाइसकेकी छिन्। यो परिचयका कारण केहीले बाटोमा 'हेलो' भनेर बोलाउँदा उनी मख्खै पर्छिन्।
तर उनको चाहना यतिमै सीमित छैन। भन्छिन्, 'म ठूलो भएर प्रियंका कार्कीजस्तै चर्चित हिरोइन बन्छु।'
यसो भन्दै गर्दै योगिशा सपना देख्छिन्, 'अहिले थोरैले चिने पनि पछि मलाई देखेर मान्छेहरू मेरो अटोग्राफ माग्न आऊन्।'