गुड फ्राइडे सिनेमा
मुम्बईबाट तीन सय किलोमिटरभन्दा कम दुरीमा पर्ने मालेगांवकोमा बलिउड र हलिउडको हावा सँगैसँगै चल्छ। तर मलिउड भनिने यहाँको फिल्म उद्योगको आफ्नै अलग शैली छ।
मलिउडका एक फिल्मकर्मीको यो भनाइले यहाँको शैलीबारे जानकारी दिन्छ, 'पहिलाको फिल्ममा बलिउडलाई टक्कर लिएँ, अब हलिउडसँग टक्कर लिने हो।'
बलिउड र हलिउडसँग 'टक्कर' लिने मलिउडका फिल्मकर्मी चर्चित सिनेमाहरू परिमार्जन गरेर स्थानीय स्वाद, भाषा, लवज र स्थानीय पात्र मार्फत आफ्नै सन्दर्भमा ढाल्न रूचाउँछन्। यही विशेषताले यस्ता फिल्मलाई मालेगांवका दर्शकले पनि रूचाएका छन्।
'मालेगांवका शोले', 'मालेगांवका करण अर्जुन', 'मालेगांवका जेम्स बन्ड' आदि स्थानीय रङ र कल्पना मिसिएका मलिउडका केही चर्चित फिल्म हुन्।
हरेक शुक्रबार मालेगांवका सिनेमा हलमा लाग्ने दर्शकको घुइँचोले यहाँको सिनेमा क्रेज देखाउँछ। यहाँ चर्चा गर्न लागिएको डकुमेन्ट्री 'सुपर म्यान अफ मालेगांव' मा यहाँका मानिसको सिनेमा क्रेजलाई रोचक र मार्मिक शैलीमा उतारिएको छ।
यो डकुमेन्ट्री फैजा अहमद खानले निर्देशन गरेकी हुन्। डकुमेन्ट्रीमा निर्देशक शेख नाशिर र उनको फिल्म क्रु मार्फत 'मालेगांवका सुपरम्यान' बनाउने प्रक्रिया बिस्तारमा देखाइएको छ।
यो डकुमेन्ट्रीभित्र सुपरम्यान बनाउने आइडिया, पात्रको खोजी, स्क्रिप्ट, लोकेसन अरेन्जमेन्ट र प्राविधिक काम देखाइएको छ। सानो फिल्म टोली र सीमित स्रोत साधनमा पनि यी पात्रहरू फिल्म बनाउन खटिएका घटनाक्रम यसमा समेटिएको छ।
फिल्मप्रतिको लगाव र आशक्तिले अभावसँग जुधिरहेको गाउँको एउटा सानो समूहले कसरी दत्तचित्त भएर काम गर्छ भन्ने कुरा स्क्रिनमा देख्दा सिनेमाप्रेमी र सामान्य दर्शकमा उत्साह र प्रेरणा भरिदिन्छ। डकुमेन्ट्रीको विशेषता नै यही हो।
नाशिर मालेगांवमा भिडिओ हलमा अरूलाई फिल्म देखाउँदा देखाउँदै आफैं फिल्म निर्माणतर्फ आकर्षित भएका हुन्। भिडिओमा हिन्दी र अंग्रेजी फिल्म देखाउने क्रममा चार्ली चाप्लिन, रेम्बो, जेटली, ज्याकी च्यानजस्ता कलाकारबारे जानकार छन्।
नयाँ काम गर्न चाहने उनले मालेगांव र यहाँका स्थानीयको दुःखसुख र रूचि मज्जैले बुझेका हुन्छन्। जस्तो कि, मालेगांवका दर्शक ठूलो स्टारका संवाद आफ्नै भाषामा सुन्न रुचाउँछन्। आफ्नै ठाउँका मान्छेलाई हिरो हिरोइन भएको देखेर रोमाञ्चित हुन्छन्।
त्यो रूचि बुझेका नाशिर र उनको समूहले मालेगांवका सुपरम्यानलाई पनि यस्तै रङ दिएको डकुमेन्ट्रीमा देख्न पाइन्छ।
सिनेमाको प्रभाव र आशक्तिबारे बनेका डकुमेन्ट्री वा फिल्ममध्ये मालेगांवका सुपरम्यान विशेष छ। किनभने यसले साना मान्छेका कथा भन्छ। मालेगांवका सुपरम्यान हलिउडको जस्तो बलियो छैन। ठूला-ठूला भवनको टुप्पोमा पुगेर ऊ फेरि छिनमै ओर्लेर चमत्कार देखाउन सक्दैन।
ऊ त त्यही गाउँका सर्वसाधारण गरिबी, अभाव र अँध्यारोमा बाँचेको छ। मालेगांवका सुपरम्यानलाई प्रदूषणका कारण दमको रोग छ। मानवीय कमजोरीसहितको यो सुपरम्यानले गरिबी र अभावमा बाँचेका स्थानीयको मन बहलाउन भने सक्छ।
डकुमेन्ट्रीमा मालेगांवबारे 'चाँद से खिताब' शीर्षकमा एउटा कविता वाचन गरिएको छ। मालेगांवको गरिबी, विचलन र नियतिको कुरुप वर्णनले यहाँका मानिसको मनभित्र र बाहिरको हाल बोलेको छ। महाराष्ट्रमा पर्ने मालेगांव लुम (ऊन) उद्योग। यहाँका अधिकांश मानिस दुई छाक टार्न १२ घन्टाभन्दा बढी मिहिनेत गर्छन्। लोडसेडिङका कारण दिनहुँ घन्टौं अँध्यारोमा बस्छन्। गरिबी, अभाव र फोहोरको साम्राज्यबाट मालेगांवबासी जब सिनेमाको संसारमा छिर्छन्, केही घन्टाका लागि भए पनि दैनिक जीवनका पीर-चिन्ता भुल्छन्।
यथार्थबाट 'इस्केप' गर्नबाहेक सिनेमाले यहाँका मुस्लिम र हिन्दु समुदायको साम्प्रदायिक विभाजनलाई जोड्न काम समेत गरेको छ। यसले भारतमा बलिउड बाहेकका साना सिनेमा उद्योगमा काम गर्ने सोच र शैली बुझ्न पनि सघाउँछ।
'पपुलर कल्चर' को महत्वपूर्ण माध्यम सिनेमाको शक्ति र यसप्रति मान्छेको आशक्तिको रमाइलो कथा हो, 'सुपर म्यान अफ मालेगांव'।
यो रमाइलो कथालाई संसारभरका दर्शकले मन पराएका छन्। यो डकुमेन्ट्रीले अमेरिकादेखि पाकिस्तानसम्मका महोत्सवहरुमा पाएका प्रशंसा र पुरस्कार यसका प्रमाण हुन्।