कवि एवं आख्यानकार सरस्वती प्रतिक्षा जब कार्यक्रममा पुगिन्, तब उनलाई जिम्मेवारी आयो, आख्यानकार तीर्थ गुरूङका बारेमा बोल्ने।
लेखेर मात्र बोल्ने बानी बसाएकी सरस्वतीले निर्धारित समयभन्दा केही ढिलो हुने कार्यक्रमबीचको समय निकालिन् र गुरूङसँग विगतमा भएका आफ्नो अनुभूति खोतलिन्।
पोखरामा एक जमाना थियो, जतिबेला ‘संरक्षण कविता आन्दोलन’ निकै चर्चित थियो। यो आन्दोलनमा नजोडिएका पोखराका लेखक, साहित्यकार सायदै होलान्। सरस्वतीले तीर्थ गुरूङसँग त्यही आन्दोलनमा गाउँ-गाउँ पुगेर कविता लेखेको र सुनाएको क्षण सम्झिइन्।
‘उहाँ कुनै दिन नेपालका गिनेचुनेका कवि हुनुहुनेछ भन्ने लाग्थ्यो’, उनले भनिन्, ‘तर उहाँ लामो समय हराउनुभयो।’
गण्डकीका गाउँहरूमा कविता सुनाउन पुग्दा गुरुङ हिट थिए। सरस्वतीका अनुसार यतिसम्म हिटकी कविता सुन्न गाउँलेले गुरूङलाई ‘फर्मास’ नै गर्थे।
धेरै वर्ष हराएपछि तत्कालीन कवि गुरूङ आख्यानकार भएर निस्के, ‘पाठशाला’ उपन्यास लिएर।
कविका रूपमा हिट हुँदा नै सरस्वतीले तीर्थलाई समर्पण गरेर कविता लेखेकी थिइन्, ‘तीर्थ गुरूङ एउटा उड्ने चराको नाम हो’ शीर्षकमा।
आख्यानकार गुरूङको परिचय दिँदा भावुक बनेकी सरस्वतीले गुरूङलाई सेती नदीको संज्ञा दिइन्।
‘धेरै लेखक खहरेजस्ता हुन्छन्, छिट्टै सुक्छन्, कोही समुन्द्रमा पुग्छन्’, उनले भनिन्, तीर्थ गुरूङ सेती नदी हुन्, जो कहीँ लुकेर बग्छन्, कहीँ खुलेर बग्छन्।’
साहित्यमा धेरै लेखक ठाउँ पाइनँ भन्दै कुण्ठा बोकेर हिँड्ने गरेको समेत उनले बताइन्।
‘मैले ठाउँ पाइनँ भनेर धेरैले कुण्ठा बोक्छन्’, उनले टुङ्ग्याइन्, ‘तीर्थ गुरूङलाई ठाउँ आफैं खोज्दै आउँछ।’
गुरूङ जाति नयाँ वर्ष मनाउने तरखरमा छन्। उनीहरूको परम्परा अनुसार पुस १५ गते वर्ग फेरिन्छ, यही वर्ग फेरिने दिनलाई उनीहरूले ल्होसारका रूपमा मनाउँछन्। यही पर्वको अवसरमा गुरूङ साहित्यिक मञ्चले पोखरामा आख्यानकार गुरूङको नया कथा संग्रह ‘आपा क्हार्प’ विमोचन गर्दै थियो, शुभकामना आदान–प्रदानसहित।
पुस्तकको समीक्षा गर्दै लेखक एवं आख्यानकार गणेश पौडेलले कथा संग्रहमा संग्रहित १५ वटै कथा नयाँ तौर तरिकामा लेखिएको बताए।
कथा संग्रहको शीर्ष कथा ‘आपा क्हार्प’ बाबु र छोराबीचको द्वन्द्व भएको बताए।
गुरूङ समुदायमा परम्परादेखि मौखिक रूपमा भनिँदै आएको कथालाई आधुनिक रूप दिएर लेखिएको पौडेलले बताए।
‘आपा क्हार्प मिथक हो, गुरूङ समुदाय हजारौं वर्षदेखि यो ठाउँमा बसोबास गर्दै थिए भन्ने कुरा यो कथाले प्रमाणित गर्छ’, पौडेलले भने, ‘पहिचानको आन्दोलन लडेका मान्छेले यो कथा पढ्नैपर्छ।’
अन्य कथाहरू गुरूङ समुदायको लाहुरे संस्कृति, सामाजिक कथाहरू, विज्ञान कथालगायत विविध विषयमा रहेको पौडेलले बताए।
कथामा राखिएका गुरूङ भाषाका शब्दहरूले नेपाली भाषालाई समृद्ध बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
कथा संग्रहको समीक्षा गर्दै अर्का लेखक कुमारी लामाले कथा भन्ने मौखिक परम्परा लेखेर दस्तावेजीकरण गरेको भन्दै गुरूङलाई धन्यवाद दिए।
समाजका विविध पाटालाई कथामा उनेर आख्यानकार गुरूङले एउटै किताबमा फरक स्वाद दिन सफल भएको बताइन्।
आख्यानकार गुरूङले पुस्तक विमोचनमा आफ्ना शिक्षकलाई सम्झे। कक्षा ६ मा पढ्दा स्कुलमा वादविवाद प्रतियोगिता भएको थियो। त्यो प्रतियोगितामा भाग लिएका शिक्षकले स्याबास भनेर उफारेका थिए। त्यही उफ्राइले उनलाई लेख्न प्रेरित गरेको थियो।
गुरूङलाई प्रेरित गर्ने उनका काका पनि हुन्। जसले घरमा प्राय: गाँस, बास र कपास भनिरहन्थे। यी तीन शब्द उच्चारण गर्दा आउने लयले उनको मनमा छोयो। त्यसपछि नै उनले कविता लेख्न थालेका थिए।
‘मलाई स्कुल पढ्दा नै यी कुराले कविता लेख्न मन लाग्यो’, उनले भने।
आपा क्हार्प आमा र छोराबीचको अनैतिक सम्बन्धमा आधारित कथा हो। गुरूङ समुदायमा भिरमहको सिकार गर्ने परम्परा अहिले पनि जीवित छ। त्यही भिरमहको मह काढ्न जाँदा बाबु–छोराको द्वन्द्व उत्कर्षमा पुग्छ।
त्यही शीर्ष कथालाई न्याय दिन पुस्तकको आवरणमा भिरमह सिकार गर्दा टाँगिने डोरीको भर्याङ गुजुल्टो पारेर राखिएको गुरूङले सेतोपाटीलाई बताए।
आपा क्हार्प भोलिका दिनमा नेपाली समाजमा एउटा भनाइका रूपमा स्थापित होस् भन्ने आफूले चाहेको उनले बताए।
‘अनैतिक सम्बन्धका प्रसंगमा कस्तो ‘आपा क्हार्प’ जस्तो हो भनेर समाजमा भनियोस् भनेर मैले सोचेको छु’, उनले भने।
‘आपा क्हार्प’ कथाको मुख्य पात्रको नाम भएको आख्यानकार गुरूङले बताए।
पुस्तकका प्रकाशक बुकहिलका संस्थापक भुपेन्द्र खड्काले पोखराका लेखक र हिमाललाई चिन्न पाउँदा आफूलाई गौरव लागेको बताए।
पुस्तक विमोचनपश्चात् बोल्दै कवि तीर्थ श्रेष्ठले नेपालको सम्पत्ति भनेकै सम्पदा भएको बताए।
‘हाम्रो संस्कृतिको मूलधार निर्माण गर्नुपर्छ’, उनले भने, ‘उक्त मूलधार साँस्कृतिक इन्द्रधनुष जस्तो देखिन्छ।’
राज्यका तर्फबाट सम्पदा जोगाउन कुनै प्रयास नभएको उनको भनाइ छ।
सम्पदाको उचित व्यवस्थापन गर्न नसक्दा विपत्ति आउन सक्ने भन्दै उनले यसतर्फ सजग भएर कुशल व्यवस्थापन गर्न सक्नुपर्ने बताए।
नेपालमा पठन संस्कृति बढ्दै गएको भन्दै श्रेष्ठले मातृभाषामा आफूलाई सम्प्रेषण गर्न सक्नुपर्ने बताए।
‘पढ्नु स्वयंमा ठूलो कुरा होइन, पढाइसँगै चिन्तन हुनुपर्छ’, कवि श्रेष्ठले भने, ‘हाम्रोमा त पढ्ने भनेकै जागिर खानलाई हो भन्ने छ, तर मान्छे बन्नलाई पढ्नुपर्छ।’