गुड फ्राइडे सिनेमा
'एन इन्सिग्निफिकेन्ट म्यान' अर्थात् एउटा महत्वहीन व्यक्ति। लोकतान्त्रिक व्यवस्थामा कहिलेकाहीँ त्यही महत्वहीन व्यक्ति स्थापित सत्ताका लागि ठूलो चुनौती बन्न सक्छ। अनि सत्ता नै उल्टाइदिन सक्छ।
सन् २०१३ अन्ततिर भारतको नयाँ दिल्लीको राजनैतिक परिदृश्यमा एउटा असाधारण परिवर्तन देखियो। यो समय उत्तर भारतका सामान्य कर अधिकारी अरबिन्द केजरीवालले भ्रष्ट राजनीतिक व्यवस्था विरूद्ध लड्न निर्णय गरेको समय थियो। राजनीतिक भ्रष्टाचारका विरूद्ध उनले नेतृत्व गरेको अहिंसात्मक आन्दोलनले धेरैको सहभागिता र समर्थन बटुल्न सफल भयो।
यही आन्दोलनको जगमा उनले आम आदमी दल खडा गरे। नयाँ सोचका साथ उदाएका केजरीवालको चर्चा तब झनै चुलियो, जब उनले दिल्लीमा सबभन्दा लामो समय १५ वर्ष मुख्यमन्त्री पदमा कंग्रेस पार्टीका शिला दीक्षितलाई विस्थापित गरे।
'एन इन्सिग्निफिकेन्ट म्यान' डकुमेन्ट्री राष्ट्रिय राजनीतिको मोड नै परिवर्तन गर्ने सपना देखेका एउटा सामान्य पृष्ठभूमिबाट आएका मान्छेको कथा भन्छ। कतै पहुँच र सीमित स्रोत साधन भएको सामान्य व्यक्तिले आममानिसको राजनीतिक चेतना स्तरमा असामान्य परिवर्तन ल्याइदिन सक्ने कुरा डकुमेन्ट्रीमा देखाइएको छ।
डकुमेन्ट्रीले केजरीवालको नेतृत्वमा भएको राजनीतिक संगठन तथा वैचारिक प्रभाव विस्तार गर्न गरेका घटनाक्रम समेट्छ। उनले आफ्नो महत्वहीनतालाई नै आफ्नो मुख्य सामर्थ्य बदलेर त्यसको प्रयोग राजनीतिमा प्रयोग गरेका छन्।
संगठन विस्तार क्रममा उनको दाहिने हातसरह बनेका योगेन्द्र यादव पनि यसमा मुख्य पात्रका रूपमा आएका छन्। एउटै सपना बोकेर सँगै जोडिएका केजरीवाल र यादवबीच चुनावको समयमा आउने आन्तरिक द्वन्द्वको चित्रण डकुमेन्ट्रीको रोचक पक्ष हो।
व्यक्तिगत स्वार्थका कारण टाढिएका यी दुवै पात्र आफ्नो मूल्य मान्यतामा अडिग रहेको पक्ष नै विशेष छ। भारत होस् वा नेपाल, हरेक चुनावमा पैसा खर्च गर्न नसक्ने मान्छे उम्मेदवार बन्न गाह्रो भएको खबरबारे हामी जानकार छौं। चुनाव जित्नु त धेरै परको कुरा हो। तर केजरीवाल यस्तो राजनीतिक माहोलमा अपवादका रूपमा उदाएका थिए।
के इमानदार मान्छेले चुनाव जित्न सक्छ? विकृत राजनीतिक माहोलमा निष्पक्षताको सपना देख्ने मान्छे विजयी बन्न सक्छ? विनय शुक्ला र खुश्बु रंकाले निर्देशन गरेको 'एन इन्सिग्निफिकेन्ट म्यान' डकुमेन्ट्रीले दर्शकलाई यी प्रश्नबारे चनाखो बनाउँछ।
झट्ट हेर्दा डकुमेन्ट्री केजरीवाल र उनको दलआम आदमीबारे केन्द्रित लाग्न सक्छ। तर ऐतिहासिक घटनाक्रम र समसामयिक राजनीतिको सजीव चित्रण गर्ने 'एन इन्सिग्निफिकेन्ट म्यान' राजनीतिक परिवर्तन चाहने आम पात्रको कथा हो।
उसको संघर्ष र सफलताको यात्रा देखाउँदै डकुमेन्ट्री आममान्छेलाई राजनीतिबारे चनाखो बनाउँछ। भ्रष्टाचार, शक्तिको चलखेल दलीय राजनीतिका उतार चढाव बुझ्न सघाउने यो डकुमेन्ट्रीमा राजनीतिक दलहरूले मिडिया प्रोपोगान्डा कसरी गर्छन् भन्ने कुरा प्रस्टसँग देखाएको छ।
विश्वकै ठूलो लोकतन्त्र भनिँदै आएको भारतका आममानिसको राजनीतिक धारणा निर्माणमा मिडियाको निर्णायक भूमिका रहँदै आएको छ। निजी च्यानल र सामाजिक सञ्जालको आजको युगमा राजनीतिक केन्द्र नयाँ दिल्ली मिडियाग्रस्त समाज पनि भनिन्छ।
डकुमेन्ट्रीमा चित्रण गरिएको यसै विषयको सन्दर्भमा भारतका चर्चित पत्रकार रविश कुमारको टिप्पणी छ, 'यहाँ एंकरले विश्वास गर्छन् कि उनीहरूले राजनीतिक परिवर्तन गर्न सक्छन्। तर यस फिल्ममा तपाईंले देख्न सक्नुहुनेछ कि राजनीतिले कसरी एन्कर परिवर्तन गरिरहेको छ।'
उनले यो पनि भनेका छन्, 'फिल्म हेरेर तपाईं हाँस्नु हुनेछ, एंकरमाथि, मिडियामाथि र आफैंमाथि पनि।'
'एन इन्सिग्निफिकेन्ट म्यान', युवा पुस्ताका प्रतिभाशाली फिल्ममेकरहरूको प्रोजेक्ट हो। यसका निर्देशकमध्येकी एक खुश्बुले यसका निर्मातासमेत रहेका आनन्द गान्धीको फिल्म 'सिप अफ थेसस'मा सँगै काम गरेकी थिइन्।
फिल्म क्षेत्रमा बौद्धिक चेतसहित काम गर्ने यो समूहले 'एन इन्सिग्निफिकेन्ट म्यान' मार्फत् समाजको राजनीतिक चेतनाको लहरलाई दृश्यमा उतार्ने कामको एउटा राम्रो उदाहरण दिएका छन्।
राजनीतिक उथलपुथल भइराख्ने नेपालमा पनि राजनीतिक विषयमा डकुमेन्ट्री वा फिल्म बनाउने अनेकन सम्भावना छन्।