त्यो रात श्रवण मुकारुङ भोलि बिहान कुन कविता सुनाउने होला भन्ने दुविधामा निदाएका थिए।
उनलाई आर्ट काउन्सिल, बबरमहलमा 'रेडियो बचाऔं आन्दोलन'मा ऐक्यबद्धता जनाउन तत्कालीन सन्दर्भमा मिल्ने कविता चाहिएको थियो।
२०६२ असार ४ गते हुने कार्यक्रममा उनी पुरानै कविता सुनाउँला भन्ने सोच नजिक पुगिसकेका थिए। तर कवि मन न हो, आधारातमा उनको कवि हृदयलाई कसैले ढकढक गरेझैं भयो।
आँखा खोलेर मनका भावना र विचार पोख्दै कविता लेखे अनि शीर्षक दिए– बिसे नगर्चीको बयान।
मध्यरातमा लेखेको कविता झिसमिसेमै सुनाउनुपर्ने थियो। कविता छाँटकाँट गर्न समय अपुग भएको मनस्थितिमा उनी आर्ट काउन्सिल पुगे। स्थापित कवि तथा सञ्चारकर्मीको भीडमा उनले धकाउँदै 'बिसे नगर्चीको बयान' सुनाए।
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ
मेरो टाउको फन्फनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भइरहेछ
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पाइताला कहाँनिर छ?
कहाँनिर छ बिसे नगर्ची?
जसै कविता सकियो, उनको धक हरायो। पररर बजेका तालीको गडगडाहटमा उनी पनि निकै बेरसम्म हराए।
तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशता उत्कर्षमा पुगेको त्यो समय सञ्चारगृहहरूमा समेत सेनाले हस्तक्षेप गरेको थियो। एफएम रेडियोमार्फत समाचार भन्न रोक थियो। रेडियो बचाऔं आन्दोलन त्यसकै विरोधमा भइरहेको थियो।
प्रतिबन्धित समयमा 'बिसे नगर्चीको बयान' रचेर श्रवणले राजसंस्थाको आधारमाथि नै प्रश्न गरेका थिए। त्यो प्रश्नले आन्दोलनमा होमिएका मानिसको भावना बोल्यो। पहिलो पटक सुन्नेबित्तिकै बिसे नगर्चीको बयानले धेरैलाई आकर्षित र उद्वेलित बनाउन सफल भयो।
आर्ट काउन्सिलमा बिसे नगर्चीको बयानले पाएको चर्चा सहरमा फैलिन बेर लागेन। यो कविता भोलिपल्टै उनले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा सुनाउँदा त्यसले अर्को हलचल ल्यायो। प्रतिष्ठानकी तत्कालीन काव्य विभाग प्रमुख भूवन ढुंगानाले उपकुलपति वासुदेव त्रिपाठीलाई श्रवणको कविताकै कारण स्पष्टिकरण दिनुपर्यो।
यो घटनाले कविताको चर्चा झनै बढ्यो। यो कविता पत्रिकाहरूमा छाप्ने, रेडियोमा बजाउने होडबाजी चल्यो। विभिन्न मातृभाषाहरूमा अनुवाद भएको यो शक्तिशाली कविताबारे नारायण वाग्लेले कान्तिपुरमा सम्पादकीय नै लेखे।
बिसे नगर्चीको बयान अब श्रवणको नभई आन्दोलनको कविता बन्यो। यसले सोझै निरंकुश राजतन्त्र र सत्तालाई हाँक दियो। पर्चा, पम्पलेट र टिसर्टसमेत बनाइएको यो कविता राजतन्त्र विरोधी आन्दोलनको बलियो अस्त्र बन्न पुग्यो।
बिसे नगर्चीको बयान सुनाउँदै श्रवणले आन्दोलनमा सर्जकका रूपमा सक्रिय योगदान दिएका थिए। आन्दोलन सफल हुँदा मन खोलेर खुसी हुनेमध्ये उनी पनि एक थिए।
त्यही जनआन्दोलनको सफलतापछि मुलुकमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापना भयो। संघीयता, धर्मनिरपेक्षता र समावेशीता जस्ता उपलब्धि हात परे। संविधानसभाबाट लामो प्रक्रिया पूरा गरेर संविधान तयार भयो।
यति धेरै परिवर्तनको साक्षी बनेका श्रवणलाई देशमा अब लोकतन्त्र र विधिको शासन चल्ने विश्वास थियो। अब बिसे नगर्चीलाई सडकमा ल्याउनु पर्दैन भन्नेमा उनी ढुक्क थिए।
तर डेढ दशकपछि उनको भर तोडियो।
प्रधानमन्त्री केपी ओलीले संविधान मिचेर संसद विघटन गरेपछि उनको विश्वास टुटेको छ। उनीजस्ता लोकतान्त्रिक आन्दोलन र गणतन्त्रका पक्षमा लडेकालाई निराश बनाएको छ।
यो निराशाको स्वर फेरि सडकमा देखिँदैछ। स्वतन्त्रताप्रेमी लेखक तथा कलाकारहरू अहिले सडकमा ओर्लिन बाध्य छन्। केही समयदेखि माइतीघरमा बृहत नागरिक आन्दोलन भइरहेको छ। लेखक तथा अभियन्ता युग पाठकको संयोजनमा भएको यो आन्दोलनमा दर्जनौं कवि तथा कलाकारले सहभागिता जनाइरहेका छन्।
गत साता यो आन्दोलनमा श्रवण पनि उपस्थित थिए। त्यहाँ उनले सडकमा उभिएर बिसे नगर्चीको बयान सुनाए।
झन्डै १५ वर्षपछि 'बिसे नगर्चीको बयान' फेरि सडकमा किन?
'संसद विघटनपछि हामीलाई २०६२/६३ का उपलब्धि संकटमा परेको महशुस भयो। अनि हामी सडकमा उत्रिन बाध्य भएका हौं,' श्रवणले भने, 'बिसे नगर्चीको बयान २०६२/६३ को आन्दोलनको पृष्ठभूमिमा जन्मेको कविता हो। यो निरकुंशता विरोधी कविता भएकाले अहिलेको संकटमा यही कविता वाचन छानेँ।'
संसद विघटनपछि सरकारले मध्यावधि निर्वाचन घोषणा गरे पनि चुनाव हुन नसके के होला भन्ने त्रास बढेको बताए। उनले भने, 'संसद विघटनको अन्तिम निर्णय सर्वोच्च अदालतको हातमा पुगेको छ। तर सरकारको कार्यशैली चुनाव गराउने खालको छैन। त्यसैले खबरदारीको खाँचो छ।'
श्रवणले कविता लेख्न थालेको ३५ वर्ष भइसक्यो। यसबीच उनका थुप्रै कविता र गीत चर्चित छन्। बिसे नगर्चीको बयान पछि पनि उनले धेरै राम्रा कविता रचिसके। तर उनी भन्छन्, 'परिवर्तनको आकांक्षा र सपना पछाडि धकेल्ने खेल भइरहेको बेला यही कविता सान्दर्भिक भएर आउँदोरहेछ।'
यसको कथानक श्रवणलाई आफैंलाई पनि बलियो लाग्छ। उनी घरीघरी यो कविता पाठक भएर पढ्छन् र बिसे नगर्चीसँग बात मार्छन्। यसरी बात मार्दा उनी यसमा नेपाल राज्य र नेपाली जातिको लामो इतिहास भेट्छन्।
यो कवितामा इतिहासमा अन्यायमा परेको बिसे नगर्ची पात्र बनेर अगाडि आउँछ। उसले आजको मानिस भएर वर्तमानको कुरा भन्छ। इतिहासको हिसाब खोज्दै उसले भनेका कुरा मार्फत् श्रवणले नेपाल मुलुकमा आफ्नो पहिचान र स्थान खोजिरहेका पात्रको प्रतिविम्ब उतारेका छन्।
बिसे नगर्चीको बयान राजनीतिक कविता हो तर यसमा कोरा नारा छैन। लयविधान, संरचना र सौन्दर्यको तालमेल पनि यो कविताको विशेषता हो।
२०६२ नेपाली राजनीतिको 'टर्निङ प्वाइन्ट' भएजस्तै त्यही वर्ष लेखिएको बिसे नगर्चीको बयान श्रवणको साहित्य यात्राको 'टर्निङ प्वाइन्ट' बन्यो। यही कविताको लोकप्रियताबाट गुरुकुलमा श्रवणले एकल कविता वाचन गरे। टिकट बेचेर कविता सुन्ने स्रोता दर्शक पाउने उनी 'पहिलो' कवि बने। उनका कविता धरानदेखि हङकङ र कतारसम्म टिकट काटेर सुन्नेको कमी भएन।
नाम र दामसमेत दिलाउने यो कवितालाई श्रवण आफ्नो निजी कविता भन्न रूचाउँदैनन्।
बिसे नगर्चीको बयानमा गणतन्त्र, संघीयता, समावेशीता र सामाजिक न्यायको सपना देखेका लाखौं नेपालीको सपना गाँसिएको ठान्छन् उनी। उनले भनेझैं बिसे नगर्चीको बयान आममान्छेलाई कसरी र कति हदसम्म जोड्छ भन्ने उदाहरण हो। सडक, संघर्ष र नयाँ नेपालको सपना देखेका पुस्ताको कविता हो।
माइतीघरमा १५ वर्षपछि बिसे नगर्चीको बयान वाचन गर्दा श्रवणले कविताको सान्दर्भिकता आज पनि उस्तै रहेको महशुस गरे।
अहिले यही कुराले उनलाई पोलिरहेछ।
'अत्यन्तै डरलाग्दो अनुभूति भयो। दुःख र पीडाले मनमा ऐंठन भइरहेछ,' उनले भने, 'उही माग र सपना बोकेर कहिलेसम्म पटकपटक हामी सडकमा आउनुपर्ने हो? घुमिफिरी उस्तै संकटमा होम्ने यो देश आखिर कसले चलाइरहेको छ?'
उनी चाहन्थे, एक दिन बिसे नगर्चीको बयान फेरियोस्। बिसे नगर्चीहरू रैतीबाट नागरिक बनून्।
'तर शासकहरूले जनमतको कदर नगर्दा बिसे नगर्चीको बयान फेर्न सकिएको छैन,' उनले भने।
श्रवण आफू कुनै पार्टी वा व्यक्तिका पक्षमा बोल्न सडकमा आएको होइन भन्छन्। भने, 'हामी सर्जकले हिजोका दिनमा आममान्छेको भावना लेख्यौं, बोल्यौं, गायौं। आज पनि त्यही उद्देश्यले सडकमा आएका हौं।'
उनलाई चुनाव भयो भने भोलिको दिनमा राजनीति पुनः सही ठाउँमा आउने झिनै भए पनि आशा राख्छन्। तर उनमा चुनाव भएन भने के होला भन्ने डर बढी छ।
'चुनाव भएन भने आन्दोलन अझ ठूलो हुनेछ। आन्दोलनसँगै बिसे नगर्चीको बयानको सान्दर्भिकता अझै बढ्नेछ,' उनले भने, 'आमनागरिक, सर्जकसँगै कविताले पनि विद्रोह गर्नेछ। बिसे नगर्ची फेरि बहुलाउने छ।'
बिसे नगर्चीको बयान कविताः
मालिक!
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ
मेरो टाउको फन्फनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शीर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ?
कहाँनिर छ बिसे नगर्ची?
मालिक! म बौलाएँ
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि –
आज के भयो मलाई?
यो बिसेलाई दशा लाग्यो मालिक!
म बौलाएँ
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफि्रनु पर्ने?
थुइक्क बिसे...
म बौलाएँ मालिक!
म बौलाएँ
मेरो हात भाँच्चियो
अब म हजुरका भारदारहरुलाई
लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न, सनई बजाउन
अथवा, कुनै मङ्गलगान
वा ऋतुगान गाउन सक्दिनँ
मेरो खुट्टा भाँच्चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठीक्कले बोल्नै सक्दिनँ
मालिक! म बौलाएँ
मालिक!
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला–अग्ला पहाडहरु
आज कसरी यस्तरी होचा–होचा भए?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु
आज कसरी यस्तरी खुनी र कुरुप भए?
यो दरौँदी किन उल्टो बगेको देख्छु?
यो दरबारै किन खण्डहरजस्तो देख्छु?
मालिक! म बौलाएँ
मालिक!
हजुरको तरवारले
टाउको काट्छ कि फूल?
भ्रममा परेँ म
हजुरको बन्दुकले
विचार ढाल्छ कि मान्छे?
भ्रममा परेँ म
यस राज्यलाई
प्रजाले बनायो कि राजाले?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक!
म कसरी आतङ्ककारी हुनसक्छु?
म केवल बौलाएँ मालिक!
बौलाएँ
हो मैले–
मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर–
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो
बराबर हो भने हुँला
मैले सिएको सुकिला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले
मेरै भगवानलाई पनि गाली गरेँ हुँला
मालिक!
मान्छे बौलाएपछि
आफैंसँग निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि
मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरु कहाँकहाँ पुगे?
मैले खोज्न चाहेँ हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा
र बगेका रगतहरुले मलाई उक्सायो
तरवारले आर्जेको मुलुकभन्दा मैले
धागोले उनेको मुलुक विशाल ठानेँ हुँला
मालिक!
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु?
म साँच्चै बौलाएँ मालिक!
साँच्चै बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शीर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँ छ?
कहाँ छ बिसे नगर्ची?
मालिक! म बौलाएँ।