गुड फ्राइडे सिनेमा
केही मान्छेलाई मर्ने स्वतन्त्रता र संजोग पनि जुर्दैन। 'अग्ली' फिल्मकी शालिनी त्यस्तै पात्र हुन्। फिल्मको पहिलो दृश्यमा ऐनाअगाडि उभिएकी शालिनी आफैंलाई हेर्छिन्। उनी त्यो हेराइलाई अन्तिम सोचेर जुरुक्क उठ्छिन्। घर्राबाट बन्दुक निकाल्छिन् र त्यो बन्दुक आफैंलाई तेर्स्याउँछिन्।
ठीक त्यति नै बेला छोरी कली स्कुलबाट फर्किएर ढोका ढकढकाउँछिन्। शालिनीको मर्ने कोसिस असफल हुन्छ।
कली शालिनी र राहुलकी छोरी हुन्। तर शालिनी र राहुलको सम्बन्ध विच्छेद भइसकेको छ। शनिबारको दिन प्रायः राहुल आफ्नी छोरीलाई घुमाउन लैजान्छन्।
राहुल हिरो बन्ने चक्करमा लामो समय खर्चेको युवा हो। एउटा शनिबार उनी कलीलाई गाडीमा राखेर आफ्नो निर्माता साथी चैतन्यलाई भेट्न जान्छन्। आफू पाँच मिनेटमै फर्किने भन्दै कलीलाई गाडीमा छाडेर गएका बेला कलीको अपहरण हुन्छ।
राहुल र चैतन्यले कलीलाई खोज्ने क्रममा मुखुन्डो बेच्ने मान्छेप्रति शंका गर्छन् र लखेट्छन्। भाग्दाभाग्दै मुखुन्डो बेच्ने मान्छे गाडीले किचेर मर्छ। त्यसपछि राहुल र चैतन्य प्रहरीको फन्दामा पर्छन्।
यो घटनाको छानबिन शौमिक बोसको मातहतमा आउँछ जो शालिनीका श्रीमान हुन्। शौमिकले राहुल र चैतन्यमाथि कलीलाई अपहरण गरेको आरोप लगाउँछन्। शौमिकले आफूमाथि शंका गर्दैगर्दा राहुल पनि शौमिकलाई कलीको अपहरणकारी ठान्छन्।
यसपछि सुरू हुन्छ, एकअर्कामाथि आरोप प्रत्यारोप खेल। यो खेल यति घिनलाग्दो छ कि दर्शकलाई १० वर्षकी कलिली कलीका आमा, बुबाहरू नै अपहरणकारीजस्तै लाग्न थाल्छ।
सुरूदेखि जिज्ञासा भए पनि फिल्मको अन्त्यमा मात्रै दर्शकले कलीको अपहरणकारी र उनको अवस्थाबारे थाहा पाउँछन्। कुनै बालबालिकाको अपहरण र खोजीको कथा नयाँ होइन। तर अनुराग कश्यपको लेखन तथा निर्देशनमा बनेको फिल्म भएकोले अरुभन्दा अलग छ, 'अग्ली'।
'अग्ली'को मूल कथा बालिकाको अपहरण र खोजी भए पनि यसले मानव सम्बन्धका अनेकौं आयाम खोतल्छ। अनुरागले कुनै अन्तर्वार्तामा भनेका छन्, 'म दर्शकलाई खुसी बनाउन हैन, बरू असहज बनाउन र सोच्न बाध्य बनाउन फिल्म बनाउँछु।'
'अग्ली' त्यस्तै फिल्म हो। श्रीमान, श्रीमती र साथीबीचको शंका, इगो र बदलालाई अग्लीमा जसरी देखाइएको छ, त्यसले दर्शकलाई साँच्चिकै असहज बनाउँछ। काममा उत्कृष्ट भए पनि मान्छेको अहमले कसरी आफू र अरुलाई संकटमा पार्न सक्छ भन्ने राम्रो उदाहरण हो अग्ली।
अनुरागको फिल्मका पात्रहरू बोल्ड त हुन्छन् तर सँगसँगै 'सेल्फ ड्रिस्ट्रक्टिभ' पनि हुन्छन्। 'ग्याङ्स अफ वासेपुर' बाट उचाइ चुमेका अनुराग प्रयोग गर्न रूचाउने निर्देशक हुन्। उनी आफ्ना फिल्मका दृश्यहरू जीवन्त बनाउन सार्वजनिक ठाउँमा गुरिल्ला शैलीमा फिल्म खिच्छन्। लोकेसनमा मात्रै स्क्रिप्ट पढ्न दिएर बनाइएको अग्लीमा पनि उनले यो शैली कायम राखेका छन्।
उनी फिल्ममा हिंसाका दृश्य र संवाद प्रयोग गर्न हिच्किचाउँदैनन्। अपरम्परागत शैलीमा कथा प्रस्तुत गर्नु उनको शैली हो। अग्लीमा पनि यो शैली कायम छ। यही शैलीका कारण कहीँकतै दर्शकलाई फिल्मको कथा बहकिएको लाग्न सक्छ। तर राम्रा कलाकारको सशक्त अभिनयले गर्दा सानातिना कमजोरी क्षम्य लाग्छन्।
प्रहरी इन्चार्ज शौमिकको भूमिकामा रोनित रायको अभिनय सबभन्दा दमदार छ। राहुलको भूमिकामा राहुल कपूर, शालिनीको भूमिकामा तेजस्विनी कोल्हापुरे र चैतन्य बनेका विनीत कुमारको अभिनय पनि कम छैन।
इन्सपेक्टर जाधवको भूमिकामा उत्कृष्ट अभिनय गरेका गिरीश कुलकर्णीको भूमिकाले दर्शकलाई रमाइलो गराउँछ।
‘अग्ली’ सन् २०१३ को 'कान फिल्म फेस्टिभल'को डाइरेक्टर्स फोर्टनाइटमा प्रदर्शन भएर सकारात्मक प्रतिक्रिया पाएकफ फिल्म हो।