प्रतिनिधिसभा विघटनसँगै गणतन्त्रको प्वाँख काटिएको छ। यतिबेला गणतन्त्र ल्याउन अहोरात्र खटिने नागरिकहरू प्वाँख काटिएका चराझैं छटपटाएका छन्। तिनैमध्ये एक हुन्, कवि अर्जुन पराजुली।
पराजुली गणतन्त्र स्थापनाका लागि देशका ५४ जिल्ला डुलेर कविता सुनाउने कवि हुन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश सत्ताविरूद्ध उनले कविता मार्फत विद्रोहको आगो ओकलेका थिए। राजतन्त्रविरूद्ध जनमत बनाउन उनका कविताको महत्वपूर्ण भूमिका थियो।
गणतन्त्रका अभियन्ता कवि पराजुलीको शब्दमा पछिल्लो प्रतिनिधिसभा विघटन महाप्रतिगमन हो। यही प्रतिगमनको सन्दर्भमा उनले कवितासमेत लेखिसकेका छन्,
प्रतिगमनका छोराछोरीले
प्रतिगमनलाई प्रतिगमन भन्दैनन्
'बा' भन्छन्
यो प्रतिगमन उनको नजरमा जनप्रतिनिधिले गरेको घात हो।
उनी भन्छन्, 'राजा ज्ञानेन्द्रको प्रतिगमन राजपरम्पराको निरन्तरता थियो। तर जनताबाट चुनिएर गणतन्त्रको काँधमा चढेर गएका प्रतिनिधिले नै राजाले जस्तै काम गर्नु त्योभन्दा ठूलो अपराध हो।'
यस्तो घातविरूद्ध परिवर्तनका पक्षधरहरू एकजुट भई लड्नुपर्ने उनको मत छ।
'जनआन्दोलनका उपलब्धिहरू जोगाउन आन्दोलनमा उत्रनुको विकल्प छैन,' उनको भनाइ छ।
पराजुलीका लागि उनका चोटिला कविता नै आन्दोलनको प्रभावकारी अस्त्र हो। त्यही अस्त्र फ्याँक्दै उनले वर्तमान शासकलाई जंगबहादुरसँग दाँजेका छन्।
उनी लेख्छन्,
जंगबहादुर हुनुहुँदो रहेछ तपाईं
जुँगा उखेल्नुभो हजुरले जुगको
थुकौं भने पनि तपाईंलाई
अपमान हुनेभो मेरो थुकको ।
यो कविता लेख्दा उनलाई न प्रधानमन्त्री केपी ओलीले रोष्ट्रममा थुक्ने कुरा थाहा थियो, न उनी प्रतिनिधिसभा विघटन हुनेबारे नै जानकार थिए।
दोस्रो जनआन्दोलनका सक्रिय कवि करिब डेढ दशक निस्क्रियझैं देखिए। उनका अनुसार, त्यो समय उनी आफ्नै हिसाबले सिर्जनामा तल्लीन थिए।
'गणतन्त्र घोषणा भइसकेपछि संविधान नबनुन्जेल चनाखो भई सरकारका क्रियाकलाप नियाल्नुपर्ने अवस्था थियो,' उनले भने, 'बीचको केही समय टाढाबाट नियालिरहेको थिएँ। तर जब कोरोनाकालमा पनि मान्छेको मृत्युलाई व्यापार गर्ने कृत्य भइरह्यो, सरकारप्रति भरोसा टुट्यो।'
५७ वर्षीय पराजुलीका कविताहरू फेरि चर्चामा आएको पनि लकडाउनमै हो। उनले केही वर्षअघि नै फेसबुक खोले पनि नेपाली टाइप नआएकाले कविता पोस्ट गर्थेनन्।
लकडाउनमा भने उनले एउटा उपाय निकाले। कापीमा कविता लेखेर त्यसको फोटो खिचे, अनि पोस्ट गर्न थाले। लामा आकारका कवितासमेत लेख्ने उनले फेसबुकमा छोटा कविता वा कविताका चोटिला पंक्तिमात्र राखे।
सफा अक्षरमा उनको हस्तलिखित कविताले छोटो समयमै पाठकको ध्यान खिच्यो। उनका कविता फेसबुकबाट अन्य सामाजिक सञ्जालमा फैलिए। यी कविता हातैले लेख्दा अझै प्रभावकारी भएको उनलाई लागेको छ। भने, 'कापीमा लेखिएका अक्षरसहितका मेरो कविता मेरो बेग्लै शैली र लोगो जस्तै बनिदियो।'
उनी कवितामा आममानिसका भोगाइ र समस्यालाई तीव्र व्यंग्यसहित आमनागरिकका आवाज पोख्न रूचाउँछन्। कोरोना महामारीका बेला उनले लेखे,
मल छ भनौं–
जनताको खेतमा मल छैन
मल छैन भनौं–
सरकारको दिमागमा
मलबाहेक केही छैन
माथिको कविता उनले कोरोना संक्रमणको अप्ठ्यारो बेलामा चितवनका किसानले मल लिन ठेलामठेल गर्दै घण्टौं लाइन बस्न बाध्य भएको सन्दर्भमा लेखेका हुन्।
महामारी नियन्त्रणप्रति सरकारी गैरजिम्मेवारीबाट विरक्त भएका उनले यो पनि लेखे,
मेरो बस्तीमा
बाढी लागेन
पहिरो लागेन
आगो लागेन
कोरोना लागेन
तर के गर्नु हजुर
सरकार लाग्यो
सडक र सभामा प्रत्यक्ष कविता वाचनको लामो अनुभव बोकेका उनका लागि सामाजिक सञ्जालमार्फत मानिससँग जोडिने अभ्यास रमाइलो अनुभव बनेको छ।
पहिला निश्चित समयमा, खास स्रोता समूहमाझ सुनाउनु पर्थ्यो। उनले सुनाएका कविता पत्रपत्रिकाको माध्यमबाट ठूलो समूहमा फैलिन समय लाग्थ्यो। अहिले त उनी आधा रातमा ब्युँझेर कोरेका दुई-चार पंक्ति पनि उत्तिखेरै फेसबुकमा पोस्ट गर्न सक्छन्।
'कापीमा लेखिसकेको केहीबेरमै पोस्ट गर्दा कविता विश्वभरका मानिसबीच फैलिन्छ। यो अदुभूत अनुभव हो। सामाजिक सञ्जालको यही विशेषताले लामा कविता लेख्ने उनका अचेल छोटा कविता बढी आउन थालेका छन्।
आममानिसमा छिटो र प्रभावकारी ढंगले पुग्ने यो सुविधा वर्तमान सरकारविरूद्धको आन्दोलनमा पनि उपयोग गर्नेबारे उनी स्पष्ट छन्।
'अहिले मान्छेलाई झुक्याइएको छ। अदालतले के गर्ला? चुनाव होला भनेर आश गर्नेहरू पनि छन्,' उनले भने, 'तर यो सबै बहाना पटाक्षेप हुनेछ। त्यसबेला आन्दोलनको विकल्प हुने छैन।'
'के आन्दोलन फेरि उठ्ला त?'
आन्दोलनका आँधीबेहरीसँग संगत गरेका उनलाई अचेल यस्तो प्रश्न सोध्नेहरू नभएका होइनन्।
'जनताको वर्षौंको संघर्ष, त्याग र बलिदानबाट बनेको संविधानको बलात्कार भएको छ। यस्तो बेला आन्दोलनको अर्को विकल्प के त?'
आन्दोलनपछि सबै मानिस आफ्नो दैनिकीमा व्यस्त रहे पनि नागरिक स्वतन्त्रता लुटिँदा उनी नेपाली जनता फेरि सडकमा आउनेमा विश्वस्त छन्।
'म र मेरो पुस्ताले समय र ऊर्जा लगानी लगानी गरेर गणतन्त्र ल्यायौं। आन्दोलनको जगमा बनाइएको संविधान हाम्रो घडेरी हो। तर यसको लालपूर्जा अर्कैले आफ्नो बनाइरहेछ,' उनले भने, 'अब त्यो लालपूर्जाको स्वामित्व फिर्ता ल्याउन फेरि हामी फेरि सडकमा आउनै पर्छ।'
उनले भनेझैं यतिबेला सडकमा आन्दोलनको माहोल बनिरहेको छ। सामाजिक सञ्जालमा पनि सरकारका असंवैधानिक कदमविरूद्ध ठूलो जनमत निर्माण भइसकेको छ। पराजुलीका कविता सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिनुले पनि यो पुष्टि हुन्छ।
अहिलेको राजनीतिक घटनाक्रमप्रति खास समूह अस्पष्ट हुन सक्छन्। तर निरंकुश सत्तासँग वैचारिक कुश्ती खेलेका अर्जुनको सुझबुझले भन्छ, 'अहिले जे भइरहेछ, त्यो जनप्रतिनिधि र जनमतको आवरणमा खेलिएको राजनीतिक कूकर्म हो।'
त्यसैले उनले प्रतिनिधिसभा विघटनलाई निसंकोच '२०१७ साल भाग ३' भने। २०१७ सालमा निर्वाचित सरकारलाई अपदस्थ गरी तत्कालीन राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था घोषणा गरेका थिए।
राजा ज्ञानेन्द्रले महेन्द्रकै सिको गरेर शासन हत्याएका बेला उनले लेखेका थिए—
पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै ख्याल उही
जिब्रो बेग्लै र्याल उही
छाला बेग्लै स्याल उही
२०१७ साल भाग २
यस पटक उनले '२०१७ साल भाग ३' मा लेखेका छन्,
चुनाव त अब अठहत्तर सालमा हुन्छ महोदय
गन्नुस् कति वर्ष बाँकी छ, हिजो मात्रै सत्र साल आयो !
पराजुली यी पंक्तिबारे भन्छन्, 'यो सत्र साल भाग तीन नै हो। भाग दुई ज्ञानेन्द्रको पाला हो। भाग एक सत्र साल नै हो। किनभने त्यो बेला पनि ज्ञानेन्द्रले चुनाव गराउँछु भन्दै हिँडेका थिए। अहिले पनि चुनाव हुन्छ भनिएको छ।'
भुँडीपुराण प्रकाशन र सिस्नुपानी समूहबाट परिचय बनाएका अर्जुन अप्ठ्यारो समयमा जनताको पक्षमा कविता लेखेर-वाचन गरेर लोकप्रिय बनेका हुन्। निरंकुश राजतन्त्रविरूद्ध दलहरू उत्रिँदा पनि मानिसहरूलाई आकर्षित गर्न सकेका थिएनन्। यस्तो बेला डा. देवेन्द्रराज पाण्डेका राजनीतिक वक्तव्य, खगेन्द्र संग्रौलाका खरो लेख, कृष्ण पहाडीका चोटिला भाषणसँगै पराजुलीका तीखा व्यंग्यात्मक कविताले आममानिसलाई बढी तानेको थियो।
दोस्रो जनआन्दोलनको समयमा सत्ताविरूद् लडेर निर्वाह गरेको दायित्वलाई कवि पराजुली अहिलेको संकटमा पनि निरन्तरता दिन सक्रिय छन्।