गुड फ्राइडे सिनेमा
दस वर्षअघि राजस्थान, भारतको स्थानीय अदालतले प्रहरी र सहरी विकास अधिकारीलाई एउटा फिल्म हेर्न सुझाव दियो। जयपुरका न्यायाधीशले मंजुषा नामका व्यक्तिले अदालतमा दिएको बयानपछि यस्तो सुझाएका थिए।
भारतीय नागरिक मंजुषाले सन् १९८२ मा जयपुरमा जग्गा किनेका थिए। तर उनको जमिन भू-माफियाले हडपे। आफ्नो दुःख सुनाउँदै मंजुषाले प्रहरीसँग गुहार मागे। प्रहरी उनको समस्याप्रति गम्भीर भएन। त्यसपछि उनले अदालतको ढोका ढकढकाए।
मंजुषाको त्यो भोगाइलाई अदालतले भारतीय आममानिसको प्रतिनिधि भोगाइ मान्यो। सरकारी पदाधिकारीलाई यस्तो समस्या बुझ्न सघाओस् भनेर अदालतले हेर्न सुझाएको फिल्म हो, 'खोसलाका घोसला'।
हिन्दी फिल्म खोसलाका घोसलाका प्रमुख पात्र खोसला र वास्तविक पात्र मंजुषाको कथा समान भएकाले अदालतले यो फिल्म हेर्न सुझाएका थियो।
अनुपम खेरले मुख्य भूमिका निर्वाह गरेका खोसला दुई छोरा, एक छोरीका बुवा हुन्। बुढ्यौली लागिसकेका खोसला सिधासाधा अभिभावक हुन्, जो परिवारका खुसीमा समर्पित हुन्छन्। भलै छोराछोरीले उनको कुरामा साथ नदिऊन्।
खोसला जिन्दगीभरको कमाइले जोरजाम गरेको प्लटमा बसाइँ सर्न आतुर हुन्छन्। तर उनले इमानदारी साथ कमाएको जग्गा भू-माफियाले हडप्छन्। अरूको जग्गा हडपेर उसैलाई फेरि आधा मोलमा बेच्ने भू-माफिया खुरानाले खोसलाले १५ लाख दिए मात्र जग्गा फिर्ता दिने बताउँछन्। तर खोसलाले आफ्नो कमाइ सबै पहिल्यै जमिनमा लगानी गरिसकेका हुन्छन्।
यो घटनापछि खोसला प्रहरी, वकिल, नेता आदिलाई भेटेर सहयोग माग्छन्। तर खोसलाजस्ता सर्वसाधारणको सहयोग गर्नुमा उनीहरूको दिलचस्पी हुँदैन। जग्गा गुमाएको पीडामा आँसु बहाउनुको विकल्प देख्दैनन् खोसला। तर बुवाको यो हार उनका सन्तानका लागि भारी लाग्न थाल्छ।
त्यसअघि कहिल्यै बुवाको कदममा साथ नदिएका सन्तानहरू पनि खुरानाले हडपेको आफ्नो जग्गा फिर्ता ल्याउने उपायबारे दिमाग खियाउन थाल्छन्। त्यो उपाय के होला? त्यसले खोसला परिवारको समस्या घटाउला वा झन् बढाउला?
यही कथालाई फिल्ममा रोचक शैलीमा प्रस्तुत गरिएको छ।
दिल्लीमा छायांकन भएको यो फिल्मले भारतीय मध्यमवर्गीय परिवारका इच्छा र सपनाको कथा भन्छ। फिल्ममा छोराछोरीको भविष्यको सुन्दर सपना देख्ने बुवा र आफ्नो भविष्य आफैं बनाउन चाहने सन्तानबीच हुने पुस्तान्तरलाई महत्व साथ देखाइएको छ।
यो निर्देशक दिवाकर बेनर्जीको पहिलो फिल्म हो। ‘कमेडी ड्रामा’ यो फिल्मको कथा वाचन शैली दर्शकलाई 'फ्रेस' लाग्छ। फिल्मको पहिलो दृश्य नै यसको उदाहरण हो, जसले दर्शकले एकछिनसम्म ट्वाँ बनाइदिन्छ।
जयदीप साहनीले लेखेको यो फिल्मको स्क्रिन प्ले र सम्पादन चुस्त छ। पात्रहरू तनावको उत्कर्षमा पुग्दा पनि दर्शकलाई उनीहरूको हाउभाउ र संवादले हँसाइरहन्छ। दर्शकलाई मनोरन्जन दिने प्रशस्तै खुराक भएको यो फिल्मको कथावस्तु र पात्र भने यथार्थबाट टाढा छैनन्। यही नै 'खोसलाका घोसला'को मुख्य विशेषता हो।
फिल्ममा खुरानाको भूमिका बोमन इरानीले निर्वाह गरेका छन्। अनुपम खेर र बोमन इरानी दुवैको अभिनयले फिल्म अझ रमाइलो बनाएको छ।
फिल्मभित्रका खोसला र वास्तविक पात्र मंजुषाा दुवै आफ्नो कमाइ र सपना लुटिएका पात्र छन्। खोसला परिवारको कथा र मंजुषाको समस्या समान भए पनि सामाधानको तरिका अलग छ। विवादित जमिन उपयोग गर्न र त्यसमा कुनै बाधा आए प्रहरीले सहयोग गर्न अदालतले निर्णय सुनाएको थियो।
फिल्ममा राज्य प्रणालीले गर्ने शोषणलाई आममानिसले बुझ्ने भाषामा सरल चित्रण गरिएको छ। राज्यकै निकायका व्यवहारका कारण आममानिसमा निराशा, असन्तोष र आक्रोश जन्मिने र त्यसले हिंसात्मक गतिविधिलाई बढावा दिने कुरालाई फिल्ममा देखाइएको छ।
खोसलाका घोसला 'नेसनल अवार्ड'तर्फ वर्षकै उत्कृष्ट पुरस्कार जित्न सफल फिल्म हो।