गुड फ्राइडे सिनेमा
भारतीय सिनेमामा 'जाने भी दो यारो' डार्क कमेडी र राजनीतिक व्यंग्य विधाको सूचीमा नछुट्ने र दोहोरिइरहने नाम हो।
यो फिल्म पृथक शैली, सान्दर्भिक विषयवस्तु, अभिनय गर्ने कलाकार र निर्माणको पृष्ठभूमि जस्ता कारणले चर्चित छ। फिल्मले दर्शकलाई पेट मिचिमिची हाँस्ने बनाउँदै व्यापारी, सरकारी कर्मचारी, प्रहरी र मिडियाबीच हुने अनैतिक साँठगाठको चोटिलो चित्रण गरेको छ।
चार दशकअघिको भ्रष्टाचार र बेथितिबारे गरिएको चित्रण वर्तमान भारत र नेपालजस्ता देशका लागि पनि उत्तिकै सान्दर्भिक छ।
नसिरुद्दीन शाह र रवि वासवानी 'जाने भी दो यारो' का दुई मुख्य पात्र हुन्। उनीहरू ब्युटी फोटो स्टुडियो खोलेर इमानदारीसाथ जीवन बाँच्ने सपना देखेका व्यावसायिक फोटोग्राफर हुन्। तर उनीहरूको किस्मतले साथ दिँदैन। स्टुडियो चलाउन हम्मेहम्मे परेका बेला नजिकै रहेको 'खबरदार' पत्रिकाकी सम्पादक शोभा सेन (भक्ति वार्वे) ले उनीहरूलाई एउटा महत्वपूर्ण काम दिन्छिन्।
उनीहरूको काम भ्रष्टाचारमा चुर्लुम्मै डुबेका बिल्डर तर्नेजा र कमिसनर डिमेलोका गोप्य भेटघाट र कागजातको तस्बिर खिच्नु हुन्छ। यो काम पाएपछि दुई सिधासाधा फोटोग्राफर बिस्तारै सोच्दै नसोचेका समस्यामा फस्दै जान्छन्। यही क्रममा उनीहरू समाजका सबै तह-तप्काका मान्छे अपराधमा मुछिएको पाउँछन्। सँगै जानअन्जानमा अपराधको जालोले उनीहरूलाई पनि कस्न थाल्छ।
एकदिन अचानक कमिसनर डिमेलोको हत्या हुन्छ। त्यसपछि नसिरुद्दीन र रवि हत्यारा पत्ता लगाउने प्रयासमा सक्रिय हुन्छन्।
फिल्ममा उनीहरूको यो यात्राका क्रममा देखाइने घटना र संवाद रोचक छन्। यिनै घटना र संवादमा व्यापारी, सरकारी कर्मचारी, प्रहरी र मिडियाका स्वार्थ छताछुल्ल हुन्छन्।
'जाने भी दो यारो' सार्वजनिक भएको समयमा बनिरहेका अन्य फिल्मभन्दा प्रस्तुति हिसाबले अलग थियो। फिल्मको विषय गम्भीर भए पनि प्रस्तुति रमाइलो हुनु यसको विशेषता हो। कुन्दन शाहद्वारा निर्देशित यो फिल्म नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडिसी) बाट सात लाख भारतीय रूपैयाँमा बनाइएको हो। कम बजेटमा बनेको यो फिल्म बनाउन कुन्दनले उनका साथी तथा फिल्मकै कलाकारको सहयोग पाएका थिए।
नसिरुद्दीन र रविका साथै पंकज कपुर, ओम पुरी, शतिश शाह, भक्ति वार्वे, नीना गुप्ता, शतिश कौशिक जस्ता सशक्त कलाकारको उपस्थिति फिल्मको सबल पक्ष हो। नसिरुद्दीन र रविको मिल्दो केमेस्ट्रीबाहेक अन्य कलाकारको हाउभाउ पनि फिल्मको विधाअनुसार मिलेको छ।
भनिन्छ, कुन्दन धेरै नजिकका दुई बेरोजगार साथीको अनुभवबाट यो फिल्म बनाउने प्रेरित भएका थिए। यसमा नसिरुद्दीनको नाम विनोद चोपडा र रवि वासवानीको नाम सुधीर मिश्रा छ। पात्रसँग मिल्ने दुई नाम विधु विनोद चोपडा र सुधीर मिश्रा दुवै, कुन्दनसँग फिल्म निर्माणमा संलग्न थिए।
यो फिल्ममा पर्दापछाडि काम गर्ने समूह पनि उत्तिकै सशक्त थियो। सुधीर मिश्रा, विधु विनोद चोपडा, विनोद प्रधान, रेणु सलूजा तीमध्ये केही प्रतिनिधि नाम हुन् जसले फिल्मको सम्पादन, सिनेमाटोग्राफीलगायत पक्षमा योगदान दिएका थिए।
राम्रो समूहको साथ लिन सकेकाले नै कुन्दन शाहले यो पहिलो फिल्मबाटै नवनिर्देशकतर्फ इन्दिरा गान्धी अवार्ड पाए। रवि वासवानीले पनि यसमा गरेको अभिनयका लागि फिल्म फेयर बेस्ट कमेडियन अवार्ड जितेका थिए।
'कभी हा कभी ना,' 'क्या कहना' लगायत फिल्मका निर्देशक कुन्दनको करिअरकै पनि यो उत्कृष्ट फिल्म बन्न पुग्यो। यो कुन्दनको मात्र नभइ भारतको 'कल्ट कमेडी सटायर' मानिन्छ।
फिल्ममा देखाइने सार्वजनिक भवन र पुल भत्केर सर्वसाधारणको मृत्यु हुने घटना होस् वा घोटाला र कमिसनका गरिने आपराधिक काम, आज पनि उत्तिकै सान्दर्भिक छन्। फिल्मको संवाद खास छ जसले 'मल्टिलेयर' अर्थ बोकेको छ।