गितार सेसनः
सिम्मा आफूलाई संगीतमा 'लेट स्टार्टर' मान्छिन्। कम्प्युटर इञ्जिनियरिङमा स्नातक सकाएपछि बल्ल संगीतमा प्रवेश गरेकाले उनलाई यस्तो लागेको हो।
सात वर्षअघि श्रवण मुकारुङको शब्द र न्ह्यु बज्राचार्यको संगीतमा 'उड तिमी' गीत रेकर्ड गराएकी उनको हालसम्म जम्मा चार गीत सार्वजनिक छन्। त्यसमा तीन नेपाली र एउटा अंग्रेजी गीत छ।
मधुर आवाजमा गीत गाउने सिम्मा संगीत कम्पोज र गीत लेख्न पनि रूचाउँछिन्। पूर्वीय, पाश्चात्य, ज्याज, लोक, हिन्दी तथा नेपाली पपुलर सबैखालका संगीतमा उनको रूचि छ।
उनको आफ्नै गीतको संख्या कम छ। तर उनले आफूलाई मनपरेका नेपाली, अंग्रेजी र हिन्दी गीतका कभर भिडिओ बनाएर युट्युबमा राख्ने गरेकी छन्।
उनले अरुणा लामा, शान्ति ठटाल, बच्चु कैलाशदेखि बियोन्सेसम्मका गीतमा कभर गाएकी छिन्। सिम्मा राई नामकै उनको युट्युब च्यानलमा उनले गाएका रेकर्डेड र कभर गीत हेर्न सुन्न सकिन्छ।
पियानो र गितार बजाउन मन पराउने सिम्मा संगीत एरेन्जमेन्टको पनि प्रयास गर्दैछिन्।
गीत संगीतले मान्छेका अनुभव अनुभूतिका सूक्ष्म कुराहरू समेट्छ। सिम्मा पनि आफ्ना गीत संगीतमा त्यस्तै कथा खोज्छिन्। 'सेतोपाटी गितार सेसन'मा उनले भनिन्, 'मेरा गीतमा आफूले भोगेका देखेका कुरा भन्ने प्रयास गर्छु।'
सिम्माका गीतमा युवावय उमेरका प्रेमजन्य अनुभूति महसुस गर्न सकिन्छ। युवापुस्ताका प्रेम, समर्पण, स्वतन्त्रता र सपना नै उनको गीतमा पाइने विषय हुन्। थोरै गीत सार्वजनिक गरे पनि सिम्माको गायकी मन पराउन उनको एउटै गीत काफी छ। त्यो चाहे 'उड तिमी' होस् वा 'नौलो बिहानी'। नौलो बिहानी गीत नेपाली सिनेमा 'सानो मन'मा समावेश छ।
युट्युबमा उनका गीतमा आएका प्रतिक्रियाले उनका गीत-संगीत मन पराउनेहरू प्रशस्तै भएको पुष्टि गर्छ। उनका कतिपय प्रशंसक उनलाई 'अन्डररेडेट आर्टिस्ट' भन्छन्।
सिम्मा भने 'सिक्न धेरै बाँकी छ' भनेर थाक्दिनन्। उनको यही सिक्ने स्वभावले एउटै गीत निकाल्न महिनौं लाग्छ। उनले भनिन्, 'आफ्नो गीत संगीतबाट आफू सन्तुष्ट नहुन्जेल गीत सार्वजनिक गर्न मन लाग्दैन। त्यसैले एउटै गीत तयार पार्न लामो समय लागेको हो।'
उनी संगीत क्षेत्रमा ढिला प्रवेश गर्नुलाई आफ्ना गीतको संख्या कम हुनुसँग जोड्छिन्। सिम्माले बिजनेस स्टडिजमा स्नातकोत्तर गरेकी छन्। 'संगीत सिक्ने, पढ्ने र कमाउने काम सँगै अघि बढाउनुपर्ने भएकाले पनि आफ्नो गीतलाई समय दिन नपाएकी हुँ,' उनले भनिन्।
तर योभन्दा महत्वपूर्ण कारण अर्कै छ। संगीत उनको रूचि मात्रै हो कि त्यसमै करिअर बनाउने भनेर निर्णय लिन उनलाई लामै समय लागेको थियो। यसका लागि, उनले एकातिर आफ्नै मनसँगको अन्तर्द्वन्द्व, अर्कोतिर अभिभावकको मन जित्नुपर्ने चुनौतीसँग जुध्नुपर्यो।
यसलाई उनी 'लेट स्टार्टर' हुनुको कारण मान्छिन्। तर विगत सात वर्षमा उनले यस्ता धेरै चुनौती पार लगाइसकेकी छिन्। यसबीच उनको मनको अन्तर्द्वन्द्व र उनका आफन्तको दुविधा पनि हटिसकेको छ।
अचेल उनी भन्न थालेकी छिन्, 'अब संगीतमा खुलेर लाग्नेछु। नयाँ नयाँ गीत संगीत बनाइरहेकी छु।'
सन् २०२१ मा उनी आफ्ना थप नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छिन्। उनले प्रणिका कोयूका शब्दमा आफूले गाएको नयाँ गीत 'यो मनको उच्छवास' पनि गाएर सुनाइन्।
उनी आफूजस्तै करिअर र प्यासनबीच अलमलमा परेकाहरूलाई सुझाव दिन्छिन्, 'आफ्ना रहर र रूचि थाहा पाउन कहिलेकाहीँ समय लाग्छ। तर आफ्नो मनको आवाज सुनेर सपना पछ्याए ढिलो चाँडो आफूले रोजेकै काम गर्न सकिन्छ। धैर्य र निरन्तरता छोड्नु हुँदैन।'