मिस नेपाल-२०२० प्रतिस्पर्धी मेरिशा सुवाल यतिबेला 'वी रिच'को कार्य तालिकामा व्यस्त छिन्। मेरिशासँगै अन्य ४ मिस नेपाल प्रतिस्पर्धी रिया श्रेष्ठ, आर्निका राज भण्डारी, आयशा श्रेष्ठ र प्रगति श्रेष्ठ पनि वी रिचमा आवद्ध छन्।
वी रिच यी पाँच मिस नेपाल प्रतिस्पर्धीले बनाएको समूह हो। यसले समाजसँग प्रत्यक्ष जोडिने खालका सामूहिक हितका लागि काम गर्ने संकल्प राखेको छ।
मिस नेपाल-२०२० बाट बाहिरिएपछि प्रतिस्पर्धीहरू बीच सम्पर्क नहुन सक्छ। मेरिशा, रिया, आर्निका, आयशा र प्रगति भने झनै नजिकिए। करिब दुई महिनाअघि उनीहरू साथीबाट सहकर्मीसमेत बन्ने निर्णयमा पुगेका हुन्।
२४ वर्षीया मेरिशा भन्छिन्, 'हामी पाँच जनाबीच मंसिर अन्तिम साता भएको भेट महत्वपूर्ण बन्यो। सामाजिक क्षेत्रमा केही गरौं भन्ने सोच मिलेपछि केही दिनमै वी रिच सुरू गर्यौं।'
'समाजसँग नजिकै रहेर काम गर्ने सोचले हाम्रो समूहको नाम वी रिच राखेका हौं,' समूहको नामबारे आर्निकाले भनिन्।
वी रिच अर्थात् 'हामी पुग्छौं'। विपन्न समूह, वर्गमा पुगेर उनीहरूलाई विभिन्न तरिकाले सहयोग गर्ने वी रिचको लक्ष्य छ। गत जनवरी ९ मा वी रिचले औपचारिक पाइला चालेको हो। वी रिचले 'रिच फर बुक्स' अर्थात् 'किताबसम्म पुग्नुस्' कार्यक्रम गरेका थिए। लाजिम्पाटस्थित माइक बाइ इभोकमा आयोजित कार्यक्रममा उनीहरूले कपडा संकलन गरे। कपडा दिने व्यक्तिलाई सट्टामा उनीहरूले किताब दिए।
'जाडोयाम भएकाले यो समयमा विपन्न वर्गका मानिसलाई कपडा बाँड्ने काम गर्नु ठीक हो भन्ने निष्कर्षमा पुगेर यो काम गरेका हौं,' मेरिशाले भनिन्, 'दान गर्नेलाई दिएको मात्र नलागोस् भनेर कपडासँग किताब साटेका हौं।'
पहिलो कार्यक्रम सम्पन्न गर्न उनीहरू डिसेम्बरमध्यदेखि खटिएको बताउँछन्। किताब संकलनका लागि काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानका विभिन्न किताब पसल चहारे। ५० भन्दा बढी पसल, छापाखानाबाट पुराना स्टकका किताब 'योजना विशेष'मा पसलेसँग मागेरै लिए।
'आफैं पैसा तिरेर किन्न त सम्भव थिएन,' मेरिशाले भनिन्।
मेरिशाका अनुसार उनीहरूले झन्डै दुई सातामा १५ सय किताब संकलन गरे। तीमध्ये केही साहित्यिक, केही शैक्षिक किताब थिए। वी रिचको पहिलो कार्यक्रम नै उत्साहजनक भएको मेरिशाले बताइन्। त्यस दिनको कार्यक्रम र व्यक्तिगत चिनाजानीबाट वी रिचले एक सय बढी केजी लुगा संकलन गरे।
'जम्मा पाँच सयदेखि हजार जना सहभागी हुने अनुमान थियो। तर ३ हजार बढी थिए। सबैको प्रतिक्रिया सकारात्मक थियो,' वी रिचकी आर्निकाले खुसी हुँदै भनिन्।
उनका अनुसार अझै पनि कपडा दान गर्न सकिन्छ भनेर जिज्ञासा आइरहेका छन्। यसमा उनी भन्छिन्, 'तत्काल हामीले थप कपडा लिएका छैनौं। अहिले ती सबै एकै पटक व्यवस्थापन गर्न सक्दैनौं।'
संकलित लुगा वी रिचकी सदस्य रियाको घरमा राखिएको थियो। त्यसमध्ये ९० प्रतिशत कपडा राम्रो अवस्थामा भएको र आवश्यकताअनुसार सफा गराइएको मेरिशाले जानकारी गराइन्। नराम्रो अवस्थामा भएका कपडा भने सफा गरी पेलेर डसना बनाउने सोचेका रहेछन्।
यी सब व्यवस्था गर्दै जाँदा र स-साना काममा हुने खर्च वी रिच समूह आफैं बेहोरिरहेको उनीहरूले बताए। व्यक्तिगत हिसाबमा अहिलेसम्म ५० हजार बढी खर्च भएको मेरिशा अनुमान लगाउँछिन्, 'सबै खर्च हिसाब गरिसकेका छैनौं। काम पूरा भएपछि गर्छौं होला।'
वी रिचको योजना अनुरूप संकलित कपडा विपन्न वर्गका मानिसलाई वितरण हुँदैछ। उनीहरू यसका लागि शुक्रबार मात्र धादिङको विकट तामाङ बस्ती पुगे। आर्निकाका अनुसार त्यो गाउँमा झन्डै ७ सय घर-परिवार छन्। उनीहरूलाई वी रिचले कपडा र अन्य स्वास्थ्य सामग्री वितरण गरे।
२५ वर्षीया आर्निका वी रिचसँगै आफ्नै व्यवसायमा व्यस्त छिन्। उनले थाइल्यान्डबाट सूचना व्यवस्थापनमा स्नाकोत्तर सकेकी हुन्। गत मार्चमा नेपाल आएर मिस नेपाल-२०२० मा सहभागी भएकी थिइन्।
'मिस नेपालमा सहभागिता जनाउने सपना थियो। पूरा गरेँ,' उनी भन्छिन्, 'यो प्लेटफर्मबाट आफैंलाई अनावरण गर्नु थियो। त्यसको अनुभव लिएँ।'
प्रगति पनि वी रिचसँगै आफ्नो व्यवसाय सम्हाल्दै छिन्। अर्की सदस्य, रिया वातावरण अन्वेषक हुन्। हाल उनी एउटा गैरसरकारी संस्थामा आबद्ध छिन्। आयशा भने सिभिल इञ्जिनियर हुन्। उनी पनि आफ्नै दैनिकीमा व्यस्त हुन्छिन्। मेरिशा भने अहिले आफ्नै लागि समय दिइरहेको बताउँछिन्। मिस नेपाल प्रतिस्पर्धामा जानु अघि उनी कन्सल्टेन्सी प्रशिक्षण संयोजकका रूपमा काम गर्थिन्।
'सबै आ-आफ्नो क्षेत्रमा व्यस्त भए पनि वी रिच हामी सबैलाई जोड्ने माध्यम बनेको छ। यसको माध्यमबाट हामी समाजसँग जोडिँदै छौं,' मेरिशाले भनिन्। उनीहरू अहिले सातामा ३-४ पटक भेटेर कार्यक्रम र भविष्यका योजनाबारे छलफल गर्छन्।
वी रिचलाई गैरनाफामूलक संस्थाका रूपमा दर्ता गराउने र सोही संस्थाबाट कामलाई निरन्तरता दिने समूहको योजना छ। यसो हुँदा अन्य इच्छुक व्यक्ति पनि उनीहरूसँग प्रत्यक्ष जोडिन सक्ने विश्वास राखेको आर्निका बताउँछिन्।
उनले दीर्घकालीन योजना सुनाइन्, 'संस्थागत काम गर्ने हो भने जिम्मेवारीसँगै समूह सदस्य पनि थपिँदै जान्छन्। समूह ठूलो भए बनाएर काम गर्न सके अझ प्रभावकारी ढंगबाट गर्न सकिन्छ भन्ने लागिरहेछ। सामाजिक काममा हामीलाई धेरै टाढा पुग्नुछ। यो पहिलो सुरुआत हो।'