गुड फ्राइडे सिनेमा
तपाईंले प्रखर अभियन्ता र लेखक अरुन्धती रोय र शाहरूख खानले एकसाथ अभिनय गरेको फिल्म हेर्नुभएको छ?
छैन भने आउनुस्, 'इन ह्विच एनी गिभ्स इट दोज वान्स' हेरौं।
नझुक्किनु होला, यो फिल्मको 'हिरो' शाहरूख हैनन्, अरुन्धती हुन्।
यसमा 'द गड अफ स्मल थिङ' उपन्यासबाट म्यान बुकर प्राइज पाउनुअघिकी अरुन्धतीलाई देख्न पाइन्छ। यस फिल्मको पटकथा पनि अरुन्धतीले लेखेकी हुन् जसमा उनले आर्किटेक्चरकी विद्यार्थीका रूपमा देखे-भोगेका कुराकै आधारमा कथा बुनेकी छन्।
फिल्म प्रदीप कृशनले निर्देशन गरेका हुन्, जसले यो फिल्म निर्देशन भइसकेपछि अरुन्धतीसँग बिहे गरे।
फिल्ममा नेसनल इन्स्टिच्युट अफ आर्किटेक्चर स्कुल दिल्लीका पाचौं ब्याचका विद्यार्थीको भोगाइ केन्द्रमा छ। उनीहरु सबै नै फिल्मका 'हिरो' हुन्। सन् १९७४ को 'नेसनल इन्स्टिच्युट अफ आर्किटेक्चर'को होस्टलको परिवेशमा फिल्म खिचिएको छ। विद्यार्थी अन्तिम वर्षको थेसिस बुझाउने चटारोमा छन्। मात्र दुई हप्ता बाँकी छ।
हरेक कलेजका झैं यहाँका विद्यार्थी पनि सबै पढाइमा केन्द्रित छैनन्। उनीहरू खेलकुद, प्रेम र अरू रमाइला गतिविधिमा पनि भुलिएका छन्। साथीसँगीदेखि प्राध्यापकसम्मको मजाक उडाउन व्यस्त छन्। तर फिल्मको मूलकथा थेसिसमै केन्द्रित छ। थेसिस बुझाउने र प्राध्यापकसामु डिफेन्ड गर्ने प्रक्रियाका माध्यमबाट फिल्मले भारतको शैक्षिक प्रणालीलाई आलोचनात्मक रूपले हेरेको छ।
अरुन्धती फिल्ममा राधाको भूमिकामा देखिन्छिन्। अरुन्धतीले स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर, दिल्लीमा अध्ययन गर्दाको उनको कलेज जीवनसँग मिल्दोजुल्दो छ। फिल्ममा उनी राधाको भूमिकामा देखिन्छिन्। प्रगतिशील लेखकका रूपमा वास्तविक जीवनमा अरुन्धतीले उठाउने सवाल फिल्मभित्र राधा पात्रले पनि उठाउँछिन्।
राधा आर्किटेक्चरकी विद्यार्थी त हुन्, तर उनलाई आर्किटेक्चर विषयको आधारभूत कुरामै प्रश्न गर्छिन्। पढाइलाई कमाइ खाने भाँडो बनाउनेप्रति राधाको आपत्ति छ। फिल्म बाहिरकी 'र्याडिकल' अरुन्धतीको धेरै गुण राधासँग मेल खान्छ।
राधामात्र नभई फिल्मका अन्य पात्र पनि वास्तविक जीवनकै पात्रभन्दा फरक छैनन्। उनीहरूको संवाद, अभिनयमा अस्वभाविकता केही छैन। अझ फिल्ममा ठूलो घटना र नाटकीय उतारचढाव छैन। शिक्षक र विद्यार्थीबीच स्कुल होस् वा कलेज खासै सुमधुर सम्बन्ध हुँदैन। झन् यो फिल्म बनेको समयमा त केही शिक्षक र विद्यार्थीबीच दुश्मनसरह सम्बन्ध थियो।
फिल्ममा यो कुराको शिकार बनेका पात्र हुन् एनी। कलेज प्रमुखलाई जिस्काएको बदलामा उनी पाचौं वर्षमा चार पटक पढ्न बाध्य छन्। फिल्मको नाम पनि उनै आनन्द अर्थात् एनीको छोटकरी नामसँग जोडिएको छ।
कलेजले फेल बनाएर लद्दु करार गरे पनि एनीसँग समाजलाई फाइदा पुग्ने काइदाको योजना छ। यसमा भारतभर, नभए कम्तीमा रेलमार्गको दुवै छेउ रुख उमार्न सकिने, फलफूल फलाउने र बगैंचा लगाउन सकिने कुरा समावेश छन्। यसबारे उनी प्रधानमन्त्रीको नाममा लेखिएको पत्र खल्ती बोकेर हिँड्छन्।
उनलाई आफ्नो योजनाले गाउँ र सहरको बसाइ स्थिर राख्न योगदान दिने विश्वास छ। तर एनी कलेजका प्रिन्सिपल यमदूतको बदलाका शिकार बनेका छन्। एनीजस्तै उनका धेरै साथी प्रतिभा हुँदाहुँदै पनि यही शैक्षिक प्रणालीको मारमा परेका छन्।
फिल्ममा एउटा दृश्य छ, जहाँ राधाले हुनेखाने र गरिब बीचको खाडलबारे चर्चा गर्छिन्। तर थेसिस जुरी बनेको प्राध्यापकको ध्यान खाना खाने कुरातिर तानिएको देखाइन्छ। फिल्ममा यस्ता धेरै दृश्य र संवाद छन् जसले शैक्षिक प्रणालीप्रति आलोचना गर्छ।
फिल्ममा कलेज जीवनका सपना र संघर्ष, मित्रता र प्रेमलाई सूक्ष्म चित्रण छ। कलेज पढ्ने युवायुवतीका प्रेम, मजाक, छेडखानीलाई स्वभाविक चित्रण गरिएको यसलाई आफ्नो समयभन्दा अगाडिको फिल्म भनिएको पाइन्छ। किनकी फिल्मका धेरै सन्दर्भ आजको समयमा पनि सान्दर्भिक छन्।
'थ्री-इडियट्स' वा 'मुन्ना भाइ एमबिबिएस' जस्ताले उठाएको विषयलाई यो फिल्मले तीन दशकअघि नै अझ बिस्तार र यथार्थपरक ढंगले उठाएको थियो।
यही विशेषताले 'इन ह्विच एनी गिभ्स इट दोज वान्स' बाट अरुन्धतीलाई बेस्ट स्क्रिन प्ले र निर्देशक प्रदीपलाई बेस्ट फिचर फिल्म इन इंग्लिस विधातर्फ अवार्ड दिइएको थियो।