पच्चीस वर्षमा पृथ्वीले पच्चीस फन्का मारिसकेको हुन्छ।
मान्छेकै कुरा गर्दा एउटा नयाँ पुस्ता जन्मिएर देशको नागरिक भइसक्छ। सवारी चलाउन, मदिरापान गर्न, बिहे गर्न, भोट हाल्न र चुनाव लड्न योग्य भइसक्छ। उसै परे अर्को पुस्ता हुर्काउने तरखर गरिरहेको हुँदो हो!
कलाका लागि भने समयको कुनै सीमा हुँदैन। त्यसैले त भनिन्छ, ‘आर्ट टेक्स टाइम’ अर्थात्, ‘कलाले समय लिन्छ।'
कहिलेकाहीँ त्यो समय २५ वर्ष पनि तन्किन सक्छ। लोक चित्रकारका हकमा त्यस्तै भयो।
पौभाः चित्रकार लोकसँग त्यही २५ वर्ष लागेको पेन्टिङबारे कुरा गर्न हामी आइतबार पाटनढोकास्थित उनको ग्यालरी पुग्यौं। ‘हेबज्र मण्डल’ नामक यो चित्र सोमबार ठमेलको म्युजियम अफ नेपाली आर्ट (मोना) मा अनावरण हुँदैछ।
यो चित्र उनले सन् १९९४ मा पाटनढोकाको पुरानो ग्यालरीमा बनाउन सुरू गरेका थिए। उनको काम गर्ने ठाउँ चाकुपाट सरेपछि चित्र पनि उतै सर्यो। अहिले उनको नयाँ ग्यालरीमा आइपुगेको छ। यो २५ वर्षको यात्रामा साटिएका रंग र अनुभूतिहरूलाई हामीले यो स्टोरीमा केलाउने प्रयास गरेका छौं।
लोकका अनुसार, हेबज्रको शाब्दिक अर्थ ‘खुसी भएको बज्र’ हो। कुनै पनि चित्रको गर्भ भनेको त्यसको बीचको आकृतिलाई मानिन्छ। यो चित्रको बीचमा पुरूष र महिला एक मुद्रामा छन्। सामान्य आँखाले झट्ट हेर्दा त्यो समागमको दृश्यजस्तो देखिन सक्छ। तर लोकको आँखाले यसलाई ‘प्रज्ञा’ अर्थात् ज्ञान र ‘उपाय’ अर्थात् विधिको विम्ब देख्छ।
बौद्ध धर्मअनुसार आत्मज्ञानको स्थितिसम्म आइसक्न छवटा कुरामा पूर्णता पाउनुपर्छ। ती छ कुरालाई पाँच पुरूष र एक महिलाले प्रतिनिधित्व गर्छन्।
‘पूर्वीय दर्शनमा महिलालाई ज्ञानका रूपमा लिइन्छ। पाँच पुरूष भनेका दानमा पारंगत, ध्यानमा पारंगत, शिलमा, सक्रियता र धैर्यमा पारंगत भन्ने बुझिन्छ। यी छ गुण नभएसम्म लोकको कल्याण गर्न सकिन्न,’ लोक चित्रकार आफ्नो चित्रको अर्थ खुलाउँदै जान्छन्, ‘हेबज्रको मुख्य सिद्धान्त यही हो। यही सिद्धान्तबाट पूरै चित्र निर्देशित हुन्छ।’
हेबज्र मण्डलको अवधारणा ‘नैरात्मा’ सँग जोडिएको छ। बौद्धधर्मको सिद्धान्तले आत्मा मान्दैन। बीचको आकृतिबाट आठवटा हात दायाँ र आठवटा हात बायाँ फैलिएका देखिन्छन्। ती हातमा खप्परहरू छन्, जसमा एकातर्फ देवता र अर्कोतर्फ जनावरहरू छन्।
‘हेर्नुस् त! कति अद्धभूत छ,’ यही कुराले आफूलाई यो विषयमा चित्र बनाउन प्रेरित गरेको बताउँदै लोकले भने, ‘हामी देवतालाई त पूजा गर्छौं नै, जनावरलाई पनि पुज्छौं।’
बीचका दुई महिला र पुरूषका चार खुटाले तल देवताहरूलाई कुल्चिएजस्तो देखिन्छ। ती देवता स्कन्दमार (ब्रह्मा), मृत्युमार (शिव), क्लेसमार (इन्द्र) र जयपुत्रमार (विष्णु) हुन्।
‘यो चित्रको अर्थ नबुझी झट्ट हेर्दा हाम्रो भगवानलाई कुल्चियो भन्लान्, तर त्यस्तो होइन,’ लोकले भने, ‘हामीभित्र रहेका रिस, राग, क्लेस, मृत्युको भय लगायत नराम्रा कुरा दबाउनुपर्छ भनेर त्यसरी देखाइएको हो।’
मान्छेले देख्ने र चित्रको खास अर्थ फरक भएकाले गलत बुझिएला भन्ने डर हुन्छ। त्यसैले, पहिला पहिला यस्ता चित्र गोप्य हो भन्दै देखाइँदैन थियो। सीमित शिष्यहरूमा मात्र त्यो ज्ञान बाँडिन्थ्यो। अबको समय धेरै फेरिइसक्यो। अहिले त ती ज्ञान बाँडिएनन् भने हराएर जान्छ भन्ने मान्यता छ। आधुनिक समयमा पौभाः चित्रमा लागेका कति नै छन् र?
त्यसमाथि 'हेबज्र' तन्त्र लगायत विषयमा किताबधरि सार्वजनिक बिक्री भइरहेको समयमा चित्रकारले आफ्नो चित्र कति नै गोप्य राख्न सक्छ?
‘मेरो कोठामा मात्र राखेर के मतलब भयो? अबको समय त खुला भइसक्यो,’ लोक भन्छन्, ‘बरू चित्रकारले नै त्यसको सही अर्थ बताउँदै, बुझाउँदै देखाउनुपर्छ। चित्र बनाउँदा जुन आनन्द आउँछ, भन्दा पनि त्यति नै आनन्द आउँछ। ज्ञान बाँड्दा राम्रो हुन्छ भने गोप्य किन राख्ने? अरूले हेरेन भने त्यसमा भएको ज्ञान त बाँड्नै पाइँदैन नि!’
‘कला कलाका लागि मात्र हुनुहुँदैन। त्यसले बहसको ठाउँ पाउनुपर्छ, तब न कलाको विकास हुन्छ,’ उनी फेरि चित्रतर्फ केन्द्रित हुन्छन्।
बीचको मण्डल वरिपरि गोलो आकृतियुक्त घेरा देखाउँदै उनले भने, ‘यो भनेको मसान हो, जुन हामी स्वयं हौं। हामी पृथ्वीका हिस्सा हौं, तर हामीभित्र पनि सानो संसार हुन्छ। आठवटा मसानले यो मण्डललाई घेरेको हुन्छ।’
हेबज्रको बीचको मण्डल वरिपरि यसैका विभिन्न रूप र मण्डल छन्। पूर्वमा इन्द्र, दक्षिणमा यम, पश्चिममा बरुण र उत्तरमा कुबेर हुन्छ। त्यसको वरिपरि अग्नि, वायु, राक्षस र इशान देवता हुन्छन्। हाम्रो बास्तुसँग पनि यो मिल्न आउँछ।
‘यी एकअर्कामा एकदमै आबद्ध छन्। त्यसैले, एक ठाउँमा चलायो भने अर्काे कुनासम्म असर पर्छ,’ लोकले भने।
यो चित्र सुरू गर्दा लोकलाई यति धेरै समय लाग्ला भन्ने अनुमान थिएन। अनुमान भए त्यसमा आर्थिक तथा मानसिक पक्ष जोडिन्छन्। त्यो धेरैजसो अरूबाट पैसा लिएर गरिने ‘कमिसन्ड’ काममा हुन्छ।
‘ल! यो फोटो हेरेर चित्र बनाइदेऊ’ भनेर आउने काम गर्न लोकलाई मन लाग्दैन। उनले बनाइरहेको चित्रलाई नै कसैले मन पराएर, अर्थ बुझेर त्यसैमा काम गराउन खोज्यो भने बल्ल उनी तयार हुन्छन्।
६० वर्षीय उमेरमा लोकलाई त्यस्ता हतारका काम होइन, आत्मसन्तुष्टि मिल्ने काममा रमाउन मन लाग्छ। काम र त्यसबाट पाइने आत्मसन्तुष्टिलाई उनी समय र पैसासँग तुलना गर्न चाहँदैनन्। उनले बुझेका छन्, ‘यो कामबाट पाइने खुसी अमूल्य छ, जुन केहीसँग तुलना गर्न मिल्दैन।’
उनी दार्शनिकजस्तै जवाफ दिन्छन्, ‘लिने समय त लिइहाल्छ। आउने कुरा आइहाल्छ, जाने कुरा गइहाल्छ। त्यसमा रमाउने र स्वतन्त्र हुने आनन्द बेग्लै हुन्छ।’
हेबज्रको सिद्धान्त त उनकै जीवनमा पनि सञ्चार भएजस्तो लाग्छ। चित्र बनाउँदा उनले एकपटकमा यति नै बनाउँछु भन्ने हुँदैन। मन लागेसम्म जति सकिन्छ सकिन्छ, त्यसपछि त्यो काम त्यसै छाड्छन्। कति समयपछि त्यो चित्रले फेरि दिमागमा राज गर्न थाल्छ अनि पुनः त्यसमा काम गर्छन्। त्यसबीच त्यही चित्रबारे सोच्दै बस्ने होइन, अरू चित्रमा पनि काम गरिरहेका हुन्छन्।
कहिलेकाहीँ भने काम गर्दै जाँदा त्यो चित्रमा चित्रकारको इच्छा नै मरेर जाने पनि हुँदो रहेछ। आफ्नो विचार एउटा तर चित्रमा प्रस्ट देखाउन नसक्नु, साना बुट्टाहरूमा काम गर्न गाह्रो हुनु र एक समयमा बनाएको कुरा अर्को समयमा पुग्दा विचारधारा फेरिनु लगायत अनेकौं कारण हुन्छन्।
‘कहिलेकाहीँ आफूले गरिरहेको अवधारणामा अर्को कलाकारले पनि काम गरिरहेको हुनसक्छ। कहिले भने आफ्नो काम लिक हुन्छ, त्यस्तो बेला कामै गर्न मन लाग्दैन,’ उनले भने, ‘म एकचोटि छाडिसकेपछि फेरि त्यसमा काम गर्दिनँ, किनभने छाड्नुमा पनि कारण हुन्छ नि। त्यसैलाई कसैले किन्छु भन्यो भने ठीकै छ, पूरा भने गर्दिन।’
एउटै चित्र बनाउन लामो समय लगाए पनि त्यसको चमकमा कमी आउँदैन। उनी ढुंगा र प्राकृतिक जडिबुटीको रंग प्रयोग गर्छन्, जसको चमक सदा उस्तै रहन्छ। तर कतिपय योजना, शैलीहरूमा भने समयअनुसार परिवर्तन हुन्छ।
‘मैले सुरू गरेका चित्रका बुट्टामा सानो सानो कुरा हुन्छ, जुन समयअनुसार नयाँ प्रयोग गरौंला भन्ने दिमागमा हुन्छ। आफूले व्यक्तिगत रूपमा सोच्ने ठाउँ धेरै राखिएको हुन्छ,’ उनले भने।
हामी पुग्दा लोकको चित्र म्युजियम अफ नेपाली आर्ट (मोना) को ग्यालरीमा अनावरणका लागि पुगिसकेको थियो। मोबाइलमा चित्रको आधारमा हामी कुरा गरिरहेका थियौं। त्यसैले, उनले सजिलोका लागि नजिकैको चित्रलाई उदाहरणका रूपमा देखाए।
त्यो चित्रमा भगवानको आकृतिमा पहेँलो रंग पोतिएको थियो।
‘यहाँ पहेँलो रंग नै पोतिएको हुनुपर्छ तर गाढा वा फिक्का लगाउने हाम्रो हातमा हुन्छ। मलाई पहेँलो मन पर्दैन भनेर हरियो राख्न पाइन्न,’ उनले भने, ‘यसमा देखिएका हात पनि छवटै हुनुपर्छ। तिनका मुद्रा र तिनले बोक्ने सामग्री उस्तै हुनुपर्छ। माथिको हातमा निलो जपमाला र अर्को हातमा त्रिरत्न नै हुनुपर्छ। हेबज्रमा पनि त्यही कुरा लागू हुन्छ।’
उनले अगाडि भने, ‘मेरो चित्र त हो नि भनेर अर्कै गर्न पाइन्न। सबै कुराको अर्थ हुने भएकाले अर्कै गर्दा अनर्थ लाग्छ।’
यसबाहेक मूल चित्र वरिपरि तोरण राख्ने कि ढुंगाको कला वा वनजंगल वा बाँदलहरू? त्यसमा भने कलाकारको स्वतन्त्रता हुन्छ।
चित्र बनाउनुअघि चित्रकारले विषयवस्तु चयन गर्नुपर्छ। त्यसबारे किताब पढ्नेदेखि त्यस विषयका जानकारहरूसँग कुरा गर्नु उनको अनुसन्धानको पाटो हो। हेबज्रकै चित्र बनाउँदा पनि उनले विभिन्न किताब पढेका थिए।
तर आफूलाई मन लाग्यो भन्दैमा त्यसको लिखित सामग्री वा बताइदिने कुनै स्रोत छैन भने त्यसको पूर्ण आकृति थाहा हुँदैन। त्यसको गोप्यता र आइकोनोग्राफी जानिँदैन।
‘हामीले विभिन्न चरण पार गर्नुपर्छ। मन परेर मात्रै पनि बनाउन सकिन्छ भन्ने हुन्न,’ लोकले भने, ‘हेबज्र तन्त्रचाहिँ बुद्धधर्म पढ्ने क्रममा महायान, बज्रयानको कुरा आउँदा मलाई चासो लागेको थियो। पछि यसैमा काम गर्न मन लागेर त्यसको अध्ययन थालेको हो।’
यो चित्रको आफ्नै नियम भएकाले पश्चिमी आँखाले हेर्नेहरू भन्छन्, ‘यो त धर्मको कुरा हो। यसमा स्वतन्त्रता नै छैन।’
लोक भने पौभाः चित्रलाई अनुशासनसहितको स्वतन्त्रता मान्छन्। भन्छन्, ‘स्वतन्त्रता भन्नाले जे पायो त्यही गर्ने भन्ने हुन्न। तर नियममा बसेर स्वतन्त्र हुने ठाउँ त छ नि।’
‘कविता तपाईंको सिर्जना होला, तर तपाईंले भन्न खोज्नुभएको कुरालाई शब्द चयन गर्नुपर्यो नि,’ उनले अगाडि भने, ‘सुरूमा त विषय चयन गर्ने नै मेरो स्वतन्त्रता भयो। रंग र बुट्टाहरूमा पनि छुट नै हुन्छ। ठीक ठीक चिह्न र आकृति त बनाउनै पर्यो नि।’
लोकलाई लाग्छ– एउटा सिंगो चित्र एउटा शास्त्र हो। त्यसका लागि भने हाम्रो राज्यले खासै महत्व दिएको छैन।
हेबज्रकै कुरा गर्दा यो नेपालको शैली भए पनि तिब्बतमा तीन चार सय वर्षअघि प्रयोगमा आएको थियो। त्यसैले, कतिपयले यसलाई तिब्बती पनि मान्छन्। यो विषयमा पुनः अध्ययन गर्नुपर्छ जस्तो उनलाई लाग्छ।
‘१२–१३ औं शताब्दीमा कला एकदम उचाइमा पुगेको थियो। अहिले भने हामी पश्चिमी कलालाई लिइरहेका छौं,’ उनले भने, ‘त्यो बेला नै त्यति धेरै अध्ययन भएको थियो भने अहिले किन नगर्ने?’
उनले अगाडि भने, ‘हाम्रो कलाकै मूल्यांकन गर्न पनि विदेशीले स्पोन्सर गर्नुपर्छ। सरकारले त यसलाई पढाउनै पनि प्रोत्साहन गरेको छैन। हामी मनबाट कति दरिद्र हुँदै गएका छौं भन्ने उदाहरण हुन् यी।’
बरू विदेशीहरूलाई उनले उदार पाए। एक जापानीलाई बेचेको पौभाः उनले फोटोकपी गरेर सक्कली लोकलाई नै फिर्ता दिएछन् र भनेछन्, ‘म घरमा धेरै नबस्ने भएकाले यो तपाईं नै लग्नुहोस्। तपाईंकोमा सार्वजनिक हुने भएकाले धेरैकहाँ पुग्छ।’
२५ वर्ष लगाएर बनाएको ‘हेबज्र’ पनि सार्वजनिक भएर धेरैकोमा पुग्दैछ। ५६.५ इन्च लम्बाइ र ४४.५ इन्च चौडाइको यो चित्र अनावरण क्रममा छ। यसको रहस्योद्घाटन गरेजसरी लोकले भने, ‘त्यो चित्र खासमा अझै पूरा भएको छैन। त्यसका स–साना आकृति र रेखाहरूमा काम गर्न बाँकी छ। सन २०२२ सम्म पूरा हुन्छ कि? यसपटक त म्युजियममा देखाउन माग्नुभएकाले मात्र दिएको।’
आफूले गर्ने कामको प्रक्रियालाई लोक माकुराले बनाउने जालाेसँग तुलना गर्छन्। जसरी माकुराले बीचबाट जालो बुन्न थालेर अन्तिममा त्यही टुङ्याउँछ, हेबज्र पनि बीचमा रहेका भगवान आकृतिमा टुङगिने उनले जानकारी दिए।
भने, 'भगवानको काम गर्दा अन्तिममा आँखा बनाइन्छ, चित्रहरू पनि मेरो लागि जीवित भगवान जस्तै हुन्। तर सबैले यस्तै गर्नुपर्छ भन्ने छैन।'
छुट्टिनुअघि हामीले सोध्यौ, ‘तपाईंले यस्तै नयाँ कुनै काम सुरू गर्नुभएको छ कि?’
उनले आफूले गरिरहेका नयाँ कामहरूबारे बताए।
‘त्यो चित्रबारे २५ वर्षपछि तपाईंलाई सम्झाउनुपर्यो नि!’
उनले हाँस्दै गम्भीर जवाफ फर्काए, ‘शरीर पनि बलियो अनि हात पनि नकाम्ने हुनुपर्यो। त्यति बेलासम्म काम गर्न पो सकिने हो कि होइन!’