‘नेपाल स्टार’ रियालिटी शोमा उपाधि जितेकी एलिना गुरूङ सानैदेखि गुनगुनाउँथिन्। कास्कीको मादी–२ ताङतिङ गाउँमा त्यतिबेला टेलिभिजन पुगेको थिएन। रेडियो पनि सुनिन्थेन। गाउँमा भिसिडी र क्यासेट सुनेर उनले गीत गाउन सिकेकी थिइन्। उनका तीन जना दाजुहरु, मामा र अन्य छिेमेकीले ल्याएको क्यासेट सुनेर उनले गीत गाउन सिकिन्।
टिभीका लागि केबुल लाइन त के अहिलेजस्तो होम टिभी प्रविधि पनि आइसकेको थिएन। एलिनाको परिवारले गाउँमा टिभी लगे। सँगसँगै फिल्म हेर्न भिसिडी प्लेयर र फिल्मका सिडीहरु पनि लिए। क्यासेटमा गीत सुन्ने र टिभीमा फिल्म हेर्ने लत नै बसेको थियो एलिनाको। माध्यमिक तहमा पढ्दा नै उनले यसरी फिल्म हेर्ने र गीत सुन्ने मौका पाएकी थिइन्।
त्यसो त गुरूङ समुदायको बाहुल्य रहेको ताङतिङ गाउँमा स्थानीय युवा क्लवले चाडपर्व र अन्य विशेष दिनमा नाचगान कार्यक्रम गर्थ्यो। त्यतिबेला एलिना गीत गाउनमा भन्दा पनि नाच्नमा रुची राख्थिन्। ‘सानोमा एक्ले गीत गाउँदै बस्थें’, उनले भनिन्, ‘खुलेर मान्छेको अगाडि गाउछु भन्ने नै थिएन।’
गाउँमै बसेर कक्षा– ८ सम्म पढेकी एलिना कक्षा ९ मा भर्ना हुन पोखरा झरिन्। उनको परिवार पनि पोखरामा घर बनाएर बसाइ सरे। पोखरा झरेर पढाइलाई निरन्तरता दिएकी एलिनाले पोखरामा पनि गीत गाउने चाहलाई मर्न दिइनन्। साथीहरुको गीतार बजाउँदै गुनगुनाउन थालेकी थिइन्।
एक दिन पोखरास्थित स्थानीय युवा क्लबका युवासँगै एलिना पोखराको ओपन हाउस रेष्टुरेण्ट गइन्। रेष्टुरेण्टमा गजल गाउने लाइभ ब्याण्ड थियो। क्लबका पदाधिकारीले एलिनालाई गीत गाउन फकाए। उनी पनि गाउन तयार भइन्।
त्यतिबेला गायिका आस्था राउतको ‘चौवन्दीमा पटुकी.....।’ बोलको गीत हिट थियो। उनले त्यहीँ गीत लाइभ म्युजिकमा गाइन्। उनले गीत गाएको देखेर साथीहरु चकित परे। तिमीले गीत गाउन सक्दो रै'छौ भनेर उनलाई हौस्याए। गीत संगीतमा लाग्न साथीहरुले उनलाई सुझाव दिए। त्यसपछि नै उनले गीत गाउने अठोट लिएकी थिइन्।
‘त्यतिबेला मैले पनि गाउन सक्छु भनेर अठोट आयो’, उनले सेतोपाटीसँग भनिन्, ‘अब संगीत सिक्ने र गीत नै गाएर जीवन विताउन सक्छु जस्तो लाग्यो।’
गायिका बन्ने सपना बोकेर उनले पोखरामा राम्रो संगीत सिकाउने ठाउँ कहाँ छ? भनेर खोज्न थालिन्। संगीत सिक्ने हुटहुटी बोकेर उनी पोखराको ‘जोजिजु म्युजिक सेन्टर’ पुगिन्। संगीत सिक्न पुगेकी एलिनालाई जोजिजु म्युजिक सेन्टरका संगीत प्रशिक्षक करण तामाङले गीत गाएर सुनाउन लगाए। उनले घोसेमुन्टो लगाएर गीत गाइन्।
लजाई लजाई गीत गाएर सुनाएपछि प्रशिक्षक तामाङले सुझाए, ‘स्वर निखार्दै लानुपर्छ, धेरै मिहेनत गर्नुपर्छ।’ संगीत सिक्न भर्ना पाउने भएपछि उनको खुशीले सिमा नाघ्यो। तीन महिना जोजिजु संगीत केन्द्रमा गएर संगीत सिकिन्।
सिक्ने क्रममै उनले एउटा गीत रचना गरिन्। संगीत पनि आफैले भरिन्। ‘आँखाभरी आँशु दिएर.....’ बोलको गीत पोखरामै रेकर्ड गराइन्। उनका गुरुले पनि सिर्जनशीलतामा डुबेकोमा बधाई दिए, नयाँ नयाँ सिर्जना गर्न हौस्याए।
उनी पोखरामा कलेज जान थालेदेखि नै गितार बोक्न थालेकी थिइन्। गीत संगीतमा मात्र होइन, गाउँमा हुँदा उनले नाच्न जानेकी थिइन्। स्टेजमा चढेर गीत गाउन नसक्ने एलिना नाच्न भने बानी परिसकेको थियो। उनको नाच देखेर नेपाली चलचित्रमा समेत पहिचान बनाएका अभिनेता एवं निर्देशक माओत्से गुरुङको नगर एलिनामा पर्यो।
माओत्से गुरुङ फिल्म एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन्। उनले निरन्तर गुरुङ चलचित्र निर्माण एवं निर्देशन गर्दै आएका छन्। माओत्सेले बनाउन लागेको गुरुङ चलचित्र ‘नरे’ मा एलिनाले नायिकाको रोल पाइन्। अब उनी आफ्नो समुदायमा ‘हिरोइन’ बनिन्। त्यसपछि पनि उनलाई अरु फिल्म खेल्न प्रस्ताव आयो, तर उनले स्वीकार गरिनन्। केही म्युजिक भिडियोमा अभिनय गरेपछि उनले अभिनय छाडेर गायनमा मात्र आफुलाई केन्द्रित गरिन्।
फिल्म र म्युजिक भिडियोमा खेलेपछि उनलाई लाग्यो, अभिनय भन्दा गीत गाउनै ठिक। दाजुहरुले पनि एउटा मात्र क्षेत्रमा लाग्न सुझाव दिए। उनले अभिनय छाडेर गायन रोजिन्। ‘मैले नै बहिनीलाई एउटा क्षेत्रमा मात्र लाग्न भनेको हुँ’, एलिनाका जेठा दाजु डिलबहादुर गुरुङले भने, ‘बहिनीले गीत गाउन रोजिन्।’
संगीतमै लाग्ने अठोट लिएर अभिनय छाडेकी एलिनाले त्यसपछि अर्को गीत गाउने अवसर पाइन्। उनले आफ्नो आवाजमा दोस्रो गीत ‘पूर्वको मारुनी त पश्चिमको कौडा बोलको गीत रेकर्ड गरिन्। यो गीत विनोद खम्बुले निर्माण गरेका थिए।
अब एलिनाले गुरुङ भाषाको गीत पनि गाउन थालिन्। माओत्से गुरुङले नै निर्देशन गरेको चलचित्र ‘शिरसुब्बा’ को एउटा गीत पनि उनले गाएकी छिन्। उक्त गीतमा पोखराकै अर्का गायक विक्रम बरालले साथ दिएका छन्। उक्त चलचित्र गुरुङ भाषामा रहेपनि उनले गाएको यस फिल्मको गीत भने नेपालीमा रहेको उनले जानकारी दिइन्।
कोरोना भाइरसको महामारीका कारण निर्माण सकिएपनि गुरुङ फिल्म शिरसुब्बा प्रदर्शनमा आउन सकेको छैन। उनले गाएको यस फिल्मको गीत पनि रिलिज भएको छैन। यो सहित एलिनाले स्वर दिएको २ वटा नेपाली भाषाको र एउटा गुरुङ भाषाको गीत रेकर्ड भएर तयारी अवस्थामा छन्। उक्त गीतहरु रिलिज हुन मात्र बाँकी रहेको उनले जानकारी दिइन्।
‘मेरो व्यस्तताले पनि रिलिज गर्न नपाएका हौं’, उनले भनिन्, ‘अब केही दिनमा मेरो व्यस्तता पनि सकिन्छ, त्यसपछि पुरानो गीत रिलिज हुन्छ।’
एलिनाका दुई जना दाजु हङकङमा छन् भने जेठो दाजु घरमै छन्। जेठो दाजु पनि विदेश गएर फर्किएका छन्। ३ दाजुका एक्ली बहिनी एलिनालाई दाजुहरुले कलाकारितामा लाग्न साथ दिए। गितार किनिदिए, संगीत सिक्न पठाए। उनका बुवा भारतीय सेनाको जागिरबाट अवकाश लिइसकेका छन्। परिवारको साथले उनलाई आफ्नो रुचीमा लाग्न आर्थिक अभाव भएन।
पोखरास्थित बिग एफएमले ‘बिग आइकन’ नामक गायन शो आयोजना गथ्र्यो। उनी पनि त्यसमा भाग लिन गइन्। झण्डै ४ बर्षअघि भएको उक्त गायन प्रतियोगितामा उनले उचाई लिन सकिनन्। स्टेजमा चढेर गीत गाउन नसक्नु नै उनको कमजोरी थियो। बिग आइकनको छनौटमा एलिना बाहिरिन्।
गीत गाउने हुटहुटी उनको मनमा जिउँदै थियो। उनी अब ब्याण्डमा गीत गाउन थालिन्। शुरुमा न्यु मेलोडियस ब्याण्डमा उनले गाउन थालिन्। ब्याण्डले पोखराका विभिन्न रेष्टुरेण्डमा गीत गाउने गर्दथ्यो। उनले पनि रेष्टुरेण्ट पुगेर गीत गाउन थालिन्।
एलिना अहिले उक्त ब्याण्डको मुख्य महिला गायिका छिन्। ब्याण्डको व्यवस्थापन गरेकी छिन्। पोखराको मुग्लान रेष्टुरेण्टले ब्याण्डको आफ्नै गीत बनाउन लगानी गरिदिने भनेका छन्, यसले उनी सहित ब्याण्डका सबै सदस्य हौसिएकी छिन्।
रेष्टुरेण्टहरु गीत गाउँदै हिँड्दा कतिपय छरछिमेकले उनको कुरा नकाटेका होइनन्। राती अवेरसम्म केटी मान्छे गीत गाएर हिड्छे भनेको उनले पनि सुनेकी छिन्। मदिराले मातेका व्यक्तीहरु माझ गीत गाउन पुग्नु उनीहरुको रहर र बाध्यता दुबै थियो।
गीत गाउन पुगेका धेरै जसो रेष्टुरेण्टले संझौता अनुसार पैसा दिन्थेन। दिएपनि पुरा रकम नदिने। एकाध रेष्टुरेण्ट बाहेक अधिकाँशले समयमा पैसा नदिँदा ब्याण्डका सदस्यहरुलाई गाह्रो पथ्र्यो। तैपनी उनीहरुले सहेर अघि बढे, केही रेष्टुरेण्टमा त गीत गाउनै छाडिदिए।
ब्याण्डमा गीत गाउँदै गर्दा एकदिन साथीहरुले उनलाई पोखरामा ‘नेपाल स्टार’ नामक रियालिटी शोको छनौट हुँदै गरेको बताए। जाउँ न त हामी पनि भनेर साथीहरुले भनेपछि उनी पनि नेपाल स्टारको छनौटमा भाग लिन पुगिन्।
त्यतिबेला एलिनासँगै १५ जना जति सँगै गीत गाउन पुगेका थिए। उनीहरु सबैजना प्रि अडिसनबाट छनौट भए। नेपाल स्टारको अन्य श्रृङ्खला काठमाडौंमै हुन्थ्यो। उनीहरुको समुह पनि गीत गाउन काठमाडौं लागे।
स्टेजमा गएर नाच्न सक्ने एलिना गीत गाउन जहिल्यै लगाउँथिन्। त्यसदिन पनि लगाइन्। सधै अडियो र टिभी स्क्रिनमा देखेका गायकहरु अडिसनको निर्णायक बनेको थिए। ‘जज अडिसनमा जाँदा म एकदम नर्भस भए’, उनले उक्त क्षेण संझिएर भनिन्, ‘मैले राम्रो गाउन सकिन, म बाहिरिए।’
नेपाल स्टारको केही ठाउँमा प्रि अडिसन चल्दै थियो। पोखराबाट भाग लिएकी एलिना भने जज अडिसनबाट बाहिरिसकेकी थिइन्। उनलाई केही गायकले चितवन अडिसनबाट फेरी आउन आग्रह गरे। स्टेजमा गएर राम्रो प्रस्तुती दिन लगाए। त्यही सुझाव मानेर उनी चितवन गइन्, फेरी प्रि अडिसनबाट छनौट भएर अघि बढिन्।
स्टेजमा गीत गाउँदा नडराउन उनलाई सिकाइयो, अभ्यास गर्दै जाँदा उनी पनि अभ्यस्त हुँदै गइन्। पोखरामा भएको प्रि अडिसनबाट भित्रिएका एलिनाका सबै साथी बाहिरिसकेका छन्। जज अडिसनबाटै बाहिरिएकी तिनै एलिना चितवनबाट प्रवेश गरेर ‘नेपाल स्टार’को उपाधी जितिन्।
उनलाई जिताउन पोखराको हिमाली साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष मेनकाजी गुरुङको संयोजकत्वमा ‘एलिना जिताउ अभियान सहयोग समिति’ बनेको थियो। समितिले देश विदेशबाट एलिनालाई भोट दिन आह्वान गरेको थियो भने पोखरामा विभिन्न अभियान समेत चलाएको थियो।
उनलाई भोट दिन हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत, मलेसिया, युएई, कतार, भुटान लगायतका देशहरुबाट समेत आफन्त र शुभचिन्तक लागेका थिए। उनीहरुकै सहयोगमा एलिनाले नेपाल स्टारको उपाधि जितेकी हुन्।
उपाधि होडको अन्तिम प्रस्तुतिमा उनले आस्था राउतकै ‘चौवन्दीमा पटुकी.....।’ बोलको गीत गाएकी थिइन्। सार्वजनिक ठाउँमा पहिलो पटक लाइभ म्युजिकमा गाएको यही गीतले उनलाई नेपाल स्टार बनायो। ‘मलाई यो गीत गाउँदा एकदम आनन्द आउँछ’, एलिनाले सेतोपाटीलाई भनिन्।