हलिउड अभिनेत्री एन्जेलिना जोलीले एउटा विशेष पेन्टिङ बेच्ने भएकी छन्। यो पेन्टिङ पूर्व बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले बनाएका हुन्। चर्चिलले दोस्रो विश्वयुद्धताका बनाएको यो एक मात्र पेन्टिङ भएको सिएनएनले जनाएको छ।
सिएनएनका अनुसार यो पेन्टिङ लिलामीमार्फत् ३४ लाख अमेरिकी डलरसम्ममा बिक्ने अनुमान छ। 'टावर अफ द कुटुबिया मस्क' नाम दिइएको यो पेन्टिङ चर्चिलले मोरोक्कोमा सन् १९४३, जनवरीमा कासाब्लांका कन्फरेन्समा सहभागी भएपछि बनाएका थिए।
कन्फरेन्समा चर्चिल र तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांक्लिन रूजबेल्टले नाजी जर्मनीलाई हराउने रणनीतिहरूबारे छलफल गरेका थिए। चर्चिलले यो पेन्टिङ बनाएर रूजबेल्टलाई दिएका थिए।
विस्तारै यो अभिनेत्री जोलीको संकलनसम्म आइपुगेको थियो। अब भने जोलीले यसलाई बेच्ने भएकी हुन् जसको सुरूआती मूल्य नै बीस लाखदेखि ३४ लाख अमेरिकी डलर अनुमान गरिएको छ।
'चर्चिलले दोस्रो विश्वयुद्धताका बनाएको यो एक मात्र पेन्टिङ हो। सायद यो पेन्टिङ बनाउँदा उनी त्यो बेलाको समयबाट प्रभावित थिए,' क्रिस्टिज लिलामी घरका मोर्डन ब्रिटिश आर्ट प्रमुख निक अर्कार्डका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।
क्रिस्टिजका अनुसार यो पेन्टिङ जोलीको संकलनमा सन् २०११ देखि थियो। जोलीले यो पेन्टिङ कसरी पाइन् भन्नेबारे भने केही जानकारी दिइएको छैन।
चर्चिलले युद्धअगाडि मोरोक्कोमा धेरै पेन्टिङ बनाए पनि युद्ध अवधिमा बनाएको यो एक मात्र हो। दोस्रो विश्वयुद्ध सन् १९३९ देखि १९४५ सम्म चलेको थियो।
'त्यसैले पनि यो चर्चिलको अहिलेसम्मकै उत्कृष्ट पेन्टिङ मानिन्छ,' अर्कार्डले भनेका छन्, 'यसले दुई नेताहरूबीचको मित्रतालाई प्राथमिकता दिएको छ।'
यो पेन्टिङ मार्च १ मा लिलामी हुने सिएनएनले जनाएको छ।