प्रधानमन्त्री केपी ओलीले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरे। त्यसको भोलिपल्ट पोखराका स्रष्टाहरु शक्तिशाली कविता सुनाए, कला प्रस्तुत गरे।
पोखराको पृथ्वीचोकको फुटट्रेक अन्यन्त्रभन्दा फराकिलो छ। प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध त्यहीँ ठाउँमा यसअघि कांग्रेस र जनता समाजवादी पार्टीले प्रदर्शन गरेका थिए। शनिबार कवि कलाकारले।
थिएटर कलाकारले प्रधानमन्त्री ओली र उनका समर्थकलाई ब्यङ्ग्य गर्न मुख र आँखामा पट्टी बाँधे। पट्टीमा आँखा भएको ठाउँमा आँखा र मुख भएको ठाउँमा ठूलो हाँसो सहितको मुखको चित्र थियो। मञ्चमा उभिएर लेखक त्रिवेणीले देशमा कुशासन छ? भनेर सोधे। पट्टी बाँधेर उभिएका युवालै छैन भनेर जवाफ दिए। त्यसो त उनीहरुले हातमा ‘छैन’ लेखिएको प्लेकार्ड बोकेका थिए।
यो पर्फमेन्स आर्ट नाट्यकर्मी शरदले संयोजन गरेका हुन्। यो आर्टको परिकल्पना गरेका बरिष्ठ कलाकार सुनिल सिग्देलले नेता र तिनका भक्तलाई ब्यङ्ग्य गर्न यस्तो प्रस्तुती दिएको बताए। ‘नेताले जे भने पनि हो भन्नेहरुलाई ब्यङ्य गरिएको हो’, सिग्देलले भने, ‘नेताको अन्धभक्तकै कारण देश यस्तो अवस्थामा आइपुगेको हो।’
पफमेन्स आर्ट पश्चात कविले कविता वाचन गरे। कविता मार्फत उनीहरुले देशका लागि आवाज बुलन्द गर्न आह्वान गरे। कवि विकास मगरले कवितामा आम नागरिकले बोल्न छाड्दा शासक स्वेच्छाचारी भएको बताए। उनको कविताको एउटा अंश यस्तो छ।
जब बोल्न छोड्ने छौं
हामी हुनेछौं
तर कसैगरी हुने छैन
हामी भित्रको हामी।
हाम्रो मौनताको टेको लगाएर
उँघिरहेको छ यो देशको शासक
र, उसलाई ब्युँझाउन पनि
यो समय
जरुरी छ तिम्रो हाम्रो आवाजको आन्दोलन।
प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन विरूद्ध दलहरू मात्र होइन, नागरिक पनि आन्दोलित बन्दै गएका छन्। पोखरामा कवि कलाकारले गरेको आन्दोलनमा प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र आम नागरिकको भावनामाथि खेलवाड गरेको बताएका थिए।
विरोध कार्यक्रममा कविहरु रोशन तिमिल्सिना, रिता अधिकारी, डा. चैतन्य अधिकारी सुरज उपाध्याय लगायतले कविता वाचन गरेका थिए। उनीहरुले कवितामार्फत सरकार निरंकुश र तानाशाही बनेको भन्दै आम नागरिकले यस्ता शासकलाई पछार्ने चेतावनी दिएका थिए।
कार्यक्रममा बोल्दै बृहद नागरिक आन्दोलनका संयोजक युग पाठकले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अपराध गरेको बताए। उनले भविश्यमा यस्तो निरंकुश सरकार नआओस भन्नका लागि नागरिक सडकमा आउनुपर्ने अवस्था आएको बताए। उनले कवि भुपाल राईको ‘बालुवाटार वृत्तान्त’ शीर्षकको कविता सुनाएका थिए।
पोखरामा नागरिक आन्दोलनको संयोजन गरिरहेका सुदर्शन पौडेलले हरेक पुस्ता लोकतन्त्रका लागि लड्नुपरेको भन्दै आक्रोश व्यक्त गरे। आफू अहिले विद्यार्थी रहेको भन्दै उनले भविश्यका लागि लोकतन्त्र सुदृढ हुनुपर्ने बताए। अर्का वक्ता दीपक वाइवा तामाङले प्रधानमन्त्री केपी ओली नसच्चीए आन्दोलनमार्फत सच्याउनुपर्ने बताए।
प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ताले ‘बा’ भनेको प्रति कविहरुले कवितामार्फत ब्यङ्ग्य गरे। असंवैधानिक प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीका लागि संविधान कागजको खोस्टो मात्र भएको उनीहरुले बताए। कवि सुरज उपाध्यायले कवितामा भने–
बा
बा नै हुन्।
बालाई अपमान गर्ने छुट कसैलाई छैन
उनीहरु भन्दैछन्
लय हालेर
बा भनेकै संविधान हुन्।
बाका अगाडि
कागजको खोस्टो
कसरी संविधान हुन सक्छ ?