आज प्रणय दिवस। सामान्यभन्दा दिनभन्दा आज सामाजिक सञ्जालमा प्रेमिल जोडीहरू एक-अर्काको फोटो सेयर गर्दै ‘रोमान्टिक मुड’मा प्रस्तुत हुन्छन्। नेपाली कला तथा मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरू समेत यसबाट अछुत रहने कुरै भएन।
वैवाहिक एवम् प्रेम सम्बन्धमा बाँधिएका कलाकार, गायक-गायिकासम्मले आफ्नो प्रेमी-प्रेमिकासँगको फोटो सेयर गर्दै प्रेमिल शब्दमा उनीहरूको बयान गरेका छन्।
सामाजिक सञ्जालमध्ये पनि यतिबेला फोटो सेयर गर्न इन्स्टाग्राम लोकप्रिय छ। गायिका समृद्धि राईले इन्स्टाग्राममा आफ्नो प्रेमीको फोटो सेयर गर्दै लेखेकी छन्, ‘द यिङ टु माइ याङ।’ अर्थात् ‘तिमी मलाई पूर्ण गर्छौ।’
उनले योसँगै लेखेकी छन्, ‘जो व्यक्तिले मेरो जीवनको हरेक कदममा सकारात्मक उर्जा दिइरहेका छन्, उनलाई प्रणय दिवसको शुमकामना। आइ लभ यु।’
गत वर्षमात्रै डा. उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएकी अभिनेत्री आँचल शर्माले प्रणय दिवसको शुभकामनासँगै आफ्नो आधिकारिक युट्युब च्यानलबाट विवाहको नयाँ भिडिओ सार्वजनिक गरेकी छन्। आँचलले रोज डे, फेबुअरी ७ मा इन्स्टाग्राम पोस्टमा उदिपलाई ट्याग गर्दै गुलाफको गुच्छासँग फोटो पोस्ट गरेकी थिइन्। आँचल र उदीप यतिबेला चितवनमा छन्।
अभिनेत्री प्रियंका कार्कीले पनि आज इन्स्टाग्राम पोस्टमा आफ्नो र अभिनेता आयुष्मान देशराज श्रेष्ठको फोटो सेयर गर्दै लेखेकी छन्, ‘मेरो सधैंको भ्यालेन्टाइन। आइ लभ यु।’ आयुष्माले पनि प्रियंकाको फोटो स्टोरीमा सेयर गर्दै लेखेका छन्, ‘मेरो सधैंको भ्यालेन्टाइन। तिमी जे छौं त्यसको लागि धेरै माया। ह्याप्पी भ्यालेन्टाइन माया।’
अभिनेत्री वर्षा राउतको कुरा गर्ने हो भने उनको र सन्जोग कोइरालाको विवाह भएको आज दुई वर्ष भयो। झन्डै ५ वर्षको सम्बन्ध पछि वर्षा र सन्जोग सन् २०१९ को फेब्रुअरी १४ देखि वैवाहिक सम्बन्धमा गाँसिएका हुन्।
विवाहको दुई वर्ष पुगेको उपलक्ष्यमा सन्जोगले वर्षा र आफ्नो फोटो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै लेखेका छन्, ‘तिमीसँग हुँदा साँच्चै समय गएको पत्तै हुँदैन। हिजोजस्तै लाग्छ तर दुई वर्ष भइसकेछ। विवाह र प्रणय दिवसको शुमकामना वर्षा।’
वर्षाले पनि केही दिनअघि मात्र उनको र सन्जोगको फोटोहरू सेयर गर्दै ‘मायाको र खुशीको महिना’ भन्दै इन्स्टाग्राम पोष्ट गरेकी थिइन्।
अभिनेत्री स्वस्तिमा खड्काले पनि इन्स्टाग्राममा आफ्नो र अभिनेता तथा निर्देशक निश्चल बस्नेतको फोटो सेयर गर्दै प्रणय दिवसको शुभकामना व्यक्त गरेकी छन्। उनी केही भिन्न र अन्तर्क्रियात्मक शैलीमा प्रस्तुत भएकी छन्।
फोटो सेयर गर्दै लेखेकी छन्, ‘तपाईंको प्रियजनलाई ट्याग गर्नुस् र ‘सधैं मेरो हुनु’ भन्नुस्। किनभने जताततै माया नै छ। सम्पूर्णलाई प्रणय दिवसको शुभकामना।’
केहीले प्रेमिल शब्दले क्याप्सन भरे भने केहीले आफ्नो माया दुई शब्दमा अटाएका छन्।
अभिनेत्री ऋचा शर्माले पनि आफ्नो श्रीमान दीपेक्ष विक्रम रानालाई इन्स्टाग्राम स्टोगरीमा गुलाफको गुच्छासँगै पोस्ट गरेकी छन् जसमा लेखेकी छन्, ‘धन्यवाद दीपेक्ष।’
योसँगै उनले आफ्नो र दीपेक्षको फोटो पनि सेयर गरेकी छन्। ३ वर्षको सम्बन्ध पछि ऋचा र दीपेक्ष सन् २०१९ डिसेम्बर ७ मा वैवाहिक जीवनमा बाँधिएका हुन्।
त्यस्तै गायक दुर्गेश थापाले आफ्नो फेसबुक पेजबाटै प्राची लामालाई प्रणय दिवसको शुभकामनासँगै फोटो सेयर गरेका छन्।
अभिनेता संयम पुरीले पनि आफ्नी प्रेमिका आश्मा डिसीसँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘ह्याप्पी भ्यालेन्टाइन्स डे।’
अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले पनि इन्स्टाग्राममा आफ्नो र श्रीमान सुदीप न्यौपानेको फोटो सेयर गरेकी छन्। प्रकृति झन्डै ६ वर्षपछि पुनः नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछिन्।
हास्य कलाकार जितु नेपालले भने प्रणय दिवसको शुभकामनासँगै आफ्नो परिवारको फोटो सेयर गरेका छन्। उनले फोटोसँगै लेखेका छन्, ‘सधैं माया, आफ्नै दायाँ बायाँ। सबैलाई प्रेम दिवसको शुभकामना।’
प्रणय दिवसको शुभकामनामा अभिनेत्री रेखा थापा लेख्छिन्, ‘प्रणय दिवसको शुभकामना। प्रेमको शक्तिले हामी सबैलाई सभ्य, करुणामयी र उदार बनाउँदै जाओस। डर, दासता र हिन्साबाट मुक्त हुँदै अरुलाई आफूजस्तै मानव देख्न सकौं।’
यी बाहेक अभिनेत्री वर्षा सिवाकोटी, एलिजा गौतम, निती शाहलगायत कलाकारले सामाजिक सञ्जालमा प्रणय दिवसको शुभकामना व्यक्त गरेका छन्।