बृहत् नागरिक आन्दोलनको चिह्न 'चोरी औंला' खबरदारीको प्रतीक हो।
राज्यसँग असन्तुष्ट आमनागरिकहरू यही चोरी औंला तेर्स्याउँदै जोडदार ढंगले भन्छन्– खबरदार! निरंकुश शासन व्यवस्था अब हामीलाई मञ्जुर छैन। पितृसत्तात्मक राज्यसत्ता अब हामीलाई मञ्जुर छैन। महिला भएकै कारण विभेदको शिकार हुनुपर्ने अवस्था अब हामीलाई मञ्जुर छैन। कुनै हालतमा मञ्जुर छैन।
कलाकार उद्धवराज रिमाल सडकमा नित्य उठिरहेका चोरी औंलाहरू नियालिरहेका छन्। चोरी औंला कोतिर फर्केको छ, त्यो पनि हेरिरहेका छन्। चोरी औंला जता घुम्छ, उनको आँखा त्यतै जान्छ। उनी आफैं चोरी औंला उठाउँदै आन्दोलनमा सरिक हुन गएका त छैनन्, तर आफ्नो बौद्धको स्टुडियोमा बसेर तिनै चोरी औंलाका चित्र बनाउँदै आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै छन्। आन्दोलनको खबरदारी चिह्न अहिले उनको कामको चिह्न बनेको छ।
उद्धवले अहिलेसम्म 'चोरी औंला' थिममा नौवटा ब्ल्याक एन्ड ह्वाइट डिजिटल चित्र बनाइसके, जसमा नागरिक आन्दोलनका अभियन्ताले सत्तालाई खबरदारी गर्दै उठाएका चोरी औंला जीवन्त छन्। ती औंला उठ्दा अनुहारमा झल्किने आक्रोश र भावभंगी पनि उत्तिकै जीवन्त रूपमा उतारेका छन् उनले।
यो थिममा काम गर्दा उनी फोटोसपमा वाटरकलर इफेक्ट राख्छन्। ब्ल्याक एन्ड ह्वाइटमा काम गर्दा रंग भर्नभन्दा कम समय लाग्छ र यसले चित्रलाई क्लासिक स्वरूप दिन्छ भन्ने उनलाई लाग्छ। करिब एक घन्टा समय त्यो कामलाई दिएपछि उनी क्यानभासमा आफ्ना अरू काम गर्छन्।
उनले यो काम थालेको करिब एक साता मात्र भयो। तर अहिलेसम्म पाएको प्रतिक्रियाले थप बनाइरहन प्रोत्साहन मिलेको उनी बताउँछन्।
सुरूआतमा उनले लेखक-अभियन्ता नारायण वाग्लेका तीन तस्बिरलाई डिजिटल पेन्टिङमा उतारेका थिए। ती सबैमा वाग्लेका चोरी औंला त छन् नै, निधारमा कालो माटोको टीका पनि छ। केही समयअघि बालुवाटार मार्चपासका लागि कमलपोखरीको कालो माटोको टीका लगाएर निस्केका वाग्ले प्रहरीको लाठी र पानी फोहोराको सिकार भएका थिए।
त्यो घटनाले उद्धवलाई जति भावविह्वल बनाएको थियो, वाग्लेको व्यक्तित्वले सधैंझैं तानेको थियो।
'उहाँ एक उचाइ पाइसकेको व्यक्ति हुनुहुन्छ। तर सधैं साधारण र सौम्य देखिनुहुन्छ,' उनले भने, 'म उहाँलाई पहिल्यैदेखि मनपराउँथे र उहाँका गतिविधि नजिकबाट नियालिरहेको हुन्थेँ। त्यस दिनको रूपले पनि मलाई तान्यो र यो कन्सेप्ट दिमागमा आएको हो।'
उनले यो पनि भने, 'नागरिक आन्दोलनको चिह्न पनि चोरी औंला नै छ। त्यो हात मलाई नारायण वाग्लेकै हो जस्तो लाग्छ।'
उद्धवको त्यो चित्रलाई वाग्लेले मन मात्र पराएनन्, आफ्ना सामाजिक सञ्जालको प्रोफाइल तस्बिर पनि बनाए। 'मलाई ट्विटरमा फलो–ब्याक पनि दिनुभयो,' उनले खुसी हुँदै सुनाए।
वाग्लेपछि उनले आन्दोलनमा सक्रिय लेखक सञ्जीव उप्रेती, शिक्षाविद केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अभियन्ता सन्तोष परियार, मानवअधिकारकर्मी हिमा विष्ट र विद्यार्थी एलिजा ढकालको चित्र बनाइसके। आफूले बनाएका चित्र मनपराएर सेयर गरिदिँदा उनलाई हौसला मिलेको छ।
उद्धवका चित्रका सामग्री पत्रपत्रिका र अनलाइन हुन्। आइतबार पनि कान्तिपुर पत्रिका पल्टाउँदा 'फेरियो व्यवस्था, फेरिएन छोरीहरूको अवस्था' शीर्षकमा एलिजाको फोटो देखेर चित्रमा उतारेका थिए। राम्रो प्रतिक्रिया आइरहेकाले दैनिक एउटा तस्बिर यसरी चित्रमा उतार्ने उनले लक्ष्य लिएका छन्।
'१०८ चित्र बनाउने सोचले हरेक चित्रलाई नम्बर पनि दिएको छु। हेरौं के हुन्छ,' उनले भने, 'पछि राम्रो प्रतिक्रिया पाइरहेँ भने यसलाई प्रदशर्नीका रूपमा पनि देखाउन सकिएला।'
उद्धवले बनाएका चित्र देखेर अहिले कतिले आफ्नो पनि बनाइदिन आग्रह गरेका छन्। ती कमेन्ट उनले हेरेका छन् तर खासै वास्ता गरेका छैनन्। किनभने, आफूले रहरले गरेको कामलाई त्यसरी आग्रहमा गर्न थाल्यो भने त्यसबाट पाइने सन्तुष्टि मरेर जाने उनको बुझाइ छ।
आफ्नो कामलाई भयंकर ठूलो उनी मान्दैनन्। सामाजिक सञ्जालमा त्यति सक्रिय नभएकाले 'चोरी औंला' थिमको काम ट्विटरमा मात्र हालिरहेका छन्। कलाका साथीहरूमाझ पनि त्यो कामबारे नभनेकाले कला समुदायले कसरी मूल्यांकन गर्छ, त्यसबारे उनले सोचेका छैनन्।
'बरू मैले तस्बिरहरू कान्तिपुर, सेतोपाटी, अनलाइनखबर लगायत पत्रिकाबाट लिएको छु। तिनको स्रोत भने खुलाउनुपर्छ भन्ने लागिरहेको छ,' उनले भने, 'अहिलेसम्मका काममा दिएको थिइनँ। अबका काममा दिनुपर्ला।'
आफूलाई अन्तरमुखी र छायामा बसेर काम गर्ने बताउने उद्धवलाई भिडभाड मनपर्दैन। तर त्यहाँ भइरहेका गतिविधिमा उनको समर्थन छ। उनी टाढै रहेर आफ्नो कलामार्फत् आन्दोलनमा सरिक हुन चाहन्छन्। उनलाई त्यो कलाकारको दायित्वजस्तो पनि लाग्छ।
कुनै समय थियो, जब उनी आन्दोलनका प्रत्यक्ष हिस्सा थिए। २०६२/६३ को जनआन्दोलनताका ललितकलामा पढिरहेका उनी आन्दोलनमा सहभागी भएका रहेछन्।
'त्यति बेला युवा जोस र उत्साह थियो,' ३६ वर्षीय उद्धव भन्छन्, 'पछिपछि राजनीतिक अवस्था देखेर निराश भइयो। जति गरे पनि उस्तै त हो भन्ने हुँदो रहेछ।'
ललितकलामा स्नातकोत्तर गरेर उनी त्यहीँका शिक्षकसम्म भइसके। करिब तीन वर्ष त्यहाँ काम गरेर अहिले स्वतन्त्र रूपमा घरकै स्टुडियोबाट काम गर्छन्। त्यसबीच धेरै आन्दोलन भए। यसअघि उनले डाक्टर गोविन्द केसीको आन्दोलनताका 'सोलिडारिटी फर डाक्टर गोविन्द केसी' भनेर मान्छेका अनुहारमा साना अक्षर लेखिएका चित्रमा काम गरेका थिए।
अहिलेको नागरिक आन्दोलन भने उद्धवलाई विद्यार्थी उमेरको जोसजस्तै जोसिलो लागेको छ। राजनीति उल्टो दिशामा बगिरहेको समयमा युवा ऊर्जाले सही गति दिन खोजेको उनलाई महशुस भएको छ।
'सत्तामा बसेका मान्छेहरू जवाफदेही हुनुपर्छ, प्रश्नदेखि भाग्नु हुँदैन भनेर खबरदारी गरिरहेका हुन्,' उनले भने।