गुड फ्राइडे सिनेमा
काम, खानाको अति लोभ, लालच, आलस्य, रिस, घमन्ड, इर्ष्या- क्रिस्चियन धर्मभित्रका सात पाप हुन्। सस्पेन्स साइकोलोजिकल थ्रिलर 'सेभेन'को कथा यिनै सात पापको सेरोफेरोमा बुनिएको छ।
सेभेन मर्डर मिस्ट्री फिल्म हो। स्पागेटी खाँदै गरेको प्लेटमा मुख गाडिएको मोटो भद्दा शरीर, बाँधिएको हात, खुट्टा र चोटहरू। पहिलो हत्या भएको व्यक्तिको अवस्था यस्तै हुन्छ।
यो हत्याको अनुसन्धान गर्न डिटेक्टिभ लेफ्टिनेन्ट विलियम सोमरसेट र डेभिड मिल्स खटिएका छन्। सोमरसेट रिटायर्ड हुन लागेका प्रहरी हुन् भने मिल्स भर्खरै सरूवा भएर आएका अधिकारी हुन्। उनीहरूको अवस्था जस्तै उनीहरूको उमेर र स्वभाव पनि मिल्दैन। तर परिस्थितिले सँगै काम गर्न बाध्य छन्।
उनीहरूको हत्यारा पत्ता लगाउने काम थप जटिल बनिदिन्छ जब अनुसन्धान गर्ने क्रममा एकपछि अर्को हत्या हुन थाल्छ। उनीहरू हरेक पटक हत्याराले दिएको केही संकेत पछ्याउँछन्। तर पुलिसभन्दा चोर अगाडि भने झैं, हत्याराले उनीहरूलाई मात दिन्छ।
फिल्मको रमाइलो पनि यही हो। हत्यारा को होला भन्नेसँगै दर्शकलाई हत्याको प्रकृतिले पनि दुई डिटेक्टिभलाई झैं हैरान पार्छ। पहिलो हत्याजस्तै हरेक पटक हत्याराले अनौठो शैली अपनाएको हुन्छ। आक्रामक र भयानक रूपमा हत्या गर्ने हत्याराको उद्देश्य थाहा पाउन फिल्मभित्रका डिटेक्टिभ र दर्शक दुवैले अन्तसम्मै कुर्नुपर्छ।
सिरियल किलर फिल्ममा पाइने धेरै विशेषता मिल्दोजुल्दा भए पनि फिल्मको मुख्य हिस्सा अपराधको मनोवृत्ति केलाउनमा खर्च भएको छ। हरेक हत्या पहिलोभन्दा भिन्न छ, तर उत्तिकै भयानक पनि। अनुसन्धान क्रममै हत्याराले हरेक मानिसलाई मार्नुमा क्रिश्चियन धर्मभित्रका सात डरलाग्दा पापलाई कारण बनाएको हुन्छ।
यसले फिल्मको नाम अत्यन्तै सान्दर्भिक लाग्छ। यसमा सात हत्या र त्यसको पछाडिका सात कारणलाई सामान्य थ्रिलरभन्दा गहन रूपमा प्रस्तुत गरिएको छ। यो गहनता फिल्मको संवादमा भेटिन्छ।
निर्देशक डेभिड फिन्चरको यो फिल्ममा सोमरसेटको भूमिकामा मोर्गन फ्रिम्यान र मिल्सको भूमिकामा ब्राड पिटको अभिनय छ। थ्रिलर फिल्म भए पनि यी दुई चर्चित अभिनेताको केमेस्ट्रीले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ।
फ्रिडम्यान परिपक्व डिटेक्टिभ हुन् जसले आफ्नो पेसामा आउने कयौं जटिल परिस्थिति झेलिसकेका हुन्छन्। अर्कोतिर ब्राड पिट अपरिपक्व युवाको भूमिकामा छन् जसमा संकटसँग जुध्ने जोस त छ तर धैर्य कम छ। यो विपरीत स्वभावसँग जुध्न दुवै पात्र सुहाउँदो अभिनय गरेका छन्।
केही महत्वपूर्ण अवार्डमा मनोनित र पुरस्कृत सेभेन डार्क थ्रिलर फिल्मको सूचीमा दोहोरिइराख्ने नाम हो। केही निर्देशक फिल्मभित्र हिंसाको चित्रणबाट हामी बाँचेको समाजको अध्याँरो देखाउने विश्वास राख्छन्। सेभेन पनि त्यस्तै फिल्म हो, जसमा मान्छेको अँध्यारो पाटो खोजी गरिएको छ।
मिल्सकी गर्भवती श्रीमती र सोमरसेट बीचको मार्मिक संवाद एउटा उदाहरण हो। फिल्मको अन्तमा लेखक अर्नेस्ट हेमिङ्वेको भनाइ उद्धृत गर्दै सोमरसेट भन्छन्, 'यो संसार एकदमै सुन्दर छ। तर यसका लागि संघर्ष गरिराख्नुपर्छ।'
मोर्गन फ्रिडम्यानले निर्वाह गरेको चरित्र सोमरसेट त्यस्तै पात्र हुन्, जो निरन्तर संघर्षमा विश्वास गर्छन्।