पुरानो घरको भित्तामा दुई भगवानको पौभा: चित्र छ। ठाउँठाउँ चिरा परेको यो भित्तामा चित्रको रङ अनि चमक हराएर धमिलोजस्तो भइसक्यो।
त्यसैले त समुद्रमान सिंह श्रेष्ठको यो चित्र सजिवजस्तो लाग्छ। 'सप्तलोचनी तारा र आर्य तारा' नामक यो चित्र सोमबार ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा सार्वजनिक भएको छ।
चित्र अनावरण गर्दै मोनाका संस्थापक राजन शाक्यले भने, 'कुनै पनि चित्रको अनावरणलाई हामी त्यसको जन्मदिनका रूपमा लिन्छौं।'
समुद्रमानले भने अनावरणपछि हामीलाई त्यस चित्रबारे बताए।
'चित्रले समकालीन समयमा परम्परागत कलाको वर्णन गर्न खोजेको छ। अहिलेको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवम् विरासतको अवस्था यो पेन्टिङजस्तै छ,' उनले भने, 'यसको प्रारम्भिक अवधारणा २०७२ सालको भुइँचालोपछि आएको हो।'
उनले यस्ता पुराना धमिला चित्र काठमाडौं गल्लीका भित्ताहरूमा देखेका छन्। तर सरकारले यिनको संरक्षणमा चासो नदिएको देख्दा उनलाई लाग्छ, 'बरू हामीलाई यसको पुनर्निर्माण र संरक्षण गर्ने अनुमति दिए हामी आफैं गर्थ्यौं।'
अहिले चित्रकारको नाताले आफ्नो भनाइ सम्बन्धित निकायसम्म पुर्याउने माध्यम पेन्टिङ र क्यानभास बनेको उनी बताउँछन्।
समुद्रमानका अनुसार चित्रमा देखिएका दुई भगवान सप्तलोचनी तारा र आर्य तारा हुन्।
बोधिसत्व ध्यानक्रममा २१ देवी पुजिन्छन् जसलाई तारा भनेर चिनिन्छ। यी २१ देवीमध्ये सप्तलोचनी तारा (सेतो तारा) र आर्य तारा (हरियो तारा) तिब्बत र मंगोलियामा समेत संरक्षक देवीका रूपमा पूजनीय छन्।
लोचन अर्थात् संस्कृत भाषामा आँखा। भगवान सप्तलोचनीका सात आँखा छन्- खुट्टामा दुइटा, हातमा दुइटा र अनुहारमा तीनटा।
दर्शनशास्त्र अनुसार सप्तलोचनी हरेक समय सचेत हुन्छिन्। जुनसुकै काम गर्दा होसपूर्वक गरे गल्ती सम्भावना कम हुने सन्देश सप्तलोचनीको पेन्टिङले दिन्छ।
त्यस्तै, आर्य ताराले हरेक जीवलाई आफ्नो सन्तान सरह स्याहार गर्छिन् भन्ने मान्यता छ। बोधिसत्वहरू जस्तोसुकै समयमा आर्य तारा मद्दतका लागि पुग्छिन् भन्ने विश्वास राख्छन्। त्यसैले उनको बसाइ मुद्रा एक खुट्टा उठ्न सहज हुने शैलीमा तयार पारिने चित्रकार समुद्रमान बताउँछन्।
पेन्टिङको दार्शनिक अर्थ नबुझ्ने समूहले पनि त्यसको सौन्दर्य बुझ्न सक्छन्। र जसले पेन्टिङको अर्थ बुझ्छ, उसले जीवन दर्शन बुझ्न थाल्छ। एउटै सिंगो चित्रमा सम्पूर्ण जीवन दर्शन लुकेको हुन्छ। तर हरेक मान्छेको दृष्टिकोण र बुझाइ फरक हुने भएकाले कुनै पनि चित्र आफैंमा स्वतन्त्र हुन्छ।
यदि ती पेन्टिङबारे दर्शकको दिमागमा स्पष्ट चित्र आउँछ भने त्यसले उनमा ग्रहणशीलता बढाउने समुद्रमानको बुझाइ छ।
बज्रपाणी र तारा पेन्टिङका श्रृंखला बनाउने चित्रकार भनेर प्रख्यात समुद्रमानका अनुसार नेपाली संस्कृति कसरी मासिँदैछन् भन्ने उनले बनाएजस्ता कलाले पनि बताउँछन्।
'पेन्टिङ लगायत विभिन्न माध्यमबाट हाम्रा अग्रज पुर्खाले ऐतिहासिक कथा र विषय सँगाले। तर अहिले तिनै ऐतिहासिक विषयवस्तु जीर्ण अवस्थामा छन्,' उनले भने, 'पुराना संस्कृति तथा सम्पदा मासिनु भनेको इतिहास मासिनु बराबर हो। तिनको पुनर्निर्माण र संरक्षण आवश्यकता आफ्नो चित्रमार्फत बुझाउन खोजेको हुँ।'
उनी थप भन्छन्, 'यस चित्रमा परेका चिराले हाम्रो मौलिक तथा ऐतिहासिक कलामा देखिन थालेको फाटो बुझाउँछ। फितलो रङले हराउँदै गएको कला देखाउँछ। अनि भगवानको चित्र कोरिएको पर्खाल चर्केको देखाउनुले हाम्रो इतिहास उपेक्षित ढंगमा छाडिएको बुझाउँछ।'
तेल रङमा बढी चित्र बनाइरहेका समुद्रमानको यो चित्र 'एक्रेलिक' रङ प्रयोगमा बनेको छ जुन करिब डेढ महिनामा तयार भएको हो। उनको अर्को चित्र 'टिचिङ अफ बुद्ध' पनि मोनामा प्रसिद्ध छ। बुद्धले बज्रपाणीलाई शिक्षा दिइरहेको त्यहाँ देखाउन खोजिएको छ।
मान्यता छ- बज्रपाणीलाई उपदेश दिन बुद्धको सम्पूर्ण ज्ञानः धर्मधातु, आदर्श, समता, प्रतिपेक्षणा र क्रितानुष्ठान लागेको थियो।
प्रायः पेन्टिङमा बुद्धले भिक्षु वा शिष्यलाई उपदेश दिइरहेको देखाइन्छ। तर यसमा बुद्धले एक भयंकर रूप धारण गरेका बज्रपाणी बोधिसत्वलाई उपदेश दिइरहेका छन्।
'यसको मतलब बुद्धको पञ्चज्ञान सुनेर हरेक प्राणीलाई सजीव तुल्याएको छ,' यसबारे बताउँदै समुद्रमानले भने, 'सन् २०१८ देखि २०२० सम्ममा बनाएको यो चित्र मोनाको उद्घाटनका लागि बनाइएको हो।'
१४ वर्षको उमेरदेखि चित्र-यात्रा सुरू गरेका समुद्रमानले २०५० सालमा आफ्नो पहिलो पेन्टिङ बेचेका थिए। उनले नेपाल परम्परागत कलाकार संघ (एनएटिए) बाट छ महिने परम्परागत पौभा: चित्रकलाको कोर्स लिएका छन्। त्यसबाट उनले पेन्सिल स्केचको आधारभूत ज्ञान सिकेका थिए।
पारिवारिक पृष्ठभूमि चित्रकला नभए पनि समुद्रमानले चित्रकलातर्फको रूचिले फाइन आर्ट्समा स्नातक सकेका हुन्। १९ वर्षको हुँदा नै उनले 'द नेपाल एकेडेमी अफ फाइन आर्ट्स' बाट राष्ट्रिय अवार्ड पनि पाएका थिए।
तीन दशकदेखि चित्रकला यात्रामा 'द नेपाल एकेडेमी अफ फाइन आर्ट्स' का चार विभिन्न अवार्डबाट सम्मान पाएका उनी तीन अन्तर्राष्ट्रिय अवार्ड र अरनिको युवा पुरस्कारबाट पनि सम्मानित भइसके।
उनी परम्परागत पौभा: शैलीभन्दा आफ्नो काम तीन विधामा देखाउन खोज्छन्। 'मैले काममा पौभाको दर्शन र तत्वहरू पालन नगर्ने हुँदा यसलाई नव-पौभा पनि भन्न सकिन्छ,' उनले भने।