गितार सेसन
पेसाले प्राध्यापक—चिकित्सक डाक्टर राजेन्द्र कोजु सेतोपाटीमा गायकका रूपमा आए। यो भेटमा उनीसँग छोरा आयुष पनि सँगै थिए। कलेज पढिरहेका छोरा आयुष कोजुका संगीत ‘पार्टनर’ हुन्।
यी बुवाछोरा मिलेर घरभित्रै सांगीतिक माहोल बनाउँछन्। आयुष गायनसँगै गितार, पियानो, किबोर्ड र बाँसुरी बजाउँछन्। गाउन रूचाउने डाक्टर कोजु भने हार्मोनियम र माउथ अर्गान बजाउन जान्दछन्।
‘संगीत मेरो पेसा होइन, रहर मात्र हो। छोराले बजाएर मैले गाउँदा रमाइलो लाग्छ। हामी एउटै गीत सँगसँगै गाएर रमाइरहेका हुन्छौंं,’ डाक्टर कोजुले भने।
मुटु विशेषज्ञ कोजुको दैनिकीको धेरै समय बिरामीको उपचारमा बित्छ। धुलिखेल अस्पतालका डिन भएकाले प्राध्यापन र व्यवस्थापन जिम्मेवारी छँदैछ। तर जतिसुकै व्यस्त भए पनि उनी संगीतका लागि समय निकाल्छन्।
डाक्टर कोजु सानो छँदा भजन गाउँथे। बिहानै रेडियो नेपालमा बज्ने भक्तराज आचार्यका भजनहरू उनलाई विशेष मनपर्थ्यो। कलेज पढ्ने उमेरमा उनी नारायणगोपाल, अरुणा लामा, तारादेवी, बच्चु कैलाश आदिका गीत गुनगुनाउन थाले।
‘तर जीवनको प्राथमिकता डाक्टर बन्नु थियो। कलेजका सानातिना कार्यक्रममा गाउनेभन्दा बढी गायनमा सक्रिय हुन सकिएन,’ उनले भने।
पछिल्ला केही वर्षदेखि भने उनी अलि खुल्न थालेका छन्। फेसबुक, ट्विटर, युट्युब र आफ्ना विद्यार्थीसामु पनि उनी गाइरहेका देखिन्छन्, भेटिन्छन्।
डाक्टर कोजुका दुई छोरा छन्। ती दुवैले संगीतमा रूचि र सक्रियता देखाएकाले आफ्नो गाउने रहर झनै बढेको उनी बताउँछन्। उनले भने, ‘उमेर बढ्दै गएर हो कि, अरूका अगाडि गाउन पहिलाजस्तो संकोच पनि लाग्दैन।’
डाक्टर कोजु ५३ वर्षका भए। उनी र छोरा आयुषबीच ३५ वर्ष अन्तर छ। यो दुरीले उनीहरूको संगीत छनोटमा फरक पार्ने नै भयो। तर समय र उमेरको अन्तरले उनीहरूलाई टाढा पुर्याएको छैन। बरू संगीतकै कारण बुवाछोरा साथीजस्ता भएका छन्।
डाक्टर कोजु नेपाली आधुनिक संगीत सुनेर हुर्किए। उनका छोराहरू पप, रक पुस्ताका संगीतमा रमाउने भए। फरक रूचि भए पनि बुवाछोराबीचको संगीत—संगतले उनीहरू एकअर्काले रूचाउने गीत पनि सुन्ने र मन पराउने भएका छन्।
अचेल डाक्टर कोजु, अहिलेको पुस्ताका चर्चित नितेशजंग कुँवर, सजनराज वैद्य र विपुल क्षत्रीका गीत मन पराउँछन्।
उनका छोराहरू बच्चु कैलाश र नारायणगोपालका गीत गुनगुनाउँछन्।
तिम्रो रंगीन त्यो भित्तामा, मेरो ब्ल्याक एन्ड ह्वाइट फोटो तिमी टाँस न..
मेरो कोइ नि नहाँस्ने चुट्किलामा, तिमी मूर्च्छा परी हाँस न
गितार सेसनमा डाक्टर कोजुले छोरा पुस्ताका चर्चित गायक नितेशजंग कुँवरको यो गीत छोराकै साथमा मज्जा मानेर गाए। उता आयुषले पनि आफू जन्मिनुभन्दा दशकौं पुरानो बच्चु कैलाशको गीत उत्तिकै आनन्द लिँदै गुनगुनाए—
टाढा टाढा जानु छ साथी, एक फेर हाँसी देऊ...
आयुषले भने, ‘संगीतले गर्दा नै हामी बुवाछोराबीचको जेनेरेसन ग्याप कम भएको छ। उहाँसँग एकदमै क्वालिटी टाइम बिताउन पाएको छु।’
यी बुवाछोरा संगीतले फरक समय र फरक शैलीमा बाँचेका मानिसलाई पनि कसरी जोड्छ भन्ने उदाहरण बनेका छन्।
डाक्टर कोजुले आयुषको कुरामा आफ्नो मत राख्दै भने, ‘सँगै गाउने बजाउने नभएको भए हामी बुवाछोराको गफ पनि कम हुन्थ्यो होला। संगीतले हाम्रो दुरी घटाएको छ।’
डाक्टर कोजु छोराका कारण नेपाली मात्र नभई कतिपय राम्रा विदेशी गीत-संगीत पनि सुन्ने अवसर पाएको बताउँछन्। ‘साथीहरूले कस्तो कुल ड्याडी भन्छन्। कतिले त डाह नै गर्छन्,’ आयुषले पनि दंग पर्दै भने, ‘उहाँ त डाक्टर नभएर गायक हुनुपर्ने पनि भन्छन्।’
सामाजिक सञ्जालमा यी दुईको चर्चा गर्नेहरू पनि धेरै छन्। कोजु बुवाछोराले गाएको ‘राजमती कुमती’ को कभर गीत सामाजिक सञ्जालमा हजारौंले सेयर गरेका छन्।
डाक्टर कोजुको गायक छवि छोराका साथीहरू बीच मात्र नभई आयुषको स्कुलका शिक्षक-शिक्षिकामाझ पनि परिचित रहेछ। प्लस टु सकाएका आयुषले केही गीत रेकर्डसमेत गराइसकेका छन्। डाक्टर कोजु शब्द लेखेर वा केही शब्द सच्याइदिएर छोराको संगीत यात्रामा साथ दिइरहेका छन्।
आफूले संगीतलाई व्यावसायिक रूपमा अघि बढाउन नसके पनि छोरा संगीतमै लाग्न चाहे साथ दिने डाक्टर कोजु बताउँछन्। उनले भने, ‘उसले एमबिबिएस गर्ने सोचेको छ। संगीत पनि गरिररहेको छ। अहिले मल्टी प्रोफेसनको जमाना छ। उसले जे चाहन्छ, त्यही गर्न दिने हो।’
डाक्टर कोजु संगीतबाहेक चित्रकलामा पनि रमाउँछन्। गीत, कविता पनि लेख्छन्। ‘एउटा उपन्यास लेखिरहेको थिएँ। कम्प्युटर बिग्रेर ड्राफ्ट हरायो। उपन्यास त लेख्दैछु तर हेरौं पूरा गर्न सक्छु कि सक्दिनँ,’ उनले सुनाए।
संगीत उनका लागि मानसिक तृप्ति दिने माध्यम हो। त्यसैले उनी गीत रेकर्ड नगराएका गायकको परिचय मात्रमा पनि सन्तुष्ट छन्। तै पनि उनले उत्साहका साथ संगीतसँग जोडिएको इच्छा सुनाए। भने, ‘छोरासँग मिलेर गीत रेकर्ड गराउने रहर छ।’