गितार सेसन
प्रवेश कोइराला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि महाशाखाका प्राविधिक अधिकृत हुन्। उनले पुल्चोक इञ्जिनियरिङ कलेजबाट कम्युटर इञ्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्।
उनको विभागले डिजिटल नेपाल, नागरिक एप, साइबर सुरक्षालगायत विषय हेर्छ। जसमा उनी समन्वयकर्ताका रूपमा संलग्न छन्। निजामती पेसा र प्राविधिक क्षेत्र प्रवेशको व्यक्तित्वको एउटा पाटो मात्र हो।
उनको अर्को पाटोमा कला क्षेत्र जोडिएको छ। उनी गाउन, बजाउन र लेख्न रमाउँछन्। कार्यव्यस्तता र प्राथमिकता कार्यालयका काममा भए पनि उनले गाउने-बजाउने रहर मर्न दिएका छैनन्।
प्रवेशको परिवारका सदस्य संगीत भनेपछि हुरूक्क हुने खालका छन्। उनकी आमा र दिदी राम्रै गाउँछन् रे! उनका बुवा भने लुकिछिपी गुनगुनाउँछन्। घरको यस्तै माहोलमा हुर्केका प्रवेश र उनका भाइ प्रसन्न कोइरालाको संगीत रूचि र सीप झांगियो।
उनीहरू गितार, हार्मोनियम, बाँसुरी, किबोर्ड आदि बाजा बजाउँदै घरमै महफिल जमाउने भए। यस्तै जमघट कलेज, पिकनिक हुँदै रेकर्डिङ स्टुडियोसम्म हुन थाल्यो।
त्यसपछि यी दाजुभाइ मिलेर 'कोइराला ब्रोज' नामको अनौपचारिक ब्यान्ड खोले। यही नामबाट युट्युब च्यानलसमेत खोलेका छन्।
सेतोपाटी गितार सेसनका अतिथि प्रवेशले भने, 'हामीले औपचारिक तालिम नलिए पनि शास्त्रीय संगीतसँग परिचित छौं। मेरो रूचि लेखन र संगीतमा बढी हो। भाइ मभन्दा राम्रो गाउँछ।'
हाल उनका भाइ औपचारिक शिक्षाका लागि अमेरिका पुगेका छन्। आफ्नोभन्दा भाइको स्वरको प्रशंसा गरे पनि प्रवेश आफैं राम्रा गायक हुन्।
उनको लेखन र गायन क्षमता थाहा पाउन 'कोइराला ब्रोज' मा भएका केही भिडिओ हेरे पुग्छ। यो च्यानलमा कोइराला ब्रोजका रेकर्डेड गीत र अनौपचारिक ज्याम सेसनका भिडिओहरू छन्।
कोइराला ब्रोजको जन्म पुल्चोक इञ्जिनियरिङ कलेज पढ्ने क्रममै भएको हो।
दाइ-भाइ एउटै कलेज पढ्थे। करिब चार वर्षअघि प्रवेशको शब्दमा प्रसन्नले 'बन्जारा' गीत बनाए। यो गीत पुल्चोक कलेजका विद्यार्थीमाझ यति लोकप्रिय भयो, साथीभाइकै दबाबमा उनीहरूले गीत रेकर्ड गराए।
गीतले भन्छ-
बेतोडको हावामा च्यातिएको चंगा सरी
उर्लिएको नदीमा छाडिएको डुंगा सरी
हराएको छु म यो कहाँ म आएको छु
घमी हिँड्ने जग सारा म बन्जारा...
सेतोपाटी गितार सेसनमा यो गीत गाउँदै उनले भने, 'यो गीतबाट पाएको सकारात्मक प्रतिक्रियापछि म पनि लेख्न सक्ने रहेछु भन्ने आत्मविश्वास बढायो।'
कोइराला ब्रोजमा व्यवसायिक रूपमै संगीतमा लागे आफ्नै अलग छाप छोड्न सक्ने सम्भावना छ। तर प्रवेश भन्छन्, 'हामीले उत्पात्तै मच्चाउँला भनेर ब्यान्ड खोलेका हैनौं।'
उनका अनुसार उनी र प्रसन्नले आफ्नो रूचि र सिर्जनात्मक क्षमतालाई डायरीमा सीमित नराखी अरूसँग साट्न 'कोइराला ब्रोज' लाई माध्यम बनाएका हुन्।
तर निजामती सेवा प्रवेश गरेपछि उनको कलेजकालीन फुर्सद खोसिएको छ। उनका भाइ पनि सात समुद्रपारि छन्।
'त्यसैले पहिला जस्तो लेख्न र संगीत बनाउन कम भएको छ,' उनले भने, 'फेरि पहिलाजस्तै समय नआउला। तर नयाँ गीत-संगीत बनाउन भने छाड्ने छैनौं।'
गीत-संगीतले मानिसलाई परिचय दिन्छ। तर परिचयका लागि संगीत नगर्नेहरूलाई पनि यसले धेरै थोक दिइरहेको हुन्छ। प्रवेशका लागि पनि संगीत सामान्य नाम वा चर्चा कमाउने माध्यम मात्र हैन।
उनले भने, 'संगीतले मलाई अरूको भावना बुझ्न सिकाएको छ नै, आफ्नै भावना महसुस गर्न पनि सिकाएको छ।'
राज्यको महत्वपूर्ण संयन्त्रमा काम गरिरहेका प्रवेश विज्ञान प्रविधिजत्तिकै कला र संगीतलाई पनि राज्य र समाजले प्राथमिकता दिनुपर्ने बताउँछन्।
उनले भने, 'आफूजस्तै मान्छेप्रति सहानुभूति भाव जगाउन र उनीहरूको भावना बुझ्न संगीत जस्तो महत्वपूर्ण विधा अर्को छैन। बालबालिकालाई सानै उमेरदेखि संगीत सिकायौं भयो भने उनीहरू असल मान्छे बन्नेछन् भन्ने मेरो विश्वास छ।'
उनी संगीतको भावनात्मक महत्वबारे पनि जोड दिन्छन्, 'म आफूले दैनिक जीवनमा अभिव्यक्त गर्न नसकेका कुरा गीत वा कविताबाट पोखिरहेको हुन्छु।'
त्यही भएर सिंहदरबारको हलवे प्यासेजहरूमा पनि उनी थाहै नपाइ गुनगुनाइरहेका हुन्छन्। उनलाई त्यस्तो बेला भेट्नेहरू भन्छन्, 'राम्रै गाउनुहुँदो रैछ।'
कार्यालयमा औपचारिक रूपमा पेस आउनुपरे पनि सामाजिक सञ्जालमा प्रवेश अनौपचारिक रूपमा प्रस्तुत हुन्छन्। त्यस्तो बेला मान्छेहरू अचम्म मानेर प्रतिक्रिया दिन्छन् रे!
उनी भन्छन्, 'हामी निजामती कर्मचारी भयौं भन्दैमा सबैले लेख्न, गाउन वा बजाउन नआउने हो र? तर हामीलाई अरूले त्यसरी नसोचेको हो कि भन्ने लाग्छ।'