गुड फ्राइडे सिनेमा
गलत ठेगानामा पुग्ने चिठीजस्तै अलेक्जान्ड्रिया सेरेमोनियल पुलिस अर्केस्ट्रा इजिप्टका आठ सदस्य चढेको बस गलत गन्तव्यमा पुगेर रोकिन्छ। पेताह तिक्वा अरब कल्चर सेन्टर पुग्नुपर्ने उनीहरू इजरायलको बेतह तिक्बा पुग्छन्।
अक्सर नयाँ ठाउँमा भुलवश पुग्ने पात्रहरूले फिल्ममा दुःख पाएको देखाइन्छ। तर यो अर्केष्ट्रा समूहको यात्रा अनुभव अलग छ।
ब्यान्ड बसबाट झरेको ठाउँ मरूभूमिको बीचमा रहेको सुनसान बस्ती हुन्छ। उनीहरू संगीत प्रस्तुतिका लागि पुग्नुपर्ने अरब कल्चर सेन्टर चार सय पचास किलोमिटर टाढा हुन्छ।
ब्यान्ड सदस्यहरूले आफ्नो सही गन्तव्यमा पुग्न एकरात त्यहीँ बिताउनुपर्ने हुन्छ। उनीहरूसँग त्यहीँ नजिकै रेस्टुरेन्ट चलाउने डिनाको सहयोगमा खाने बस्नेबाहेक अर्को विकल्प हुँदैन।
मनकारी डिनाले ब्यान्ड सदस्यलाई आफू र आफ्ना साथीहरूकहाँ बास बसाउने चाँजोपाँजो मिलाउँछिन्।
फिल्म दुई फरक देशका यही अल्पवासको कथा हो। त्यसैले यी दुई देशको सीमा क्षेत्रमा हुने पात्रहरूको भेट रोचक लाग्छ। उनीहरूको भेट अवधि छोटो तर अर्थपूर्ण छ। फिल्मको कथा डिनाको अपार्टमेन्टमा बास बस्न जाने ब्यान्डका जनरल ब्यान्ड सदस्य र डिनाको सेरोफेरो घुमेको छ।
कथाभित्र कुनै ठूलो घटना वा दुर्घटना बिना एक अर्कासँग बिताउने केही पल, संकोच र उत्सुकताले भरिएका केही बातचित मात्र छन्। एकअर्कासँग अपरिचित यी पात्र हाउभाउबाट पनि धेरै बोलिरहेको दर्शकलाई थाहा हुन्छ। पात्रसँगै स्क्रिनमा आउने रित्ता र शून्य ठाउँले यी पात्रको मनभित्रको खालीपन इंगित गरिरहन्छ।
तर यो निरश फिल्म होइन। फिल्ममा फरक देश र संस्कृतिको जम्काभेटले ठाउँ-ठाउँमा दर्शकलाई हसाउँछ। यी पात्रहरू एक अर्काप्रति पूर्ण रूपमा प्रेममा नपरी आकर्षित भइदिन्छन्। थाहै नपाइ आफूभित्रको आफैंलाई संकोचसहित पोखिदिन्छन्।
फिल्मका मुख्य पात्रहरूले बाटो हराए पनि जीवनमा नयाँ कुरा पाउँछन्। यो प्राप्ति आफ्नै विगत र वर्तमानलाई बुझ्ने अवसर बन्छ। यो अवसरले उनीहरूलाई वैरी देशका मानिसको भावना र व्यवहार चिनाउँछ। आपतमा परेका बेला सहयोग गर्ने इजरायली डिना र सहयोग माग्न बाध्य अवस्थामा पनि अनुशासित जनरल दुवैले मन जित्छन्।
यो त भयो कथा। फिल्मको सुरूमै भनिए जस्तै यो कुनै महत्वपूर्ण घटना होइन। तर संसारमा दैनिक यस्ता स-साना घटना भइरहन्छन्। ती मसिना घटनाले मानिसको जिन्दगीमा दीर्घकालीन असर पारिरहेको हुन्छ। यो फिल्मका पात्रको जीवनमा पनि यो भ्रमण त्यस्तै असर पार्ने खालको छ।
सामान्यजस्तो लाग्ने यो कथा बाँच्ने पात्रहरू पनि सामान्य छन्। तर उनीहरूको भूमिका निर्वाह गर्ने कलाकारले असामान्य अभिनय गरेका छन्। खास गरी डिनाको भूमिकामा रोनित एल्काबेज, ब्यान्ड जनरल ताफिक र ब्यान्ड सदस्य खालिदको भूमिकामा सलेह बकरीको अभिनयले ध्यान खिचिरहन्छ।
ब्यान्डको भ्रमण नाम भएको यस फिल्ममा संगीत राम्रो हुने नै भयो। संगीत कथाको महत्व हिस्सा पनि हो। इरान कोलिरिनले निर्देशन गरेको 'द ब्यान्ड्स भिजिट'का संगीतकार शहदाह हुन्।
इजरायलको महत्वपूर्ण पुरस्कार जित्न सफल सन् २००७ को कान फेस्टिभलमा अन सर्टेन रिगार्ड विधामा अवार्ड जितेर अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो। यो फिल्मको संगीतले पनि इजरायली ओफिर अवार्ड जितेको थियो।