गितार सेसनः
सम्पादकीय नोटः फरक पेसा-व्यवसायमा रहेका तर गीत गाउन सौखिनहरूका लागि हामीले गितार सेसन सुरू गरेका हौं। यो सेसनमा गितार नै बजाउनुपर्छ भन्ने छैन। तपाईंहरूले गीत मात्र गाउन सक्नुहुन्छ वा आफूले जानेका अन्य बाजाहरू पनि बजाउन सक्नुहुन्छ। सेतोपाटी गितार सेसनमा सम्पर्क गर्न इमेल गर्नुहोस्- setopati@gmail.com
एक वर्षअघि लकडाउन घोषणा हुनेबेला सरोज दाहाल विदेश जाने अन्तिम तयारीमा थिए। विदेश जान गर्नुपर्ने पूर्वतयारी सकिसकेका उनी लकडाउनपछि धेरै मानिसजस्तै घरमै थुनिन बाध्य भए।
घरबाहिर निस्कन नपाउने समयमा संगीतबाहेक उनको अर्को साथी भएन। एक समय संगीतबाट टाढा हुने सोचेका उनी युट्युबमा कभर गीतहरू अपलोड गर्न थाले।
सरोजले गाउन बजाउन थालेको लकडाउनपछि मात्र भने होइन। उनले नेपाल आइडलका प्रि-जज राउन्डका दुई चरण पार गरेका थिए।
तर नेपाल आइडलमा भाग लिइरहेकै बेला उनी बिरामी भएछन्। मेलम्ची, सिन्धुपाल्चोकका उनीमाथि त्यही बेला घरबाट जागिर खाने दबाब पनि आएछ।
उनले भने, 'त्यसपछि कुरिनटार गएर विद्यालयमा पढाउन थालेँ। पढाउन थालेपछि संगीत आफ्नो होइन भनेर मन बुझाउन थालेँ।'
तर शिक्षण उनको अल्पकालीन काम थियो। उनको ध्येय विदेश जानु थियो। विदेश जान नपाएपछि सरोजका लागि लकडाउन गीत संगीतमा फर्कने बहाना बन्यो।
'फ्याट्टै लकडाउन भइदियो। विदेश जान भनेर जम्मा गरेको पैसाले वाद्यवादनहरू किनेँ,' उनले भने। सरोजले गितार, किबोर्डलगायत घरमै संगीत र भिडिओ रेकर्डिंङ गर्न पुग्ने उपकरणहरू पनि जोडे।
कोठामा बाजा र उपकरणहरू थपिएपछि उनको सानेपास्थित कोठा अचेल मिनी स्टुडियोसरह भएको छ। यही कोठामा बसेर उनी एउटा गीत बनाउन चाहिने सबै काम गर्न सक्छन्। 'लकडाउनको फाइदा भनौं, सानो सानो कुरा सिकियो। संगीतमा पनि धेरै समय दिन पाइयो,' २५ वर्षीय सरोजले भने।
राम्रा गीतको कभर गीत गाउँदा गायनशैली निखार्न र आफूलाई चिनाउन सहयोग मिलेको बताउँछन्। पछिल्ला ६ महिनामा आफ्नो गीत सुन्ने र प्रतिक्रिया दिने स्रोता दर्शक बढेको उनले बताए। पप तथा आधुनिक गीत गाउने उनी पाकिस्तानी स्लो रक विशेष मन पराउँछन्।
सन् २०१६ मा युट्युब च्यानल खोले पनि उनी लकडाउनपछि बल्ल सक्रिय बने। उनले चार वर्षअघि नै कागजका पाना बोलको गीत रेकर्ड गराएका थिए। सरोजले भने, 'आफ्नो गीत रेकर्ड गराउन खर्चिलो हुन्छ। आफ्नै गीतले सुरूमै चिनिन पनि सजिलो छैन। त्यसैले कभर गीतका भिडिओहरू राख्न थालेँ।'
जति धेरै गीत गायो त्यति अरूलाई सुनाउने रहर पनि लाग्ने भएकोले युट्युबमा सक्रियता बढेको उनको भनाइ छ। यही क्रममा उनले रेकर्ड गर्ने, भिडिओ खिच्ने र संगीत संयोजन गर्नेलगायत आवश्यक प्राविधिक ज्ञान पनि सिके।
गीत लेख्ने, गाउने, बजाउने र भिडिओ खिच्ने सबैजसो काम आफैं गर्दा उनलाई झन्झट नलागेर रमाइलो लाग्ने बताउँछन्। यसलाई उनी प्रविधिमा पहुँच बढनुको फाइदा भन्छन्।
उनले भने, 'युट्युब र अन्य सामाजिक सञ्जालले गर्दा आफूजस्तै धेरैलाई सोलो प्रोजेक्ट गर्न सजिलो भएको छ।'
गत बिहीबार उनले आफ्नो युट्युब च्यानलमा नयाँ गीत 'आशाको ज्योति' सार्वजनिक गरेका छन्। लकडाउनको समयमा लेखेको यो गीतमा उनले दैनिक जीवनका अनुभूति उतारेको बताए।
उनले सेतोपाटी गितार सेसनमा गाएर पनि सुनाए,
आशाको ज्योति लिएर
झिसमिसे सूर्य आकाशमा
चिरबिर चिरबिर आवाजसँगै
उत्साह उमंग मानिसमा ...