नेपाली र्याप-हिपहप र विराटनगरको पुरानो सम्बन्ध छ। नेपालमा र्याप भित्र्याउने श्रेय पाएका र्यापर गिरीश खतिवडा यहीँका हुन्।
उनले 'विराटनगरको हुँ म धन' भन्दै र्यापसमेत बनाएका छन्। गिरीशपछि विराटनगरकै सुदिन पोखरेलले पनि र्यापको दुनियाँमा नाम कमाए। गिरीशले काठमाडौं र सुदिनले अस्ट्रेलियाबाट आज पनि नयाँ र्याप रचिरहेका छन्।
र्यापको उर्वर भूमि विराटनगरमा यो विधाप्रति आकर्षित युवा जमातको कमी हुने कुरै भएन। यही जमातबाट २५ वर्षीय शैलेश निरौलाले र्यापको विरासत धान्ने बलियो संकेत देखाएका छन्।
यो नयाँ वर्षमा उनले सार्वजनिक गरेको 'रामनारायण यादव' गीत यसकै प्रमाण हो।
'भैया र धोती भनेर हेपिनु, कालो वर्ण र फरक लवजका आधारमा हाँसोको पात्र बनाइनु आम मधेसवासीले भोग्ने विभेद हुन्,' शैलेश भन्छन्, 'रामनारायण यादव गीतमा यस्तै विभेद भोगेका पात्रको कथा भनेको छु।'
कसैको रूपरंग र लवाइका आधारमा पूर्वाग्रह राख्ने र विभेद गर्ने अधिकार कसैलाई हुँदैन। मधेसी मूलका नेपालीले भोग्ने विभेदप्रति असन्तुष्टि र आक्रोश पोखिएको छ 'रामनारायण यादव' मा।
गायकको घर विराटनगर भए पनि गीतका पात्र रामनारायण सिराहावासी हुन्। काठमाडौं, त्रिचन्द्र कलेज पढ्ने उनले कक्षामा प्रश्न सोध्दा आफ्नो भाषा र लवजका कारण अपमान झेलेका छन्। नाम हुँदाहुँदै 'भैया' भनेर बोलाएको सुन्नु पर्दा उनको चित्त कुँडिएको छ। धेरैपटक झोंक पनि चलेको छ। गीतमा यी दुवै भाव भेटिन्छ।
विराटनगरको पूर्वी भेग कटहरीमा हुर्केका शैलेश भन्छन्, 'पहाडी र मधेसी समुदायका मानिसबीच हुने विभिन्न खाले विभेद सानैदेखि देखेकाले यो विषयमा र्याप गाएको हुँ।'
नौलो ठाउँ पहिलोचोटि आउँदा काठमान्डु सहर
गर्दा चिनजान कोही साथीको बेग्लै थ्यो नजर
सुनेर बोली हो कि अनुहारको कलर
मास्टरलाई प्रश्न सोध्दा नि हाँसो चल्थ्यो क्लासभर...
विभेदको यस्तो रूप भौतिक स्थलमा मात्र सीमित छैन, सामाजिक सञ्जालमा पनि छताछुल्ल भइरहेको हुन्छ। गीतमा यो कुरा उनले यसरी उतारेका छन्,
अचम्म काँ भने अपरिचित मान्छे भेट्दा खेरी
भैया भनी बोलाउँछन् जुन मलाई मन पर्दैन त्यति
अर्कै सम्बोधन नि छ सोसल मिडियामा फेरि
अबुझले भन्दिन्छन् धोती रिस उठ्दा खेरी...
मधेसवासीको राष्ट्रियतामाथि शंका गरिनु र उनीहरूलाई भारतीयका रूपमा हेर्ने संकीर्ण मानसिकतामाथि पनि उनले बोलेका छन्,
छातीमा राख्या छु देश मधेस त बासस्थान हो
तिमी जस्तै म नि नेपाल आमाको सन्तान हो...
मधेसवासीका भोगाइ र भावना प्रतिनिधित्व गर्ने 'रामनारायण यादव' सामाजिक सद्भावको पक्षमा वकालत गर्ने गीत हो। सेतोपाटीसँग टेलिफोन संवादमा शैलेशले भने, 'रामनारायण यादवमा मैले कक्षा कोठाका साथीहरूको भोगाइ र छिमेकी काकाको दुःख मिसाएको छु।’
तर र्याप बिलौना मात्र गाउने विधा हैन। र्यापमा सामाजिक विसंगतिबारे आगो ओकलिन्छ। रामनारायण यादवको आक्रोश पनि कम छैन,
बुद्धिमानीको विश्लेषण मलाई छैन रे देशभक्ति
अनुहार छिमेकी झैं झुकाव नि उतै छ रे बढी
म आफ्नो राष्ट्रियताको प्रमाण दिउँ कसरी !
यो शैलेशको चौथो गीत हो। उनको पहिलो गीत 'छोरी एक कथा' निर्मला हत्याकाण्डबारे थियो।
पहिलो गीतमै प्रशंसा पाएका उनको दोस्रो गीत 'भिआइपी सवारी' चर्चित भयो। युट्युबमा उनको यो गीतको भिडिओले २६ लाख बढी भ्युज पाइसकेको छ। 'शब्दजाल' नामबाट गाउने शैलेशको यो गीतको शब्द बुनाइ पनि मिठो छ। 'गणतन्त्रमा राजकीय चाल' भन्दै यसमा उनले राष्ट्रपतिको विवादित तामझामपूर्ण सवारीमाथि कटाक्ष गरेका थिए।
यसपछि उनको 'आमालाई फोन' गीत सार्वजनिक भयो। परिवारको सुख र आफ्नो भविष्यको खोजीमा घरभन्दा टाढा बस्ने युवाप्रति समर्पित यो गीतमा आफ्नै साथी र आफ्ना अनुभवसमेत मिसाएको उनी बताउँछन्।
आधुनिक वा पप गीत दस/बाह्र हरफका हुन्छन्। तर र्यापमा त्यही अवधिमा ६० भन्दा बढी हरफ बन्छ। थोरै समयमा धेरै भन्न पाइने र्यापको विशेषतालाई शैलेशले भरपुर प्रयोग गर्दै आएका छन्। सामाजिक-राजनीतिक विषयमा लेख्ने-गाउने शैलेशलाई र्यापबाट गर्न पाइने 'स्टोरी टेलिङ' मनपर्छ। उनी र्यापमा तानिनुको मुख्य कारण यही हो।
सानैदेखि संगीत मनपर्ने उनी नवीन के. भट्टराई, सुगम पोखरेल, सुदिन पोखरेलका गीत सुनेर हुर्किए। तिनै गीत गुनगुनाए। अलि पछि, एमसी फ्लो र यमबुद्ध सुन्न थाले। जब यमबुद्धको 'साथी' सुने, उनलाई आफूले वर्षौंदेखि खोजिरहेको साथी भेटेझैं भयो। त्यसबेला उनी प्लस-टु पढ्थे।
'साथीको स्टोरी टेलिङले एकदमै प्रभाव पार्यो। मलाई लाग्यो, मैलै सोचेको, खोजेको र पर्खेको गीत यस्तै हो,' उनले भने, 'पहिला गीत लेख्थेँ। अब चाहिँ साथीजस्तै र्याप लेख्न सक्छु भन्ने भावना आयो।'
हरेक कलाकारको सिर्जनामा उसको सोच र जीवनशैली प्रतिविम्बित भइरहेको हुन्छ। आफूलाई किसान र मजदुरको सन्तान भन्ने शैलेशका बुवा हाल सुरक्षा गार्डको काम गर्छन्। उनी भने मेडिकल रिप्रेजन्टेटिभ (एमआर) हुन्। घरका जेठा छोरा उनले सानैदेखि व्यावहारिक जिम्मेवारी ग्रहण गरे। समाज र देशका समसामयिक मुद्दामा आफूलाई अपडेट राख्ने प्रयास गर्छन्।
'धेरैको दिमागमा र्यापर भन्ने बित्तिकै ट्याटु खोपेका, उल्टो क्याप लगाउने, डाङडुङ गर्ने भन्ने छवि आउन सक्छ। तर मेरो गेटअप र जीवनशैली त्यस्तो छैन। पारिवारिक र सामाजिक रूपमा सक्रिय सामान्य मान्छे हुँ। मेरो जीवनशैली सरल छ,' उनी भन्छन्।
उनको सरलता र समाजप्रतिको सरोकार उनका गीतमा प्रतिविम्बित हुन्छ। यही कारण स्रोता-दर्शकले उनका गीतमा आफैंलाई भेटिरहेका छन्। उनका गीतमा आएका टिप्पणीका आधारमा भन्न मिल्छ, शैलेश आफ्ना गीतमार्फत समाजसँग संवाद गरिरहेका छन्।
र्याप विधाले अलिकति आक्रोश र 'अटिट्युड' पनि माग गर्छ। भिडिओमा स्रोता-दर्शकले अपेक्षा गर्नेबाहेक सामाजिक मुद्दामा बोल्न पनि 'बोल्डनेस' चाहिन्छ। शैलेश र्याप लेख्ने बेला नै यो कुरा यसरी भन्नुपर्छ भनेर खाका बनाउने बताउँछन्।
'अनि गीतको भाव भिडिओमा ल्याउने प्रयास गर्छु। म मान्छे अलि शान्त भएकाले भिडिओमा देखिने मै हुँ भनेर धेरैले पत्याउँदैनन्,' हाँस्दै भने।
साकार श्रेष्ठले निर्देशन तथा सम्पादन गरेको पछिल्लो गीत रामनारायण यादवमा उनी र्यापरका रूपमा प्रस्तुत भएका छन्। रामनारायणको भूमिकामा सागर विश्वासको अभिनय छ। उनको अभिनय र हाउभाउमा पनि गीतका शब्दले माग गर्ने खालकै आक्रोश र एटिट्युड भेटिन्छ।
रामनारायण यादव गीतमा बिट म्युजिक प्रोड्युसर अभिजंग क्षेत्री (एएनएक्समस) ले दिएका छन्। अभिजंग र शैलेश पहिलो गीतबाट निरन्तर सहकार्य गरिरहेका छन्। विराटनगर गुरुकुल नाटकघरको स्टेजमा छायांकन भएको गीतमा काम गर्ने कलाकार धेरै पूर्वी नेपालका हुन्।
उनले भने, 'विराटनगर बसे पनि लेटाङ र धरानका साथीसँग समेत मिलेर काम गरिरहेको छु।'
सुरूसुरूमा काठमाडौंबाहिर बसेर स्रोतासम्म पुग्न गाह्रो हुने हो कि भन्ने सोच्थे उनी। तर अहिले चर्चित र्यापर युनिक पोयट, मानस घले र यश कुमारजस्ता गायकबाट तारिफ पाएर दंग छन्। नेपालबाहिर रहेका स्रोता-दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेका छन्।
'छोरी एक कथादेखि रामनारायण यादवसम्म आइपुग्दा सामाजिक विषयमा र्याप गाएर प्रशंसा कमाउन सकिन्छ भन्ने अनुभव मिलेको छ। उत्साहित छु,' उनले भने।
तराई-मधेसका भए पनि पहाडी मूलका भएकाले रामनारायण यादव सार्वजनिक गर्नेबेला उनमा धुकचुक थियो। भने, 'सबै मधेसीलाई पहाडी समुदायका मानिसले कहाँ हेप्छन् भनेर हप्काउने हुन् कि भन्ने डर लागेको थियो।'
तर गीतबाट पाएका प्रतिक्रियाले उनको आत्मविश्वास बढाइरहेको छ। एक स्रोताले भिडिओको कमेन्ट बक्समा लेखेका छन्, 'यदि मैले तराइवासी दिदीबहिनी वा दाजुभाइको मन दुखाएको रहेछु भने माफी माग्छु। म प्रतिज्ञा गर्छु, भविष्यमा त्यस्तो गल्ती गर्दिनँ र त्यस्तो अवस्था आइपरे अरूलाई पनि गर्न दिन्नँ।'
नेपाली र्याप-हिपहपले बेलाबेला यसमा प्रयोग हुने अश्लील शब्द र हिंसात्मक दृश्यका कारण आलोचना खेप्नुपरेको छ। र्यापमा श्लील-अश्लीलको हिसाब नराख्नेहरू पनि समाजका कुरा सतही रूपमा आएकामा असुन्तष्टि पोख्छन्। तर शैलेशले यस्ता दोष देखाउने मौका दिएका छैनन्। उनले कसैलाई अपाच्य लाग्ने शब्द नराखी र्यापमा एकपछि अर्को समाजको कथा भनिरहेका छन्।
शब्दलाई कम प्राथमिकता दिने 'मम्बल' र्यापको लहर चलिरहेका बेला शब्दलाई प्राथमिकता दिनु शैलेशको विशेषता हो। उनी बिटमा होइन, सुरूमै शब्द लेख्छन्। र्यापमा अरूलाई होच्याउने वा उडाउने चलन हुन्छ। शैलशका र्यापमा भने निजीभन्दा सामूहिक आवाज छ।
शैलेशको रामनारायण यादवको युट्युब भिडिओमा र्यापर युनिक पोयटले लेखेका छन्, र्याप भनेकै समाजको ऐना हो।'
शैलेश यसमा खुसी हुँदै भन्छन्, 'अर्थपूर्ण र्याप बनाउने प्रयास हो। युनिक पोयटले भनेजस्तै मेरो र्यापमा समाजको अनुहार देखिओस् भन्ने चाहन्छु।'