फुर्सदमा सिनेमा
निर्देशक गस भन सान्ट 'गुड विल हन्टिङ' र 'मिल्क' जस्ता राम्रा फिल्मका निर्देशकका रूपमा चिनिन्छन्। यी निर्देशकले मृत्यु विषयमा बनाएको 'ट्रिलोजी' पनि चर्चित छ।
यो शृंखलामा उनले साथीको हातबाट हुने मृत्यु, अपरिचित व्यक्तिको हातबाट हुने मृत्यु र आफ्नै हातबाट मर्ने पात्रको कथा भनेका छन्। तेस्रो फिल्मको कथा 'निर्भाना' ब्यान्डका गायक कर्ट कोबेनको जीवनमा आधारित छ।
यहाँ चर्चा गर्न लागिएको 'एलिफेन्ट' उनको मृत्यु शृंखला अन्तर्गतको दोस्रो फिल्म हो। यो फिल्म वास्तविक घटनामा आधारित छ।
घटना हो, अमेरिकाको कोलोराडोस्थित कोलम्बाइन हाइस्कुलमा भएको हत्याकाण्ड।
'कोलम्बाइन मासस्याकर' भनिने यो हत्याकाण्ड सन् १९९९ अप्रिल २० मा भएको थियो जसलाई अमेरिकी इतिहासमा एउटा डरलाग्दो र दुखद घटनाका रूपमा लिइन्छ।
सोही हाइस्कुलमा पढ्ने १८ वर्षीय एरिक ह्यारिस र १७ वर्षका डेलन क्लिबोल्डद्वारा गरिएको गोलीबारीमा १५ जनाको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए। बन्दुक र विस्फोटक पदार्थ बोकेर हाइस्कुल प्रवेश गरेका उनीहरूले आधा घन्टाभन्दा कम समयमा सो घटना निम्त्याएका थिए।
'एलिफेन्ट' मा त्यही दुर्घटनाभन्दा केही समयअघिका घटनाक्रम समेटिएको छ। हत्याकाण्डको विषयमा बनेको फिल्म भए पनि यो एक्नस वा क्राइम जनराको फिल्म होइन। डकुमेन्ट्री शैलीमा पात्र र परिवेशलाई चित्रण गरिएको यो फिल्मले दर्शकलाई हत्या भएको दिन, समय र स्थानमा पुर्याउँछ। दर्शकलाई निर्मम हत्याकाण्डको साक्षी बनाउँछ र दिमागमा केही प्रश्नहरू छाडेर जान्छ।
दुर्घटनाबारे कल्पनासमेत नगरेका पात्रहरू विद्यार्थी जीवनका नियमित गसिपमा व्यस्त छन्। आ-आफ्नै तनाव र रमाइलोमा हराएका उनीहरूलाई त्यो दिन के हुनेवाला छ, थाहा छैन। हरेक दिन उनीहरू क्यान्टिन, कक्षा कोठा, चउर, प्यासेजमा जे गर्थे, त्यही गरिरहेका छन्।
खेलिरहेका, जिस्किरहेका, पढिरहेका विद्यार्थीहरूका गतिविधि सामान्य छन्। फिल्मको उद्देश्य नै मृत्युको संकेत नपाएका यी पात्रहरूको सामान्य दैनिकी देखाउनु हो। उनीहरूलाई असामान्य परिस्थिति नजिक आइरहेको कुनै हेक्का छैन। जसरी एउटा सामान्य दिन आउँछ र जान्छ, उनीहरूका लागि यो त्यस्तै दिन हुन्छ।
कुनै एक मुख्य पात्र नभएको यो फिल्ममा सबै सहायक पात्रजस्ता छन्।
फिल्ममा कोलम्बाइन हाइस्कुल, त्यहाँको परिवेश र त्यहाँ पढ्ने र पढाउने पात्रहरूको दैनिकी उतार्नमा निर्देशकले बढी ध्यान दिएका छन्। यसका लागि उनले केही फरक पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रतिनिधि पात्र बनाएका छन्। पर्दामा केही कलाकारबाहेक वास्तविक विद्यार्थीहरूले अभिनय गरेकाले पनि फिल्म वास्तविकताको नजिक देखिएको छ।
फिल्ममा भेटिने पात्रको व्यक्तित्व र उनीहरूको मनोविज्ञान बुझ्न मद्दत मिल्ने केही संकेत मात्र छोडिएका छन्। त्यस दिनको घटनामा मार्ने, मर्ने र त्यहाँबाट ज्यान बचाएर भाग्ने पात्रहरूको पृष्ठभूमिबारे दर्शकलाई धेरै जानकारी दिइएको छैन।
फिल्मले हत्या गर्ने युवामाथि कक्षा कोठामा हुने विद्यार्थी र शिक्षकबाट हुने दुर्व्यवहारतर्फ भने संकेत गरेको छ। यसका लागि फिल्ममा ती दुई युवाको तनावग्रस्त मानसिक अवस्था, हिंसात्मक टेलिभिजन र भिडिओ गेम, समलिंगी सम्बन्धजस्ता कुरा जोडेका छन्। तर यसैलाई निर्णायक कारकका रूपमा देखाइएको छैन।
यसो गरेर फिल्मले एउटै पात्र र एउटै दृष्टिकोणबाट नभएर धेरैवटा कोणबाट विश्लेषण गरेर मात्र घटनाप्रति धारणा बनाउनु पर्ने कुरालाई जोड दिएको छ। कोलम्बाइन हाइस्कुल हत्याकाण्ड वा अमेरिकामा धेरै दोहोरिने यस्ता हत्याकाण्डका सम्भावित कारणबारे खुला बहस गर्न झकझक्याउनु फिल्मको उद्देश्य हो।
कुनै ठूलो ट्विस्टबिना जानी जानी परम्परागत शैलीभन्दा अलग रूपमा प्रस्तुत हुने निर्देशकको यो शैलीले फिल्म बढीभन्दा बढी सामान्य र स्वभाविक बनेको छ। कुनै हिरो आएर नबचाउने यी पात्रहरूलाई अन्य फिल्ममा जस्तो असामान्य र चामत्कारिक पात्र देखाउनुपर्ने निर्देशकसँग कुनै कारण थिएन।
फिल्म सकिएपछि तपाईंलाई फिल्मको नाम 'एलिफेन्ट' किन राखियो होला भन्ने पनि लाग्न सक्छ। हामीले सानैदेखि सुनेको आँखा नदेख्ने मान्छेहरूको हात्ती छाम्ने कथा सम्झनुस् त। ती सबैले कसरी हात्तीको शरीरको कुनै एउटा अंगलाई पूर्ण आकार मानेर रुमल्लिए!
'एलिफेन्ट' शीर्षकले यस फिल्ममा समेटिएको हत्याकाण्ड वा यस्ता सामाजिक-राजनीतिक समस्याहरूमा हाम्रा मत र तर्क पनि त्यसरी नै एकतर्फी र गलत हुनसक्ने कुरातर्फ संकेत गर्छ। अंग्रेजीमा 'एलिफेन्ट इन द रुम' भनिएजस्तै फिल्मको नामले हाइस्कुलमा हुन लागेको त्यति ठूलो दुर्घटनाबारे भएको सामूहिक बेवास्तामाथि पनि कटाक्ष गर्छ।
'एलिफेन्ट' कान्स फिल्म फेस्टिभलमा पामे डि'ओर र उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल फिल्म हो।