फुर्सदमा सिनेमा
हरेक देशका ठूला सहर अवसर र सपनाको खोजीमा आएका मानिसका भीडले भरिएको हुन्छ। भारतको मुम्बई यस्तै सहर हो। सहरहरू आखिर यस्तै मान्छेका श्रमले चल्ने हो।
'इज लभ इनफ, सर?' फिल्म यस्तै महिला पात्र रत्नाको कथा हो जो आफ्नो सपना नजिक पुग्न दिनरात मेहनत गर्छिन्। सहर पस्नुअघि पढ्ने चाहना हुँदाहुँदै घरको करकापमा उनको बिहे गराइएको हुन्छ। तर केही महिनामै श्रीमानको मृत्यु भएपछि उनलाई विधवा भनेर अपहेलना गरिन्छ।
तर रत्ना समस्यामा अल्झेर बस्ने मान्छे होइनन्। उनीसँग जीवनमा अघि बढ्ने दृढता छ। यस्तै दृढता बोकेर उनी मुम्बई पसेकी हुन्। पढाइको महत्व बुझेकी उनी सहरमा काम गरेर आफ्नी बहिनीलाई पढाउन चाहन्छिन्। सँगै, आफ्नो फेसन डिजाइनर बन्ने सपना पूरा गर्न पनि दत्तचित्त छिन्।
मुम्बईमा रत्नाले एक जना धनी व्यक्तिको घरमा खाना पकाउने र घरको रेखदेख गर्ने काम पाएकी छन्। रत्नाका घर मालिक अश्विन अन्तिम अवस्थामा बिहे टुटेर निराश छन्।
अमेरिका बसेर भारत फर्केका अश्विनलाई यस्तो अवस्थामा रत्नाले गर्ने स-साना सहयोग महत्वपूर्ण लाग्दै जान्छ। रत्ना पनि शालीन अश्विनको व्यवहारबाट प्रभावित छन्।
अश्विन आर्किटेक्ट हुन् जो दिनभर साइटमा जान्छन्। उनको घर आउने-जाने दैनिक तालिका उस्तै छ। रत्नाको दैनिकी पनि अश्विनकै तालिकाबाट प्रभावित छ।
हरेक बिहान र साँझ अश्विनका लागि फर्केपछि पानी, चिया अनि खाना तयार पार्नु रत्नाको दैनिकी हो। फिल्ममा यो दैनिकीलाई विस्तारमा चित्रण गरिएको छ। फिल्ममा घरभित्रका उस्तै दृश्यहरू दोहोरिरहन्छन् जसले फिल्मको गति सुस्त पनि लाग्न सक्छ। तर पात्रहरूको दैनिकी चित्रणले हामीलाई उनीहरू बाँचेकै परिवेश नजिक पुर्याउँछ।
फिल्मको पात्र चिनाउने र कथा अघि बढाउने यी दृश्यहरूको विशेष महत्व पनि छ। एकअर्काले चिया-पानी दिँदा–लिँदा उनीहरू बीच लामो कुराकानी हुँदैन। तर उनीहरू बीचको मौनताले बात मारिरहन्छ। यही आदानप्रदानमा उनीहरू एकअर्काका मौन समर्थक बनिदिन्छन्। एकअर्कालाई सहयोग गर्न थाल्छन्। एकअर्का प्रतिको आकर्षण र भावना लुकाउन सक्दैनन् र पोखिन्छन्।
एकअर्काको खुसीमा रमाउन थालेका उनीहरू उपहार आदानप्रदान पनि गर्छन्। रत्ना अश्विनलाई आफैंले सिलाएको सर्ट उपहार दिन्छिन् भने अश्विन रत्नालाई लुगा सिउने मेसिन दिन्छन्। यस्तै आदानप्रदानले उनीहरूबीच आत्मीय सम्बन्ध गाँसिन्छ। उनीहरूबीच आत्मीय सम्बन्ध अघि बढ्दा दर्शकलाई पनि खुसी बनाउँछ।
तर रत्ना र अश्विनको निकटतासँगै उनीहरूबीच ठूलो वर्गीय खाडल पनि छ। उनीहरू एकै ठाउँमा बसे पनि 'मालिक र कामदार'को संसार फरक हुने नै भयो। फिल्ममा यो खाडल देखाउने धेरै कुराहरू छन्। अश्विन कपमा र रत्ना स्टिलको गिलासमा चिया पिउँछन्। उनीहरूले खाने थाल र हेर्ने टेलिभिजन पनि फरक छ। अश्विन बाल्कोनीबाट र रत्ना छतबाट मुम्बई सहर नियाल्छन्। एउटै घरमा पनि उनीहरूले भोग्ने यथार्थ बेग्लै छ।
यो भिन्नता रत्ना र अश्विनबीच हुने भावनात्मक अन्तरक्रियामा पनि प्रतिविम्बित हुन्छ। यी दुवै पात्रको मनोविज्ञानमा मालिक र कामदारको सम्बन्धको असर देखिन्छ। संकोचले भरिएको हाउभाउ, छोटा संवाद र लामो मौनताले उनीहरूबीच रहेको खाडल महशुस गराइरहन्छ।
फिल्ममा फरक वर्गको प्रतिनिधित्व गर्ने यी दुई पात्रको आ-आफ्नै पहिचान छ। एकले अर्को पात्रको पहिचान र अस्तित्वलाई मिचेको छ। यो नै फिल्मको मुख्य विशेषता हो। यसअघि घरधन्दाको काम गर्ने पात्रप्रति सहानुभूति जगाउने पुरानो फर्मूलाभन्दा 'इज लभ इनफ, सर' भिन्न छ। समाजले नजरअन्दाज गरेको पात्रलाई फिल्ममा यति बलियो गरी कमै देखाइन्छ।
यी दुई पात्रको आत्मीय सम्बन्ध कुन हदसम्म नजिक जान सक्ला? यो आत्मीय सम्बन्धमा आत्मसम्मान र सामाजिक स्वीकार्यताको प्रश्नले कस्तो भूमिका खेल्ला?
'इज लभ इनफ, सर' ले यसको विस्तारमा जवाफ दिन्छ।
निर्देशक रोहेना गेराले नै लेखेको फिल्मका पात्रहरू खास छन्। रत्ना र अश्विन दुवै पात्रसँग दर्शक प्रेममा पर्छन्। शान्त स्वभावका अश्विनको भूमिकामा अभिनेता विवेक गोम्बरको डायलग डेलिभरी गज्जब छ।
फिल्मको मुख्य ओज भने रत्ना बनेकी तिलोत्तमा शोम हुन्। उनको अभिनय कलाले धेरै ठाउँमा लोभ्याउँछ। फिल्ममा केही दृश्य छन् जसले रत्नाको चरित्रलाई बुझ्न मद्दत गर्छ। गाउँबाट सहर आउँदा उनले हातमा नीलो चुरा लगाएकी हुन्छिन्। सहरबाट गाउँ जाँदा फेरि चुरा फुकाल्छिन्। फिल्ममा गाउँ उनका लागि बन्धन र सहर स्वतन्त्रताको प्रतीक हो।
अर्को एउटा दृश्य छ जहाँ उनले आफ्नो समस्या सुनाउँदै अश्विनलाई भन्छिन्, ‘जिन्दगी यत्तिकैमा सकिँदैन सर।'
सानै उमेरमा जीवन दर्शन बनाइसकेकी रत्ना कतै अडिने पात्र होनन्। उनी खुलेर झुम्दै नाच्नेदेखि मौन बसेरै जितिदिने आफ्नै सपनाको उडानमा छिन्। स्वतन्त्र र आत्मसम्मानपूर्वक जीवन बाँच्न चाहने उनी अश्विनको घरको काम सकाएर दिउँसो टेलरिङको काम सिक्छिन्। संकोचले धकाएको बेला होस् वा उत्साही र आत्मविश्वासी देखिने बेला, तिलोत्तमा शोमले हरेक दृश्यमा शानदार अभिनय गरेकी छन्।
फिल्मबाट दुवै कलाकारले अभिनयका लागि महत्वपूर्ण पुरस्कारहरू जितेका छन्। सन् २०१८ मा कान्स फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएर कान्समा अवार्ड समेत जितेपछि फिल्मले व्यापक चर्चा पायो। यसबाहेक फिल्मले करिब एक दर्जन महत्वपूर्ण राष्ट्रिय अवार्ड बटुलेको छ।