फुर्सदमा सिनेमा
अपराध कथामा बनेका फिल्महरू संसारभर लोकप्रिय छन्। 'द गडफादर', 'गडफेलाज', 'सिटी अफ गड', 'पल्प फिक्सन', 'ग्याङ्स अफ वासेपुर' जस्ता चर्चित फिल्म अपराध कथामा बनेका हुन्।
पछिल्लो समय अपराध कथामा बनेका 'मिर्जापुर', 'दिल्ली क्राइम', 'असुर' जस्ता भारतीय वेबसिरिज धेरैले रूचाएका छन्।
अपराधीको मनोविज्ञान, अपराध र राजनीतिबीचको सम्बन्ध, प्रहरीका प्रयास र व्यवस्थाका संस्थागत कमजोरीजस्ता पक्ष समेटिने यस्ता अपराध कथाले मनोरञ्जन दिनेसँगै समाजभित्रका समस्या चित्रण गर्ने काम गर्दै आएको छ।
यहाँ छनोट गरिएका तीन फिल्ममा पनि यस्ता पक्षहरू देख्न पाइन्छ। यी फिल्ममा व्यवस्थाभित्र एक जना व्यक्ति वा समूह कसरी अपराधको चक्रब्यूहमा फस्छन् भन्ने कुरालाई विभिन्न कोणबाट देखाइको छ। विषय र पात्रबाहेक कथा भन्ने शैली र शिल्पका हिसाबले पनि यी फिल्मले सिनेमा क्षेत्रमा चर्चा कमाएका छन्।
हेर्नुस्, अपराध कथामा बनेका तीन राम्रा हिन्दी फिल्म।
परिन्दाः
विद्युविनोद चोपडाको निर्देशनमा बनेको 'परिन्दा' बलिउडको ट्रेन्डसेटर फिल्म हो। सन् १९८९ मा सार्वजनिक वर्षकै चर्चित फिल्म परिन्दाको ३२ वर्षपछि पनि चर्चा भइरहनुका धेरै कारण छन्। व्यावसायिकता र कलात्मक पक्षको संयोजन यसको मुख्य कारण हो।
परिन्दा किसन र करण नामका दाजुभाइको प्रेम र द्वन्द्वको कहानी हो, जसमा मुम्बईको अपराध र हिंसाको कथा गाँसिएर आउँछ। यसै क्रममा फिल्मले व्यक्तिका बाध्यता र व्यवस्थाका कमजोरीसमेतलाई छोएको छ।
किसन गरिबीसँग जुध्दाजुध्दै अपराध र गैरकानुनी बाटो हिँडेका पात्र हुन्। उनले आफू अपराध दुनियाँमा लागेर भाइ करणलाई भने अमेरिका पढ्न पठाएका हुन्छन्। करण अमेरिकाबाट फर्केको सन्दर्भबाट फिल्मको कथा अघि बढ्छ।
करण मुम्बई फर्किनासाथ दाइ किसनका साथै बालसखा प्रकाश र प्रेमिका पारोलाई भेट्न उत्साहित छन्। पारो प्रकाशकी बहिनी हुन्। करण आउने दिन इन्सपेक्टर प्रकाशलाई माफिया डन अन्नाका मान्छेले मार्ने योजना बनाइरहेका हुन्छन्।
करण प्रकाशलाई भेट्न गएकै बेला अन्नाका मानिसले प्रकाशलाई गोली हान्छन्। आफ्नो साथी आँखैअगाडि मारिएपछि करण विचलित बन्छन्। उनको पीडा त्यति बेला झनै बढ्छ, जब उनलाई आफ्नै दाइ किसन अन्नाका खास मान्छे भएको थाहा हुन्छ।
यो घटनाले दाजुभाइको आदर्श प्रेम र मित्रतामा दरार आउँछ। करण र पारोको सम्बन्ध पनि बिग्रिन्छ। यो उथलपुथलपूर्ण यात्रामा मित्रता, प्रेम, नैतिकता, अपराध र बदलाका किस्साहरूले नयाँ मोड लिन्छन् र फिल्म रोचक बन्दै जान्छ।
यो कथालाई जीवन्त बनाउन मुख्य कलाकार ज्याकी श्राफ, नाना पाटेकर, अनिल कपूर, माधुरी दीक्षित, अनुपम खेर, सुरेश ओबराय लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। दाजुभाइका रूपमा ज्याकी र अनिल कपूरको केमेस्ट्री र नाना पाटेकरको अभिनय फिल्मलाई रोचक बनाइराख्ने खास पक्ष हुन्।
फिल्ममा नाना पाटेकरले आगोसँग डराउने विक्षिप्त डनको भूमिकामा उत्कृष्ट काम गरेका छन्। यसअघि केही फिल्ममा प्रशंसा पाए पनि नाना पाटेकरलाई बलिउडमा स्थापित गर्ने मुख्य फिल्म परिन्दा नै हो। उनले यो भूमिकाका लागि उत्कृष्ट सह-अभिनेतातर्फ नेसनल अवार्ड र फिल्मफेयर अवार्ड जितेका थिए।
भाइको खुसीका लागि जेसुकै गर्न तयार किसनको भूमिकाका लागि ज्याकी श्राफले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए। फिल्म उत्कृष्ट निर्देशक र स्क्रिनप्लेसहित पाँच विधामा फिल्मफेयर अवार्ड जित्न सफल भएको थियो।
सीमित स्रोतसाधन प्रयोग गर्दै वास्तविक ठाउँमा छायांकन गरिएको यो फिल्ममा देखिने समुद्री किनार, गल्ली, मन्दिर र उडिरहेका परेवालाई सिनेमाटोग्राफर विनोद प्रधानले सुन्दर रूपमा पर्दामा उतारेका छन्। सम्पादनतर्फ फिल्म सम्पादक रेणु सलुजाले पनि नेसनल अवार्ड जितेका थिए।
मुम्बई अन्डरवर्ल्डका गतिविधि चित्रण गर्न छनोट गरिएका ठाउँ र प्राकृतिक प्रकाशको प्रयोग पनि परिन्दाको विशेषता हो। फिल्ममा रंग संयोजन र ध्वनिको प्रयोग उत्तिकै सशक्त छ। परिन्दाको 'तुमसे मिलके' बोलको गीत निकै चर्चित छ। आरडी बर्मनको संगीत रहेको यो फिल्ममा अहिलेका चर्चित निर्देशक सञ्जयलीला भन्साली सहायक निर्देशक थिए।
सत्याः
भूमिगत अपराधबारे 'शिवा' फिल्मबाट चर्चा कमाएका निर्देशक रामगोपाल वर्मालाई 'सत्या' ले नयाँ उचाइ दियो।
यो फिल्मको विशेषता के भने, यसले मुम्बई अन्डरवर्ल्डमा रहेर काम गर्ने ग्याङस्टरहरूको जीवनलाई वास्तविक ढंगले प्रस्तुत गरेको छ। यस अर्थमा यो ग्याङस्टरहरूको निजी जीवन चिहाउने फिल्म हो।
फिल्ममा जेडी चक्रवर्ती सत्याको भूमिकामा छन्। कामको खोजीमा मुम्बई आएका उनले एउटा डान्स बारमा काम पाउँछन्। तर, काम गर्नुभन्दा त्यहाँ पैसा असुल्न आउने गुन्डाबाट बच्न उनलाई गाह्रो हुन्छ। बिना कुनै गल्ती उनले पटकपटक गुन्डाहरूको सामना गर्नुपर्छ।
निडर स्वभावका उनी अन्याय सहन सक्दैनन्। त्यही क्रममा एक खुंखार ग्याङस्टरसँग उनको झडप हुन्छ। उनलाई निर्मम पिटिन्छ र केटी बेच्ने काम गरेको आरोप लगाएर जेल हालिन्छ।
जेलभित्र उनको भेट भिकू माहत्रेसँग हुन्छ। भिकूले सत्या निर्दोष भएको थाहा पाउँछन्।
आफ्नो आमाबाबुबारे समेत थाहा नभएका सत्या एक्लो, कम बोल्ने र विरलै हाँस्ने स्वभावका हुन्छन्। उनको आँखामा देखिने असन्तुष्टि र आक्रोश पढ्न भिकूलाई समय लाग्दैन। 'मृत्युसँग डराउँदिन' भन्ने सत्याको भनाइबाट भिकू प्रभावित हुन्छन्। उनले सत्यालाई जेलबाट छुटाउन मद्दत गर्नुका साथै उनको बसोबासको व्यवस्था पनि गरिदिन्छन्।
मुम्बई सहरको क्रूरताबीच भिकू, उनकी पत्नी र भिकूको ग्याङका अन्य साथीहरूलाई भेटेपछि सत्याले परिवार पाएझैं महशुस गर्छन्। अलिपछि सत्या एउटै घरमा बस्ने विद्यासँग प्रेममा पनि पर्छन्।
यसबीच भिकूका लागि काम गर्दागर्दै निडर र संयम स्वभावका सत्या अन्डरवर्ल्ड दुनियाँका शक्तिशाली नाम बन्छन्।उनको आगमनले भिकू माहत्रेको दबदबा बढ्दै जान्छ।
ग्याङस्टर बन्नु सत्याको जीवनको योजना थिएन। तर यो आकस्मिक यात्रा सत्याको नियति बनिदिन्छ।
सत्याको यही नियतिको कथालाई निर्देशक वर्माले सशक्त रूपमा उतारेका छन्। सहरका गल्ली, गरिबी, मान्छेको भीड, समुद्रका छाल र पात्रहरूको लवजले मुम्बई सहरलाई नजिकबाट चिनाउने फिल्म हो 'सत्या'।
बर्खा याममा खिचिएको यो फिल्ममा पानी परेका दृश्यहरूको चित्रणले बेग्लै सौन्दर्य थपेको छ।
सन् १९९८ मा तीन विधामा क्रिटिक्स अवार्ड पाएको सत्याले ६ वटा फिल्मफेयर अवार्ड जितेको थियो। सत्याअघि केही फिल्ममा छोटो भूमिका गरेका मनोज बाजपेयीका लागि भिकू माहत्रेको भूमिका करिअरकै टर्निङ पोइन्ट बन्न पुग्यो।
फिल्ममा सत्याकी प्रेमिका बनेकी उर्मिला मातोडकर, कल्लू मामा बनेका सौरभ शुक्ला, भिकूकी श्रीमतीको भूमिका गरेकी शेफाली साह लगायत अन्य सहायक कलाकारले फिल्ममा जोडदार अभिनय गरेका छन्।
सौरभ शुक्ला र अनुराग कश्यपको लेखनमा बनेको सत्याको स्क्रिनप्ले, सिनेमाटोग्राफी, सम्पादनदेखि संगीतसम्मले फिल्मलाई स्तरीय बनाएको छ। फिल्ममा गुलजारको शब्दमा विशाल भारद्वाजको संगीत छ।
अपहरण
'गंगाजल', 'आरक्षण', 'राजनीति' जस्ता फिल्ममा सहकार्य गरेका निर्देशक प्रकाश झा र अभिनेता अजय देवगनको 'अपहरण' अर्को चर्चित फिल्म हो।
समसामयिक राजनीति र अपराधका पाटो उत्खनन गर्ने निर्देशक झाको यो फिल्मले पनि आफ्नो नामबाटै अपराधको कहानीलाई संकेत गर्छ।
फिल्ममा अजय देवगन अजय शास्त्रीको भूमिकामा छन्, जसको प्रहरी अफिसर बन्ने सपना हुन्छ। पढाइमा राम्रो हुँदाहुँदै पैसा नखुवाई प्रहरी बन्न नसिकने माहोलमा उनले अरू कुनै बाटो देख्दैनन् र आफ्नो नाम निकाल्न सरकारी अधिकारीलाई पाँच लाख घुस खुवाउँछन्।
यो निर्णयमा उनका बुवा रघुवंशी शास्त्रीको सिद्धान्त बाधक बनिदिन्छ। उनका बुवाले सहयोग नगरेको निराशाबीच अजयमाथि अर्को समस्या थपिन्छ- सरकारी अधिकारीलाई घुस खुवाउन लिएको ऋण तिर्ने।
ऋण दिने मान्छेको दबाब बढ्दै गएपछि उनले मान्छे अपहरण गरेर फिरौती माग्नेबाहेक अर्को विकल्प देख्दैनन्। यसले उनलाई घर, कानुन र अपराधी सबैतिरबाट अप्ठ्यारोमा पार्छ।
चुस्त स्क्रिनप्लेका लागि नेसनल अवार्ड जितेको अपहरणको कथा एकदमै गतिशील ढंगले अघि बढ्छ।
यो फिल्ममा अजयसहित नाना पाटेकर, यशपाल शर्मा, मोहन अगासे, पंकज त्रिपाठी, विपाशा बासु, अयुब खान लगायतको मुख्य भूमिका छ। नकारात्मक भूमिकामा नाना पाटेकरको अभिनय विशेष छ। तरवेज आलमको भूमिकाका लागि उनले फिल्मफेयर अवार्ड जितेका थिए।
प्रकाश झा, मनोज त्यागी र श्रीधर राघवनलाई फिल्मको स्क्रिनप्लेका लागि नेसनल अवार्ड दिइएको थियो।