निषेधाज्ञाको अघिल्लो दिनसम्म आर्ट काउन्सिलमा एउटा कला प्रदर्शनी थियो, 'इन माइ ड्रिम।'
छोरीहरूको शिक्षाका लागि काम गरिरहेको 'शिवाता लभ फाउन्डेसन' ले उक्त प्रदर्शनी गरेको थियो। त्यसकी संस्थापक हुन्, कलाकार रागिनी उपाध्याय ग्रेला।
नेदरल्यान्ड्समा पढिरहेकी २० वर्षीया छोरी शिवातालाई पाँच वर्षअघि 'मेनेन्जाइटिस–बी' रोगबाट उनले गुमाएकी थिइन्। त्यसपछि छोरीको जन्मदिनको अवसर पारेर त्यो संस्था खोलेकी हुन्।
'छोरीले जहाँ सपना छाडेकी थिइन्, त्यहीँबाट मैले सुरू गरेँ,' हामीसँगको भेटमा रागिनीले भनेकी थिइन्, 'मेरी छोरीजस्ता युवा पुस्ताको सपना के–कस्ता हुन्छन् होला? छोरीले पूरा नगरेको सपना उनीजस्ता थुप्रै शिवाताले पूरा गरून् भन्ने चाहन्छु।'
रागिनी अहिले पनि आफ्नी छोरीसँग सपना वा अन्य माध्यमबाट कुरा गरिरहेकी हुन्छिन् रे। मृत्युपछि पनि मान्छेहरू कुनै न कुनै रूपमा जोडिरहन्छन् भन्ने कुरामा उनको विश्वास छ। त्यसैकारण आफू र आफ्नी छोरीको आध्यात्मिक सम्बन्धलाई उनले किताब 'टकिङ विथ माइ हाफ सोल' मा उतार्दैछिन्।
कान्तिपुर, नारी लगायत पत्रपत्रिकामा लेखिरहने रागिनीलाई कोरोना महामारीले किताब लेख्ने समय जुराइदिएको हो। बेल्जियममा रहेका श्रीमानलाई महामारीकै कारण भेट्न पाएकी छैनन् उनले। त्यसैले बालकोटस्थित घरमा एक्लै बसिरहँदा कहिले चित्र कोर्छिन्, कहिले किताब लेख्छिन्।
किताबमा आफू र आफ्नी छोरीको सम्बन्ध त छँदैछ, दक्षिण एसियामा महिलाहरूको स्थिति कस्तो छ भनेर पनि उनले समेट्न खोजेकी छन्। नेपालकै कुरा गर्दा छाउप्रथा, छोरीको भ्रूण हत्या, भेदभाव लगायत घटना अझै कायम छ। सानो छँदा महिनावारीका समयमा उनी आफैंले पनि विभेद भोगेको सम्झिन्छिन् उनी।
'सूर्य हेर्न नहुने, भुइँमा सुत्नुपर्ने, पाँच दिनसम्म नुन खान नदिने लगायत भोगेकी छु। मलाई सात दिनसम्म छुट्टै कोठामा थुनिएको थियो। मेरी दिदीलाई झन् १५ दिन। त्यो सबै कुरा मैले लेखेकी छु,' किताबमा समेटिएका कुराबारे बताउँदै उनले भनिन्, 'त्यस्ता कुराले महिलालाई मानसिक रूपमा नै बिथोलिदिएको हुन्छ।'
रागिनी राम्रै परिवारमा हुर्किएकी हुन्। छोरीहरूलाई पढाउन हुन्न भन्ने समयमा उनका बुवाले उनलाई भारतको इलाहाबाद गर्ल्स होस्टलमा पढ्नका लागि राखिदिएका थिए। पढाइमा आफूलाई 'जिरो' भन्ने उनले आफ्नो भविष्य कला नै हो भन्ने त्यही बेला पहिल्याइन्।
परिवारले छोराछोरी भनेर शिक्षामा अन्तर नगरे पनि अन्य धेरै कुरामा उनले सामाजिक विभेद महसुस गरिरहिन्। जस्तो विवाह।
आमाले कहिलेकाहीँ 'छोरी त अर्काको घरमा बिहे गरेर जाने जात' भन्दा उनलाई साह्रै नरमाइलो लाग्थ्यो।
'बिहे गरेपछि न उसको आमाबुवाले दिएको संस्कार, परम्परा परिवर्तन हुन्छ, न उसको शरीरको रगत,' समाजिक संरचनामाथि आक्रोश पोख्दै भनिन्, 'छोरी अर्काको घरमा जाने र उनको परिचय नै परिवर्तन हुने समाजको जुन सोच छ, म त्यसको विरोधमा छु।'
छोरीहरूले विवाह गरेपछि उनको जीवनमा धेरै कुरा फेरिँदै जान्छन्। हुँदाहुँदा थर, गोत्र पनि। पुरुषप्रधान समाजले बनाएका यस्ता कुरा रागिनीलाई चित्त बुझ्दैन। त्यही कारण विवाहपछि आफ्नो थर 'उपाध्याय' नामबाट हटाएकी छैनन्। आफ्नी आमा बित्दा पनि उनले दाइसँगै दागबत्ती दिएकी थिइन्। कहिले फेसबुक, कहिले लेख त कहिले चित्रमार्फत महिलामाथि हुने विभेदको आक्रोश पोखिरहेकी हुन्छिन् उनी।
किताबमा छोरीहरूले सामना गर्नुपरेका यस्तै मानसिक द्वन्द्व र त्यसका असरबारे समेट्न खोजेको उनी बताउँछिन्। आफ्ना अनुभवहरूका आधारमा लेखिएको किताब अंग्रेजीमा हुनेछ जसलाई नेपालीमा समेत अनुवाद गर्दैछिन्।
यो किताब उनकी छोरीजस्तै छोरीहरूका लागि हो। छोरी शिवाता गुमाएको समयमा रागिनी भर्खरै ललितकला प्रज्ञा प्रतिष्ठानकी उपकुलपति भएकी थिइन्। आफूमाथि थपिएको जिम्मेवारी छँदै थियो, त्यही समयमा छोरी गुमाउँदाको पीडाले उनी बिचलित भइन्।
आफ्नो जीवनकै रङ उडेपछि क्यानभासमा रङ पोत्न पनि त्यति मन नहुने रहेछ। उनको कलाकार मन केही समय चुप बस्यो। एक वर्षको अन्तरालमा उनले आफ्नी आमा र छोरी गुमाएकी थिइन् जसकारण अर्धमूर्ति जस्तै भएकी थिइन्। विस्तारै पीडालाई शक्तिमा बदल्नुपर्छ भन्ने ठानेर रङ र कुची समातिन् र क्यानभासमा पोत्दै गइन्। त्यही समयमा आफूले बनाएका ४० वटा चित्र पनि किताबमा समेटिने उनले बताइन्।
चित्र त उनकी छोरी शिवाताले पनि बनाउँथिन्। रागिनीले त कहिल्यै उनलाई चित्र बनाउन सिकाएकी थिइनन्। उनी आफैं कागजमा चित्र कोर्थिन्। शिवाताले बनाएका धेरै चित्र रागिनीले उनको मृत्युपछि नै फेला पारेकी हुन्। ती चित्रमध्ये धेरैजसो जीवन र मृत्युबारे छन्।
'मैले चालीस वर्षसम्म चित्र बनाउँदा त त्यस्तो आइडिया आएन, बीस वर्षकी शिवातालाई कसरी आएको होला?' छोरीका चित्रहरूबारे बताउँदै रागिनीले भनिन्, 'ब्राजिलका राजदूतले छोरीको चित्र हेरेर उसको काम पनि मेरोजस्तै छ भन्नुभएको थियो।'
छोरीकै जन्मदिनको समय पारेर उनी हरेक वर्ष आर्ट काउन्सिलमा कला प्रदर्शनी गर्छिन्। त्यस प्रदर्शनीमा आफ्नासँगै अन्य नाम चलेका र सिक्दै गरेका विद्यार्थीका चित्र राखिएका हुन्छन्। चित्र बिक्री भएमा त्यसको सबै रकम शिवाताजस्तै अन्य छोरीहरूको शिक्षा उकास्न फाउन्डेसनले खर्च गर्छ।
यस पटकको प्रदर्शनीमा पहिलो लकडाउनमा बालबालिकाले बनाएका चित्र पनि राखिएका थिए। लकडाउनको फुर्सदमा केटाकेटीलाई रचनात्मक गतिविधिमा संलग्न गराइरहन उनले अनलाइन प्रतियोगिता गराएकी थिइन्।
शिवाता लभ फाउन्डेसन र प्रदर्शनी एक हिसाबमा आफ्नो पीडा भुलाउनै खोलेकी हुन् रागिनीले। भन्छिन्, 'अरूका लागि केही गर्दा मिल्ने सन्तुष्टि यसबाट महसुस गर्छु।'
करिब तीन–चार जनालाई सहयोग पुर्याएर सुरू भएको यो फाउन्डेसनले अहिले करिब २५ छोरीहरूको शिक्षामा मद्दत गरिरहेको छ। जम्मा एक जना केटा यहाँबाट पढिरहेका छन्।
छोरीहरू नै किन?
यसको कारण पनि किताबको विषयवस्तुसँग मिल्दोजुल्दो भएको रागिनी बताउँछिन्। अझै पनि हाम्रो समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिइन्छ। काठमाडौंभन्दा पनि गाउँघरतिर यो चलन व्याप्त छ। त्यसैले यहाँबाट शिक्षाको अवसर पाउनेहरू गुल्मी, मोरङ, बर्दिया लगायत ठाउँका छन्। तिनमा पनि अनाथ, एकल महिलाका छोरीहरू धेरै।
रागिनीलाई लाग्छ– छोरीहरूको सपना पूरा गर्ने बलियो जड शिक्षा हो।
शिक्षा भयो भने सरस्वतीसँगै लक्ष्मी (पैसा) र दुर्गा (शक्ति) पनि पाइने उनको धारणा छ।
'कसैलाई पैसा दिएर सहयोग गर्नुभन्दा ऊ आफैं सक्षम हुने बनाइदिनुहोस्। छोरीहरूमाथि झन् धेरै बन्धन हुने भएकाले उनीहरूलाई सक्षम बनाउन जरुरी छ,' उनले भनिन्।
रागिनीले अभिभावकहरूलाई आग्रह पनि गरिन्, 'अझै पनि छोरीलाई सम्पत्ति नदिने, छोरालाई दिने चलन छ। कमसेकम उनीहरूलाई शिक्षाको सम्पत्ति त दिऔं।'
चित्र होस्, फाउन्डेसन होस् या किताब; सबै छोरीकै प्रेम र प्रेरणाले गरिरहेको बताउँदै उनी भन्छिन्, 'जब हामी प्रेमको कुरा गर्छौं, त्यहाँ पीडा पनि हुने रहेछ। र आमाको पीडा सायद मरेपछि मात्र उनीसँगै जान्छ।'