फुर्सदमा सिनेमा
'एक्स्ट्रा' कलाकारका रूपमा सिनेमामा प्रवेश गरेका विजय सेतुपति अचेल 'आम मान्छेसँग जोडिएका हिरो' (मकल सेल्वन) भनेर चिनिन्छन्। तमिल अभिनेता विजयलाई उनका प्रशंसकहरूले दिएको उपाधि हो यो।
सन् १९९६ देखि छोटा भूमिकामा पर्दामा देखिन थालेका उनले सन् २००० को 'थेनमेरकु परुवाकातरू'मा पहिलो पटक मुख्य भूमिकामा काम गरेर देखाउने माैका पाए। तीन नेसनल अवार्ड जितेको यो फिल्मपछि थप काम गर्ने अवसर पाएका विजयलाई चर्चामा ल्याउने पहिलो फिल्म भने सन् २०१२ को 'पिज्जा' हो।
पछिल्ला एक दशकमा विजयले पाएको सफलता लोभलाग्दो छ। उनी विगत एक दशकका सर्वाधिक सफल तमिल स्टार हुन्। सकारात्मक होस् वा नकारात्मक, जस्तोसुकै भूमिकामा काम गर्दा पात्रअनुसार ढल्न सक्ने विजय एक्सन, कमेडी, थ्रिलर, रोमान्टिक सबै विधामा फिट अभिनेता हुन्।
'सुपर डिलक्स' मा ट्रान्सजेन्डर बनेर नेसनल अवार्ड जितेका विजय गएको वर्षको ब्लकबस्टर 'मास्टर' मा ग्याङस्टर भवानीको भूमिकामा देखिएका थिए। 'पेट्टा' फिल्ममा त झन् उनले रजनीकान्त र नवाजुद्दिन सिद्दिकीसँग 'टक्कर' लिएका थिए।
फरक विधाका फिल्म रोजेर चरित्रमा नयाँपन खोज्नु र आफूलाई बारम्बार प्रमाणित गर्न सक्नु अभिनेता विजयको सफलताको कारण हो। यहाँ चर्चा गरिएका प्रेम कथा, हरर र हास्यप्रधान तीन फिल्म मात्रले पनि विजयको सहज र जीवन्त अभिनय क्षमताको झलक दिएको छ।
९६ः
विजय सेतुपतिको '९६' निकै रूचाइएको तमिल प्रेम कथा हो। सन् १९९६ मा मेट्रिक्स पूरा गरेका स्कुलका साथीहरूको रियुनियन भेलामा धेरै साथीसँगै राम र जानु २२ वर्षपछि भेटिन्छन्। एक अर्कालाई देखेर भावुक बनेका उनीहरू फेरि कक्षा कोठा र प्यासेजमा पुग्छन्।
राम र जानुको बाल्यकालको फ्ल्यासब्याक यात्राले तपाईंलाई पनि आफ्नो स्कुलको परिवेश, पहिलो प्रेम र किशोरवय उमेरमा पुर्याउन सक्छ। संकोच र काउकुतीले भरिएको किशोरवय उमेरमा प्रेम गर्ने सबैले मनका कुरा पोख्न सक्दैनन्। कारण, संकोच वा डर जे पनि हुन सक्छ। तपाईंलाई पनि यस्तै भएको छ भने फिल्मले तपाईंलाई पनि स्मृतिलोकमा पुर्याउनेछ।
स्कुल पढ्दाजस्तै राम अझै संकोची छन् र जानु पहिलाजस्तै स्पष्ट र हकी। त्यसैले २२ वर्षपछि भेटिँदा उनीहरू पहिलाजस्तै नदेखिए पनि पहिलाभन्दा बेग्लै छैनन्।
उनीहरूको मनमा अझै पनि एकअर्काप्रति सम्मान र माया उस्तै छ। नभएको त केवल समय हो। रियुनियन भेलाको रात बिहान बन्दा-नबन्दै जानुलाई फेरि सिंगापुर फर्किनु छ। रामलाई पुनः फोटोग्राफीमा लाग्नु छ।
तै पनि यी दुई पात्र समयलाई कैद गर्ने प्रयास गर्छन्। वर्ष ९६ लाई सम्झेर सुक्ष्मभन्दा सुक्ष्म क्षणमा बाँच्ने प्रयास गर्छन्। पात्रहरूको संवेदनासँगै दर्शकलाई पनि संवेदनशील बनाउने यो फिल्ममा विजय र तृष्णाको अभिनयसँग उनीहरूको किशोरावस्थाको भूमिका निर्वाह गरेका कलाकारको अभिनय पनि सुन्दर छ।
अभिनय, संगीतलगायत विधामा दुई दर्जनभन्दा बढी अवार्ड पाएको तमिल फिल्म '९६' भारतका अन्य भाषामा पनि रिमेक भएका छन्। यो फिल्मबाट अभिनेता विजय सेतुपतिलाई मास हिरो अफ दि इयरको अवार्डसमेत दिइएको थियो।
पिज्जाः
हरर सस्पेन्स फ्लिम 'पिज्जा' घरघरमा पिज्जा पुर्याउने युवक माइकलको कथा हो। माइकल आफ्नी प्रेमिकासँग लिभ-इन सम्बन्धमा बस्छन्। उनकी प्रेमिका हरर फिक्सन लेखक बन्न चाहन्छिन्। यो जोडी अक्सर एकअर्कासँग भूतका कुराकानी गरिराख्ने र बेलाबेला तर्साएर मजाक गर्न रमाउँछ। प्रेमिकाले भूतका कुरा गर्दा डराउने माइकल एक दिन पिज्जा पुर्याउने क्रममा तर्साउने बंगलामा पुग्छन्।
रहस्यमयी र तर्साउने बंगलामा थुनिएपछि माइकलले जे देख्छन्-भोग्छन्, त्यसले दर्शकलाई हैरान बनाउँछ। घट्ना सत्य हो कि भ्रम, दुर्घटना हो कि षडयन्त्र, फिल्म हेर्दै गर्दा दर्शकको मनमा उब्जने यी प्रश्न नै फिल्मको रमाइलो पक्ष हो। यिनै प्रश्नले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्छ।
पिज्जा विजय सेतुपतिको करिअरको महत्वपूर्ण फिल्म हो। राम्रो अभिनेताका रूपमा केही फिल्ममा काम गरेका भए पनि उनको स्टारडम पिज्जादेखि स्थापित भएको हो। यसै फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्डसमेत जितेका उनको अभिनयमा प्रशस्त उतारचढाव भेटिन्छ। माइकल कहिले निर्दोष, कहिले डरपोक त कहिले साहसी लाग्छन्।
फिल्मको करिब ५० मिनेट माइकल बंगलामा थुनिन्छन्। घरभित्र थुनिएपछिका दृश्य र घटनाक्रमले दर्शकलाई हरर सिनेमा हेरेको मज्जा दिन्छ। रहस्यमयी माहोल र पात्रको डरलाई देखाउन सिनेमाटोग्राफरले अँध्यारो र मधुरो प्रकाशसँग मज्जाले खेलेका छन्। पहिलो पटक प्रयोग भएको ७.१ को ध्वनि र पार्श्व संगीतले हरर विधाको फिल्ममा चाहिने मूड बनाइराख्छ।
सुस्त गतिमा कथा अघि बढेर मध्यान्तरसम्ममा गति लिइसक्ने पिज्जा हामीले हेर्दै आएका लाउड हररभन्दा अलग फिल्म हो।
पप्पु पासपोर्ट/आन्धवन कत्तलैः
विदेश जाने सपना बोकेका दुई युवा गान्धी (विजय सेतुपति) र पान्डी (योगी बाबु)को वरिपरि घुम्ने 'पप्पु पासपोर्ट/आन्धवन कत्तलै' कमेडी फिल्म हो। गान्धी र पान्डी मदुरैबाट लन्डन जाने भनेर चेन्नई सहर आउँछन्। दलालको सल्लाहमा गान्धीलाई भिसा पाउन सहज हुन्छ भनेर गान्धीलाई पासपोर्टमा विवाहित लेख्ने सुझाव दिन्छन्। तर पनि भिसा पान्डीले मात्र पाउँछन्।
अर्को पटक भिसा आवेदन नदिउन्जेल चेन्नईमा टिक्न काम खोज्दै जाँदा गान्धीले एउटा नाट्य समूहमा काम पाउँछन्। यहीँबाटै कलाकार समूहसँग नाटक प्रदर्शन गर्न उनले लन्डन जाने अवसर पनि पाउँछन्। तर यसका लागि उनले आफ्नो पासपोर्टमा भएकी काल्पनिक श्रीमतीको नाम भएकै युवती भेट्टाउन पर्ने हुन्छ। र, उनीसँग सम्बन्ध विच्छेद भएको बनाउनुपर्नेछ।
कार्मेगा नामकै युवती उनले भेट्टाउलान्? उनीसँग बिहे गरेर सम्बन्धविच्छेद गर्न तयार होलिन्?
व्यंग्यले भरिएका संवादसहितको यो फिल्मको कथा जति सरल छ, उत्तिकै वास्तविकताको पनि नजिक छ। पात्रअनुसार विजय सेतुपतिको अभिनयमा सादगी भेटिन्छ।
विदेश जाने चक्करमा घनचक्कर बनाइएका पात्र र फिल्मका धेरै घटना नेपाली सन्दर्भमा पनि मेल खाने खालका छन्। हसाउँदै सामाजिक विसंगति उजागर गर्ने यो फिल्ममा गान्धी र पान्डीले एउटा कोठा पाउन झेलेको दुःखले काठमाडौंको याद दिलाउँछ।
विदेश जाने नाममा पैसा गुमाउने, दलालको चक्करमा फसेर गैरकानुनी प्रक्रिया अपनाउने र त्यसको बदलामा अनेक सास्ती झेल्ने कुरा पनि नेपालको भन्दा अलग लाग्दैन। पैसाका लागि कानुनको धज्जी उडाउने वकिल र न्यायाधीस बिक्ने कुरा पनि नयाँ छैन।