फुर्सदमा सिनेमा
कार्टुन वा एनिमे भन्ने बित्तिकै बालबालिकाका लागि बनाइएका सिनेमा भन्ने लाग्न सक्छ। तर आकर्षक आवरण र रोचक प्रस्तुतिसहितका जापानी एनिमे हरेक उमेर समूहमा लोकप्रिय छ।
लामो परम्परा बोकेको 'मांगा' मा आधारित जापानी एनिमेले आधुनिक ग्राफिक्स, उत्कृष्ट रङ संयोजन, स्तरीय कथा र मजेदार पात्रका कारण विश्व बजारमा आफ्नो दबदबा बनाइसकेको छ। पहिलो विश्व युद्धपछि नै एनिमे फिल्म बन्न सुरू भए पनि युद्धको चपेटामा परेको जापानमा दोस्रो विश्व युद्धपछि मात्र बन्ने क्रम बढेको हो।
सन् १९६३ मा जापानको पहिलो टेलिभिजन एनिमे 'तेत्सुवान एतोमु' बनेपछि थप शृंखला बन्न थाले। मांगा कलाकार ओसुमा तेजुको 'तेत्सुवान एतोमु' एस्ट्रो ब्वाइका नाममा पश्चिमा जगतमा पनि चर्चित भएपछि जापानी एनिमेले युरोप र अमेरिकामा पनि चर्चा कमायो।
जापानमा मांगा र एनिमेमा काम स्टुडियो जिब्ली, तोएइ एनिमेसन, क्योटो एनिमेसन, म्यानग्लोबलगायत दर्जनौं संस्था/प्रोडक्सन कम्पनी छन्। परम्परागत जापानी अभ्यास र विदेशी कार्टुनका विशेषता समेतलाई उपयोग गर्न यस्ता संस्थाले उल्लेख्य काम गरेका छन्।
विश्वका ठूला फिल्म अवार्डहरू जित्न सफल जापानी एनिमेको अमेजन र नेटफ्लिक्स जस्ता डिजिटल प्लेटफर्ममा पनि उत्तिकै माग छ। स्टुडियो जिब्लीका निर्देशक हायाओ मिआजाकीको 'स्पिरिटेड अवे' ले बर्लिन र अस्करजस्ता फेस्टिभलमा अवार्ड जितेपछि त जापानी एनिमेले विश्वकै ध्यान खिच्ने नै भयो।
कल्पनाशक्ति, प्रविधि र परम्परागत ज्ञानसहितको आधुनिक शिल्पका जापानी एनिमेहरू दर्शकलाई भावनात्मक तीव्रतासहितको आनन्द दिन सफल छन्। असीमित कल्पनाका बाबजुद जापानी एनिमे मान्छे र समाजको यथार्थ भन्दा पर छैन। पात्रभन्दा कथामा आधारित हुने भएकाले पनि जापानी एनिमे प्रभावकारी लाग्छ।
दर्शक, समीक्षक र अवार्ड समारोहहरूमा समेत पुरस्कृत यी ३ जापानी एनिमे हेरेर त्यो आनन्द लिन सकिन्छ।
ग्रेभ अफ द फायरफ्लाइजः
'ग्रेभ अफ द फायरफ्लाइज' एनिमेटेड फिल्म कतिसम्म यथार्थपरक र प्रभावकारी हुनसक्छ भन्ने अब्बल उदाहरण हो। काल्पनिक र रमाइला एनिमेको भीडमा ग्रेभ अफ द फायरफ्लाइज ऐतिहासिक पृष्ठभूमिमा मानवीय कथा भन्छ। युद्धको त्रासदी देखाइएको यो फिल्म कुनै क्लासिक साहित्य वा शानदार कविता पढेजस्तो गहन र अलौकिक चित्र हेरेजस्तो सुन्दर लाग्छ।
फिल्म दाजु सेता र बहिनी सेत्सुको आत्मीय सम्बन्धको सेरोफेरो घुमेको छ। यी दाजुबहिनी दोस्रो विश्व युद्धको अन्ततिरको समयमा अमेरिकाले जापानमाथि गरेको हवाई हमलाबाट बाँच्न संघर्ष गरिरहेका प्रतिनिधि पात्र हुन्।
अमेरिकी बमबारीका कारण जापानको कोबे सहरका यी दुईले आमा गुमाउँछन्। उनीहरूको घर मात्र नभई छिमेकी र सारा टोल नै ध्वस्त हुन्छ। केही समयका लागि नातेदार आन्टीले शरण दिए पनि हप्कीदप्कीपूर्ण व्यवहारका कारण उनीहरू त्यहाँ टिक्न सक्दैनन्। बेघर बनेका उनीहरू एउटा गुफाजस्तो ठाउँमा बस्न थाल्छन्।
कठिन परिस्थितिमा एक गाँस खान र बास बस्ने ठाउँको खोजीमा भौंतारिएका पात्रहरूको कथालाई निर्देशकले नाटकीय बन्न दिएका छैनन्। युद्धका असरलाई देखाइए पनि फिल्ममा मुख्य पात्रहरूको बालसुलभ मनोविज्ञानलाई रमाइला कुरासँग जोडिएको छ।
प्रकृति, जुनकिरी, चकलेट र दाजुबहिनीका मार्मिक संवादले फिल्मका हरेक दृश्यलाई विशेष बनाएको छ। सानी सेताले मरेका कीराहरू माटोमा पुरेर आफ्नी आमालाई त्यसरी नै गाडिएको कल्पना गर्ने मार्मिक दृश्य होस् वा दाजुबहिनीले जुनकिरीसँग खेलेका रमाइला दृश्य, दर्शक यी दुई पात्रकै सुख-दु:खमा हाँस्छन् र उदास हुन्छन्।
फिल्म सकिएपछि पनि यी दुई पात्रले तपाईंलाई लखेट्यो भने अचम्म हुने छैन।
अ साइलेन्ट भ्वाइसः
स्कुल तहका किशोर-किशोरीका घृणा र प्रेम अनि बदमासी र प्रायश्चितको वरिपरि घुम्ने कथा हो 'अ साइलेन्ट भ्वाइस'। फिल्ममा सोया र सोको केन्द्रमा छन् भने उनका सहपाठी र अभिभावकहरू सहायक पात्रका रूपमा आउँछन्।
कक्षा कोठामा गरिने छेडखानी (बुली) र त्यसको मनोवैज्ञानिक असरलाई सचेत रूपमा देखाइएको छ। फिल्ममा छेडखानी गर्ने र भोग्ने सम्बन्धित व्यक्ति र उनीहरूका आफन्तसम्मलाई पार्ने असरको चित्रण छ।
सोहो पढ्ने कक्षामा एक जना कान नसुन्ने लजालु स्वभावकी नयाँ विद्यार्थी आउँछिन्। राम्रोसँग बोल्नसमेत नसक्ने उनी कक्षाका साथीहरूसँग संवाद गर्न नोटबुक र सांकेतिक भाषा प्रयोग गर्छिन्। तर साथीहरूबाट सहयोग पाउनुको साटो उनले तिरस्कार भोग्छिन्।
सोयाले त झन् सोको सोझो हुनुको फाइदा उठाउँदै बारम्बार सताउँछन्। इयरबड फालिने, किताब पानीमा हुत्याइदिने, पानीले जिउ भिजाइदिने र हातपात गर्दासम्म पनि सोको भने आफ्नै कारणले कक्षामा सबैलाई गाह्रो भएको ठान्छिन् र सबैसँग माफी माग्छिन्।
तर सोयाको हरकत लामो समय टिक्दैन। स्कुलका शिक्षकहरूले सोयाको बदमासी थाहा पाउँछन्। सोकोको घरमा समेत यो कुरा थाहा भएपछि उनकी आमाले छोरीलाई अर्कै विद्यालयमा पढाउने निर्णय गर्छिन्।
कथा यही सकिँदैन। यसपछिको कथामा सोकोले स्कुल छाडेपछि सोयाको सोच्ने तरिका र व्यवहारमा आउने परिवर्तनको कथा छ। सोयाको आत्मग्लानीको यो पक्षलाई फिल्ममा विस्तारमा देखाइएको छ। सोको र सोयाको अर्को चरणको भेटमा आउने उतारचढाव सहजै अनुमान गर्न सकिने खालको छैन। यही विशेषताले दर्शकलाई फिल्मको अन्तसम्म बाँधेर राख्छ।
सोको मात्र नभई सोया पनि सहजै आफ्नो भावना अभिव्यक्त गर्न नसक्ने खालको पात्र हो। बिना कारण सजाय भोग्ने सोकोको कोणबाट नभएर बुली गर्ने पात्र सोयाको कोणबाट कथा भनिएको छ जो आत्महत्या गर्ने योजनासम्म पुग्छ। किशोर-किशोरीका मनोवैज्ञानिक र सामाजिक समस्यालाई छुने फिल्मले सोया र सोको मार्फत कयौं विद्यार्थीका कथा भन्छ। फिल्मले जापानबाहेक अन्तराष्ट्रिय स्तरमा चर्चा अवार्ड बटुल्नुको एउटा मुख्य कारण यही हो।
गार्डेन अफ वर्ड्सः
१५ वर्षका आकिजुकी ताकाओको जुत्ता डिजाइनर बन्ने सपना हुन्छ। ताकाओ हरेक पानी परेको दिन स्कुल नगएर एउटा बगैंचामा जान्छन्। अनि जुत्ताको नयाँ नयाँ डिजाइन कोरेर बस्छन्।
एउटा पानी परेको दिन बगैंचा पुगेका बेला ताकाओको भेट २७ वर्षे युवती युकारी युकिनोसँग हुन्छ। कुनै समस्याबाट भागेर आएजस्तो लाग्ने ती युवती पनि अक्सर त्यही ठाउँमा आउने गर्छिन्। यही क्रममा यी दुई जनाबीच कुराकानी हुन्छ र नजिकिन्छन्। एकअर्कासँग भेट्ने बानी परेपछि घाम लागेको दिनमा पनि पानी परोस् भनेर कामना गर्न थाल्छन्। फिल्ममा उनीहरूको रोमाञ्चक भेटघाटलाई पानीको सौन्दर्य र पृष्ठभूमि संगीतले मिठास थपेको छ।
तर के यी दुई पात्रको रोमाञ्चक भेटघाटको सिलसिला यसरी नै चलिरहला? यसका लागि 'गार्डेन अफ वर्ड्स' हेरेर थाहा पाउनुस्।