गुड फ्राइडे सिनेमा
अभिनेत्री सयानी गुप्ता कामचलाउ लामा भूमिकाभन्दा अर्थपूर्ण छोटा भूमिका रोज्छिन्। भूमिका सानो भए पनि उनले आफूले अभिनय गरेका हरेक सिनेमामा आफ्नो चरित्रमार्फत क्षमता प्रदर्शन गर्दै आएकी छन्।
सन् २०१२ मा 'सेकेन्ड म्यारिज डट कम' बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी सयानीका 'आर्टिकल १५', 'मार्गरिटा विथ अ स्ट्र', 'पार्च्ड', 'अक्सोन', 'जोली एलएलबी २' आदि उनका केही महत्वपूर्ण फिल्म हुन्। 'अक्सोन'मा नेपाली युवतीको भूमिकामा देखिएकी छन्।
भारतको पुनेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटमा अध्ययन गरेकी सयानी बौद्धिक अभिनेत्रीमा गनिन्छिन्। बंगाली मूलकी यी अभिनेत्रीलाई अक्सर बोल्ड भूमिकामा देख्न पाइन्छ। प्राय: सामाजिक मुद्दा र महिलामैत्री भूमिका उनको प्राथमिकतामा पर्दै आएको छ।
चरित्रअनुसार पात्रमा ढल्न मेहनत गर्ने सयानीको माग फिचर फिल्मबाहेक वेबसिरिज र छोटा फिल्ममा पनि उत्तिकै छ। 'फोर मोर सट्स' सयानीको चर्चित वेब सिरिज हो। छोटा फिल्ममा गरेको अभिनयबाट पटक-पटक अवार्ड जितेकी उनको पछिल्लो छोटो फिल्म 'शेमलेस' भारतबाट अस्करका लागि पठाइएको फिल्म हो।
प्रयोगसहित विविध चरित्रमा काम गर्न पाइने भएकाले छोटा फिल्ममा काम गर्न आनन्द आउने बताउने यी फिल्म सयानीको अभिनय क्षमता र कामको प्राथमिकता बुझ्न काफी छन्।
लिचेसः
भारतलगायत दक्षिण एसियाका देशहरूमा अरब देशका धनी शेखहरूले 'कुमारीत्व' र यौन सुखका लागि एक दिनका लागि बिहे गर्ने चलन अझै बाँकी छ। कम उमेरका किशोरीसँग यौन सम्बन्ध राख्न ती धनी शेखहरूले दलाल मार्फत काम गर्छन्। यसरी खोजिने धेरै किशोरी गरिब परिवारका हुन्छन् जसलाई पैसाको प्रलोभनबाट बिहे गराउन दलालहरू सफल हुन्छन्।
भारतको हैदराबादमा यस्तो एक दिने विवाह गर्ने सामाजिक विकृति अभ्यासमा रहेको एउटा प्रमुख ठाउँ हो। हैदराबादकै गैरसरकारी संस्था शाहिनमार्फत यस्तो अभ्यासविरूद्ध लड्न र यसको मारमा परेका किशोरीहरूको उद्दार र गर्न उदाहरणीय काम भएको छ। 'लिचेस' फिल्मकी निर्देशक पायल सेठी पनि हैदराबादकै हुन् जसले समाजकै यथार्थ घटनामा आधारित भई यो फिल्म बनाएकी हुन्।
यो फिल्मको विषय मात्र राम्रो छैन, दर्शकलाई झट्का दिने खालको घटनाक्रम र साथमा सयानी गुप्ताको अभिनय पनि जबर्जस्त छ। यो एउटा यस्तो फिल्म हो जसलाई हेरेर भुल्न सकिन्न।
लिचेसमा सयानी राइसाको भूमिकामा छन्। उनकी बहिनीलाई एक दिने बेहुली बनाएर बिहे गर्ने तय भएपछि बहिनीलाई बचाउन दिदीले चाल्न जोखिमपूर्ण कदम नै फिल्मको मुख्य कथा हो। फिल्ममा 'लिचेस' नामलाई सशक्त प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ जसबारे फिल्म हेरेर घोत्लिनुहोला।
उत्कृष्ट कथाका लागि ब्रसेल्स सर्ट फिल्म अवार्ड, इन्टरनेसनल वुमन्स फिल्म फेस्टिभलमा अडियन्स अवार्डलगायत जित्न सफल यो फिल्मले सयानीलाई इन्डियन फिल्म फेस्टिभल अफ लस एन्जल्स अवार्ड दिलाएको थियो।
ट्रोल नाकाः
संयोगवश ट्रोलमा भेटिने निन्जा चाचा र स्ट्रिट फाइटर चुन ली झगडा गर्दागर्दै साथी बन्छन्। कुरा गर्दै जाँदा उनीहरूको बसाइ पनि नजिकै भएको थाहा पाउँछन्। अनि एक दिन भेट्ने निर्णय गर्छन्। उनीहरूको भेटको पृष्ठभूमि र भेटपछिको कथा दुवै रोचक छ।
आशिष वर्मा दुई पटक अमेरिका जाने भिसा रिजेक्ट भएका युवा हुन्। काका-काकीकहाँ बस्ने उनी कामको खोजीमा छन्। काकीका बचन सुनेर रिस उठेका एकदिन उनी सामाजिक सञ्जालमा एउटा गायकलाई भक्कु गाली गर्छन्। चुन लीले त्यसबारे निन्जा चाचालाई प्रतिक्रिया दिने क्रममा कुराकानी बढ्छ।
ट्रोलमा खरो शब्द लेख्ने उनीहरूको भेटमा हुने संवाद पनि ट्रोलभन्दा कम हुँदैन। फिल्ममा समय अनुसारकै कथा र विषयले ठाउँ बनाउने एउटा उदाहरण हो 'ट्रोल नाका'। अनलाइन ट्रोल लेख्ने पात्रहरूको रमाइलो भेट र मित्रताको यो कथाको प्रस्तुति पनि उत्तिकै रोचक छ। चुन लीको भूमिकामा सयानी गुप्ता र निन्जा चाचाको भूमिकामा आशिष वर्मा निकै सुहाएका छन्।
मालाः
मालाले परिवारको अनुमति नपाउने भएपछि फिल्म क्षेत्रमा करिअर बनाउने आफ्नो सपनासँग सम्झौता गरेकी हुन्छिन्। फिल्म क्षेत्रमा लाग्न नसके पनि बिहेभन्दा अघि उनी जसरी पनि एउटा फिल्म फेस्टिभलमा उपस्थित हुन चाहन्छिन्। यसका लागि घरमा साथीको बिहेको बहाना बनाएर उनी कलकत्ताबाट मुम्बई पुग्छिन्।
एक हप्ताको मुम्बई फिल्म फेस्टिभलमा मालाले जे देख्छिन् र जे-जे सोच्न थाल्छिन्, त्यसले उनको जीवन बदलिदिन्छ। फेस्टिभलमा मालासँगै दर्शकले कल्की कोलचिन, मलाला, अनुपमा चोपडाका, राजकुमार हिरानी लगायत एकसेएक कलाकार र लेखकलाई भेट्न पाउँछिन्।
अन्तिम समयमा जीवनको निर्णय बदल्ने पात्रको कथा नयाँ होइन। न त पुरुष र महिलामा हुने विभेदको कथा नै नौलो हो। तर 'माला' को स्क्रिनप्ले र सयानी गुप्ताको अभिनयले फिल्मलाई निकै बलियो बनाएको छ। पृष्ठभूमिमा सुरूदेखि अन्तसम्म बेलाबेला बजिरहने जीवन दर्शनसहितको लोकगीतले पात्रको मानसिक यात्रा र फिल्मको थिमलाई बोकेको छ। दर्जनौं फेस्टिभलमा प्रदर्शन भएको मालाबाट सयानी गुप्ताले उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितेकी थिइन्।
तुः
हिन्दु-मुस्लिम भएकै कारण भारतमा कयौं प्रेम असफल भएका छन्। कति प्रेमी यही कारण मारिएका पनि छन्। 'तु' मा सयानी मुस्लिम केटा मुर्तजाको प्रेममा परेकी हिन्दु युवतीको भूमिकामा छिन्। परिवारले अर्को केटासँग बिहे गराउने निधो भइसकेकी उनी मुर्तजासँग अक्सर गोप्य कोठा खोजेर बन्द कोठामा समय बिताउँछिन्।
सात मिनेटको यो बन्द कोठाको भेटमा यी दुई प्रेमीको आत्मीय सम्बन्ध र निराशालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। संवाद र मौनतामा सकस र डर भेटिने यी पात्रको जिन्दगी बन्द कोठाझैं खुम्चिएको छ।
उनीहरू जीवनको यस्तो मोडमा आइपुगेका छन् जहाँ यही भेट पनि कहिलेसम्म भन्ने अवस्था छ। युवती चाहन्छिन् उनका प्रेमी उनीहरूको सम्बन्धबारे आफ्नो बुबासँग कुरा गरून्। तर मुर्तजामा त्यो हिम्मत छैन। यसले उनीहरूको सम्बन्धलाई थप जटिल बनाइरहेको छ।
तु यही जटिल अवस्थामा फसेका अन्तरधार्मिक प्रेमीको कथा हो। लार्ज सर्ट फिल्म्सको प्रस्तुति रहेको निर्देशक राहुल नांगियाको यो फिल्म लार्ज सर्ट फिल्म्समा पुरस्कृत फिल्म हो।
डिटुरः
पानीले रूझेको मुम्बई सहरको सडकमा बिहानको तीन बजे दुई अपरिचित एउटै उबरमा भेटिन्छन्। मोबाइल रिङटोन, संगीत हुँदै उनीहरू निजी सुखदुःखका कुरा गर्न थाल्छन्। घुमाउरो र दार्शनिक शैलीमा कुरा गर्ने उनीहरू अपरिचित भए पनि धेरै कुरा मिल्छ।
फिल्ममा सयानी गुप्ता मिनिषा र विक्रान्त मेस्सी आरभको भूमिकामा छन्। सयानी पटकथा लेखक र आरभ इन्भेस्टमेन्ट बैंकिङ पेसामा हुन्छन्। यी दुवै मुम्बई सहरको भागदौड र पेसागत व्यस्तता आफ्नो लागि समय निकाल्न भुलेका पात्र हुन्।
यो छोटो यात्रामा उनीहरू आफैंसँग छुटेका र आफैंभित्र भएका केही कुरासँग साक्षात्कार हुने अवसर पाउँछन्। खासगरी निमिषा पात्रमा आउने यस्तो रूपान्तरणलाई सयानीले यथार्थपरक रूपमा देखाएकी छन्।