फुर्सदमा सिनेमा
दुई दशकदेखि सक्रिय कोनकोना सेन शर्मा भारतीय सिनेमाकी लोकप्रिय नाम हुन्। हिन्दी, बंगाली र अंग्रेजी भाषाका सिनेमामा काम गर्ने उनी सन् २००२ मा अंग्रेजी भाषाको 'मिस्टर एन्ड मिसेस अय्यर' बाट चर्चामा आइन्।
तमिल ब्राह्मण महिलाको भूमिकामा गरेको जीवन्त अभिनयका लागि उनले यस फिल्मबाट 'नेसनल फिल्म अवार्ड' जितेकी थिइन्। बंगाली फिल्म 'एक जे अच्छे कन्या' बाट अभिनय सुरू गरेकी उनले त्यसअघि बालकलाकारका रूपमा केही फिल्ममा काम गरिसकेकी थिइन्।
सन् २००५ मा सार्वजनिक मधुर भण्डारकरको 'पेज ३' उनलाई बलिउडमा स्थापित गर्ने फिल्म हो। त्यसयता दर्जनौं फिल्ममा अभिनय गरेकी कोनकोनाले फरक-फरक भूमिकामा आफूलाई खरो साबित गर्दै आएकी छन्।
'१५ पार्क एभेन्यु', 'ओमकारा', 'अमु', 'वेक अप सिड', 'लाइफ इन अ मेट्रो', 'दोसर', 'तलवार', 'लिपस्टिक अन्डर माइ बुर्का', 'डल्ली किट्टी और वोह चमकते सितारे' जस्ता फिल्ममा गरेको अभिनयबाट उनले सबै खालका भूमिकामा काम गर्न सक्ने क्षमता देखाएकी छन्। यीमध्ये धेरै फिल्मबाट उनले समीक्षकको प्रशंसासँगै अवार्ड पनि जितेकी छन्। उनी निर्देशक, पटकथा र आफ्नो चरित्र छनोटमा स्पष्ट छिन्।
पारिवारिक विरासतमा कला र सिनेमा बोकेर आएकी कोनकोनाका हजुरबुबा चिदानन्द दासगुप्ता कलकत्ता फिल्म सोसाइटीका सह-संस्थापक थिए। कोनकोनाकी आमा अपर्णा सेन चर्चित अभिनेत्री र निर्देशक र बुबा मुकुल शर्मा लेखक-पत्रकार हुन्।
अंग्रेजी साहित्यको औपचारिक अध्ययन गरेकी कोनकोना अभिनयबाहेक लेखनमा समेत सक्रिय छिन्। चार वर्षअघि उनले फिल्म निर्देशकका रूपमा समेत आफूलाई अब्बल साबित गरिन्। कोनकोनाको पहिलो फिल्म 'अ डेथ इन द गन्ज' अलग शैलीको थ्रिलर फिल्म मानियो जसका लागि उनले उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड पनि जितिन्।
वेक अप सिड:
घर परिवार वा समाजबाट बेफिकर भई आफ्नै धुनमा बिन्दास रहनु युवा पुस्ताको आम स्वभाव हो। कुनै ठूलै खराब लत वा गलत बाटो नहिँडेका युवा पनि विभिन्न कारणले आफ्ना अभिभावकका लागि समस्या बनेका हुन्छ।
सुखसयलमा हुर्केका सिड (रणवीर कपुर) पढाइभन्दा साथीसंगीसँग पार्टीमा जान र भिडिओ गेम खेलेर समय बिताउन मन पराउँछन्। बुबाको कमाइमा गाडी चढेर शानसाथ हिँड्छन् र साथीहरूका लागि खुलेर पैसा खर्च गर्छन्। घरमा कम र साथीहरूसँग बढी रमाउने उनलाई जीवनको यथार्थ र अभाव थाहा छैन।
भविष्यमा के बन्ने भन्ने कुनै योजना नभएका सिड परीक्षामा फेल भएपछि उनका बुबाले आफ्नै कम्पनीमा काम गर्न लैजान्छन्। सिड त्यहाँ टिक्दैनन्। अन्तत: बुबा छोराबीच मनमुटाव हुन्छ र सिड घर छोडेर हिँड्छन्।
जीवनमा आउने उतारचढावका लागि तयार नरहेका सिडका लागि आयशा बेनर्जी (कोनकोना सेन) सहारा बन्छिन्। सिड ढुक्कले आयशासँग बस्न त थाल्छन् तर यी दुईका सोच र आनीबानी ठ्याक्कै विपरीत हुन्छ। कलकत्ताबाट मुम्बई आएकी आयशा परिपक्व र आत्मनिर्भर छिन्। स्वतन्त्र जीवन बाँच्ने सपनाले तानेर मुम्बई आइपुगेकी उनलाई सिड बच्चा जस्तै लाग्छ। उमेरमा पनि आयशा सिडभन्दा ठूली हुन्छिन्।
दुई फरक स्वभावका यी दुईको सम्बन्धले एकअर्कामा पार्ने प्रभाव नै फिल्मको कथा हो। सिडको भूमिकामा रणवीर कपुरले चर्चा कमाए पनि फिल्ममा आयशाको भूमिकामा कोनकोना महत्वपूर्ण भूमिकामा छिन्। उनले स्वतन्त्र जीवन बाँच्ने चाहना बोक्ने मध्यमवर्गीय भारतीय सहरी युवतीका रूपमा प्रशंसनीय अभिनय गरेकी छन्।
पुरानै कथालाई नयाँपनका साथ प्रस्तुत गर्न सफल निर्देशक आयन मुखर्जीको यो फिल्मको 'इकतारा' बोलको गीत चर्चित छ।
अमु:
सन् १९८४ मा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको उनका दुई शिख बडिगार्डद्वारा हत्या भएको थियो। यो फिल्म काजरी 'अमु' राय (काजु) नामकी २१ वर्षकी युवतीको माध्यमबाट त्यही दंगालाई हेर्ने प्रयास हो।
इन्दिरा गान्धीको हत्यापछि शिख समुदायसँग बदला लिने नाममा छानीछानी आक्रमण भएको थियो। राजनीतिज्ञ, प्रहरी र प्रशासनको आडमा भएको यो दंगामा दिल्लीमा मात्र तीन हजार शिख र भारतका अन्य सहरमा पनि भड्किएको दंगामा थप आठ हजारभन्दा बढी शिखको मृत्यु भएको बताइन्छ।
'अमु' दंगाका असरलाई चिहाउने आँखिझ्याल हो। काजुको भूमिकामा कोनकोना सेन त्यो आँखिझ्याल बनेकी छन्। फिल्म उनी अमेरिकाबाट दिल्ली घुम्न आएको सन्दर्भबाट सुरू हुन्छ। सुरूमा दिल्लीमा भेटिएका नयाँ ठाउँ, मान्छे, खाना र संस्कृतिमा रमाउँछिन्। तर १९८४ को दंगा र आफ्नो विगत जोडिएको संकेत पाएपछि बिस्तारै उनी बिथोलिन्छिन्।
उनको जीवनका केही रहस्य गोप्य राखिएको हुन्छ जसलाई पत्ता लगाउन उनी दंगामा बचेका तर त्यसको मानसिक आघातबाट गुज्रिएका पात्रहरूसँग भेट्दै हिँड्छिन्। भारतीय इतिहासको मार्मिक र कुरूप इतिहासको उत्खनन् गर्ने काजुको यो यात्रामा स्थानीय युवा कबिर साथी बन्छन्।
निजी जीवन र समाजको कठोर वास्तविकताको सामना गर्न बाध्य पात्रको भूमिकामा कोनकोनाले उत्कृष्ट काम गरेकी छन्। कुनै सस्पेन्स फिल्म हेरेझैं बाँधेर राख्ने अमुको कथा वाचन शैली पनि खास छ। अमु यस फिल्मकी निर्देशक सोनाली बोसद्वारा लिखित अमु नामकै उपन्यासमा आधारित छ।
फिप्रेस्की क्रिटिक्स अवार्ड, इटालीको टोरिनो जुरी अवार्डलगयात पुरस्कार जितेको यो फिल्म सन् २००५ मा बर्लिन र टोरन्टो फिल्म फेस्टभलमा प्रिमियर भएको थियो। यो फिल्मले भारतको अंग्रेजी भाषातर्फको नेसनल अवार्ड पाएको थियो।
पेज ३:
तीन विधामा नेसनल अवार्ड जितेको 'पेज ३' कोनकोनालाई बलिउडमा स्थापित गर्ने फिल्म हो। यसअघि उनले बंगाली र अंग्रेजी भाषाका फिल्ममा काम गरेकी थिइन्।
पत्रकारिता र मनोरञ्जन क्षेत्रको चमकधमकभित्रको अँध्यारोलाई यथार्थपरक रूपमा देखाइएको यो फिल्ममा कोनकोना पत्रकार बनेकी छन्। फिल्ममा सन्ध्या मृदुल, बोमन इरानी, अतुल कुलकर्णी, तारा शर्मा लगायत धेरै कलाकारले अभिनय गरे पनि कोनकोनाको प्रमुख भूमिका छ।
माधवीको पत्रिकाको तेस्रो पेजका लागि सूचना बटुल्छिन्। पेज ३ पत्रिकाको यस्तो पृष्ठ हो जसका लागि व्यापारी र कलाकारले पैसा खर्च गरेर त्यहाँ आफ्नो अनुहार र नाम छपाउँछन्। हरेक बिहान पेज ३ मा कसकाबारे के लेखियो भनेर विशेष चासो दिइन्छ।
मुम्बई सहरमा हरेक रात हुने अविराम पार्टीहरू माधवीका सूचना स्रोत हुन्। यी पार्टीमा कलाकार, व्यवसायी, प्रहरी, नेता, समाजसेवीका अनेक किस्सा थाहा भए जति भने उनी लेख्न सक्दिनन्। बेलाबेला सम्पादकसँग झगडा गरे पनि उनी चामत्कारिक पात्र हैनन् जसले सबै विकृतिसँग लड्न सकून्। उनी एउटा सामान्य पत्रकार हुन् जसलाई पार्टीहरू मन नपरे पनि जानै पर्छ। दोहोरो चरित्रका मानिसहरूसँग सम्बन्ध गाँस्नै पर्छ। यसर्थमा उनी पेज ३ को रंगीन पानामा छाउनेहरूको अँध्यारो पक्षको साक्षी मात्र हुन्।
पेज ३ संघर्षरत पत्रकारको आँखाट मनोरञ्जन क्षेत्रसँगै अपराधको दुनियाँलाई पनि जोड्न सफल फिल्म हो। धेरै कलाकारलाई अभिनय गराइएको यो फिल्ममा समाजका धेरै पक्षलाई कुशलतापूर्वक जोडिएको छ।